नेपाली क्रान्तिको उत्तराधिकारी हाम्रो पार्टी हो : विप्लव

 

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपाली क्रान्तिको उत्तराधिकारी आफ्नो पार्टी भएको बताएका छन् । हालै एउटा अन्तर्वार्ता दिँदै उनले उक्त कुरा बताएका हुन् । उनले अन्तर्वार्तामा उनले भने, ‘हामीलाई २०६३ सालपछिको ऐतिहासिक वार्ताप्रक्रियामा बाहिर र भित्रबाट भयानक धोका र गद्दारी भएपछि हाम्रो पार्टी दलाल पुँजीवादी सत्तालाई जरैबाट उखेलेर फाल्ने एकीकृत जनक्रान्तिमा छ ।’

विप्लवले वर्तमान परिस्थिति र सरकारको चरित्रचित्रण गर्दै भनेका छन्, ‘राष्ट्रघात, भ्रष्टाचार, जनअधिकारमाथि तानाशाही दमन, तस्करी, बलात्कार र महँगी अत्यधिक मौलाएको छ । यो कैयौँ अर्थमा राजतन्त्रको समयमा भन्दा पनि खराब र खतरनाक छ । जस्तो कि सिक्किमलाई यस्तै दलालहरूले बेचेर खाएका थिए ! तर आज पुनः दलाल पुँजीवादी सत्ताका विरुद्ध नयाँ क्रान्तिको प्रक्रिया अगाडि बढिसकेकाले नेपाललाई सिक्किम हुन दिइनेछैन ।’

विप्लवले यो राज्यप्रणाली दलाल पुँजीवादी भएको उल्लेख गर्दै भनेका छन्, ‘१३ वर्षअगाडिका प्रचण्डका तर्क हेर्नुस् न । त्यसबेला एमालेका केपी वली, माधव नेपाल, झलनाथ खनाल र काङ्ग्रेसका नेताहरूले बहुदलीय प्रजातन्त्र र समृद्धिको प्रचार गर्दा उनले के भनेका थिए ? उनले तिनीहरूलाई साम्राज्यवादका पिट्ठू, पाले, नोकर, दलाल, जनतालाई झुक्याउने फटाहा भनेका थिए, हैन र ! त्यतिबेला उनी एमाले, काङ्ग्रेसलाई बढारेर फाल्नुपर्ने तर्क गर्दैनथे र ? समृद्धिका लागि सामन्ती, दलालहरूको सत्तालाई जरैबाट फाल्नुपर्छ भन्दैन थे र ! अनि उनै नेता, उही सत्तामा कसरी जनताको समृद्धि हुन्छ ? यो सबै उनले आफ्नो पश्चगमन, प्रतिगमन र पतनलाई लाज छोप्ने खोल हाल्न खोजेको मात्र हो । यसमा अब त कसैलाई विश्वास पनि छैन । के निश्चित हो भने दलाल पुँजीवादको अन्त्य र वैज्ञानिक समाजवादको स्थापना भयो भनेचाहिँ साँच्चिकै समृद्धि हुन्छ । यो झूटो आश्वासन होइन, इतिहाससिद्ध तथ्य हो ।’

आफ्नो पार्टीले गर्ने भनेको क्रान्तिका बारेमा व्याख्या गर्दै उनले भनेका छन्, ‘क्रान्ति जनताका लागि गरिन्छ भने जनताले नै क्रान्तिको रक्षा गर्ने हो । जनताकै बलमा क्रान्तिकारीहरूले क्रान्ति हाँक्ने हो अनि एक क्रान्तिकारी जनताको बीचमा रहने, बस्ने कुरालाई केको भूमिगत ! भूमिगत त ती तत्व छन् जसले क्रान्तिमा धोका दिएका छन्, गद्दारी गरेका छन्, वार्ताका नाममा जनता र देशलाई धोका दिएर जनताले क्रान्तिबाट हासिल गरेका उपलब्धिहरूलाई नास पारेका छन् । ती तत्व पो प्रहरी र सेना नभएसम्म पाइला नसारेर भूमिगत छन् । हेलिकोप्टर र प्लेनबाहेक हिँड्नै छोडेर जनताबाट भूमिगत भएका छन् । हाम्रा नेता–कार्यकर्ता सबै पूरा जोसजाँगरका साथ पार्टीका अभियानमा डटेका छन् र क्रान्ति चलाइरहेका छन् ।’

नेकपाका महासचिव विप्लवले भनेका छन्, ‘अबको क्रान्तिले सबै कम्युनिस्ट, वामपन्थी, लोकतान्त्रिक, देशभक्त, राष्ट्रिय शक्तिहरूलाई एकताबद्ध गर्न सक्छ । सबै जनतालाई अधिकार सम्पन्न र देशलाई स्वाधीन बनाउन सक्दछ ।’ ‘रेकर्ड नेपाल डटकम’ का लागि अङ्ग्रेजी भाषामा लिइएको महासचिव विप्लवको उक्त अन्तर्वार्ताको पूर्ण पाठ हाम्रो अनलाइन ईरातोखबरडटकममा नेपाली भाषामा छिट्टै प्रकाशित हुनेछ ।

२०७५ असोज २५ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :