यही अवस्थामा वार्ता सम्भव छैन : सुदर्शन

 काठमाडौँ : सरकारले नेपाल कम्युनिस्ट पार्टीलगायत सबै आन्दोलतरत पक्षसँग वार्ता गर्ने भन्दै पाँच सदस्यीय वार्ताटोली गठन गरेको छ । उक्त वार्ताटोलीले सोमबार पत्रकारसम्मेलनमा वितरण गरेको विज्ञप्तिमा सरकारले द्वन्द्वरत पक्षहरूसँग वार्ता र संवादको माध्यमबाट देशमा दिगो शान्ति कायम गर्ने उल्लेख गरेका छन् ।

सरकारका तर्फबाट गठन गरिएको वार्ता समितिको विज्ञप्तिमा कुनै पार्टी वा समूहको नाम उल्लेख गरिएको छैन तर आम जनमानसमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग वार्ता गर्नका लागि सरकारले उक्त वार्ताटोली गठन गरेको भन्ने बुझाइ रहेको छ ।

तर सोमबार साँझ नै सरकारभन्दा बाहिरको ठूलो राजनीतिक पार्टी नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले भने सरकारले बनाएको वार्ताटोलीको औचित्य र अर्थ नभएको बताएका छन् । एकातिर आफ्ना नेता–कार्यकर्ता धमाधम पक्राउ गर्ने अर्काेतिर वार्ताको नाटक गरेर सरकारले षड्यन्त्र गरिरहेको भन्दै नेता सुदर्शनले वार्ताटोली नै अस्पष्ट भएको र एकातिर वार्ताको कुरा गर्ने सरकारले अर्कोतिर आफ्नो पार्टीका नेता–कार्यकर्ता धमाधम गिरफ्तार गरिरहेको बताएका छन् ।

वर्तमान सरकार दलाल पुँजीवादबाट फासिवादतर्फ गइरहेको भन्दै यसले राष्ट्रघात, जनघात, महँगी, करका नाममा चर्को कर उठाउने काम गरेको पनि बताएका छन् । आफूहरू सैद्धान्तिक रूपमा वार्ताविरोधी नभएको भन्दै सरकार बाहिर वार्ता भन्ने गरेको तर भित्र दमन गर्ने योजनामा रहेकाले वार्ताको वातावरण नबनेको उनको भनाइ छ ।

‘हाम्रो पार्टीका स्थायी समिति सदस्यलगायत नेतालाई जिल्लाजिल्ला दौडाउने, हतकडी लगाउने ? विश्वमा कहीँकतै नभएको गतिविधि सरकारले गरेको छ । यस्तो बेला वार्ता हुन सम्भव छैन’, सुदर्शनले भनेका छन् ।

‘सरकारले साँच्चै वार्ता गर्ने भए झूट्टा मुद्दा खारेज हुनुपर्छ । बन्दी रहेका साथी रिहा हुनुपर्छ । धरपकड र गिरफ्तारीप्रति सार्वजनिक रूपमै माफी माग्नुपर्छ । समग्र वातावरण बनाउँदै औपचारिक रूपमा स्पष्ट गरेर वार्ताटोली आयो भने सोच्न सक्छौँ तर अहिले त्यो अवस्था छैन । अहिलेको अवस्थामा वार्ता हुनै सक्दैन’, नेता सुदर्शनले भनेका छन् ।

२०७५ भदौ २६ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :