मुलुकमा ओलीराज छ

मुलुकमा ओलीराज छ
अर्थात् यसरी बुझौँ–
मुलुकमा फेरि गोलीराज छ ।

फरक यति मात्र छ–
हिजो पनि थिए विभिन्न नाम र थरका ओलीहरू
अर्थात् हिजो पनि थिए विभिन्न बहानाका गोलीहरू
एउटा राजतन्त्र नामको ओली शासन थियो
नेपाली माटो र हावापानी सुहाउँदो व्यवस्थाका नाउँमा
अर्को पञ्चायत नाउँको गोली शासन थियो
सबै नेपाली पञ्चका नाउँमा
गोलीकै बाटो गरी आएको शाहीशासन थियो
पुर्खाको पौरखका नाउँमा
अर्थात् कहिले ज्ञानेन्द्र, देउवा र सूर्यबहादुरहरू थिए
कहिले कमल थापा र गिरिजाप्रसादहरू थिए
नानाभाँती तन्त्र, मन्त्र र प्रजातन्त्रका नाउँमा
अर्थात् हिजो पनि ओलीहरू थिए,
विद्रोही जनतामाथि दाग्न
हिजो पनि उनीहरूसँग गोलीहरू थिए
हिजोका ओलीहरूका गोलीहरू
कृष्णलाल–गङ्गालालहरूका छातीमा बर्सिन्थे
चिनियाँकाजी र भीमदत्तहरूका छातीमा पोखिन्थे
आजाद, दिलमया र इच्छुकहरूका शिरमा बर्सिन्थे
आजका नयाँ ओलीहरू
अर्थात् केपी, पीके र रामबहादुर ओलीहरू
सनी खुनाहरूका छातीमा बर्सिन्छन्
निर्मला र शर्मिष्ठाहरूको मृत्यु बनेर आउँछन् र
छट्टु स्यालले आकाशतिर चिल देखाएर
भुइँको कुखुरा कुलेलम पारेझैँ
एउटा झूट्टो समाजवाद देखाएर
जनताको खुसी लुटिरहेछन्
विद्रोहीको जीवन लुटिरहेछन्
अर्थात् विदेशीहरू हिजोझैँ फेरि नयाँ ओली चलाइरहेछन् र
ओलीहरू हिजोझैँ फेरि गोली चलाइरहेछन् ।

समय उस्तै–उस्तै छ
जनताको पीडा र कहर उस्तै–उस्तै छ
देशभर फेरि कफ्र्यु छ
कञ्चनपुरमा बलात्कारी जोगाउन कफ्र्यु छ
सहरमा महँगी बढाउन कफ्र्यु छ
गाउँमा सिंहदरबार पुगेपछि
टोलटोलमा थप कर र भ्रष्टाचार लाद्न कफ्र्यु छ
निर्मला पन्त र शर्मिष्ठा सुवेदीहरू
बलात्कृत भएर मारिए त के भो र
यहाँ दिनदिनै नमिता–सुमिताकाण्डको
नयाँ–नयाँ वातावरण बनाउन कफ्र्यु छ ।

मुलुकमा शान्ति छ
सहर र अझ राजधानीमा त झनै शान्ति छ
मुर्दा शान्ति !

मानिस चलेका छैनन्
गाडी चलेका छैनन्
देश, जनता र वर्गका लागि चल्नेहरू
फसाइएका छन् दिनदिनै शाहीकाल शैलीका झूट्टामुद्दामा
चलेका छन् त केवल ओली र मोदीहरू चलेका छन्
काम गरी खाने श्रमिकको बेहाल छ
कार्यालय जाने र घर फर्किने मानिसहरूको कोलाहल छ
विद्यालयहरू बन्द गरिएका छन्
घरबाहिर निस्किन प्रतिबन्ध छ नानीबाबुहरूलाई
किनकि सडकमा मोदी र ओलीहरूको सवार छ
घरमा जनताको पहुँच छैन
देशमा जनताको पहँुच छैन
सडकमा जनताको पहँुच छैन
सडकमा मार्चपास्ट गरिरहेका छन्
मोदी र मोदीहरूका सैनिक
हामीलाई नाकाबन्दी, उत्पीडन र दासता उपहार दिने मोदीहरू
तिनकै चरणको धुलो पुछ्न लाम लागिरहेका छन् शासकहरू
नाकाबन्दीविरुद्ध
सीमा अतिक्रमणविरुद्ध
नेताहरूको खोपडी किनबेचका विरुद्ध
अर्थात् साम्राज्यवादविरुद्ध
फैलिनसक्छ सडकभरि–
कालोझन्डा, विद्रोही मुठी र बारुदको गन्ध
त्यसैले सहरमा पनि कफ्र्यु छ ।

सिँगारिएको छ रातारात
सधैँ फोहोर बोकेर मुस्कुराउने दुर्गन्धित राजधानी
पखालिएका छन् मोदीहरू मार्चपास्ट गर्ने सडक
मालिकहरू रिझाउन झन् खप्पिस देखिन्छन्
नयाँनयाँ ‘समाजवादी’ हरू
पीडा र आक्रोशले चिच्याइरहेका
सडकमा लामबद्ध जनतालाई देखाएर
प्रतिवेदन बुझाइरहेछन् यो देशका प्रधानमन्त्री
बि–मिस्टेकका मालिकहरूलाई–
‘हाम्रा प्रजा
हजूरहरूको आगमनको खुसीयालीमा
लगाइरहेछन् गगनभेदी नारा !
र चिच्याइरहेछन् खुसीयाली साट्दै…!’
मक्ख छन् मोदीहरू
वाः क्या जनता !
क्या देश !
क्या नेताहरू
हामी नाकाबन्दी लगाइदिन्छौँ र पनि हाम्रै जयजयकार गर्छन्
हामी सीमा मिच्छौँ तर पनि हाम्रै वाहवाही गर्छन्
हामी सैनिक मार्चपास्ट गर्छौं तिनको छातीमा
र पनि हाम्रै प्रशंसामा नारा लगाउँदै जयगान गर्छन्
तिनको संसद्मा उभिएर हामी भनिरहेका हुन्छौँ–
तिम्रो देशका पानी, नानी र सानी हाम्रै हुन्…
खुसीले टेबुलै फुटाउँलाझैँ गरी ताली ठोक्छन्
वाः
क्या सुहाएको छ हामीले पठाइदिएको समाजवाद !

मुलुकमा ओलीराज छ
अर्थात् अर्को गोलीराज छ

यही ओलीराज र गोलीराजको मस्त निद्रा बिथोल्दै
कोर्दै वैज्ञानिक समाजवादको खाका
देशभर जलिरहेछन् समस्त ओलीका पुतलाहरू
नयाँनयाँ जेलब्रेक गर्दैछन् शिलुहरू
डाँडाकाँडामा लागिरहेछन् गगनभेदी नारा
उडिरहेछ तितेपाती र गन्धकको सुगन्ध
र चलिरहेछ देशव्यापी साइबर वार अभियान !

२०७५ भदाै २१ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :