क्रान्तिकारीहरूका लागि जेल एउटा मोर्चा हुन्छ

काठमाडौँ : वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाको उद्देश्य राखेर संसदीय व्यवस्थाविरुद्ध उभिएको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको राजनीतिक आयतन बढ्दै गएको राजनीतिक विश्लेषकहरूले बताउने गरेका छन् । नेकपाले पनि आफ्नो लोकप्रियता बढ्दै गएपछि त्यसबाट अत्तालिएर सरकार दमन अभियानमा उत्रिएको बताउँदै आएको छ । गएको स्थानीय तहको चुनाव, प्रदेश तथा प्रतिनिधिसभाको चुनावदेखि नै चुनाव खारेजी अभियानमा सशक्त सहभागिता जनाउँदै आएको नेकपाले संसदीय व्यवस्थाविरुद्ध सङ्घर्षका कार्यक्रमहरू घोषित रूपले अघि बढाउँदै आएको छ । यो बीचमा सरकारले नेपाल कम्युनिस्ट पार्टीका दर्जनौँ नेता–कार्यकर्तालाई गिरफ्तार गरी हिरासतमा राखेको छ ।

भनिन्छ, क्रान्तिकारीहरूका निम्ति जेल एउटा सङ्र्घषको मोर्चा हो । उनीहरू सजिलै यो मोर्चालाई स्वीकार गर्छन् । उनीहरू क्रान्ति र परिवर्तनका लागि जेल, नेल र यातना स्वीकार गर्न हरपल तम्तयार हुन्छन् । जनतामा क्रान्ति र परिवर्तनको सपना बाँड्दै हिँडेका र अहिले जेल–हिरासतमा रहेका नेकपाका नेता–कार्यकर्ता पनि जेल र हिरासतलाई सङ्घर्षको मोर्चा मानिरहेका छन् ।

गत साउन २२ गते काठमाडौँको दक्षिणकालीबाट गिरफ्तार भएका नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई प्रहरीले देशका विभिन्न ठाउँमा विभिन्न प्रकृतिका बनावटी मुद्दा खडा गरेर दुःख दिइरहेको छ । काठमाडौँ, नुवाकोट र मोरङबाट अदालतले रिहा गरे पनि अदालत परिसरबाटै पटकपटक पक्राउ परेका नेकपाका नेता प्रकाण्डले आफूमाथि मुद्दा लगाउने तथ्य आधार केही नभएको तर राजनीतिक पूर्वाग्रह र आग्रहका आधारमा झूट्टा मुद्दा लगाएको भन्दै यसको सामना गर्ने बताएका छन् । दाङ हिरासतमा बसेका नेता प्रकाण्डले भने, ‘क्रान्ति र जनताको परिवर्तनका कुरा गर्दा सरकारलाई गलत लाग्यो । संविधान र कानुनविपरीत लाग्यो । अहिले जुन झूट्टा मुद्दाको खेती गरिरहेका छन् यसको मूल्य तिर्न नसक्ने हुन्छ ।’

आफ्ना जनयुद्धकालीन सहयात्री रामबहादुर थापा गृहमन्त्री भएको समयमा नेकपाका नेता प्रकाण्ड हिरासतको चिसोमा समय बिताइरहेका छन् ।

तपाईंको समकक्षी अहिले गृहमन्त्री हुनुहुन्छ तर तपाईंको हातमा हडकडी लागेको छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा प्रकाण्डले भने, ‘राजनीतिमा यस्तो हुन्छ । कुनै समयका समकक्षीहरू अहिले आएर प्रतिक्रान्तिकारी भए, प्रतिक्रियावादी र राष्ट्रघाती भए । अहिले उनीहरू विगतमा १० बर्से जनयुद्धमा नेपाली समाज र नेपाली जनताको मुक्ति र परिवर्तनका निम्ति जुन हामीले सँगै सङ्घर्ष गरेका थियौँ । पछिल्लो दिनमा उहाँहरू प्रतिक्रान्तिको कित्तामा जानुभयो । अहिले दलाल ठेकेदार भएर बस्नुभएको छ । यसकारण हामीले राष्ट्रका निम्ति अबको क्रान्ति र जनताको परिवर्तन सारा कुरा गर्दा उहाँहरूलाई गलत लाग्यो । संविधान र कानुनविपरीत लाग्यो । अहिलो झूट्टा मुद्दाको खेती गरिहनुभएको छ ।’ सरकारले नेकपामाथि अघोषित प्रतिबन्ध लगाएपछि सङ्घर्षका कार्यक्रम अघि बढाएकै कारण गिरफ्तार गरिएका प्रकाण्डले थप भने, ‘प्रधानमन्त्री र गृहमन्त्रीले नेपाली राजनीतिमा तिर्न नसक्ने गरी ठूलो मूल्य चुकाउनुपर्नेछ ।’

भोजपुर जिल्ला अदालतले रिहा गरेलगत्तै भदौको २० गते दाङ जिल्ला प्रहरीले गिरफ्तार गरेर उनलाई बम विस्फोट तथा कर्तव्य ज्यान मुद्दा लगाएको छ । उनले प्रधानमन्त्री र गृहमन्त्रीले नेपाली राजनीतिमा तिर्न नसक्ने गरी ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन् । यसैगरी पटकपटक अदालतबाट रिहा भए पनि प्रहरीले गिरफ्तार गरिरहेका नेकपा पोलिटब्युरो सदस्य मोहन कार्की ‘जीवन्त’ ले प्रहरी घेराभित्रबाट भनेका छन्, ‘यो जेलको मोर्चामा डटेर लड्न तयार भएका मान्छेहरूलाई जेल, नेल र यातनाले कुनै प्रभाव पार्दैन ।’ उनले जहाँ र जस्तोसुकै परिस्थितिको पनि सामना गर्न तयार रहेको बताए ।

त्यस्तै अर्का नेता कृष्ण धमला ‘गम्भीर’ ले पनि क्रान्तिकारीहरूका लागि जेल एउटा मोर्चा भएको भन्दै क्रान्तिकारीहरू सधैँ अमर रहने बताएका छन् । यस्तै केही दिनपहिले गिरफ्तार भएर हाल इलाम हिरासतमा बन्दी बनाइएका नेकपाका झापा जिल्लासचिव सुमनसिंह पौडेलले जेल मोर्चा क्रान्तिकारीहरूका लागि एउटा पाठशाला भएकाले जेलबाटै सरकारलाई ठूलो चुनौती दिने बताएका छन् । हिरासतभित्रबाटै एकीकृत जनक्रान्ति जिन्दावाद भन्दै पौडेलले आफूहरूलाई सरकारले पक्राउ गरेर कायरता प्रदर्शन गरेको पनि बताएका छन् ।

२०७५ भदौ २७ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :