एकीकृत जनक्रान्ति र मधेस : राजु कार्की

जुन अनुपातमा एक व्यक्तिद्वारा अर्काे व्यक्तिको शोषणको अन्त्य हुन्छ त्यही अनुपातमा एक जातिद्वारा अर्काे जातिको शोषणको पनि अन्त्य हुनेछ । जुन अनुपातमा एउटा जातिभित्र वर्गहरूबीचको विरोध समाप्त हुन्छ त्यही अनुपातमा जातिहरूबीचको आपसी वैरभाव पनि हराउनेछ ।’
– माक्र्स–एङ्गेल्स
‘समाजवादको लक्ष्य सानासाना राज्यहरूबीच मानव जातिको विभाजन र समस्त प्रकारका जातीय पार्थक्यको अन्त्य गर्नु जातिहरूलाई निकट ल्याउनु मात्र नभएर यिनीहरूको विलयनसमेत हो ।’
– लेनिन
राज्यबाट उत्पीडनको सिकार बनेको मधेस र मधेसी जनता राज्यविरोधी जुनसुकै आन्दोलनमा पनि बलिदानको कोटा चुक्ता गर्न पछि पर्दैनन् । जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलनमा बगेको रगत त्यसैको एउटा उदाहरण हो । किन मधेस, मधेसी जनता र राज्यबीचको अन्तरविरोध यति माथि चुलिएको छ । एकीकृत जनक्रान्तिका बारेमा बहस छेड्दै गर्दा मधेसले भोगेको उत्पीडनका बारेमा बुझ्न, अध्ययन गर्न जरुरी थियो । यो विषयले समयको अवश्य माग गर्ला तर सुरुआत गर्दै जाऊँ । यो आलेखमा मधेसको नालीबेली ऐतिहासिक अभिलेखहरूको लामो व्याख्या–विश्लेषण गर्ने उद्देश्य राखिएको छैन । मधेसमा एकबर्से बसाइका क्रममा अनुभूत गरेका विषयका तथ्यगत आधारहरूलाई चिरफारमा बढी ध्यान दिइएको छ । शीर्षकमा मधेस शब्द राखिएको छ । मधेस र मधेसवादी पदावली आफैँमा विवादित शब्द हुन् । हालको २ नं. प्रदेश विशेष गरेर मिथिला, भोजपुरा क्षेत्र नै सही अर्थमा मधेस हो । मधेस तराईको एउटा सानो अंश हो । आखिर यही मधेस र मधेसी जनताले केकेबाट उत्पीडनको सिकार हुनु परिरहेको छ ?

१. केन्द्रीकृत सामन्ती चिन्तनबाट उत्पीडन

अङ्गे्रज साम्राज्यको बढ्दो प्रभाव रोक्न सानासाना भुरेटाकुरे राज्यलाई एउटै केन्द्रीकृत राज्य विस्तार गर्ने कामको नेतृत्व गोरखाका राजा पृथ्वीनारायण साहले गरे । त्यो तत्कालीन आवश्यकता थियो आफ्नो अस्तित्वरक्षाका लागि पनि । पृथ्वीनारायण शाहपछिका केही राजाहरूले पनि राज्य विस्तार गर्ने कार्यलाई निरन्तरता दिए । नेपाल–अङ्ग्रेज युद्धपछि राज्य विस्तार अभियान ठप्पप्रायः नै भयो । त्यसपछिका राजाहरू आफ्नो काम केन्द्रीकृत राज्यलाई सुदृढ र सुव्यवस्थित बनाउनभन्दा मोजमस्तीमा लागे । जसका कारण विकास सूचकाङ्कमा नेपाल निकै पछाडि धकेलियो । नेपालको विकासको यात्रा मात्रै रोकिएन, नेपाली जनताको जीवनस्तर दयनीय बन्दै गयो । नेपाल राज्यको एकीकरण अभियानभित्र नेपाली जनताको पनि एकीकरण आवश्यक पर्ने थियो, त्यो कार्य गर्न तत्कालीन शासकहरू असमर्थ रहे ।

राजा महेन्द्रले मधेसलाई ध्यान दिएर पश्चिम राजमार्ग निर्माण, उत्तरको नाका जोड्न अरनिको राजमार्ग निर्माण, ५१ वटा आत्मनिर्भर उद्योगधन्दा खोल्नुका साथै हिन्दुस्तानले नेपाली भूमिमा राखेका १८ वटा चेकपोस्ट हटाउनु सराहनीय काम हुँदाहुँदै पनि छिमेकीसँगको सम्बन्ध कस्तो राख्ने भन्ने विषयमा ख्याल नगर्दा मधेसमा उनको पालामा राष्ट्रवादको आडमा एकथरी जातिलाई उचाल्ने, जातजातबीच अविश्वास उत्पन्न गराएर फुट–घृणा पैदा गराउने कार्य गरे । यसको प्रभाव पहाडमा पनि प¥यो । त्योभन्दा कैयौँ गुणा बढी प्रभाव मधेसमा प¥यो । धोती लगाउने सबै भारतीय नै हुन्छन् भन्ने छाप पारियो । सबै मधेसीहरू भारतीय नै हुन् जस्तो व्यवहार गरियो । मधेसी जनताको अविश्वासका कारण सीमानाकामा पहाडियाहरूको बस्ती बसाउन थालियो । प्रत्येक गाउँमा पहाडिया अनुहारको सामन्त जमिनदारलाई खडा गराइयो र मधेसी आदिवासीलाई घृणा र तिरस्कार गर्ने, दासजस्तो व्यवहार गर्ने कुत्सित कार्य तत्कालीन राज्यबाट नै गरियो । यो कार्य प्रजातन्त्र बहालीपछि पनि रोकिएन । यसको सिकार उत्पीडित मधेसी जनता बनिरहे ।

मधेसी अनुहारका सम्पन्न जमिनदार र नेताहरूले पनि सामन्तकै सिको गरे । मधेसी अनुहार वेदानन्द झादेखि उपराष्ट्रपति परमानन्द झासम्मले सत्तामा अवसर पाएकै हुन् । अझ लोकतन्त्र आएपछि राष्ट्रपति, उपराष्ट्रपति मात्र होइन, मधेसबाट मात्र मन्त्री हुनेहरूको सङ्ख्या कम्ती छैन । २००७ सालदेखिको इतिहास हेर्ने हो भने नेपाली समाजको रूपान्तरणमा लगानी गर्ने, बलिदानको मूल इतिहास रच्ने आधारभूत वर्ग र समुदायले कहिल्यै अवसर पाएको छैन । यो करिबकरिब पहाड र मधेस दुवैको स्थिति हो । अझ मधेसमा बढी हो ।

पछिल्लो कालखण्डमा पहाडिया अनुहारका जमिनदार मधेसमा छैनन् भन्दा पनि हुन्छ तर जमिनदारी प्रथा कायमै छ । भारतीय जमिनदारहरूको दबदबा अझै छँदैछ । आपत्विपत्मा परेका गरिब मधेसी किसानलाई चक्रवृत्ति ब्याज लगाउने सूदखोर, महाजन, मधेसी नै छन् । उनीहरू गरिब किसानलाई घरबारविहीन गराई गाउँबाट उठीबास गराउनेसम्मको कुकृत्य गरिरहेकै छन् ।

मधेसमा ठूलो सङ्ख्यामा रहेका दलित जाति जसमा मुसहर, डुम, चमारलगायतको अवस्था, उच्च जातिका मधेसीले उनीहरूलाई गर्ने व्यवहार कति क्रूर र अमानवीय छ भने शब्दमा व्याख्या गर्न गाह्रो छ । सामन्ती चिन्तनले उत्पीडित मधेसी जनसमुदाय उत्पीडनमा परेका छन् भन्दा अन्यथा हुँदैन ।

२. भाषिक उत्पीडन

भाषिक उपनिवेशको कुरा गर्दा मूलतः अङ्ग्रेजी भाषाको बढ्दो प्रभावको चिन्ता गरिन्छ । पुँजीवादको बदलिँदो स्वरूप र साम्राज्यवादी भूमण्डलीकरणका कारण भाषिक उपनिवेशवादको चरित्र पनि फरक किसिमले विकसित र विस्तारित भएको छ । भाषा आफैँमा समस्या होइन । यसको वर्गीय चरित्र पनि हुँदैन । यो त प्रभुत्वशाली र विजयी वर्गले लाद्ने गर्छ । यो राज्यसत्ताद्वारा लादिन्छ । नेपालमा खसभाषाले नेपाल खाल्डोमा प्रभुत्व कायम गर्नुअघि मैथिली भाषा नेपाल खाल्डोमा राजकाजको भाषा थियो । चौधौँ शताब्दीमा भक्तपुरका राजा हरिसिंह देवको समयमा यहाँ बोलिने भाषा मैथिली थियो भन्ने कुराको प्रमाण शिलालेखहरूमा पाइन्छ । नेपालमा बोलिने सबै मातृभाषाहरूले प्रायः यस्तै नियति भोगेका होलान् ।

शासकहरूले नेपालमा बोलिने सबै भाषाहरूको रक्षा र विकासको प्रश्नलाई सार्वभौम प्रश्न नबनाइदिँदा भाषाहरू लोप हुने अवस्था उत्पन्न भयो । अझ मधेसमा बोलिने मैथिली, भोजपुरी, अबधी, थारू, कुञ्जिका, राजवंशीलगायत भाषाहरूका विरुद्ध योजनाबद्ध रूपमा हिन्दी भाषाको प्रवेश गराउन खोजिँदैछ । यो हिन्दी भाषाको प्रवेश भाषागत साम्राज्य फैलाउनका लागि गरिने साम्राज्यवादी योजनाका साथ आएको देखिन्छ । यसको उत्पीडनमा मैथिली, भोजपुरीलगायत भाषाहरू पर्ने निश्चित छ ।

३. सीमानाकामा हुने उत्पीडन

भारतसँगै सीमा जोडिएका २६ जिल्लामध्ये २१ जिल्ला ५३ ठाउँमा नेपाली भूभाग मिचिन पुगेको देखिन्छ । मिचिएको भूभागको क्षेत्रफल लगभग ११ लाख ७९ हजार रोपनी भएको अनुमान गरिएको छ । मधेसका ८ जिल्लामध्ये ५ जिल्लाको १४ ठाउँमा सीमा मिचिएको पाइएको छ । पर्सामा ४ स्थानमा, रौतहटमा १ स्थानमा, सर्लाहीमा २ स्थानमा, सिराहामा २ स्थानमा र सप्तरीमा ५ स्थानमा सीमा मिचिएको छ । (सीमाविद् बुद्धिनारायण श्रेष्ठ) ।

भारतले दसगजानजिकै बनाएको हाइड्याम्प होस् वा नदीमा बनाएको बाँध, दुवैले वर्षायाममा नेपाली भूभाग जलमग्न हुने, ठूलो मात्रामा धनसम्पत्तिको नोक्सानी बेहोर्नु परिरहेको छ ।

सीमास्तम्भ सारेर होस् वा बाँध बनाएर मधेसी जनतालाई बारम्बार उत्पीडनमा पार्ने काम भैरहेको छ । सप्तरीको तिलाठीका जनताले गरेको विरोधबाट पनि सिमानामा कति उत्पीडन बेहोर्नुपरेको छ भन्ने अनुभूत गर्न सकिन्छ ।

४. विखण्डनकारी चिन्तनबाट उत्पीडन

भारतले ३ दशकअगाडि सिक्किम भारतमा विलय गरेकै समयमा नेपालको तराई भारतमा गाभ्ने योजना व्यवहारमा ल्याउन लागेको कुरा त्यतिबेलाका भारतीय गुप्तचर निकाय ‘र’ का एकजना जिम्मेवार व्यक्ति आर.के. यादवले आफ्नो पुस्तक ‘मर्ज अफ सिक्कम, सिमन र’ मा प्रस्ट पारिसकेका छन् । अहिले पनि भारत विभिन्न रूपमा त्यही योजना कार्यान्वयनका पक्षमा छ र यसका लागि उसले नयाँनयाँ क्लाइन्टहरू तयार पारेर अभ्यास गरिरहेको छ भन्ने कुरामा विवाद छैन । हरेक देशका आआफ्ना संवेदनशील स्थानहरू हुन्छन् जस्तो चीनको तिब्बत, भारतको जम्मुकस्मिर, नेपालको मधेस आदि । यी संवेदनशील स्थानमा छिमेकीले खेल्नु कति जायज हुन्छ ?

मिथिलाको इतिहासप्रतिको चिन्ता र यसको समृद्धिप्रतिको गम्भीरताप्रति कतै आपत्ति छैन परन्तु उत्तेजना र भावावेगमार्फत नयाँ आतङ्क सिर्जना गर्न खोज्नु कति जायज हुन्छ ? आवेग र उत्तेजना फैलाएर आन्तरिक विद्वेष र वितण्डा मच्चाउन चाहन्छन् एकथरी । नेपाली राष्ट्रियता र पहाडिया समुदायप्रति जुन किसिमको आक्रोश र विसङ्गत चिन्तन पाइन्छ त्यो विखण्डनकारी सोचाइ हो । यसको सिकार बनेका छन् मधेसी जनता । यिनीहरूको उद्देश्य विभाजन, विखण्डन र विसर्जन नै हो, राष्ट्रिय स्वाधीनतामाथि आक्रमण हो । अहिले मधेसमा यो विखण्डनकारी सोचाइलाई योजनाबद्ध रूपमा हाबी गराउन खोजिँदैछ जसको उत्पीडनमा राष्ट्रवादी मधेसी जनता परिरहेका छन् ।

५. सांस्कृतिक उत्पीडन

सभ्य र समृद्ध मिथिला संस्कृतिका बारेमा व्याख्या गरिरहनु पर्दैन । कतिपय विश्वका मानिसले राम्रोसँग खान पनि नजान्दा मिथिलामा विद्वान्हरूले शास्त्रार्थ गर्ने गर्दथे । यो संस्कृति प्रायः लोप नै भइसकेको छ । मिथिला संस्कृतिमा रोटी र बेटीका नाममा बिहारी संस्कृति मिसिँदा दूषितजस्तो बनेको छ । आज उत्पादनको प्रक्रिया फेरिँदै गर्दा रोटी र बेटीको नाराले मधेसका घरघरमा पीडाबाहेक अरू दिनसकेको छैन । आज सीमापारि बिहेबारी गर्नु हुँदैन भन्न थालेका छन् मधेसबासीहरू । जातीय विभाजनसँग जोडेर मधेसमा एउटा नयाँ समस्या खडा गरिएको छ । मधिसे र पहाडियाबीच नयाँ अन्तरविरोध चर्काउन खोजिँदैछ । यो निकै नै हानिकारक र विभेदकारी छ । धर्म र संस्कृतिसँग जोडिएर सांस्कृतिक द्वन्द्वकै रूपमा नेपालको इतिहासमा खासै समस्या देखिँदैन । पृथ्वीनारायण शाहले उपत्यका कब्जा गरेर राजा हुँदासमेत उनी पहिलेका मल्ल राजाहरूले अँगालेकै संस्कृतिमा आफू पनि समाहित भएको देखिन्छ । नेपालमा अहिलेको प्रमुख सांस्कृतिक समस्या भनेको पश्चिमा उपभोक्तावादी अराजकतावादी संस्कृतिको समस्या हो । मधेसमा भारतीय साम्राज्यवादी संस्कृति हाबी हुनु मुख्य समस्या हो जसको उत्पीडनमा मधेसी जनता परेका छन् ।

६. NGO/INGO को उत्पीडन

राज्यको संवेदनशील भूगोल, जाति, भाषामा प्रहार गर्ने र राज्यलाई कमजोर बनाउने साम्राज्यवादी सिद्धान्त हो । त्यही सिद्धान्तलाई सफल पार्न आफ्नो मिसनसहित ल्न्इरक्ष्ल्न्इ ले लगानी गर्ने गर्दछन् । यस्ता लगानी गर्नेहरू मधेसमा प्रशस्त मात्रामा भेटिन्छन् । उनीहरूको लगानी उत्पीडित मधेसी जनता जसको घरको छानो छैन, शुद्ध खानेपानी छैन, शौचालय छैन, एक छाक राम्रो खान पाउँदैनन्, सुत्ने ओछ्यान छैन, त्यहाँ हुँदैन । बरु कहाँ एक मधेस एक प्रदेशको नारा घन्किन्छ, कहाँ देश टुक्रिने गरी विखण्डनकारी हावा चल्छ त्यहाँ लगानी छ । त्यसैले मधेसी जनता ल्न्इरक्ष्ल्न्इ को उत्पीडनमा पनि परेका छन् ।

७. युवा पलायन

रेमिट्यान्सको आडमा चलेको राज्यले युवाहरूलाई स्वदेशमा रोजगारी दिनुको सट्टा वैदेशिक रोजगारीलाई प्राथमिकतामा राख्नु स्वाभाविक हुन्छ । जुन देशले युवा जनशक्तिलाई स्वदेशमै रोजगारी दिने क्षमता राख्दैन त्यसले समृद्धिको सपना देख्नु पनि निरर्थक हुन्छ । पछिल्लोपटक मधेसमा युवा पलायन व्यापक मात्रामा भइरहेको छ । जसले मधेसको उर्वर भूमिबाट उत्पादन वृद्धि गर्न सकिन्थ्यो त्यो रोकिएको छ । विदेशमा काम गर्दा घरमा एउटा टी.भी., ब्लाड्केट र केही पैसा त मधेसमा भित्रिएको छ तर राष्ट्रप्रेम, राष्ट्रभक्तिको भावबाट युवाहरू टाढिँदै जाने जोखिम बढ्दै गएको छ । यसको फाइदा विखण्डनकारी तत्वले भारतीय साम्राज्यवादी योजना सफल पार्नका लागि पुग्ने देखिन्छ । यसको उत्पीडनमा मधेसी जनता परेका छन् ।

निचोड

मधेसको विशिष्टतामा वैचारिक तथा राजनीतिक पक्षलाई केन्द्रमा राखेर मधेसका उत्पीडित जनताको आन्दोलनलाई मधेसी सामन्त तथा भारतीय दलाल वर्गको स्वार्थ र भ्रमबाट मुक्त गरेर सही दिशा दिनु आवश्यक छ । भैरहेका माक्र्सवादविरोधी कार्यको भण्डाफोर गर्दै दुःखकष्ट सहने त्याग र बलिदान गर्ने भावनालाई उत्कर्षमा लैजानु पर्दछ । सम्पूर्ण समस्यालाई वर्गसङ्घर्षबाट पृथक राखेर साम्राज्यवादीहरूको षड्यन्त्रलाई परास्त गर्न सकिँदैन । उत्पीडित मधेसी जनताको वास्तविक मुक्ति वर्गसङ्घर्षबाट मात्र सम्भव छ जुन बाटो भएर एकीकृत जनक्रान्तिमार्फत समाजलाई वैज्ञानिक समाजवाद हुँदै साम्यवादसम्म पु¥याउन सकिन्छ ।
स्रोत : जनविद्रोह त्रैमासिक
२१०७५ साउन २० गते बिहान ११ : ३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :