डा.गोविन्द केसीको स्वाथ्य अवस्था अहिलेसम्मकै नाजुक

काठमाडौँ : चिकित्सा शिक्षामा सुधारको माग गर्दै १५औं पटक अनसन बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था निकै नाजुक बनेको छ । अनसन शुरु गरेको २६ औं दिनमा डा. केसी पटकपटक बेहोस भएका छन् । उनको शरिरमा सेतो रक्तकोशिका (डब्लुबिसी) को संख्या हालसम्मकै न्यून भएको छ । यस्तै ‘रगतमा चिनीको मात्रा अत्यन्त कम भएको छ । डा. लक्ष्मण भुसालका अनुसार केसी अब जतिबेला पनि अचेत हुनसक्ने अस्थामा पुगेका छन् । भुसालका अनुसार रगतमा पोटासियम अति नै कम भइसकेको र मुटुको चाल पनि अत्यन्त कम भइरहेकाले कुनै पनि बेला धड्कनमा समस्या आई मुटु बन्द हुनसक्ने खतरा छ । पत्रकारहरुसँगको कुराकानीमा डा. भुसालले डा. केसीले बिस्तारै होस गुमाउँदै गएको बताए । उनले भने, ‘हिजो भर्खर मैले आफैं बसेर सरको रगत जाँचका लागि पठाएको थिएँ, आज त्यही कुरा उहाँले बिर्सिसक्नु भएको रहेछ । केहीदिन यही अवस्था रहिरहे, दिमागमा गम्भीर असर पर्न गई अचेत हुने, छारे आउने र कोमामा जाने अवस्था आउन सक्छ ।’

सरकारी वार्ताटोली र केसीको प्रतिनिधीबीचको मंगलबारको वार्ता सकारात्मक दिशातिर अघि बढेको बताइएको थियो । तर संसदमा पेश भएको चिकित्सा शिक्षा विधेयक संशोधनबारे कुरा नमिल्दा बार्ता अवरुद्ध भएको छ । केसी पक्षको बार्ता टोलीले विधेयकमा संशोधन गर्नुपर्ने २२ बुदे प्रस्ताव सरकारी बार्ता टोलीले अस्वीकार गरेपछि बार्ता सकारात्मक दिशामा अघि बढेको छैन । बिहीबार बिहान मात्र आन्दोलनरत चिकित्सकहरु जुलुससहित महाराजगन्जबाट प्रधानमन्त्री निवास बालुवारटारतर्फ जान रोज्दा प्रहरीले रोकेपछि तनाव उत्पन्न भएको थियो ।

२०७५ साउन १० गते दिउँसो १२ : ४७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :