हिजोआज मलाई सबै–सबैसँग डर लाग्छ !

 

हिजोआज मलाई सबै सबैसँग डर लाग्छ !
‘मेरी प्यारी छोरी’ भन्दै गालामा थपथपाउने बाबासँग
‘भाग्यमानी भएस्’ भन्दै आशीर्वाद दिने हजुरबासँग
‘सानी नानी चकलेट खाऊ’ भनेर चकलेटको कागज निकाल्दै दिने छिमेकी पसले अङ्कलसँग
‘राम्रो पढ्दैछ्यौ’ भनेर धाप मार्ने गुरुहरूसँग
बाइकमा घुमाउने मामासँग
सबैसबैसँग डर लाग्छ
जब त्यो स्नेह र अपनत्वकै काखमा लुटपुटिरहेको बेला
एकाबिहानै आउने पत्रिकाका हेडलाइनहरूमा
हरसाँझ हेर्ने टेलिभिजनका समाचार र
ब्रेकिङ न्युजहरूमा ठूला अक्षरमा देखिन्छन्–
बाबुद्वारा छोरी बलात्कृत !
गुरुद्वारा आफ्नै छात्राको जबर्जस्ती करणी !
काकाको मिलोमतोमा नाबालिकाको सामूहिक बलात्कारपछि हत्या !
सात वर्षीया बालिकाको बलात्कार !
… … …
मलाई अचेल आफ्नै घरको गल्लीसँग डर लाग्छ
आफू पढ्ने स्कुलको कोठासँग डर लाग्छ
भीडसँग डर लाग्छ
एकान्तसँग डर लाग्छ
मन्दिर जाँदा डर लाग्छ
बजार जाँदा डर लाग्छ
कोलाहलसँग डर लाग्छ
शून्यतासँग डर लाग्छ
रातमा पनि डर लाग्छ
दिनमा झनै डर लाग्छ
मानौँ ती हरेक कोठामा, गल्लीमा
भीडमा, एकान्तमा, मन्दिरमा, बजारमा
जताततै हिंश्रक सिकारीहरू मलाई हेर्दै अट्टाहास गरेर बोलाइरहेका छन्–
आइज ! मेरो सिकार, म तँलाई नै पर्खिरहेको थिएँ !!
… … …
साँच्चै भन्नुपर्दा मलाई हिजोआज
आफैँदेखि डर लाग्छ !
आफ्नो शरीरमा वृद्धि हुँदै गएका
शारीरिक अवयवहरूसँग
सुलुत्त परेको नाकसँग
चम्किला आँखासँग
लरक्क परेको कपालसँग
छिनेको कम्मरसँग
मानौँ यी सबै मलाई डस्न, सिध्याउन
मेरो अस्मिता लुट्न, मेरो अस्तित्व मेटाउन
मैले नै हुर्काएका विषवृक्ष हुन् !
… … …
त्यसो त म नजन्मँदैदेखि डरमा थिएँ !
कतै बाबाआमाले गर्भ परीक्षण गरेर
छोरी रहिछे भन्दै गर्भपतन गराएर फालिदिए भने…!
त्यहाँबाट सुरु भएको
मेरो डरको शृङ्खला आजपर्यन्त उस्तै छ
परम्पराको डर
स्वतन्त्रताको डर
सामाजिक बन्धनको डर
म निमेषनिमेषमा
डरको जिन्दगी बाँचिरहेकी छु
अझ भनौँ म बाँच्नकै लागि डराइरहेछु !
… … …
तर…
तर अब यो त्रासको बचाइबाट
म मुक्ति चाहन्छु र
मुक्ति दिलाउन एउटा शङ्खघोष गर्छु !
ए यौनपिपासुहरू
ए नरभक्षीहरू
ए वासनाका रोगीहरू
ए दुष्ट दानवहरू
आऊ ! सब आऊ !
गल्लीगल्लीबाट आऊ !
चियाएर, मौका छोपेर, लुकेर, फकाएर र
जबर्जस्ती गरेर हैन
खुलेआम आऊ र मलाई भोग गर !
तिम्रो अतृप्त प्यास मेटाऊ
तिम्रो वासना पूरा गर !
मलाई चिथोर, कोपर, निचोर, टोक
जे मन लाग्छ गर, जसरी मन लाग्छ गर
र अन्त्यमा
आफ्नो पुरुषत्व विजयी भएकोमा सन्तुष्ट हुँदै
मलाई हत्या गरेर त्यतैकतै फालिदेऊ !!
तर…
तर यो शृङ्खलाको अन्त्य त्यहीँ हुनेछ
यो कथाको पटाक्षेप त्यही पलमा हुनेछ
त्यो भङ्कर त्रासदीपछि
मैले हेर्दा
फेरि मेरा दिदीबहिनी, आमा र हजुरआमा
कोही पनि बलात्कृत भएको देख्नु पर्नेछैन !
सधैँ डर र त्रासमा बाँचेकी म नारी
अस्मिताको रक्षाका लागि आज
अन्तिमपटक निडर भएर भन्छु–
ए पुरुष आऊ तिमी
मलाई अन्तिमपटक भोग गर !!!!

२०७५ भदाै २७ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :