पहिरोको कारण ५ को मृत्यु

रसुवा : रसुवामा पहिरोमा परेर ५ जनाको मृत्यु भएको छ । यस्तै ४ जना वेपत्ता भएका छन् । प्रहरीले १२ जनाको उद्दार गरेको छ ।
पहिरोले गोसाइँकुण्ड गाउँपालिका– २ को टिमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट र त्यस वरपर सञ्चालनमा रहेका होटल तथा अस्थायी घर पुरेको हो । रसुवाको भोटेकोशी गाउँपालिका ५ का ४२ वर्षीय श्याम श्रेष्ठ, सोही ठाउँका २७ वर्षीय विक्रम श्रेष्ठ, सोही ठाउँकै ४५ वर्षीय मंगल तामाङ र सोही गाउँपालिकाका ४ का ३५ वर्षीय रमेश भनिने सुश खड्काको पहिरोमा पुरिएर मृत्यु भएको हो । मृत्यु हुने चारै जना सिन्धुपाल्चोकका भएको पुष्टि भएको छ । यस्तै रसुवा गोसाईंकुण्ड गाउँपालिका १ का मिङमार तामाङको पनि मृत्यु भएको छ । पहिरोमा परी बेपत्ता भएका चार जनाको खोजीकार्य जारी रहेको र खोज उद्धारका लागि रसुवागढी हाइड्रोपावरका उपकरण तथा सुरक्षाकर्मी परिचालन गरिएको छ । पहिरोमा परेर घाइते भएका सात जना सामान्य उपचारपछि घर फर्किएका छन् भने ५ जना स्वास्थ्यकर्मीको निगरानीमा छन् । उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएको तर पानी परिरहेको र पहिरोका कारण उद्धारमा समस्या भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । स्थानीयवासीका अनुसार करीब चार किमी माथिबाट आएको पहिरोले एक पक्की घर पुर्नुका साथै तीन वटा छाप्रा होटेल र साना ठूला चारवटा सवारीसाधन पूर्णरुपमा पुरिएकोे छ । अहिले स्याफ्रु रसुवागढी खण्डको राजमार्ग अवरुद्ध भएको छ ।
२०७५ साउन १० गते अपरान्ह ५ : ०४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :