नेकपाका सेक्रेटरी कोईरालासहित २ नेता गिरफ्तार, रिहाइ नगरे कडा संघर्षमा जाने चेतावनी

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीेका सुनसरी जिल्ला सेक्रेटरी पुष्प कोईराला र कोशी ब्युरो सदस्य डिबी सिलवाललाई शुक्रबार प्रहरीले गिराफ्तार गरेको छ । सेक्रेटरी कोईरालालाई इटहरी हलगडाबाट बाटोमा हिड्दै गर्दा र सिलवाललाई सोही ठाँउमा रहेको डेराबाट पक्राउ गरिएको हो । प्रहरीले घेरा हालेर गिराफ्तार गर्नुका साथै स्थानीय जनताको घरहरुमा छापा मारेर आतंकित पार्ने काम गरेको भन्दै सो पार्टीका सुनसरी जिल्ला इन्चार्ज प्रज्वल श्रेष्ठले एक विज्ञप्ति जारी भत्र्सना गरेका छन् ।

अहिले दुवै जनालाई प्रहरीले कसैसँग भेट गर्न दिइएको छैन । गिरफ्तारसँगै स्थानीय सर्वसाधारणको घरमा समेत प्रहरीले अनावश्यक रुपमा छापा मारेर आतंकित तुल्याएको स्थानीयले बताएका छन् । प्रहरीले निर्दोष नागरिकको घरमा छापामा मारेर दुःख दिएको भन्दै स्थानीयले विरोध गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीका सुनसरी जिल्ला ईन्चार्ज प्रज्वलले शुक्रबार एक विज्ञप्ति जारी गरेर नेताद्वयको गिरफ्तारको घोर भत्सर्ना गरेका छन् ।

भ्रष्टाचार, कालाबजारी, मंहगी र चौतर्फी जनतामाथि भइरहेका शोषण र विभेदविरुद्ध निरन्तर संघर्षमा ररिरहेका बेला जिल्ला सेक्रेटरी कोइराला र ब्यूरो सदस्य सिलवाललाई बिनाकारण गिरफ्तार गरेको भन्दै आपत्ति जनाएका हुन् ।

प्रज्वलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कम्युनिस्ट सरकारको नाममा उभिएका सामाजिक फासीवादी ओली–प्रचण्ड समुहको सत्ताले राष्ट्रिय स्वाधिनता, शान्ति र विकासको पक्षमा निरन्तर आफ्नो आवाज उठाइरहेको पार्टीमाथि यो अत्याचार गर्ने क्रममा पछिल्लो पटक आज पार्टीका सुनसरी जिल्ला सचिव कमरेड पुष्प कोईराला र कोशी ब्युरो सदस्य डीबी सिलवाललाई सुनसरीको हलगडास्थित डेरामा बसिरहेको अवस्थामा गैरन्यायिक ढंगले गिरफ्तार गरेको छ ।’

गिरफ्तारसँगै स्थानीयलाई आतंकित पार्ने र सर्वसाधारणको घरमा छापा मारेर दलाल सरकारले जनविरोधी क्रियाकलाप गरेको समेत विज्ञप्तिमा उल्लेख छ ।
साथै, प्रहरी प्रशासनले सुनसरीका विभिन्न नेता–कार्यकर्ता अझै पनि झुठा अभियोगमा जेल तथा हिरासतमा राखिराखेको र थप धरपकड श्रृंखला मच्चाइएको नेकपा सुनसरीले जनाएको छ ।

बिनाकारण पार्टीका निर्दोष नेता–कार्यकर्तालाई गिरप्तार गर्ने र स्थानीलाई आतंकति पार्ने कार्य नगर्न र गिरफ्तार सबैलाई तुरुन्त रिहा गर्न सरकारसँग इन्चार्ज प्रज्वलले माग गरेका छन् । अन्यथा, कडा संघर्षको कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी समेत दिइएको छ ।

२०७५ साउन १९ गते शनिबार बिहान ७ : १२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :