निर्मला र ‘पुँजीवाद’

दुई साताअघि बहालवाला गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले निर्मला पन्तको बलात्कारपछि भएको हत्याको मुख्य कारक पुँजीवादी व्यवस्था भएको बताएका थिए । उनको यो भनाइले उनी गृहमन्त्री रहेको यो राज्यप्रणाली पुँजीवादी भएको कुरा स्वीकार गरेको छ जब कि उनको पार्टी र यस राज्यप्रणालीलाई स्वीकार गर्ने सबै पार्टीहरूले उनीहरूको संविधानमा नै लोकतान्त्रिक समाजवाद उल्लेख गरेका छन् । उनको यो भनाइ आफ्नै पार्टीका नीति र दृष्टिकोणसँग मेल नखाएको स्पष्ट नै रहेको छ । अर्को कुरा बादलले आफू पुरानै पुँजीवादी राज्यप्रणालीमा समाहित भएको स्वीकार गरेका छन् । साथै पुँजीवादी राज्यप्रणालीमा महिलामाथि उत्पीडन भैराख्दछ भन्ने कुरा पनि स्वीकार गरेका छन् । यसरी उनको एक अभिव्यक्तिले तीनवटा कुरालाई स्पष्ट पारिदिएको छ ।

अब आयो अहिले भैराखेको महिला बलात्कार, हत्या र हिंसाका कुरा । आदिम साम्यवादको अन्त्यदेखि अहिलेसम्म रहेका सबैजसो युगमा महिलामाथि हिंसा भैराखेको छ । दासयुग, सामन्तवादी युग र पुँजीवादी युगमा मिहलाहरूमाथि हत्या, हिंसा र बलात्कार हुनु सामान्य मानिँदै आएको छ । त्यसमा पनि नेपालमा त भर्खरै सामन्ती राजतन्त्रात्मक व्यवस्थाको अन्त्यसँगै दलाल पुँजीवाद स्थापना भएको छ । यो राज्यव्यवस्था परम्परागत पुँजीवादभन्दा झनै खराब रहेको पुष्टि भैराखेको छ ।

सामन्तवादले खराबीहरूलाई लुकाउने गर्दछ । त्यसैगरी सामन्तवादमा महिला बलात्कार, हिंसा र उत्पीडनहरू पनि लुकाउने नै गरिन्छ । नेपालको दुई सय ४० बर्से राजतन्त्रात्मक सामन्तवादी व्यवस्थामा महिलामाथिका उत्पीडनहरू खुलेर बाहिर आउँदैनथे । सुनिता÷नमिता काण्डहरू नभएका होइनन् । तर त्यस्ता घटनाहरू सार्वजनिक हुँदैनथे । यो सामन्तवादको चरित्र नै हो । त्यसमा पनि यौनघटना र हिंसा सामन्ती शासकहरूको प्रतिष्ठाको विषय हुने गर्दथ्यो । यो उनीहरूको ढोंगी चरित्र हो ।

अब कुरा आयो पुँजीवादका बारेमा । पुँजीवादमा खुला समाजका नाममा महिलामाथि हुने यौनहिंसा पनि खुला हुने गर्दछ । पुँजीवादका प्रमुख मसिहा भनेर कहलिएका देशका शासकहरू यौनकाण्डमा मुछिँदा पनि उनीहरूको मानमर्दन नहुने गरेको छ । अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टन हुन् वा भर्खर मात्र अमेरिकाको सर्वोच्च अदालतमा न्यायाधीशमा नियुक्ति पाएका एमी कोनी ब्यारेट वा स्वयम् वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प महिलामाथि बलात्कार गरेको, जबर्जस्ती यौनशोषण गरेका आरोपीहरू हुन् । तर पनि उनीहरूको पदप्रतिष्ठामा कुनै असर परिराखेको हुँदैन । पुँजीवादीहरूले यसलाई चरित्र र महिलामाथिको शोषणका रूपमा लिन्छन्, न त आफ्नो राज्यसत्ताको मूल्य र मान्यताका रूपमा नै । त्यसैले पुँजीवादी राज्यप्रणालीमा महिला बलात्कारलगायत हिंसाका कुरा समाचारका सुर्की बन्न सक्छन् । संसदीय व्यवस्थाभित्रका प्रतिपक्षीहरूको विरोधका विषयमा मात्र सीमित हुन पुग्दछ । उनीहरूले नै आफ्नो सत्ता टिकाइराख्न र जनतामा भ्रम फैलाउनका लागि बनाएका राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको खेतीपातीमा सीमित बनाइन्छ । यिनीहरूका यस्ता क्रियाकलापका कारण महिलाहरू आफूमाथि भएका हिंसा र उत्पीडनबाट मुक्त हुने कुरै भएन ।

त्यसैको पछिल्लो ज्वलन्त उदाहरण हो निर्मला पन्तको बलात्कारपछिको हत्या र छानबिन–कारबाहीका नाममा रहस्यमय बन्दै गएका आयोगहरूका रिपोर्टहरू । अहिले आएर निर्मला प्रकरणले निकै चर्चा पाएको छ । तर निर्मला हत्याकाण्डअघि र पछि पनि दिनदिनैजसो बलात्कार, हत्याकाण्ड र हिंसाका घटनाहरू भइरहेका छन् । एउटा डलरवादी संस्थाले सार्वजनिक गरेको रिपोर्टअनुसार पछिल्लो ५ वर्षमा महिलामाथिको हिंसा पाँच गुणाले बढेको छ । यी तथ्यहरूमा केही सामीप्य रहेको छ ।

यथार्थमा नेपालमा अहिले झन् महिलामाथिको उत्पीडन बढेर गएको छ । यो राज्यमा पुँजीवादी र सामन्तवादी संस्कार र संस्कृतिको ठिमाहा भएकाले कैयौं घटना लुकाइएका छन् ।
निर्मला बलात्कार र हत्याकाण्डको सत्यतथ्य सार्वजनिक हुनुभन्दा झनै रहस्यमय बन्दै जानु र थप हत्या, हिंसा र बलात्कारका घटना हुँदै जानुको मुख्य कारण यही हो । सडकमा जति विरोध र प्रदर्शन गरे पनि, संसद्मा जति नै चिच्याए पनि महिलाको पूर्ण सुरक्षा हुँदैन भन्ने पुष्टि भैराखेको छ । अर्कोतिर यो राज्य महिलाअधिकारप्रेमी नभएर हिंस्रक भएको पनि पुष्टि भएको छ । त्यसैले यसै राज्यप्रणालीभित्र महिला मुक्तिको कुरा गर्नु कसाईले खसीको अधिकारको कुरा गर्नुजस्तो मात्र हो । त्यसैले अब त नयाँ नीति र विधिका बारेमा सोच्नुपर्ने भएको छ । यसको पुष्टि निर्मलाकाण्ड र पुँजीवादले गरेको छ । सम्पादकीय
२०७५ असोज १५ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!