वैज्ञानिक समाजवादको सफलता : विप्लव, महासचिव, नेकपा

 गताङ्कबाट क्रमश….

(ग) पूर्वी युरोपमा समाजवादी सत्ता
पूर्वी युरोपका आठवटा देशहरू (पोल्यान्ड, युगोस्लाभिया, चेकोस्लाभिया, रुमानिया, हगेरी, अल्बानिया, बुल्गेरिया, पूर्वी जर्मनी) मा सन् १९४५ देखि १९५० सम्म वैज्ञानिक समाजवादी सत्ताहरू स्थापना भए । पूर्वी युरोपमा उन्नाईसौँँ शताब्दीदेखि नै पुँजीवाद विकास भइरहेको थियो । पुँजीवादको विकाससँगै त्यहाँ दिनप्रतिदिन उद्योग र मजदुरहरूको सङ्ख्या बढ्दै थियो भने मजदुर सङ्घर्षहरू पनि सङ्गठित भइरहेका थिए । जब दोस्रो विश्वयुद्धमा जर्मन साम्राज्यले पूर्वी युरोपलाई अतिक्रमण ग¥यो तब पूर्वी युरोपमा साम्राज्यवादविरोधी सङ्घर्षहरू उठ्न थाले । दोस्रो विश्वयुद्धमा रुसी लालसेनाले हिटलरको फासिवादलाई परास्त गर्दै लगेपछि पूर्वी युरोपमा राष्ट्रिय स्वाधीनता र समाजवादी क्रान्तिहरू विकास भए । हिटलरको अन्त्यसँगै दोस्रो विश्वयुद्धको समाप्ति भयो भने पूर्वी युरोपमा समाजवादी सत्ताहरूको जन्म हुँदै गयो ।

पूर्वी युरोपका पोल्यान्ड, हङ्गेरी, जर्मनी, रुमानियाका मजदुर वर्गीय–सङ्घर्ष र समाजवादी आन्दोलन कमरेड लेनिनकै समयदेखि सशक्त थिए । रुसमा महान् अक्टोबर क्रान्ति सम्पन्न भई वैज्ञानिक समाजवादी सत्ता स्थापना भएपछि ती देशमा क्रान्तिको सकारात्मक प्रभाव पर्नु र क्रान्तिकारी सर्वहारावर्गीय आन्दोलन सुदृढ हुनु स्वाभाविक थियो । समयसमयमा हङ्गेरी, पोल्यान्ड र जर्मनीमा सर्वहारावर्गका विद्रोहहरू उठ्ने र दब्ने भइरहेको थियो । जब सन् १९३९ बाट दोस्रो विश्वयुद्ध सुरु भयो रुसमा हमला गर्ने उद्देश्यका साथ जर्मनीको हिटलरले पूर्वी युरोपलाई निशानामा पार्न पुग्यो । विश्वयुद्धको सुरुसँगै हिटलरले पूर्वी युरोप (पोल्यान्ड, हङ्गेरी, चेकोस्लाभिया, युगोस्लाभिया र फ्रान्सको ठूलो भाग) लाई लगभग नियन्त्रणमा लियो । उसको मुख्य उद्देश्य रुसको कम्युनिस्ट राज्यव्यवस्थालाई सखाप पार्नु भएकाले सोहीअनुरूप हिटलरले आफ्नो सबैभन्दा उत्तम फौज र हतियारसहित सन् १९४१ मा रुसमाथि हमला ग¥यो । रुससँगको युद्ध नै हिटलरका लागि पतनको मुख्य कारण बन्न पुग्यो । जर्मन फासिवादविरुद्ध कमरेड स्टालिनको कुशल नेतृत्वमा रुसी लालसेनाले अतुलनीय युद्धमोर्चा खडा ग¥यो । सुरुमा जर्मनीले केही सफलता पाए पनि जब वास्तविक युद्ध अगाडि बढ्यो तब हिटलरको सेनाले अकल्पनीय पराजयको सामना गर्नुप¥यो । रुसी लालसेनाले स्टालिनग्रादको लडाइँमा जर्मन सेनालाई खरानी बनाउँदै निर्णायक विजय हासिल गरेपछि फासिवादविरोधी युद्धको अभियान अगाडि बढ्यो । सोही समयमा जर्मनी, जापान र इटालीले फासिवादी मोर्चा बनाएर विश्वभरि चौतर्फी हमला गरे भने त्यसको प्रतिरोधमा रुस, अमेरिका, ब्रिटेन, फ्रान्सलगायत राष्ट्रहरूको मोर्चा अगाडि आयो । पूर्वी युरोपको मोर्चामा रुसले नेतृत्व ग¥यो भने पूर्वी मोर्चामा अमेरिकाले नेतृत्व ग¥यो । रुसको लालसेनाले हिटलरको सेनालाई लखेट्दै जर्मनीको बर्लिनमा पु¥यायो । लालसेनाको घेरामा परिसकेपछि हिटलरले आफ्नो सुरक्षित बङ्करमा श्रीमतीसहित आत्महत्या गरे ।

हिटलरको आत्महत्या र जापानमा अणुबम खसालिएपछि दोस्रो विश्वयुद्धमा जर्मनी र जापान पक्ष पराजित हुन पुग्यो । हिटलरलाई पराजित गर्दै रुसबाट पूर्वी युरोप हुँदै पश्चिम युरोप पुग्न थालेको लालसेनाले पूर्वी युरोपका श्रमिक जनतासँग मिलेर फासिवादलाई मात्र पराजित गरेनन्, फासिवादको स्रोत पुँजीवादलाई पनि उखेल्दै गए जसको कारणले पूर्वी युरोपमा वैज्ञानिक समाजवादी सत्ताहरू स्थापना हँुदै गए । पूर्वी युरोपमा सबैभन्दा पहिले सन् १९४५ को अप्रिल ८ मा पोल्यान्डमा समाजवादी सत्ता स्थापना भयो । त्यसको नेतृत्व एकीकृत मजदुर पार्टीले गरेको थियो । त्यसपछि युगोस्लाभियामा सन् १९४५ नोभेम्बरमा समाजवाद स्थापना भयो । त्यसको नेतृत्व टिटोले गरेका थिए । सन् १९४६ मा अल्बानियामा समाजवाद स्थापना भयो । त्यसको नेतृत्व अनबर होक्जाले गरेका थिए । सन् १९४७ मा रुमानियामा समाजवाद स्थापना भयो । सन् १९४९ अक्टोबरमा पूर्वी जर्मनीमा र डिसेम्बरमा हङ्गेरीमा पनि समाजवाद स्थापना भयो । यी सबै समाजवादी सत्ताहरूको नेतृत्व मजदुरवर्गीय पार्टीहरूले गरेका थिए । फासिवादविरोधी मोर्चामा अमेरिका र ब्रिटेनहरू पूर्व सोभियत सङ्घसँग आउनु आवश्यक र बाध्यता थियो तर पनि उनीहरू समाजवादी सत्ताहरू युरोपमा स्थापना होऊन्, समाजवादी आन्दोलन फैलियोस् भन्ने पक्षमा थिएनन् र हुने कुरा पनि भएन । उनीहरूले युद्धकै क्रममा पूर्वी युरोपको समाजवादी प्रवाहलाई रोक्न अनेकौँ प्रयत्न गरे तर समाजवादको प्रभाव कति बलियो भएर गयो भने त्यसलाई रोक्न त सम्भव रहेन नै, फासिवादविरोधी मोर्चाका कारण स्टालिनले अमेरिका र ब्रिटेनसँग अनेकौँ सहमति गर्नु नपरेको भए फ्रान्स, पश्चिम जर्मनी र स्पेनमा पनि समाजवादको विजय हुने सम्भावना देखिँदै थियो । तथापि पूर्वी युरोपमा समाजवादी सत्ताहरूको स्थापनाले समाजवादी धारालाई विस्तार गर्न र विश्वमा समाजवादी धारालाई जबर्जस्त एक शक्तिका रूपमा स्थापित गर्न निकै ठूलो योगदान ग¥यो ।

(घ) चिनियाँ नयाँ जनवादी क्रान्ति

सन् १९४९ अक्टोबर १ मा चीनमा अर्को विश्वव्यापी महत्वको नयाँ जनवादी (वैज्ञानिक समाजवादी) क्रान्ति सम्पन्न भयो । यो ऐतिहासिक क्रान्तिको नेतृत्व चिनियाँ कम्युनिस्ट पार्टी र त्यसका नेता कमरेड माओेको नेतृत्वमा भएको थियो । चीन एउटा अति गरिब, पछौटे, अर्धसामन्ती र अर्धऔपनिवेशिक तर विशाल भूभाग र सबैभन्दा ठूलो जनसङ्ख्या भएको देश थियो । सन् १९११ मा सन यात सेनको नेतृत्वमा पुँजीवादी गणतान्त्रिक क्रान्ति भएपछि हजारौँ वर्षदेखि विभिन्न वंशले शासन गर्दै आएको राजतन्त्रको अन्त्य भयो र गणतन्त्र स्थापना भयो तर सन् १९२५ मा सन यात सेनको मृत्यु र च्याङ काइसेकको गद्दारीका कारण चीनलाई सामन्तवादबाट मुक्त गर्ने उद्देश्य पूरा हुन सकेन । सन यात सेनको मृत्युपछि कोमिन्ताङ पार्टीलाई उल्टै सामन्तवादी र दलालहरूले कब्जा गर्न पुगे र त्यसको नेतृत्वमा च्याङ काइसेक आइपुग्यो । च्याङ काइसेकले कोमिन्ताङ पार्टीको नेतृत्व हत्याएपछि चीनमा सामन्ती व्यवस्थालाई निरन्तरता दिँदै एकदलीय र दलालखालको निरङ्कुश व्यवस्था लाद्न पुग्यो । अर्कोतिर जापान, ब्रिटेन, पोर्चुगलजस्ता साम्राज्यवादी देशहरूले चीनमाथि अतिक्रमण र हस्तक्षेप गरिरहेका थिए । जापानी साम्राज्यवादले त चीनको ठूलो भूभाग, साङ्घाई, उहान, नानकिङसम्म नियन्त्रण गरेको थियो । चिनियाँ जनताले साम्राज्यवादी अतिक्रमणको विरोध गरे पनि शासक च्याङ काइसेकले साम्राज्यवादसामु आत्मसमर्पण गर्ने नीति लियो जसको कारणले चीन माओको विश्लेषणमा एक अर्धऔपनिवेशिक देशमा बदलियो । चीन र चिनियाँ जनताको स्वतन्त्रता र स्वाधीनताको चाहनाअनुरूप चिनियाँ कम्युनिस्ट पार्टीले सन् १९२४ देखि चलाइरहेको सामन्तवादविरोधी क्रान्तिमा कमरेड माओको नेतृत्व आइसकेपछि सन् १९३१ देखि साम्राज्यवादविरुद्ध पनि राष्ट्रिय मुक्ति क्रान्ति अगाडि बढायो । चिनियाँ क्रान्ति माओले विकास गर्नुभएको नयाँ जनवादी क्रान्ति, दीर्घकालीन जनयुद्धको सिद्धान्तअनुसार सञ्चालन भयो । कम्युनिस्ट पार्टीले गाउँबाट सहर घेर्ने, स्थानीय लालसत्ता हुँदै केन्द्रीय सत्ता कब्जा गर्ने, कम्युनिस्ट पार्टी र देशभक्त शक्तिको संयुक्त मोर्चा निर्माण गर्ने, जनमुक्ति सेना र जनताको एकतामा युद्ध लड्ने, समाजवादी अन्तर्राष्ट्रवादसँग एकाकार भएर जाने नीति बनायो र सोही नीतिका आधारमा क्रान्तिलाई निरन्तर अगाडि बढाइरह्यो । माओको वैज्ञानिक र वस्तुवादी कार्यदिशाअनुरूप २७ वर्ष लामो दीर्घकालीन जनयुद्ध लड्दै चिनियाँ कम्युनिस्ट पार्टीले सामन्तवादी च्याङ काइसेकको सत्तालाई समाप्त ग¥यो र चीनमा किसान, मजदुर, देशभक्त शक्तिहरूको नयाँ जनवादी राज्यव्यवस्था स्थापना भयो । सन् १९४९ अक्टोबर १ मा कमरेड माओले बेइजिङको तियानमेनचोकबाट चिनियाँ जनताले विजय हासिल गरेको र चीनमा नयाँ जनवादी राज्यसत्ता स्थापना भएको घोषणा गर्नुभयो । चीनको क्रान्तिलाई कमरेड स्टालिन र महान् समाजवादी देश पूर्व सोभियत सङ्घबाट निकै नजिकको सहयोग भएको थियो । जब चीनमा क्रान्ति सफल भयो स्टालिनले यसको निकै प्रशंसा गर्नुभयो । विशाल भूभाग र ठूलो जनसङ्ख्या भएको चीनमा सफल भएको यो क्रान्तिले विश्व कम्युनिस्ट आन्दोलनलाई निकै ठूलो सहयोग ग¥यो । चिनियाँ नयाँ जनवादी क्रान्तिपछि समाजवादी सत्ताको प्रभाव विश्वको आधा जनसङ्ख्या र एक तिहाइ भूभागमा फैलिन पुग्यो । त्यसैले चिनियाँ क्रान्तिलाई विश्व ऐतिहासिक महत्वको क्रान्ति मानिन्छ ।

चिनियाँ क्रान्तिको महत्व के कुरामा पनि छ भने त्यस बेलासम्म कम्युनिस्ट क्रान्ति (वैज्ञानिक समाजवादी क्रान्ति) पुँजीवादी वा विकसित देशमा मात्र हुन्छ; अविकसित, सामन्तवाद र कृषिप्रधान देशमा हुन सक्दैन भन्ने थियो । एकथरी कम्युनिस्टहरूले त नारा नै दिएका थिए– जहाँ पुँजीवाद आएको छैन त्यहाँ पहिले पुँजीवादी क्रान्तिलाई कम्युनिस्टहरूले सहयोग गर्नुपर्छ । क्रान्तिको नेतृत्व पुँजीपतिवर्गले नै गर्नुपर्छ । पुँजीवाद नआएको देशमा कम्युनिस्टहरूले क्रान्तिको नेतृत्व गर्न खोज्नु भनेको बच्चालाई समयअगावै जन्माउन खोज्नुजस्तै हुन्छ । कमरेड माओले यो विचारलाई गलत साबित गर्दै नयाँ विचारको संश्लेषण गर्नुभयो र भन्नुभयो– सामन्तवाद भएको किसान प्रधान मुलुकमा पनि कम्युनिस्ट पार्टीको नेतृत्वमा नयाँ जनवादी (नयाँ खालको पुँजीवादी) क्रान्ति गर्दै देशलाई औद्योगिकीकरणसहित वैज्ञानिक समाजवादतिर अगाडि बढाउन सकिन्छ । त्यस समयमा माओको यो सिद्धान्तलाई गलत व्याख्या गर्दै कैयौँ कम्युनिस्टले माओलाई युद्धवादी र किसान मनोवृत्तिको नेता भनेर पनि आरोपित गरे । जब माओको नेतृत्वमा सामन्तवाद र साम्राज्यवादलाई परास्त गर्दै चीनमा नयाँ जनवादी गणतन्त्र स्थापना भयो र केही समयमै त्यो (सन् १९५६ बाट) वैज्ञानिक समाजवादतिर अगाडि बढ्यो, तब माओको विचार वैज्ञानिक रहेको प्रमाणित भयो । त्यसपछि माओको नयाँ जनवादी क्रान्तिको सिद्धान्त विश्वव्यापी महत्वको विचारमा स्थापित बन्न पुग्यो । माओले संश्लेषण गरेको नयाँ जनवादी–वैज्ञानिक समाजवादी क्रान्तिको सिद्धान्तअनुरूप नै कैयौँ पछौटे सामन्तवादी र पुँजीवादी देशहरूमा क्रान्तिहरू सम्पन्न भए ।

(ङ) भियतनामी क्रान्ति

भियतनाम अठारौँ र उन्नाईसौँ शताब्दीको मध्यसम्म हिन्द–चीनको एउटा सामन्तवादी र स्वतन्त्र देश थियो । सन् १८८७ मा साम्राज्यवादी फ्रान्सले भियतनामलाई बलपूर्वक उपनिवेश बनायो । त्यसपछि भियतनाम पूर्ण उपनिवेशमा बदलियो । कमरेड हो ची मिन्हको नेतृत्वमा कम्युनिस्ट पार्टी स्थापना भएपछि उपनिवेशवादी साम्राज्यवादी फ्रान्सका विरुद्ध कम्युनिस्ट पार्टीको नेतृत्वमा राष्ट्रिय क्रान्ति सङ्गठित गरियो । यस क्रान्तिलाई भियतनामी जनताले पूर्ण रूपले साथ दिए । दोस्रो विश्वयुद्धमा जर्मनीको हमलाले आफ्नै देशमा विनासको मुखमा पुगेको फ्रान्सलाई सन् १९४५ मा जापानले भियतनामबाट लखेट्यो । त्यसपछि केही समय भियतनाम जापानको नियन्त्रणमा पुग्यो तर सन् १९४५ मा जापान पराजित भएपछि भियतनाम साम्राज्यवादको शासनबाट केही क्षण मुक्त भयो । परन्तु जब भियतनामभित्र कमरेड हो ची मिन्हको नेतृत्वमा रहेको कम्युनिस्ट पार्टी लोकप्रिय हुँदै गयो र जनताको नेतृत्व गर्न थाल्यो तब अमेरिकाको सहयोगमा फ्रान्स पुनः फर्कियो । कम्युनिस्ट पार्टी र श्रमिक जनता एकातिर र अमेरिका, फ्रान्स अर्कोतिर भएर विवाद हुन थाल्यो । साम्राज्यवादीहरूले मुख्यतः दक्षिण भियतनामपट्टि उनका समर्थकमार्फत उपद्रो गर्न थाले । अमेरिका र फ्रान्सले त्यही बहानामा भियतनामलाई दुईवटा बनाउने प्रस्ताव राखे । भियतनामी जनता र कम्युनिस्टहरूले त्यसको कडा प्रतिवाद गरे । परन्तु जटिल अन्तर्राष्ट्रिय राजनीतिक अन्तर्विरोधका कारण जनताको इच्छाविपरीत सन् १९४६ मा भियतनाम पहिलोपटक दुई देश (उत्तरभियतनाम र दक्षिणभियतनाम) मा विभाजित भयो । उत्तरभियतनाममा वैज्ञानिक समाजवाद स्थापना भयो भने दक्षिणमा फ्रान्सको कठपुतली दलाल पुँजीवादी सत्ता सञ्चालन गरियो तर भियतनामी जनताले यो विभाजनलाई अपूरणीय पीडाका रूपमा लिए र एकीकृत भियतनाम तथा स्वाधीन भियतनामका पक्षमा देशभक्तिको सङ्घर्ष सञ्चालन गरिरहे । यसको नेतृत्व कम्युनिस्टहरूले गरे भने सारा देशभक्त भियतनामीले एकमनले साथ दिए । फलस्वरूप फ्रान्सेली साम्राज्यवादविरुद्ध विद्रोह भड्कियो । विशेषतः दक्षिणभियतनाममा घमासान युद्धहरू भए । सन् १९५३ मा कम्युनिस्ट पार्टीको नेतृत्वमा भियतनामी जनता (दुवै भियतनाम, मुख्यतः उत्तरभियतनामी सेना) ले फ्रान्सलाई ‘डियन वियन फु’ को लडाइँमा निर्णायक रूपले परास्त गरेपछि सन् १९५४ मा फ्रान्स भियतनामबाट भाग्यो र भियतनाममा समाजवाद स्थापना भयो तर अमेरिका र पश्चिम युरोपले यसलाई मान्यता दिन अस्वीकार गरे । लामो बहस र विवादको बीचबाट अमेरिकी हस्तक्षेपका कारण सन् १९५६ मा भियतनाम पुनः टुक्रिन पुग्यो । फेरि उत्तरमा समाजवाद र दक्षिणमा अमेरिकी उपनिवेशवादी दलाल सरकार बन्न पुग्यो तर भियतनाम कम्युनिस्ट पार्टीले यसलाई अस्वीकार ग¥यो । कमरेड हो ची मिन्हको नेतृत्वमा दुवै भियतनामी जनताले अमेरिकाविरुद्ध सशस्त्र विद्रोह कायमै राखे । सन् १९६५ देखि अमेरिका आफैँ विशाल सेनासहित भियतनामी जनताविरुद्ध युद्धमा उत्रियो । यो युद्ध सन् १९७५ सम्म भीषण र विध्वंसात्मक प्रकारले चल्यो । दोस्रो विश्वयुद्धकै विनासकारी युद्धका रूपमा यसलाई बुझिन्छ । दसौँ लाख भियतनामी जनताले बलिदान गरे तर मुक्तियुद्धलाई एकरत्ति कम गरेनन् । अमेरिकामा समेत भियतनाममा अन्यायपूर्ण तरिकाले छेडिएको अमेरिकी अतिक्रमणको सशक्त विरोध भयो । अन्ततः सन् १९७५ मा भीषण युद्धको बीचबाट भियतनामी जनताले महान् विजय हासिल गरे । अमेरिका भियतनामबाट भाग्न बाध्य भयो । भियतनाम पुनः एकीकृत बन्यो र कम्युनिस्ट पार्टीको नेतृत्वमा समाजवादी भियतनाम स्थापना भयो । भियतनामको राष्ट्रिय स्वाधीनताको युद्ध कम्युनिस्ट इतिहासमा मात्र नभएर मानवजातिकै युद्धइतिहासमा अद्वितीय मानिन्छ । यो युद्ध एउटा कमजोर र सानो देशले पनि सत्यका निम्ति लड्दा कसरी अमेरिकाजस्तो महाशक्तिलाई हराउन सक्छ भन्ने उदाहरण बन्न पुग्यो ।

(च) कोरियन क्रान्ति

उन्नाईसौँ शताब्दीसम्म कोरिया समुद्री किनारमा अवस्थित अर्धसामन्ती र औपनिवेशिक मुलुक थियो । जापान साम्राज्यवादमा परिणत भएपछि उसले सन् १९१० मा कोरियामाथि अतिक्रमण ग¥यो । त्यसपछि कोरिया सन् १९४५ सम्म जापानी उपनिवेश बन्न पुग्यो तर जापानी साम्राज्यवादविरुद्ध कोरियन जनताले राष्ट्रिय स्वाधीनताका लागि निरन्तर प्रतिरोध गरिरहे । सन् १९३० देखि त्यसको नेतृत्व कोरियन कम्युनिस्ट पार्टीले गर्न थाल्यो । कम्युनिस्ट पार्टीलाई तेस्रो अन्तर्राष्ट्रिय र चिनियाँ कम्युनिस्ट पार्टीको भाइचारा सहयोग रह्यो । कोरियामा जापानी साम्राज्यवादले कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाएपछि रुस र चीनमा बसेर कम्युनिस्टहरूले कोरियाको राष्ट्रिय मुक्ति आन्दोलन सञ्चालन गरिरहे । सन् १९४० पछि कोरियाली युवाहरूले गोरिल्ला सेना बनाएर कम्युनिस्ट पार्टीको नेतृत्वमा जापानी साम्राज्यवादविरुद्ध सशस्त्र कारबाहीहरू सञ्चालन गरे भने क्रान्तिकारी र देशभक्तहरूले देशबाहिर बसेर पनि कोरियन सरकार निर्माण गरेर सञ्चालन गरे । जब सन् १९४५ मा जापानी साम्राज्यवाद दोस्रो विश्वयुद्धमा परास्त भयो तब कोरिया रसियन लालसेनासहितको मद्दतले स्वतन्त्र भयो । तर दक्षिण भेगमा अमेरिकी सेना प्रवेश गर्न थाल्यो । कम्युनिस्टको नेतृत्वमा सरकार बन्ने सम्भावना देखेपछि अमेरिकाले निहँु खोज्दै समाजवादी कोरिया हुन नसक्ने जिकिर गर्न थाल्यो । उसले दक्षिणमा आफ्ना दलालहरू खडा ग¥यो । विवाद बढ्दै गएपछि सन् १९४८ मा कोरियालाई अमेरिकी प्रस्तावमा दुई भागमा विभाजित गरियो । उत्तरमा समाजवादी सरकार बन्यो भने दक्षिणमा अमेरिकी साम्राज्यवादको दलाल सरकार बन्न पुग्यो तर कोरियाभरिका कम्युनिस्टहरूले एउटै पार्टी बनाएर त्यसको विरोध गरेर राष्ट्रिय मुक्ति आन्दोलन सञ्चालन गरे भने देशभक्त कोरियन जनताले सहयोग गरिरहे । सन् १९५० मा अमेरिकी साम्राज्यवादविरुद्ध विद्रोह सुरु भयो । उत्तरमा मात्र होइन, दक्षिणमा पनि कम्युनिस्टहरूले अमेरिकालाई परास्त गर्ने सम्भावना बन्यो । कोरियाली जनविद्रोहलाई चिनियाँ, रुसी जनस्वयम्सेवकहरूले साथ दिएका थिए भने अमेरिकालाई ब्रिटेन, फ्रान्स, जर्मनी, इटालीलगायत पुँजीवादी मुलुकहरूले साथ दिएका थिए । पछि अमेरिकासँग भीषण युद्ध हुन थालेपछि सन् १९५३ मा पुनः सम्झौता भयो र कोरियालाई फेरि पनि विभाजन गरियो । उत्तरकोरियामा समाजवादी सत्ता चल्यो भने दक्षिणमा दलाल पुँजीवादी सरकार बन्यो । यो कोरियन युद्ध पनि भियतनामपछिको भीषण युद्धका रूपमा प्रख्यात छ । यद्यपि कोरिया एकीकरण र स्वाधीन कोरियाको सङ्घर्ष आज पनि चलिरहेको छ । यसरी कोरियामा पनि समाजवादी क्रान्ति एक तहसम्म पूरा भयो । विश्व कम्युनिस्ट आन्दोलनमा कोरियन क्रान्तिको पनि उल्लेखनीय महत्व रहेको छ ।

(छ) क्युबाली क्रान्ति

क्युबा उत्तर अमेरिकाको ढोकामा रहेको दक्षिण अमेरिकी देश हो । यसकोे चारैतिर समुद्र रहेको छ । पन्ध्रौँ शताब्दीदेखि क्युबा स्पेनिस साम्राज्यवादको उपनिवेश भयो । उन्नाईसौँ शदीमा आउँदा यो अमेरिकाको अर्धउपनिवेश भयो । क्युबाली देशभक्तहरूले स्पेनिस साम्राज्यदेखि अमेरिकी साम्राज्यसम्मको विरुद्धमा प्रतिरोध सङ्घर्ष गर्दै आएका थिए तर सफल हुन सकेका थिएनन् । सन् १९४० तिरबाट अमेरिकी समर्थक फुलगेन्सियो बतिस्टाको दलाल सरकार र अधिनायकत्व आयो । यसले भ्रष्टाचार र गरिबी अति बढाउन पुग्यो । क्युबाली जनताले त्यसका विरुद्ध सङ्घर्ष उठाउन थाले । यही क्रममा सन् १९५३ को २६ जुलाईबाट कमरेड फिडेल क्यास्ट्रो, चे ग्वेभारा, राहुल क्यास्ट्रोहरूको नेतृत्वमा सशस्त्र सङ्घर्ष सुरु भयो । सुरुमा बतिस्टा सरकारले भीषणस्थल र हवाई हमला गरेर क्रान्तिकारीहरूलाई ठूलो क्षति पु¥यायो तर निरन्तर सशस्त्र क्रान्ति अगाडि बढाएपछि क्युबाली जनताले क्रान्तिलाई साथ दिए । यो क्रान्ति ५ वर्ष चलेर सन् १९५९ जनवरीमा सम्पन्न भयो । क्रान्तिद्वारा बतिस्टाको दलाल सत्तालाई परास्त गरियो र स्वतन्त्र क्युबा राज्य स्थापना गरियो । क्रान्ति सफल भएपछि राज्य कस्तो बनाउने भन्नेमा बहस गर्दै गएर समाजवादी राज्यसत्ता स्थापना गर्ने निर्णय गरियो । कमरेड फिडेल क्यास्ट्रो समाजवादी क्युबाको प्रधानमन्त्री हुँदै राष्ट्रपति भए । फिडेलको नेतृत्वमा सन् १९६५ मा कम्युनिस्ट पार्टी निर्माण भयो । क्युबाली क्रान्तिलाई कैयौँ विश्लेषकले विशिष्ट क्रान्ति भन्ने गरेका छन् भने केहीले क्युबाली क्रान्तिको नमुनालाई दस्तावादी (फोकोवादी) पनि भन्ने गर्छन् तर यो कमरेड फिडेलको नेतृत्वमा सिर्जनात्मक प्रकारले अमेरिकी नाकैमुनि गरिएको वैज्ञानिक समाजवादी क्रान्ति थियो । क्युबेन समाजवादी क्रान्तिको महत्व पनि विश्व कम्युनिस्ट आन्दोलनमा उल्लेखनीय रहेको छ । स्राेत: वैज्ञानिक  समाजवाद

याे पनि पढ्नु हाेस्

वैज्ञानिक समाजवादको सफलता : विप्लव

२०७५ साउन १९ गते शनिबार बेलुका ९ : १८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :