वैज्ञानिक समाजवाद–साम्यवादको लोकप्रियता : विप्लव, महासचिव, नेकपा


वैज्ञानिक समाजवादी–साम्यवादी विचारधारा आजसम्म प्रचलित विचारधारामध्ये सबैभन्दा लोकप्रिय विचारधारा हो । यसको लोकप्रियताबाट पुँजीवादी दुनियाँ कतिसम्म भयभति भयो भने माक्र्सलाई युरोप (ब्रिटेनबाहेक) मा बस्ने ठाउँ पनि भएन । कम्युनिस्ट लोकप्रियता कस्तो थियो भन्ने सन्दर्भलाई सङ्केत गर्दै माक्र्सले घोषणापत्रको भूमिकामा लेख्नुभएको छ, ‘के कुनै त्यस्तो विरोधी पार्टी छ जसलाई सत्ताधारीहरूले कम्युनिस्ट भनेर बदनाम गरेका छैनन् ? के त्यस्तो कुनै दल छ जसले आफ्ना प्रगतिशीलविरोधी पार्टीलाई र आफ्ना प्रतिक्रियावादी प्रतिद्वन्द्वीलाई कम्युनिस्टको निन्दापूर्ण अभियोग नलगाएको होस् ?’ त्यसैगरी, एङ्गेल्स लेख्नुहुन्छ, ‘आज निःसन्देह रूपमा यो सम्पूर्ण समाजवादी साहित्यको सबभन्दा व्यापक प्रचार भएको, सबभन्दा अन्तर्राष्ट्रिय उपज हो ।’
(कम्युनिस्ट पार्टीको घोषणापत्र, भूमिका, पृ. १७) ।
वैज्ञानिक समाजवादको लोकप्रियता केवल मजदुरमा मात्र थिएन, बरु विरोधी वर्ग पनि यो विचारबाट कायल थियो भन्ने चर्चा गर्दै लेनिनले लेख्नुभयो, ‘माक्र्सको विचारबारे जो संसारका सबै सभ्य देशहरूका मजदुर आन्दोलनका सिद्धान्त र कार्यक्रमका रूपमा आधुनिक भौतिकवाद तथा आधुनिक वैज्ञानिक समाजवादको समग्रता प्रस्तुत गर्दछ । विरोधीहरूसमेत स्वीकार गरिसकेको विलक्षण सुसङ्गति तथा क्रमबद्धताले हामीलाई यस कुराका लागि विश्वास गर्छ– हामी माक्र्सवादको मुख्य अन्तर्य अथवा माक्र्सको आर्थिक शिक्षालाई विवेचना गर्नुपूर्व उनको सामान्य विश्वदृष्टिकोणको सङ्क्षिप्त रूपरेखा प्रस्तुत गरौँ ’
(लेनिन, संकलित रचना, खण्ड ५, हिन्दी संस्करण, कार्ल माक्र्स, पृ. २६) ।
कैयौँ देशमा कम्युनिस्ट पार्टी खोल्न पनि दिइएन । वैज्ञानिक समाजवाद–साम्यवाद लोकप्रिय हुनुको मुख्य कारण आजसम्मको राजनीतिक व्यवस्थामा सबैभन्दा वैज्ञानिक र जनवादी हुनुले हो । कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सले अनुसन्धान गरेपछि बुद्धिजीवीमा लोकप्रिय रहेको साम्यवादी विचारधारा लेनिन, माओलगायत नेतृत्वमा वैज्ञानिक समाजवादी सत्ताहरू स्थापना भएपछि मानवजातिमै सबैभन्दा बढी लोकप्रिय बन्न पुग्यो । राजनीतिक दृष्टिले बीसौँ शदीको अन्त्यतिर वैज्ञानिक समाजवादी सत्ताहरूमा समस्या देखिए पनि यसको लोकप्रियतामा कुनै कमी आएको छैन । यतिबेला विश्वमा समाजवादी–साम्यवादी सभ्यता मन पराउने मानवको सङ्ख्या अर्बाैँमा रहेको छ । बीबीसीको सर्वेक्षणअनुसार पनि माक्र्स एक हजार वर्षकै सबैभन्दा चर्चित व्यक्तित्व हुनुभयो । वैज्ञानिक समाजवादको लोकप्रियता आज जहाँ पुगेको छ यसको विकास दुई चरण भएर अगाडि आएको छ । यसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ :
(क) विचारधारात्मक अनुसन्धान
(ख) क्रान्ति र वैज्ञानिक समाजवादी सत्ताको स्थापना
(क) विचारधारात्मक अनुसन्धान

वैज्ञानिक समाजवाद–साम्यवादको विचारधारात्मक अनुसन्धान धर्म र पुँजीले महारोगले जसरी गाँजेको समाजमा आफैँमा एक चुनौतीपूर्ण तर आदर्शमय विषय थियो । तर माक्र्स–एङ्गेल्सले यसलाई उपलब्ध वैज्ञानिक ज्ञान र तथ्यहरूको बलमा र आफ्नो मेधावी क्षमतालाई सिर्जनात्मक तरिकाले प्रयोग गर्दै अगाडि बढाउनुभयो र सुव्यवस्थित सिद्धान्तका रूपमा संश्लेषण गर्नुभयो । उहाँहरूको अनुसन्धान र संश्लेषण वैचारिक प्रतिस्पर्धामा प्रवेश गरेपछि पहिले युरोपमा र पछि अन्यत्र पनि लोकप्रिय हुन सुरु ग¥यो । माक्र्स समाजवादी–साम्यवादी हुनुपूर्व विभिन्न दर्शन र राजनीतिको अध्ययनमा हुनुहुन्थ्यो । समाजमा विभिन्न विचारधाराहरूको प्रचार भइरहेका थिए । त्यसमध्ये हेगेलको द्वन्द्ववाद र फायरबाखको भौतिकवाद विशेष चर्चामा थिए । माक्र्सपहिले युवा हेगेलवादी हुनुहुन्थ्यो तर जब उहाँ फायरबाखको भौतिकवादसँग परिचित हुन पुग्नुभयो तब उहाँ हेगेलको ‘भाववाद’ सँग सम्बन्धविच्छेद गर्दै फायरबाखको समर्थक हुन पुग्नुभयो । अध्ययनका क्रममा उहाँले फायरबाखको भौतिकवाद पनि ‘भाववाद’ र ‘जडवाद’ भएको पाउनुभयो र त्यसलाई पनि त्याग्न पुग्नुभयो । सन् १८४३ मा कार्ल माक्र्सले समाजको अर्थसम्बन्धबारे नयाँ अध्ययन गर्दै ‘अर्थशास्त्र र दर्शन’ मा पुँजीवादको आलोचना लेख्नुभयो । त्यसमा उहाँँले सर्वहारावर्गको उदयबारे चर्चा गर्दै पुँजीपतिवर्गविरुद्धको सत्ताको विश्लेषण दिनुभयो । त्यही समयमा एङ्गेल्सले पनि पुँजीवादी समाजसम्मको विकासको अध्ययन गर्दै सन् १८४४ मा ‘पवित्र परिवार’ लेख्नुभयो । यसमा उहाँले नयाँ समाजको परिकल्पना प्रस्तुत गर्नुभयो । सन् १८४४ मा एङ्गेल्स र माक्र्सको पेरिसमा भेट भयो । दुवैजनाको दृष्टिकोण मिलेपछि पूरै मेहनतका साथ नयाँ अध्ययनमा जुट्नुभयो । साथै गलत विचारहरूका विरुद्धमा सङ्घर्ष गर्नुभयो । सन् १८४७ मा भूमिगत रूपमा भएको कम्युनिस्ट लिगको लन्डन भेलाले माक्र्स–एङ्गेल्सलाई कम्युनिस्टको घोषणापत्र लेख्ने जिम्मा दियो । सोही निर्णयअनुरूप सन् १८४८ मा कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सले लेख्नुभएको कम्युनिस्ट पार्टीको घोषणापत्रलाई कम्युनिस्ट लिगले एक मतले पारित ग¥यो । कम्युनिस्ट घोषणापत्रको भूमिकामा उल्लेख भएअनुसार घोषणापत्र एकैपटक ६ भाषामा प्रकाशित गरिएको थियो । कम्युनिस्ट घोषणापत्र प्रकाशित भएपछि वैज्ञानिक समाजवादी विचारधारा सुव्यवस्थित प्रकारले स्थापित भयो । कम्युनिस्ट पार्टीको प्रकाशन, प्रचार र बहसले वैज्ञानिक समाजवाद सर्वहारा श्रमिकवर्गका बीचमा मात्र होइन, बौद्धिक समुदायका बीचमा पनि व्यापक रूपले लोकप्रिय हुन पुग्यो ।

सन् १८६४ मा माक्र्सको नेतृत्वमा पहिलो अन्तर्राष्ट्रिय गठन भएपछि वैज्ञानिक समाजवादले युरोप र अमेरिकामा अरू स्थापित हुने मौका प्राप्त ग¥यो । सन् १८६७ मा माक्र्सको महान् कृति ‘पुँजी’ प्रकाशन भएपछि पुँजीवादी दुनियाँँमा अझ ठूलो धक्का पुग्यो । अर्थशास्त्रमा गरिएको व्यापक अध्ययन र नयाँ अनुसन्धानले पुँजीवादको अन्त्य र साम्यवादी युगको आगमनलाई तथ्यहरूसहित स्पष्ट ग¥यो । सन् १८७१ मा पेरिस कम्युनले पुँजीवादी सत्तालाई परास्त गर्दै सर्वहारावर्गीय सत्ता स्थापना गरेपछि यो विचारधारा श्रमिकवर्ग र आमनागरिकहरूका बीचमा अरू लोकप्रिय हुन पुग्यो । पेरिस कम्युनले छोटो अवधिमा गरेका राजनीतिक, आर्थिक, सामाजिक कार्यले सर्वहारा राज्यसत्ता पुँजीवादी सत्ताभन्दा कैयौँगुणा जनवादी, प्रगतिशील, क्रान्तिकारी र वैज्ञानिक छ भन्ने साबित ग¥यो । माक्र्सको मृत्युपछि उहाँँका अनन्य कमरेड एङ्गेल्सले सन् १८८९ मा दोस्रो अन्तर्राष्ट्रिय गठन गर्नुभयो । दोस्रो अन्तर्राष्ट्रियले पनि एङ्गेल्सको नेतृत्वमा वैज्ञानिक समाजवादलाई विश्वव्यापी बनाउन र यसको वैज्ञानिकतालाई स्थापित गर्न धेरै मेहनत ग¥यो । एङ्गेल्सको समयमा माक्र्सका पुँजीलगायत थप पुस्तकहरू प्रकाशन गर्ने, कम्युनिस्ट पार्टी र मजदुर सङ्गठनहरू विस्तार गर्ने कार्यहरू भए । सन् १८९५ मा कमरेड एङ्गेल्सको निधन भएपछि एउटा अवधिसम्म दोस्रो अन्तर्राष्ट्रियले कम्युनिस्ट विचारलाई फैलाउन राम्रो भूमिका पूरा ग¥यो तर युरोपमा वर्गसङ्घर्षले चर्को रूप लिन थालेपछि यो अलमलमा पर्दै अवसरवादी मार्ग लिन पुग्यो । त्यसपछि माक्र्स–एङ्गेल्सको विचारलाई कमरेड लेनिनहरूले पकड्नुभयो । कमरेड लेनिनले माक्र्स–एङ्गेल्सको वैज्ञानिक दृष्टिकोण र सिद्धान्तमा उभिएर वैज्ञानिक समाजवादलाई व्यावहारिक प्रयोगको मैदानमा प्रवेश गराउनुभयो । उहाँले माक्र्सवादलाई नै मुकुन्डो बनाएर वैज्ञानिक समाजवादी–साम्यवादी आन्दोलनलाई पथभ्रष्ट गर्न आएका ‘संशोधनवाद’, ‘सामाजिक अन्धराष्ट्रवाद’, ‘विसर्जनवाद’, ‘संसद्वाद’ सँग कठोर सङ्घर्ष सञ्चालन गरेर वैज्ञानिक समाजवादलाई थप विकास र रक्षा गर्नुभयो । लेनिनका यी सङ्घर्ष र विकासले साम्यवादी विचारधारालाई विश्वमा लोकप्रिय बनाउन निकै मद्दत पु¥यायो । लेनिनपछि माओले कैयौँ नयाँ विचार वैज्ञानिक समाजवाद–साम्यवादमा गर्नुभयो । माओको विशिष्ट विचारमा महान् ‘सर्वहारा सांस्कृतिक क्रान्ति’ लाई मानिन्छ जसले वैज्ञानिक समाजवादभित्र पैदा हुने गैरसाम्यवादी विचार र प्रवृत्तिहरूलाई समाधान गर्न सघाउँछ । आज हामी देख्छौँ, वैज्ञानिक साम्यवादी विचारधारा विश्वमा कसैले पनि चुनौती दिन नसक्ने विचारका रूपमा स्थापित रहेको छ । सिङ्गो मानवजाति साम्यवादप्रति आशावादी छ ।

(ख) क्रान्ति र वैज्ञानिक समाजवादी सत्ताको स्थापना

वैज्ञानिक समाजवादको दोस्रो एवम् व्यावहारिक लोकप्रियता वैज्ञानिक समाजवादी क्रान्ति र सर्वहारावर्गीय सत्ताको सफलताद्वारा हासिल भयो । विचारधारात्मक रूपले वैज्ञानिक समाजवाद लोकप्रिय हुँदाहुँदै पनि राज्यव्यवस्थाका रूपमा स्थापना नभएसम्म कैयौँ बुर्जुवा बुद्धिजीवी र विश्लेषकहरूले यसलाई पनि काल्पनिक समाजवादकै स्थानमा राखेर हेरिरहेका थिए । कैयौँको तर्क थियो– समाजवाद सुन्नमा जति सुन्दर र उत्कृष्ट भए पनि यसको प्रयोग व्यावहारिक जीवनमा लागू हुन नसक्ने तर्क गरिरहेका थिए तर जब सन् १९१७ मा महान् अक्टोबर क्रान्ति सफल भयो र पहिलो वैज्ञानिक समाजवादी सत्ता स्थापना भयो; त्यसले वैज्ञानिक समाजवादको व्यावहारिकता र प्रयोगलाई मात्र साबित गरेन, विश्वव्यापी रूपमा व्यापक लोकप्रिय पनि बनायो ।

वैज्ञानिक समाजवादी–साम्यवादी सिद्धान्तले राज्यसत्ताका सन्दर्भमा केही निकै महत्वपूर्ण जनवादी, समानतावादी, मानवतावादी र उन्नत सभ्यताका मान्यता, नीति र कार्यक्रमहरू प्रस्तुत गरेको थियो । जस्तो कि पुँजीवादी सत्ताको अन्त्य गर्ने, शोषण, उत्पीडन, असमानताको अन्त्य गर्ने, वर्गहरूको अन्त्य गर्दै जाने, श्रमिकवर्गको सत्ता निर्माण गर्ने, समानतामूलक र समृद्ध जीवनको निर्माण गर्ने प्रस्तावहरू थिए । यी मान्यता, नीति र कार्यक्रमलाई सबैले दिलैदेखि मन पराए पनि कार्यान्वयन हुन सक्लान् कि नसक्लान् भन्ने द्विविधाको दृष्टिले हेरिरहेका थिए । बुर्जुवाहरूको तर्क थियो– यो सत्ता खोस्नका लागि मात्र भनिएको हो । सत्ता आएपछि लागू हुन सम्भव छैन । जब रुसमा लेनिनको नेतृत्वमा वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न भयो र सर्वहारावर्गीय सत्ता स्थापना भयो सबैले निकै गहिरो गरी नियाले । बुर्जुवाहरूको कुप्रचारविपरीत सोभियत सत्ताले माक्र्स–एङ्गेल्सले विकास गरेको सिद्धान्तअनुरूप आरम्भमै केही युग–प्रभावी निर्णय ग¥यो । सोभियत सत्ताले पुँजीवादी सत्ता अन्त्य भएको र सर्वहारावर्गीय सत्ता स्थापना भएको घोषणा ग¥यो, मजदुर–किसानहरूलाई ऋण मुक्त ग¥यो, ठूला बैङ्कहरूलाई राष्ट्रियकरण ग¥यो । रेल, यातायात, सूचना माध्यम र शिक्षालाई राष्ट्रियकरण ग¥यो । जमिनदारी प्रथाको अन्त्य गरियो । हरेक उत्पीडित राष्ट्रलाई आत्मनिर्णयको अधिकारसहित सत्तामा पूर्ण अधिकार दियो । क्रान्तिपहिले पुरानो सत्ताले लिएका सबै ऋणहरू खारेज ग¥यो । असमान सन्धिसम्झौताहरूलाई खारेज गरिने भयो । यी यस्ता निर्णयहरू थिए जसले वैज्ञानिक समाजवादी सत्ता विचारमा मात्र होइन, प्रयोग र अभ्यासमै नितान्त नयाँ हो भन्ने सन्देश दियो । यसले माक्र्सवादी सिद्धान्तलाई विचार र व्यवहार दुवै हिसाबले सफल तुल्यायो भने वैज्ञानिक समाजवादका विरुद्ध फैलाइएका सबै भ्रमहरूलाई एकै धक्कामा समाप्त गरिदियो । साथै वैज्ञानिक समाजवादी सत्ताको विश्वसनीयता र लोकप्रियता विश्वव्यापी रूपमा ह्वात्तै माथि उठ्न पुग्यो ।

अक्टोबर क्रान्ति र श्रमिकवर्गीय सत्ताको भावभूमिमा सन् १९१९ मा लेनिनको नेतृत्वमा तेस्रो अन्तर्राष्ट्रिय गठन भयो । तेस्रो अन्तर्राष्ट्रियको पहिलो काङ्ग्रेसमा लेनिनले बुर्जुवा जनवाद र सर्वहारा अधिनायकत्वमाथि सिद्धान्त तथा प्रतिवेदन प्रस्तुत गर्नुभयो । त्यसमा स्पष्ट, खुल्ला र सुव्यवस्थित प्रकारले समाजवादी सत्ता र अन्तर्राष्ट्रियको कार्यभारबारे ऐतिहासिक महत्वका विचार प्रस्तुत गर्नुभयो । जसरी माक्र्सले कम्युनिस्ट घोषणापत्रमा ठोस विचार र कार्यक्रमहरू पेस गर्नुभएको थियो त्यसरी नै तेस्रो अन्तर्राष्ट्रियले पनि वैज्ञानिक समाजवादी क्रान्तिबारे आफ्ना धारणाहरू प्रस्तुत ग¥यो । तेस्रो अन्तर्राष्ट्रियको गठन र यसले अगाडि सारेका कार्यक्रमले वैज्ञानिक समाजवादी–साम्यवादी विचारलाई तीव्रतामा विश्वभर फैलाउन निकै सहयोग पु¥यायो ।

दोस्रो विश्वयुद्धको अन्त्यसँगै पूर्वी युरोपका ८ वटा पुँजीवादी मुलुकहरूमा समाजवाद स्थापना हुन पुग्यो भने सन् १९४९ मा चीनमा नयाँ जनवादी–वैज्ञानिक समाजवादी क्रान्ति सफल भयो । पछि भियतनाम, उत्तरकोरिया, क्युबा आदि देशहरूमा पनि समाजवादी क्रान्तिहरू भए र समाजवादी सत्ताहरू स्थापना भए । सन् १९६० सम्म पुग्दा विश्वको एकतिहाइ भूभाग र आधा जनसङ्ख्यामा वैज्ञानिक समाजवाद स्थापना हुन पुग्यो भने वैज्ञानिक समाजवादको लोकप्रियता निकै शक्तिशाली भएर उठ्यो । यसले मानव जातिलार्ई चुम्बकले जसरी आकर्षित ग¥यो । यसको लोकप्रियता कतिसम्म फैलियो भने पुँजीवादी पार्टीहरूले पनि आफूलाई सामाजिक जनवादीका रूपमा प्रस्तुत गर्नुपर्ने र राजनीतिक सिद्धान्तमा समाजवाद जोड्नुपर्ने बाध्यता देखाप¥यो । ब्रिटेनको लेबर पार्टी, भारतका जवाहरलाल नेहरू, अफ्रिकाका नेल्सन मन्डेलाजस्ता पार्टी र नेताहरूले पनि समाजवादी खेमा समात्न पुगे । नेपालका बीपीले पनि काङ्ग्रेसलाई ‘समाजवादी’ सिद्धान्तअनुरूप बनाए । प्रायः सबै प्रगतिशील शक्ति र व्यक्तित्वहरूले वैज्ञानिक समाजवादलाई आउँदो युगका रूपमा स्वीकार गर्न पुगे ।

लेनिन–स्टालिन–माओको मृत्युपछि वैज्ञानिक समाजवादी सत्ताहरूले थुप्रै सङ्कट र असफलता भोग्नुपरे पनि वैज्ञानिक समाजवादी–साम्यवादी विचारधाराको लोकप्रियता घटेको छैन । कम्युनिस्ट सिद्धान्तलाई स्वीकार गर्नेको सङ्ख्यालाई नाप्ने हो भने अर्बको सङ्ख्याभन्दा कम छैन । आज कम्युनिस्ट पार्टी नभएको र कम्युनिस्ट साहित्य नपढिने कुनै देश छैन । विश्वभरि कम्युनिस्ट आन्दोलनका बारेमा नयाँ अध्ययन–अनुसन्धान भइरहेका छन् । पुँजीवादी सत्ताका विरुद्ध विद्रोहहरू सङ्गठित भइरहेका छन् वा हुने तयारीमा छन् । अनेक विरोध–अवरोध हुँदाहुँदै पनि वैज्ञानिक समाजवाद–साम्यवाद सबै उत्पीडित नागरिकलाई मुक्ति दिने र दुनियाँँलाई शान्ति, स्थिरता र समृद्धितिर लैजाने विचारका रूपमा स्थापित बन्न पुगेको छ ।

२०७५ साउन २७ गते अाइतबार बिहान १० : २० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :