वैज्ञानिक समाजवादको सफलता

कुनै समय मानव–कल्पनाजस्तो लाग्ने र कहिलेकहीँ ‘भूत’ जस्तो लाग्ने वैज्ञानिक समाजवाद बीसौँ शदीको आरम्भमा दुनियाँ हल्लाउँदै विजयी भयो । सन् १८७१ को पेरिस कम्युन विशेषतः सन् १९१७ को महान् अक्टोबर क्रान्तिको अभूतपूर्व विजयले केवल पेरिस र रुसका सत्ताच्यूत शासक र मालिकहरूलाई मात्र होइन, सिङ्गै दुनियाँँका लुटेरा–वर्गलाई आफ्नो ‘स्वर्ग’ मा ज्वालामुखी फुटेजस्तो अनुभव गरायो । साम्यवादको असम्भावनाबारे रङ्गीविरङ्गी तर्क छाँटेर बसेका बुर्जुवा बौद्धिक कूपमण्डुकहरूलाई आकाशको उडानबाट जमिनमा झारेजस्तो महसुस भयो । उनीहरू आफ्नो आँखाअगाडिको साँचो घटनाबाट चकित र भयभीत हुँदै झट्पट वैज्ञानिक समाजवाद–साम्यवादको विरुद्धमा तरबार, भाला, बन्दुक जम्मा पार्दै षड्यन्त्र गर्नतर्फ लागे । अर्कोतिर आफ्नो बहुमूल्य श्रमलाई मालिकको फाइदाका लागि सुम्पिदिएर भयानक विपद्को जीवन भोगिरहेका सर्वहाराहरूले पहिलोपटक बन्धनरहित जीवनको खुला आकाशमा उड्न पाएको महसुस गरे । आफ्नो श्रम र उत्पादनको मालिक भएको आनन्द लिन पुगे । प्रत्यक्ष मुक्तिको अवसर नपाए पनि विजय सम्भव छ भन्ने विश्वासद्वारा विश्वभरिका सर्वहारावर्ग विशेष उत्साहका साथ एकताबद्ध हुन पुगे । क्रान्तिको सफलतासँगै वैज्ञानिक समाजवाद सिद्धान्तको क्षेत्रबाट व्यावहारिक प्रयोग (सत्ता निर्माण) का क्षेत्रमा प्रवेश ग¥यो । साथै विश्व राजनीतिक मञ्चमा एक युगान्तकारी परिघटनाका रूपमा स्थापित बन्न पुग्यो । सन् १९४५ देखि सम्पन्न भएका पूर्वी युरोपका समाजवादी क्रान्तिहरू, सन् १९४९ मा सफल चिनियाँ नयाँ जनवादी क्रान्ति र भियतनाम, कोरिया, क्युबासम्मका सफल क्रान्तिहरूले वैज्ञानिक समाजवाद–साम्यवादलाई उदाउँदो युगका रूपमा प्रस्तुत गरे । समाजवादी–साम्यवादी व्यवस्थाको प्रभाव विश्वभरि फैलिन पुग्यो । वैज्ञानिक समाजवादको विजयलाई सुव्यवस्थित प्रकारले बुझ्नका लागि मुख्यतः चार चरणमा सम्पन्न क्रान्तिहरूलाई अध्ययन गर्न जरुरी छ जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ :

(क) पेरिस कम्युनको विजय
(ख) महान् अक्टोबर क्रान्ति
(ग) पूर्वी युरोपमा समाजवादी सत्ता
(घ) चिनियाँ नयाँ जनवादी क्रान्ति
(ङ) भियतनामी क्रान्ति
(च) कोरियाली क्रान्ति
(छ) क्युबाली क्रान्ति
(क) पेरिस कम्युनको विजय

सन् १८७१ मार्च १८ मा फ्रान्सको पेरिसमा पहिलोपटक सर्वहारावर्गले पुँजीपतिवर्गको सत्तामाथि विजय हासिल ग¥यो । फ्रान्स युरोपको शक्तिशाली पुँजीवादी राष्ट्रमध्ये एक थियो । औद्योगिक विकासका कारण मजदुरवर्गको सङ्ख्या र समस्या दिनानुदिन बढ्दै थिए । मालिकहरू माल उत्पादन गर्न र बजार कब्जा गर्नमै व्यस्त थिए । युरोपमा पुँजीवादी राष्ट्रहरूबीच तीव्र प्रतिस्पर्धा र अन्तर्विरोधहरू बढ्दै गएका थिए । यसैक्रममा सन् १८७० मा फ्रान्सका सम्राट् नेपोलियन तृतीयले पुँजीवादी आर्थिक प्रतिस्पर्धा र लुटका लागि नै जर्मनीमाथि युद्ध छेड्यो तर जर्मनीको बलियो सैन्यशक्तिमाथि फ्रान्स विजयी हुन सकेन । युद्धमा उल्टो फ्रान्स नै पराजित हुन पुग्यो । युद्धमा पराजय अनि देशभित्रै बढ्दै गएको राजतन्त्र र जनताबीचको सङ्घर्षले विस्फोटक रूप लिन पुग्यो । जनविद्रोहका कारण नेपोलियन तृतीय सत्ताच्यूत भयो । राजतन्त्रको अन्त्यपछि फ्रान्सको सत्तामा गणतन्त्रवादी भनिने थियर पुगे । थियरले पुँजीपतिवर्गको नेतृत्व गर्दथ्यो । पेरिसका मजदुर, किसानहरू थियरको शासनबाट सन्तुष्ट हुन सकेनन् । मजदुरहरूको असन्तुष्टि र सङ्घर्षलाई पकड्दै ब्लाङ्की र बाकुनिनवादीहरूले मजदुरवर्गलाई पुँजीवाद र थियरका विरुद्ध विद्रोह गर्न अपिल गरे । पेरिसमा मजदुर हडतालहरू सङ्गठित गरिए र सङ्घर्ष बढ्दै गएर सन् १८७१ मार्च १८ सम्म पुग्दा सर्वहारावर्गको विद्रोह विस्फोट हुन पुग्यो । मजदुरहरूको सङ्घर्ष सत्ता कब्जा गर्ने विद्रोहमा बदलियो । भीषण सङ्घर्षका बीच पेरिसमा पुँजीवादीहरूको पराजय भयो । पेरिसका मजदुरहरूले पुँजीवादी सत्तालाई पहिलोपटक हराउने अवसरलाई प्रयोग गर्दै विजयी झन्डा फहराए । विद्रोहमा विजय भएपछि मजदुरहरूले ‘मार्च २६ मा कम्युन प्रतिनिधिहरूको निर्वाचन गरे र मार्च २८ मा आफ्नै नेतृत्वमा श्रमिकवर्गको सत्ता कम्युन निर्माण गरे’, (शशीधर भण्डारी, विश्व कम्युनिस्ट आन्दोलनको इतिहास, खण्ड १, पृ. १५१) । यो सत्ता सन् १८७१ मार्च १८ देखि मई २८ सम्म जम्मा ७२ दिन कायम रह्यो ।

मार्चमा पेरिस कम्युन सङ्गठित गरेपछि सर्वहारावर्गीय सत्ताका तर्फबाट महत्वपूर्ण घोषणाहरू गरिए । कम्युनले सर्वप्रथम मालिकवर्गको प्रभुत्व अन्त्य भएको घोषणा ग¥यो; मजदुर, किसानहरूलाई ऋणमुक्त ग¥यो; आफ्नै सुरक्षा मिलिसिया (राष्ट्रिय गार्ड) को निर्माण ग¥यो; साँचो अन्तर्राष्ट्रवादको नमुना प्रस्तुत गर्दै जर्मनी र पोल्यान्डबाट पेरिसमा श्रम गर्ने मजदुरलाई मन्त्री र सुरक्षाको जिम्मा दियो; महिलालाई सत्तामा सहभागी गरायो, धर्मलाई राज्यबाट अलग राख्यो, विद्यालय र शिक्षालाई धर्म र धार्मिक कानुनबाट अलग गरियो; न्यायपालिकाका न्यायाधीशहरू जनताद्वारा निर्वाचित हुने व्यवस्था गरियो; पहिलोपटक मजदुर र कर्मचारीको तलबलाई समान बनाएको घोषणापत्र जारी भयो । कम्युन वास्तवमै मानवजातिका लागि नयाँ राज्यव्यवस्थाको आरम्भ र अभ्यास थियो । यसको प्रशंसा गर्दै माक्र्सले प्रस्टसँग यसरी भन्नुभयो, ‘कम्युन नगर–प्रतिनिधिहरूद्वारा गठन गरिएको थियो, जो पेरिसका विभिन्न निर्वाचन क्षेत्रहरूमा बालिग मताधिकारअन्तर्गत चुनिएका थिए । यी नगरप्रति उत्तरदायी थिए र जुनसुकै बेला पनि उनीहरूलाई प्रत्याह्वान गर्न सकिन्थ्यो । …प्रहरी जो केन्द्रीय सरकारको हतियारस्वरूप रहेको थियो, आफ्ना सम्पूर्ण राजनीतिक कार्यहरूबाट तुरुन्त नै वञ्चित गरिएको थियो र कम्युनप्रति उत्तरदायी रहने निकायमा परिणत गरिएको थियो जसलाई जुनसुकै बेला पनि बदल्न सकिन्थ्यो । …प्रशासनका अन्य सबै शाखाहरूका पदाधिकारीहरू पनि यस्तै नै थिए… । कम्युनका सदस्यहरूदेखि लिएर माथिदेखि तलसम्म सम्पूर्ण जनसेवा कार्यका निम्ति त्यत्ति नै तलब तोकिएको थियो जति मजदुरहरूले पाउने गरेका थिए । ठूल्ठूला राजकीय ओहोदाहरूका साथसाथै उनीहरूले पाउने सबै प्रकारका विशेषाधिकार र नगद–भत्ताहरू बिलाएर गएका थिए… । पुरानो सरकार भौतिक शक्तिका मुख्य अस्त्रका रूपमा रहेका स्थायी सेना र प्रहरीलाई हटाइदिएपछि कम्युनले तुरुन्तै दमनको आध्यात्मिक साधन अर्थात् पादरीहरूको पनि शक्ति नामेट पार्न चाहेको थियो… । न्यायप्रणालीका पदाधिकारीहरू पनि आफ्ना प्रतीयमान स्वतन्त्रताबाट मुक्त गरिए… । उनीहरू पनि प्रत्यक्षतः निर्वाचित र उत्तरदायी बनाइए जसलाई जुनसुकै बेला पनि प्रत्याह्वान गर्न सकिन्थ्यो… (माक्र्सको लेखबाट लेनिनले उद्धरण गरेको, राज्य र क्रान्ति, पृ. ४०) । उहाँले स्वर्गमाथिको धावा ‘टु स्ट्रम अन हेभेन’ का साथै विश्व ऐतिहासिक महत्वको क्रमभङ्गताको बिन्दु ‘अ न्यु पोइन्ट अफ डिपाचर अफ वल्र्ड हिस्टोरिकल इम्पोर्ट्यान्स’ भन्दै उच्च मूल्याङ्कन गर्नुभयो । त्यसैगरी लेनिनले पेरिस कम्युनको ऐतिहासिकतामाथि प्रकाश पार्दै भन्नुभयो, ‘कम्युन नै सर्वहारा–क्रान्तिद्वारा पुँजीजीवी राजकीय–यन्त्र चकनाचुर पार्ने पहिलो प्रयास हो । साथै त्यो ‘अन्ततोगत्वा उद्घाटन गरिएको’ यस्तो राजनीतिक रूप हो जसले ध्वस्त पारिएको राजकीय–यन्त्रको ठाउँ लिन सक्दछ र लिनु पनि पछ’, (लेनिन, राज्य र क्रान्ति, पृ. ५२) । पेरिस कम्युनले विजय हासिल गरेपछि त्यसले जसरी सत्ता सञ्चालन सम्बन्धमा सही दृष्टिकोण निर्माण गर्न र सम्बन्धहरू विकास गर्न सक्नुपर्दथ्यो त्यो हुन सकेन । मुख्यतः सत्ताको सार अधिनायकत्वलाई नै पकड्न सकेन जसको कारणले प्रतिक्रियावादी संसदीय व्यवस्था र त्यसको नेता थियरप्रति कम्युन उदार बन्न पुग्यो । सत्तामा परास्त भएपछि थियर कम्युनार्डको घेरामा थिए । उनले कम्युनार्डहरूको घेरामा परेपछि मजदुरवर्गले राखेका माग सुन्ने र जनतालाई धोका नदिने वाचा ग¥यो । थियरको कुरामा कम्युन भ्रमित भयो । थियरलाई पेरिसबाट बाहिर जाने सुविधा दिइयो । कम्युनले आर्थिक र सैन्य काममा पनि ध्यान दिन सकेन । बैङ्कहरू राज्यको हातमा लिन सकेन भने सेनालाई सङ्गठित गर्न सकेन । त्यसको फाइदा उठाउँदै राष्ट्रपति थियर पेरिसबाट भागेर जर्मन शासक विस्मार्कसँग मिल्न पुगे । त्यसबेला युद्धमा पराजित फ्रान्सका हजाराँै सेनालाई विस्मार्कले जर्मनमा बन्दी बनाएको थिए । सर्वहारावर्गको विजयलाई विस्मार्कले पनि गम्भीर रूपमा लिएका थिए । उनी कम्युनार्डलाई विजयी बनिरहन दिन चाहँदैनथे । धूर्त विस्मार्कले युद्धको क्षतिपूर्तिस्वरूप फ्रान्सले अर्बाैं हर्जना तिर्नुपर्ने, जर्मन सेना फ्रान्समा राख्न पाउने सर्तमा थियरलाई सघाउने र कम्युनलाई दबाउन जाने विश्वास दिलाए । थियरले सर्वहारावर्गबाट सत्ता खोस्न विस्मार्कको प्रस्ताव स्वीकार गरे । सम्झौतापछि विस्मार्क र थियरको संयुुक्त सेना सन् १८७१ मई महिनामा पेरिस कम्युनमाथि आक्रमण गर्न आइपुग्यो । कम्युनार्डहरूले प्रतिक्रियावादी सेनाविरुद्ध वीरतापूर्वक लडे । प्रतिक्रियावादी थियरले कम्युनलाई आत्मसमर्पणका लागि दिएको आदेशलाई सम्पूर्ण रूपले घृणा गर्दै खारेज गरिदिए । कम्युनार्डहरूले कयौँ सातासम्म सेनाको प्रतिरोध गरिरहे । कम्युनार्डहरू युद्धमा रगतले लतपतिएका कपडालाई झन्डा बनाउँदै मोर्चामा डटिरहे तर आधुनिक प्रविधिद्वारा सुसज्जित प्रतिक्रियावादी सेनासँग कम्युनार्डहरूको लडाइँ सफल हुन सकेन । अन्ततः पेरिसको वेलिभेल पाखोमा ३० हजार कम्युनार्डहरूले बलिदान गर्दै पहिलो सर्वहारावर्गको सत्ता गुमाउन पुगे । पराजित हुने समयमा पेरिस कम्युन गठन भएको ७२ दिन पुगेको थियो । पेरिसको मजदुर विद्रोह र विजय माक्र्स जीवित हुँदै उहाँँले गरेको सर्वहारावर्गीय समाजवादी सिद्धान्तको पहिलो प्रयोग थियो । यद्यपि यो क्रान्ति माक्र्सको वैज्ञानिक समाजवादी सिद्धान्त र माक्र्सवादीहरूको नेतृत्वमा भएको थिएन । विद्रोहको नेतृत्व अराजकतावादी ब्लाङ्की, बाकुनिन, प्रुँधोवादीहरूको हातमा थियो भने उनीहरूको सिद्धान्त वैज्ञानिक समाजवादी राज्यसत्ता निर्माण गर्ने नभई कम्युन (एक प्रकारको समाज) निर्माण गर्ने मात्र थियो ।

पेरिस कम्युनको सफलता र असफलताले माक्र्स–एङ्गेल्ससहित श्रमिकवर्गलाई सत्ता सञ्चालन सम्बन्धमा नयाँ ज्ञान दियो । यसबारे माक्र्स–एङ्गेल्सले नै सबैभन्दा तिखो र वैज्ञानिक संश्लेषण गर्नुभयो । उहाँले पेरिस कम्युन असफल हुनुको विषयमा भन्नुभयो, ‘खासगरी कम्युनले के साबित गरिसकेको छ भने मजदुरवर्गले राज्यसत्ताको बनिबनाउ यन्त्रलाई कब्जा गरेर आफ्नो निजी उद्देश्यपूर्तिका लागि जस्ताको तस्तै त्यसको उपयोग गर्न सक्दैन ।’ (माक्र्स–एङ्गेल्स, पेरिस कम्युन, २४ जुन १८७२, सन् १८७२ मा प्रकाशित कम्युनिस्ट पार्टीको घोषणापत्रको जर्मन संस्करणको भूमिकाबाट, पृ. ३४४) । माक्र्सको यो संश्लेषण र शिक्षालाई सबै क्रान्तिकारी सर्वहारावर्गले इमानदारी साथ आत्मसात गरे । माक्र्सले कम्युनको कमजोरी मात्र उजागर गर्नुभएन, उहाँले कम्युनको ऐतिहासिकता र महत्वबारे पनि प्रकाश पार्दै भन्नुभयो, ‘आफ्नो कम्युनसँगै मजदुरवर्गले पेरिसलाई सबै मजदुरवर्गको अग्रदूतका रूपमा सम्झनेछ । पेरिस कम्युनका सहिदहरू मजदुरवर्गको विशाल हृदयमा रहिरहनेछन् । यसको सत्यानास गर्नेहरूलाई इतिहासले सदाका निमित्त अपराधी उभ्याउने स्थानमा उभ्याउनेछ ।’ (माक्र्स, पेरिस कम्युन) । त्यसैगरी कम्युनको महत्वबारे लेनिनले उल्लेख गर्दै लेख्नुभएको छ, ‘पुरानो शासनका विरुद्ध व्रिदोह गर्ने समय सर्वहारावर्गले दुई कार्यभार ः एक, राष्ट्रिय र दोस्रो, वर्गीय ग्रहण ग¥यो । फ्रान्सलाई जर्मन आक्रमणबाट मुक्ति तथा मजदुरहरूको पुँजीवादबाट समाजवादी मुक्ति । दुई कार्यभारको यो एकीकरण कम्युनको मौलिक गुण हो ।’ (लेनिन, सङ्कलित रचना, खण्ड ३, हिन्दी संस्करण, कम्युनको सवक, पृ. ३६९) । लेनिनले माक्र्सले जस्तै कम्युनको कमजोरी र महानताबारे लेख्नुभयो, ‘परन्तु दुई गल्तीले सानदार विजयको फल नष्ट गरिदियो । सर्वहारावर्ग आधा बाटोमै रोकियो, ‘सम्पत्ति हरणकर्ताहरूको सम्पत्ति हरण’ गर्नुको साटो उसले एक समान सर्वराष्ट्रिय कार्यभारद्वारा ऐक्यबद्ध देशमा न्यायपूर्ण प्रणाली स्थापनाको सपनामा आफूलाई मोहित हुन दियो । उदाहरणार्थ, बैङ्ककजस्तो संस्थालाई हस्तान्तरण गरिएन । ‘न्यायपूर्ण विनिमय’ आदिका बारेमा प्रुँधोवादी सिद्धान्तको अब पनि समाजवादीहरूको बीचमा बोलवाला थियो । दोस्रो गल्ती थियो, सर्वहाराको ठूलो अन्यमनस्कता ः आफ्नो दुस्मनलाई नष्ट गर्न जरुरी थियो परन्तु उसले उनीहरूमाथि नैतिक प्रभाव हाल्ने प्रयास ग¥यो । उसले गृहयुद्धमा प्रत्यक्ष फौजी कारबाहीहरूको महत्वलाई कम गरेर हे¥यो । साथै पेरिसमा आफ्नो विजयाभिषेकको साटो बेर्साईमाथि निर्णायक धावा बोल्नुको बदला उसले ढिला गर्दै रह्यो । त्यसैगरी उसले बेर्साई सरकारलाई दुष्ट शक्तिहरू जम्मा गर्न र मईको रक्तरञ्जित सप्ताहका लागि तयारी गर्ने मौका दियो’, (लेनिन, सङ्कलित रचना, खण्ड ३, हिन्दी संस्करण, कम्युनको पाठ, पृ. ३७१) । पेरिस कम्युनको सार उल्लेख गर्नुपर्दा सर्वहारावर्गका लागि यस्तो अविस्मरणीय परिघटना हो जसले पुँजीपतिवर्ग र पुँजीवादी सत्तामाथि श्रमिकवर्ग र वैज्ञानिक समाजवाद विजयी हुन सक्छ भन्ने दृष्टान्त अकाट्य रूपले स्थापित गरिदियो । कैयौँ कमजोरीका बाबजुद यसको ऐतिहासिक पाठ अतुलनीय छ ।


(ख) महान् अक्टोबर क्रान्ति

सन् १९१७ को अक्टोबर १७ देखि २६ सम्म रुसमा वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न भयो जसलाई महान्् अक्टोबर क्रान्ति भनिन्छ । यो क्रान्तिलाई जोन रिडले ‘विश्व हल्लाउने दस दिन’ भनेर उल्लेख गरेका छन् । अक्टोबर क्रान्ति माक्र्सको वैज्ञानिक समाजवादी–साम्यवादी सिद्धान्तअनुसार सर्वहारावर्गका अर्का महान्् नेता लेनिनको नेतृत्वमा सम्पन्न भएको थियो । यो क्रान्तिले अपराजित र भगवान्का दूत ठानिएका सम्राट्, पोप र मालिकलाई सिंहासनबाट धुलोमा पछार्दै दुनियाँँमा सबैभन्दा हेपिएका र उत्पीडित सर्वहारावर्गलाई सत्ताको मालिक बनाइदिएको थियो ।

रुसमा लामो समयदेखि जार सम्राट् निकोलसको शक्तिशाली शासन थियो । उनीसँग युरोप हल्लाउने शक्तिशाली सेना र विश्वको सबैभन्दा ठूलो भूभाग थियो । जार शासन एक निरङ्कुश राजतन्त्रात्मक शासन भएर पनि सन् १८६१ देखि तीव्र रूपले पुँजीवाद हुर्किंदै गरेको साम्राज्य थियो । रुसमा ठूलो जनसङ्ख्या किसानको थियो तर तीव्र औद्योगिकीकरणले गर्दा मजदुरवर्ग त्यसको नेतृत्वमा विकास भइरहेको थियो । जारको निरङ्कुश शासनविरुद्ध भर्खर विकास हुँदै गरेको पुँजीपतिवर्गले बेलाबखत संसदीय व्यवस्थाका लागि विद्रोह गर्ने गर्दथ्यो । त्यस्तै सर्वहारावर्गले पनि कम्युनिस्ट पार्टीको नेतृत्वमा आमूल परिवर्तनका पक्षमा विद्रोह गर्दै आएको थियो । विद्रोहहरूलार्ई थेग्न नसकेर जारले बेलाबखत दुमा (संसद्) पनि गठन गर्दथ्यो तर शक्ति आफ्नै हातमा राखिरहन्थ्यो । जनता र राज्यको बीचमा सङ्घर्ष चर्किएपछि सन् १९०५ मा बोल्सेभिक पार्टीको अपिलमा सर्वहारावर्ग (मजदुर, किसान) ले विद्रोह ग¥यो । परन्तु लेनिनको भाषामा ‘पर्याप्त तयारी र शक्तिको अभाव’ ले गर्दा त्यो सफल हुन सकेन । परन्तु जारले विद्रोहको दबाबमा परेर राज्य दुमा बोलाउन बाध्य भयो । अर्कोतिर क्रान्तिको असफलताले गर्दा क्रान्तिकारीहरूमाथि ठूलो सङ्कट आयो । प्रतिक्रान्तिकालका कारण लेनिन रुसमा टिक्न नसक्ने भएपछि त्यहाँबाट भूमिगत भएर फिनल्यान्ड भाग्नुप¥यो । तथापि सन् १९०५ को क्रान्तिले लेनिनको भाषामा सन् १९१७ को क्रान्तिको जग हालिदिएको थियो ।

सन् १९१४ मा युरोपका साम्राज्यवादी मुलुकहरूबीच बाल्कन भूभाग कसले कब्जा गर्ने भन्ने विषयलाई लिएर मोर्चाबन्दी भयो । एकातिर रुस, फ्रान्स र ब्रिटेन भए; अर्कोतिर जर्मनी, अस्ट्रिया र हँगेरी भए । झगडा बढ्दै गएर सन् १९१४ को जुलाईबाट विश्वयुद्ध सुरु भयो । विश्वयुद्धमा सहभागी मुलुकहरूले निकै ठूलो क्षति बेहोर्नुप¥यो । युद्धको मार बेहोर्नेमा रुस पनि थियो र क्षतिबाट रुस सङ्कटमा पर्दै गएको थियो । युद्धमा आर्थिक र सैन्य साधनको अभाव बढ्दै गयो । युद्धमा रुसले अनावश्यक लगानी गरिरहेको र त्यसबाट जनताको आर्थिक अवस्था बिग्रिँदै गएको छ । यसलाई रोक्न आवश्यक छ भन्दै रुसभित्र सारा जनताको विरोध हुन थाल्यो । अर्कोतिर राजतन्त्रात्मक निरङ्कुश शासनविरुद्ध रुसी जनता खासगरी मजदुर–किसानहरू राजनीतिक परिवर्तनका पक्षमा अगाडि आउन थाले । विश्वयुद्धमा भएको व्यापक क्षति र अभावका कारण जारको सेनामा पनि असन्तुष्टि बढिरहेको थियो । त्यही मौकामा रुसी कम्युनिस्ट पार्टी (बोल्सेभिक) ले स्थायी शान्ति, परिवर्तन र नयाँ जीवनका लागि मजदुर, किसान र सेनाको संयुक्त सरकार ‘सोभियत’ को नारा प्रस्तुत ग¥यो । शान्ति, रोटी र जमिनको नारा चारैतिर लाग्यो । परिस्थितिको सही विश्लेषणसहित बोल्सेभिक पार्टीले निरङ्कुश जार र पुँजीपति सत्ताका विरुद्ध क्रान्तिको घोषणा ग¥यो । लेनिन–स्टालिनको नेतृत्वमा मजदुर, किसान र सेनाको संयुक्त शक्ति क्रान्तिमा सहभागी भयो । सन् १९१७ अक्टोबर १७ बाट पुँजीवादी सत्ताका विरुद्ध सर्वहारावर्गीय विद्रोह विस्फोट भयो । विद्रोह भीषण सङ्घर्षका बीचबाट गुज्रिँदै अक्टोबर २५ मा सफल भयो र रुसबाट पुँजीवादी सत्ता फ्याँकियो । त्यसको स्थानमा वैज्ञानिक समाजवाद स्थापना भयो । १० दिनको विद्रोहमा महान्् सर्वहारावर्गीय क्रान्ति सम्पन्न भयो । अक्टोबर क्रान्ति नै यस्तो क्रान्ति थियो जसले विश्वमा पहिलोपटक माक्र्स–एङ्गेल्सको वैज्ञानिक साम्यवादी सिद्धान्त र विचारअनुरूप वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापना ग¥यो । त्यसैले अक्टोबर क्रान्ति र रुसमा स्थापना भएको वैज्ञानिक समाजवादलाई राजनीतिक इतिहासमा एक युगान्तकारी परिघटनाका रूपमा स्मरण गरिन्छ ।

वैज्ञानिक समाजवादी सत्ता स्थापना भएपछि अक्टोबर २६–२७ मा लेनिनको नेतृत्वमा जनकमिसारियट परिषद् (मजदुर, किसान, सेना, बुद्धिजीवी मन्त्रिमण्डल) गठन भयो । अध्यक्षमा लेनिन नियुक्त हुनुभयो । संयुक्त सरकारले रक्षा, अर्थ, राष्ट्रियता, शिक्षा मन्त्रालयहरू गठन ग¥यो । सरकारले मजदुर, किसानहरूलाई सबै ऋणबाट मुक्त ग¥यो; भूमिसुधार लागू गरियो; विदेशी ऋणहरू खारेज भए; बैङ्क, यातायातजस्ता क्षेत्रहरू राज्यको स्वामित्वमा लिइयो; धर्मलाई राज्यबाट अलग गरियो, कूटनीतिक कार्यहरू अगाडि बढाइयो । राज्यले सबै नागरिकका लागि आधारभूत आवश्यकता (गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य) सुनिश्चित गर्ने कदम चाल्यो । क्रान्तिमा विजय हासिल गरेपछि तथा सरकारले जनताको हितमा युद्धस्तरमा कामहरू अगाडि बढाएपछि सर्वहारावर्गीय सत्ताको लोकप्रियता विश्वभर फैलियो । सत्तामा पराजित भएका प्रतिक्रियावादी तत्वहरू र जर्मन साम्राज्यवादका दलालहरूले समाजवादी सत्ताविरुद्ध प्रतिक्रान्तिकारी गतिविधि सिर्जना गरे र सरकारले गृहयुद्धको स्थिति सामना गर्नुप¥यो । त्यही क्रममा एकजना कामदार महिला (फेन्या केप्लान) लाई उचालेर सन् १९१८ अगस्ट ३० मा कमरेड लेनिनमाथि गोली प्रहार गरियो । गोलीको चोटको बल्झन र स्वास्थ्य समस्याले गर्दा सन् १९२४ मा विश्व कम्युनिस्ट आन्दोलनका नेता कमरेड लेनिनको निधन भयो । कमरेड लेनिनको निधनपछि उहाँँका घनिष्ट कमरेड स्टालिनले महान् समाजवादी देश रुसको नेतृत्व गर्नुभयो । तर कमरेड लेनिनको असामयिक निधनले भर्खर जन्मिएको सर्वहारावर्गीय समाजवादी सत्ता र कम्युुनिस्ट पार्टी बोल्सेभिकलाई निकै ठूलो क्षति भयो । त्यस समयमा एकातिर साम्राज्यवादी देशहरूले रुसलाई घेराबन्दी गरेर सताइरहेका थिए भने अर्कोतिर देशभित्रैका प्रतिक्रियावादी तत्वहरू जो भर्खरै मात्र सत्ताच्यूत भएका थिए उनीहरूले उपद्रो मच्चाइरहेका थिए । जब कमरेड स्टालिन सत्ताको नेतृत्वमा पुग्नुभयो तब बाहिरबाट मात्र होइन, पार्टीभित्रैका प्रतिक्रान्तिकारी तत्वहरूले पनि कम्युनिस्ट पार्टी र सोभियत सत्तालाई कब्जा गर्न षड्यन्त्र सुरु गरे । त्यसको नेतृत्व पार्टीभित्रै रहेका चरम गुटवादी एवम् अवसरवादी ट्राट्स्की, बुखारिनका साथै महान् अक्टोबर क्रान्तिको समयमा प्रतिक्रियावादी सत्तालाई विद्रोहको सूचना दिँदै भाग्ने कामेनेव, जिनोनेवहरूले गरेका थिए । उनीहरूले सन् १९२७ तिरबाट अनेकौँ पार्टी र सत्ताविरोधी षड्यन्त्र र विध्वंसकारी घटनाहरू घटाउन थाले । हडताल गर्ने, किसानहरूलाई उचाल्ने, कारखानाहरूमा विस्फोट गराउने, तोडफोड गर्न थाले । सन् १९३४ मा पुग्दा प्रतिक्रान्तिकारी हर्कतलाई चरमचुलीमा पु¥याउँदै केन्द्रीय समिति सचिवालयका सदस्य क्रान्तिकारी कमरेड किरोबको हत्या गरे । यी सबै कार्य गर्न उचाल्ने र सहयोग पु¥याउनेमा जर्मनलगायत पश्चिमा पुँजीवादी तत्वहरू थिए । परन्तु कमरेड स्टालिनको नेतृत्वमा सोभियत सर्वहारावर्गले प्रतिक्रान्तिकारीहरूलाई कडा कारबाही चलाउँदै उनीहरूलाई पार्टीबाट निष्कासन गर्दै प्रतिक्रान्तिका सबै षड्यन्त्रहरूलाई कुशलतापूर्वक परास्त ग¥यो । पार्टी र सत्ताले बाहिर र भित्रका दुष्टहरूलाई परास्त गरिसकेपछि स्टालिनको नेतृत्वमा समाजवादले आश्चर्यजनक विकास र समृद्धि हासिल ग¥यो । कमरेड स्टालिनको नेतृत्वमा रुसी सर्वहारावर्गले विश्वक्रान्तिलाई नजिकबाट सहयोग पु¥यायो । त्यही क्रममा हिटलर र मुसोलोनीका कारण दोस्रो विश्वयुद्ध विस्फोट भयो । लगभग युरोपलाई खाइसकेको जर्मन साम्राज्यवाद र हिटलरलाई परास्त गर्ने काम पनि कमरेड स्टालिन र रुसी समाजवादले नै ग¥यो । पूर्वसोभियत सङ्घको सहयोगमा नै पूर्वी युरोपमा समाजवाद स्थापना हुन सक्यो । चीनको नयाँ जनवादी क्रान्ति र कोरियाको क्रान्तिमा पनि वैज्ञानिक समाजवादी सत्ताको ठूलो सहयोग रहेको छ । सन् १९५३ सम्म पूर्वसोभियत सङ्घमा वैज्ञानिक समाजवादी सत्ता सफलतापूर्वक चल्यो । एकातिर अमेरिकी नेतृत्वमा पुँजीवाद र अर्कोतिर पूर्वसोभियत सङ्घको नेतृत्वमा वैज्ञानिक समाजवादी सत्ताका धु्रव बने । त्यसको नेतृत्व कमरेड स्टालिनले कुशलतापूर्वक गर्नुभयो । अक्टोबर क्रान्तिको महत्वमा प्रकाश पार्दै लेनिनले लेख्नुभयो, ‘पहिलो बोल्सेभिक क्रान्तिले धरतीमाथि पहिलो दस करोड मान्छेहरूलाई साम्राज्यवादी युद्धको चङ्गुलबाट, साम्राज्यवादी संसारको चङ्गुलबाट मुक्त गरेको छ । अगाडिको क्रान्तिले शेष मानवजातिलाई यस्तो युद्धको चङ्गुलबाट तथा यस्तो संसारको चङ्गुलबाट मुक्त गर्नेछ’, (लेनिन, सङ्कलित रचना, खण्ड १०, हिन्दी संस्करण, अक्टोबर क्रान्तिको चौथो जयन्ती, पृ. २११) । त्यसैगरी माओले उल्लेख गर्नुभयो, ‘अक्टोबर क्रान्तिको झन्डा अपराजेय छ तर फासिवादका सबै शक्तिहरूको अन्तिम विनास निश्चित छ ।’ (माओ, सङ्कलित रचना, भाग ३, अक्टोबर क्रान्तिको पच्चीसौँ वार्षिकोत्सवका उपलक्ष्यमा, पृ. ८२) ।
(क्रमशः अर्को अङ्कमा)
२०७५ साउन ११ गते बिहान १०: ४२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :