दुस्मनको कालकोठरीमा ११२ दिन

२०७४ साल चैत ५ गते अनेकोट सांस्कृतिक प्रतिरोध दिवस कार्यक्रम देशैभरि गर्ने केन्द्रीय कार्यक्रम थियो । कार्यक्रम विभिन्न तरिकाले मनाउनका लागि हामी धनकुटा हिलेमा केही साथी जम्मा भएका थियौँ । त्यहाँ ३–४ बजे पार्टीका केन्द्रीय सदस्य कोसी ब्युरो इन्चार्ज क.किरण राई, मलगायत ब्युरो सदस्य क. दिव्य बराल, समुल दङ्गाल, नवराज भट्टराई, कमला लिम्बू, फुर्वा तामाङ भेटघाटपछि एउटा होटेलमा बस्यौँ । हामीमध्ये केही साथी काठमाडौँ पुग्नुपर्ने, केही साथी भोजपुर पुग्नुपर्ने र क. नवराज भट्टराई बेलुका ६ बजे काठमाडौँबाट आइपुग्ने हुनाले एउटा आकस्मिक सल्लाह गर्यौँ– आज सबै कमरेड यहीँ बस्ने, केही सामान्य भलाकुसारी गर्ने र भोलि बिहान जहाँ जाने हो त्यहाँ जाने । सल्लाहअनुसार हामी क. किरण दाइसमेत ८ जना त्यहीँ बास बसेका थियौँ । करिब ९ः४५ बजे राती हामी बसेको ठाउँमा एक्कासि ढोका ढकढक आवाज आयो । मैले ढोका खोलेको मात्र के थिएँ दलाल राज्यसत्ताका एक हूल सुरक्षाकर्मी एक्कासि भित्र प्रवेश गरी हातपात गर्न लागे । उनीहरु ‘माथिको आदेश हो, ल हिँड्नुस्’ भन्दै हतियार तयारी अवस्थामा राखेर धम्क्याइरहेका थिए । त्यसपछि हामीलाई जबर्जस्ती गाडीमा राखेर जिल्ला प्रहरी कार्यालय धनकुटामा लगियो । हामीसँग पूर्वसभासद् हाम्रा आदरणीय नेता पनि भएको कुरा प्रहरीलाई राख्दा प्रहरीले कुरा सुनेन । हामीलाई नमीठो लाग्यो । राती ११ बजे हामीसँग भएका झोलालगायत सामान खोल्न लगाई अपराधीलाईझैँ व्यवहार गरी हिरासतमा राखियो ।

भोलिपल्ट डीएसपी आएर किरण दाइलगायत हामीसँग सोधपुछ गरे । माथिको आदेश हजूर भन्दै उनी जागिरको कुरा गरिरहेका थिए । मलाई के अनुभूति भयो भने माथिको आदेश भन्दै राती सुतिरहेका मान्छेलाई राजनीतिक आस्थाका आधारमा अपहरणशैलीमा ल्याउनुअघि दलाल राज्यसत्ताले अलिकति सोच्नुपथ्र्यो । भोलिपल्ट म्याद थप गर्ने भनी सीडीओ कार्यालयमा लगियो । ७ दिनको म्याद थप गरियो । केही सार्वजनिक मुद्दा भनेर हाम्राविरुद्ध झूट्टा मुद्दा बनाइएको रहेछ । हिलेमा अशान्ति फैलाएको आरोपमा हामीलाई झूट्टा मुद्दा लगाइरहँदा मलाई पञ्चायतकालको सम्झना आयो । सबैले पढेलेखे भने जान्ने हुन्छन् र सत्ता ढाल्छन् भन्ने पञ्चायती शासन टिकेन । अहिले फेरि त्यही शैली कथित कम्युनिस्ट नामका सत्ताधारीहरूले अपनाइरहेका छन् । सुतेका मान्छे, बाटोमा हिँडिरहेका मान्छे, पढ्दै गरेका विद्यार्थी, उद्योगधन्दामा काम गरिरहेका मजदुर सबैलाई नेपाल कम्युनिस्ट पार्टीको विचारलाई कुल्चिन सकिन्छ कि भनी झूट्टा मुद्दा लगाइरहेको छ । हामीलाई पनि झूट्टा मुद्दा लगाएर धनकुटा हिरासतमा राखियो । २९ दिनपछि जनही ३०० धरौटीमा छोड्ने आदेश गरी पुनः कार्यालय हाताभित्रैबाट पक्राउ गरेर उदयपुर जिल्लाको गाईघाट जिल्ला प्रहरी कार्यालय पुर्याइयो । त्यहाँ हामीमाथि फेरि अर्को नाटक मञ्चन गरियो । म पहिलोचोटि त्यस जिल्लामा पुगेको थिएँ । पक्राउ पुर्जीमा विस्फोटसम्बन्धी अभियोग लगाइएको थियो । हामी दलाल राज्य र राज्यका यी मतियारहरूको षड्यन्त्रबाट अचम्मित भएका थियौँ । २÷३ दिनपछि किरण राईलगायत हामीसँग सोधपुछ गरियो । किरण राईले पार्टीले जनताको एजेन्डालाई अगाडि बढाउने कुरा सविस्तार राख्नुभयो । यो दलाल संसदीय व्यवस्थामा श्रमजीवी वर्ग, मध्यमवर्गीय जनता, मजदुर, किसान कोही पनि खुसी भएको देखिएन ।

बेलाबेलामा हामीलाई बाहिर चौरमा निकाल्ने गरिन्थ्यो । त्यहाँ हामीलाई २७ दिन राखी अदालतमा बुझाइयो । अदालतमा हाम्रो पक्षमा बहस गर्न वरिष्ठ अधिवक्ता तथा पूर्वसभासद् एकराज भण्डारी, तीर्थ तामाङ, वैकुण्ठ दाहाल, श्याम चौधरीलगायत ६/७ जना वकिलले बहस गर्नुभएको थियो । हामीलाई २०७४ मङ्सिर १२ को निर्वाचनमा हिमाल कार्कीको गाईगोठमा बम विस्फोट गराएको झूट्टा मुद्दा लगाइएको विषयमा बहसपैरवी भएको थियो । एकराज भण्डारीले बहस गर्दा ठूलै सन्नाटा छाएको थियो । बेलुका ५ बजे जनही दस हजार धरौटीमा हामीलाई अदालतले छोड्ने आदेश गर्यो तर राज्य सञ्चालन गर्ने ठेकेदारहरूले हामीलाई पुनः अदालतभित्रै घेरा हाली बारको कार्यालयमा शरण लिएर बस्दा पनि जबर्जस्ती फेरि गिरफ्तार गरियो । त्यसबेला मलाई यस्तो अनुभूति भयो– न्यायालय पनि स्वतन्त्र छैन किनकि न्यायालय थुन्नुपर्ने कारण छैन भनी आदेश गर्छ, सरकार चलाउने ठेकेदारहरू पुनः गिरफ्तार गर्छन् । के पनि अनुभूति भयो भने न्यायपालिका, कार्यपालिका, व्यवस्थापिका यी तीनवटै अङ्गहरू एकअर्कामा स्वतन्त्र छैनन् ।

त्यहाँ २७ दिनको हिरासत बसाइपछि २८ गते बिहान मोरङको उर्लाबारी इलाकामा ल्याउने काम भयो । उर्लाबारीसम्म आउँदा क्रान्तिकारी विचारका वाहक रातो खबर साप्ताहिक, इरातोखबर अनलाइन, विभिन्न पत्रपत्रिका, एफएम, रेडियो, विभिन्न अनलाइनहरूमा झूट्टा मुद्दको व्यापक भण्डाफोर भएपछि बजार, चोक, चिया पसललगायत सार्वजनिक स्थानमा निरङ्कुश शैलीको विषयमा चर्चा हुन थालिसकेको थियो । त्यहाँ पनि हामीलाई केही सार्वजनिक मुद्दा लगाई ५ दिनको म्याद थपेर हिरासतमा राखियो । हिरासतमा बस्दा किरण राई सरसफाइका कुराहरूमा विशेष ध्यान दिनुहुन्थ्यो । हामीलाई पनि सिकाउनुभयो । एकजना हबल्दारले त मुखैले प्रशंसा गरे, ‘हामीले धेरैलाई थुन्यौँ तर तपाईंहरूजस्तो कसैलाई पाएका थियौँ ।’

१५ दिनपछि उच्च अदालतले छोड्न आदेश गर्यो । त्यहाँ पनि ६/७ जना वकिलहरूद्वारा बहसपैरवी भएको थियो । त्यहाँ पनि पुनः गिरफ्तार गर्ने आशङ्का देखिएपछि न्यायाधीशसँग गई किरण दाइले छलफल गर्नुभएको थियो । न्यायाधीशले सबै कुरा बुझिसकेका थिए । थुनामुक्त हुने आदेश भयो तर बाहिर पुनः पक्राउ गरी सुनसरीको धरानमा लगियो । धरानमा पहिला विजयी सभासद् कमरेड किरण राईलाई भेट्नेको लर्को लाग्यो । बुद्धिजीवीदेखि उद्योगपति, विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, पत्रकार, शुभेच्छुक, आफन्त, त्यस क्षेत्रका जनता सबै धरानमा लर्को लागेका थिए । हामी भित्र भए पनि त्यस लर्कोले गर्दा हामीलाई त्यहाँ ऊर्जा थपिएको थियो । जिम्मेवार समाजको पनि बोध भयो । हामीलाई त्यहाँ कर्मचारीहरूले सहयोगको भावना देखाए । किरण दाइसँग उनीहरु भन्दै थिए, ‘तपाईंहरूको सेवा गर्नु हाम्रा लागि खुसीको कुरा हो ।’ धनकुटा, उदयपुर, मोरङ, सुनसरी, झापा, इलाम जहाँ गए पनि किरण दाइका आफन्त आउँदा ऊर्जा थपिएको थियो ।

धरानमा १० दिनपछि उच्च अदालत विराटनगरमा निसाफ सरले बन्दी प्रत्यक्षीकरणको निवेदन दायर गर्नुभएको थियो । यो झूट्टा मुद्दा हो भनी बहस भएपछि हामी थुनामुक्त हुने आदेश भएको थियो तर पुनः अदालतपरिसरबाटै गिरफ्तार गरी पुनः मोरङ पुर्याइयो ।

त्यसपछि हामीलाई ठाउँठाउँमा अड्डासार गर्दै रातको ३ बजे झापा पुर्याई फेरि हिरासतमा राखियो । भोलिपल्ट फेरि उही पुरानो रोग बल्झाइयो । झापाको सदरमुकाममा अशान्ति मच्चाएको भनी झूट्टा मुद्दा लगाइयो । मुद्दाको शीर्षक केही सार्वजनिक थियो । ५ दिनपछि म्याद थप गर्न जाँदा हाम्रो नेतृत्व क. किरणलगायत हामी ४ जनाले प्रजिअसँग भेट गर्न माग गर्यौँ । मागपछि भेट भयो तर प्रजिअले पनि उही पेट पाल्ने मात्र कुरा गर्नुभयो, ‘हाम्रो त जागिर हो । माथिको कुरा हो ।’ हामीलाई लाग्यो– यो सत्ताका रक्षकहरुलाई पनि हामीले नै उद्धार गर्नुपर्ला जस्तो ।

झापामा २६ दिन थुनिसकेपछि जिल्ला प्रशासन कार्यालयबाट जनही पाँच सय धरौटीमा थुनामुक्त हुने आदेश गयो । त्यहाँ हाम्रा पूर्वमित्रहरूले धेरै सहयोग गर्नुभयो । झापाबाट फेरि हामीलाई इलाम लगियो । त्यहाँका कर्मचारी र कमान्डरको व्यवहार राम्रै पाइयो । सद्भाव र सम्मानसहितको व्यवहार । हामी थुनुवालाई त्यस बेलासम्म हाम्रो पक्षका वरिष्ठ अधिवक्ता एकराज भण्डारीलगायत सत्ता पक्ष, अन्य वकिलहरूले झूट्टामुद्दाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । बहसपैरवीपछि बन्दीसहितलाई झिकाउनू भन्ने पत्र जिल्ला प्रहरी कार्यालयमा पुगेको थियो । झूट्टा मुद्दा ३ महिना १२ दिन खेप्दा हामीले भित्री मोर्चा कसिलो बनाएका थियौँ । मलाई लाग्यो– एकीकृत जनक्रान्तिमा आफ्नो भागमा जेल, हिरासत वा बलिदान, समाजका लागि गर्ने जीवनदान वा उत्सर्ग हामीले त्यसका लागि तयार हुनैपर्छ ।

हामी असार २४ गते ११२ दिन हिरासत बसेर रिहा भयौँ । हिरासतमा बस्दा हामीलाई सहयोग गर्ने पार्टीपङ्क्ति आफन्त, कर्मचारी, पूर्वमाओवादी केन्दाका कमरेड, हामी छुटिसकेपछि पूर्वी कमान्डद्वारा हामीलाई गरिएको राजबन्दी सम्मान कार्यक्रमले एकीकृत जनक्रान्तिमा आझ घनीभूत ढङ्गले लाग्नुपर्ने बोध भएको छ । देश, जनता, जातीय, क्षेत्रीय, लैङ्गिक उत्पीडनको अन्त्य वर्गसङ्घर्षबाट मात्र हुन्छ भन्ने बोध पनि भएको छ । हिरासत बसाइमा सघाउने सबैलाई धन्यवाद दिँदै आउने दिनहरूको चुनौती सामना गर्न तयार रहने प्रतिबद्धता व्यक्त गर्दछु ।

२०७५ साउन १० गते अपरान्ह ४ : ४२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :