एक आतंककारीकी आमा !

१४ वटा सन्तान जन्माएकी हाम्री आमा विष्णुदेवी लोहनीको ७५ वर्षको उमेरमा उपचारका क्रममा यही असार २१ गते बिहीबार कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल) चितवनमा उपचारका क्रममा मृत्यु भयो । हाम्रो बुबा गोपाल लोहनी जसको २०७० सालमा नै ८२ वर्षको उमेरमा मृत्यु भैसकेको छ उहाँसँग आमाको ८ वर्षको उमेरमा विवाह भएको थियो । आमा १४ वर्षको हुँदै गर्दा ठूलो दाजु जन्मिनुभएको कुरा आमा—बुबाले भन्ने गर्नुहुन्थ्यो । म जन्मिँदा आमा २५ वर्षकी हुनुहुन्थ्यो भने कान्छी बहिनी जन्मिँदा ३६ वर्षकी । यसरी ठूलो दाजु र कान्छी बहिनीका बीचमा २२ वर्ष उमेरको फरक रहेको छ । ९ महिना गर्भमा पालेर असह्य प्रसव पीडा भोगेर जन्माएका आफ्ना सन्तानहरू कुन कति सालमा कहाँ जन्मिएका थिए भनी सोध्दा आमा सही जबाफ दिन सक्नुहुन्नथ्यो । बुबा पढेको पण्डित भएकाले उहाँलाई मिति÷तिथि थाहा थियो तर हामी कसैको पनि चिना भने थिएन ।

आमा र म

आमाका लागि सबै सन्तान समान हुन्छन् भनिन्छ । अझ सन्तानलाई त आमाले आफूलाई बढी माया गरिदिए हुने थियो भन्ने स्वाभाविक रूपमा लाग्दछ । यसको वास्तविक अनुभूति धेरै सन्तान भएका आमाहरूलाई हुन्छ । मैले उर्मिलासँग बिहे गर्नुभन्दा पूर्व आमाले मलाई सबैभन्दा बढी माया गर्नुहुन्छजस्तो लाग्दथ्यो । मलाई ‘गाई खाने शिक्षा’ पढाउने तीव्र इच्छा भएका मेरा बुबाले सानैमा रक्सी र सार्की गाउँबाट खाम्से (मरेको जनावरको मासु) ल्याएर ख्वाएको कुरा धेरै प्रसङ्गमा भन्ने गर्नुहुन्थ्यो । बुबा पण्डित भए पनि मलाई ब्राह्मण संस्कारले कहिल्यै बाँधेन । मलाई बुबाबाट यस्ता कुराहरूमा पूरै छूट थियो । दाजुभाइमा सबैभन्दा बढी पढेकाले आमाले पढ्दा तागत खर्च हुन्छ भनी कुखुराको अण्डा खान भन्नुहुन्थ्यो । अनि लाग्दथ्यो आमाले मलाई धेरै माया गर्नुहुन्छ ।

बिहे गर्नुभन्दा अघिसम्म आमाको पछि लागेर म बजार जाने गर्दथेँ । वरपरका छिमेकीहरूले मलाई ‘आमाको पुच्छर’ भन्दथे । बजार गएर आमा चिया र चुरोट खानुहुन्थ्यो । म चिया खान्थेँ । म ६–७ वर्षको हुँदादेखि हाम्रो परिवारलाई भयानक गरिबीले सताएको थियो । आमाका हामी बाँकी ७ सन्तान, आमा, बुबा, कान्छाबुबा र हजुरआमा (आमाकी आमा, उहाँलाई हामी मुवा भन्दथ्यौँ) को भरणपोषण टीकापुर बजारको एउटा सामान्य चिया दुकानले गर्नुपर्दथ्यो । त्यसैले हामीले चाहेको खान, लगाउन त के कुरा, बिहान र बेलुकाको छाक टार्न पनि धौधौ हुन्थ्यो । यस्तो बेलामा पनि आमाले मलाई लुकाएर मीठोमसिनो खान दिनुहुन्थ्यो । हुनत अरू दाजु, भाइ र बहिनीहरूलाई पनि त्यसै गर्नुहुन्थ्यो कि ? आमाको यो सन्तानप्रतिको सन्तुलन र महानता हुनसक्छ । तर मलाई त्यस्तै लाग्दथ्यो । कहिलेकहीँ दाइ र भाइले झिनो गुनासो गरेको सुन्ने गर्दथेँ । यसले मलाई गर्व लाग्दथ्यो र आमाप्रतिको मेरो श्रद्धा आकासिन पुग्दथ्यो । म स्वार्थी थिएँ र आमालाई साँच्चिकै महान् सम्झिन पुग्दथेँ ।

तर आमासँगको मेरो सम्बन्ध सधैँ त्यस्तै रहन सकेन । मैले २०४७ सालमा उर्मिला भट्टराईसँगको १ वर्षसम्मको प्रेमसम्बन्धलाई विवाहमा परिणत गरेको थिएँ । उर्मिला आमाको चाहनाकी बुहारी थिइनन् । उनी विशुद्ध मेरो चाहनाकी थिइन् । आमाले अरू कसैलाई बुहारी बनाउने कुरा चलाइसक्नुभएको रहेछ । उर्मिलासँग बिहे गरेर मैले आमाको मन भाँचेको रहेछु । २०४५ सालदेखि नै म राजनीतिमा सक्रिय रहन थालेँ । मैले लिएको विचार र राजनीति आमा र बुबा दुवैको भन्दा ठीक विपरीत थियो । बुबाले मलाई डाक्टर बनाउने सपना देख्नुभएको थियो । तर उहाँले मलाई कहिल्यै पनि आफ्नो इच्छाको लगाममा राख्ने कोसिस गर्नुभएन । तर म बुझ्दथेँ । आमाले मलाई खुला नै भन्नुहुन्थ्यो । कराउनुहुन्थ्यो । गालीसम्म गर्नुहुन्थ्यो । त्यो सायद आमाको अधिकार पनि हो । उहाँहरू काङ्ग्रेस समर्थक हुनुहुन्थ्यो, म भने क्रान्तिकारी कम्युनिस्ट ।

उर्मिलासँगको बिहे, क्रान्तिकारी कम्युनिस्ट राजनीतिमा लागेको र उर्मिलाको सहादतपछि मैले फेरि आमा—बुबाको इच्छा मात्र होइन, कल्पनाबाहिर पहिलो श्रीमान्बाट एउटा बच्चा भएकी एकजना बिधुवा (सहिद ज्ञामप्रसाद चालिसेकी जीवनसँगिनी) सरला रेग्मीसँग पुनर्विवाह गर्न पुगेँ । यी तीनवटै कुरा आमाको संस्कार, संस्कृति र केही हदसम्म धर्मका विरुद्ध नै थिए । बुबाले त यी सबै कुरालाई पचाउनुभएको थियो तर आमाले सक्नुभएन । त्यसपछिका मसँगका आमाका दिनहरू त्यत्ति सहज र प्रिय रहेनन् ।

उर्मिला धेरै मानेमा असल थिइन् । विवाह भएको केही समयपछि नै उनले आमासँगको सम्बन्ध र उहाँको दृष्टिकोणमा ठूलो फेरबदल ल्याइदिएकी थिइन् । यसको मुख्य कारण उर्मिलासँग मेरो प्रेम हुँदै गर्दा नै उनी क्रान्तिकारी बनिरहेकी थिइन् । त्यसैले आमाले हामीलाई हेर्ने दृष्टिकोण उहाँको मात्र नभएर सिङ्गो समाजको हो भन्ने बुझेकी थिइन् । त्यसैले मेरा बुबा—आमालाई अरू भाउजू वा बुहारीले भन्दा उर्मिलाले बढी माया गर्थिन् । आमा—बुबा दुवैले यो कुराको महसुस गरिराखेको सहजै बुझ्न सकिन्थ्यो ।

हामी दुवैजना पूर्णकालीन हुँदै गर्दा छोरा अङ्कित र छोरी अनुज्ञालाई आमा—बुबा भएको ठाउँ घरमा पु¥याउन उर्मिला गएकी थिइन् । उनले आमा—बुबा दुवैलाई सजिलोसँग सम्झाएकी थिइन् । उर्मिलाको सहादत र आतङ्ककारीका छोराछोरी भन्दै तत्कालीन अवस्थामा सुरक्षा फौजले दिनदिनै दुःख दिन थालेपछि छोरी आफ्नी ठूलीममी (उर्मिलाकी दिदी) को घर लालबन्दी गएकी थिइन् । छोरा अङ्कितलाई आमाले नै हुर्काउनुभयो । त्यसैले अनुज्ञाले भन्दा अङ्कितले आमाको माया र आत्मीयता बढी पाएका थिए ।

अङ्कित र अनुज्ञा दुवैले आमाको इच्छाविपरीत आफ्नो इच्छाबमोजिम क्षेत्री र ठकुरीसँग बिहे गरेपछि उनीहरूप्रति पनि आमा भावनात्मक हुन छाड्नुभएको थियो । यसरी मेरो परिवारसँग नै आमाको पछिल्लो सम्बन्ध सुमधुर हुन सकेको थिएन । तर सरला एक नेता, परिपक्व, सङ्घर्षशील महिला भएकाले उहाँले लगभग उर्मिलाको स्थान लिन पुग्नुभयो ।

मूल रूपमा पछिल्लो क्रममा जब आमा बिरामी हुनुभयो, उहाँ १ महिनाभन्दा बढी अस्पतालको शय्यामा रहँदा प्रत्येक दिन, प्रत्येक पलजस्तो सरलाको सेवामा रहनुभयो । आमालाई अन्तिम अवस्थासम्म चम्चाले फुलाएर खाना ख्वाउनुभयो । म भएको बेलामा हामी दुईले र सरला एक्लै भएका बेला उहाँले मात्र आमाको गुहुमूत स्याहार्नुभयो । सरलाका यी व्यावहारले आमाको हामीप्रति हेर्ने दृष्टिकोणमा केही फेरबदल भएको थियो कि जस्तो लाग्छ । किनभने पछिल्लो समयमा उहाँ ‘सरला–सरला’ भन्न थाल्नुभएको थियो ।

२०७० सालमा बुबा बिरामी हुँदा बुबासँग १६ दिन सँगै बसेर मैले उपचार गराएको थिएँ । बुबाको मृत्यु हुँदा आमा मलाई घप्ल्याक्क अँगालो मारेर ‘बाबु, बुबाले छोडेर जानुभयो’ भन्दै रुनुभएको थियो । बुबाको शवलाई उठाएर दाहसंस्कार गर्न लग्दै गर्दा आमाले मेरो हात समाएर रुँदै ‘बुबाको किरिया गर्नू’ भनेर कराउनुभएको थियो । दाइ र भाइहरू किरिया बसे तर म बसिनँ । मेरो यो व्यवहारले आमाको मनमा गहिरो चोट परेको मैले सहजै महसुस गरेको थिएँ । यसरी आमा र मेरो सम्बन्ध सधैँ एकै किसिमको भएन । सुरुका दिनहरू असाध्यै प्रिय रहेका थिए । बिस्तारै अप्रिय र तिक्ततापूर्ण रहन पुगेका थिए । ठीक त्यसैगरी मेरो परिवार र सन्तानसँग पनि उस्तै रह्यो । सरलासँगको सम्बन्ध भने राम्रो हुँदै गएको थियो तर मसँग खासै सुधार हुन सकेन ।

तर मैले पाएको अवसर वा भाग्य आमाको तीनपटकसम्म खुट्टा भाँचिँदा मैले नै उपचार गराउन पाएँ । सेवा गर्न पाएँ । आमाको मृत्यु हुँदै गर्दा मेरै अगाडि आमाले अन्तिम सास लिनुभयो । मैले नै डाक्टरलाई भ्यान्टिलेटरबाट हटाउन भन्नुपर्ने भयो ।

एक आतङ्ककारीकी आमा

म विद्यालयमा राम्रो पढ्दथेँ । त्यसैले आमा—बुबा म डाक्टर भएको सपना देख्ने गर्नुहुन्थ्यो । तर म आफूले भने कलेज पढ्न थालेपछि डाक्टर हुने सपना देख्न छाडेको थिएँ । मलाई राजनीति गर्ने भूत जागेको थियो । नयाँ जनवादी क्रान्ति गर्ने, जनमुक्ति सेना बन्ने, जमेर क्रान्ति गर्ने, कहाँसम्म भने सहिद हुने । यस्ता सपना पछिल्ला समयमा उर्मिला र मैले देख्ने गर्दथ्यौँ । उर्मिलाले सहिद भएर पूरा गरिन् । अहिले रोगले ग्रस्त जीर्ण शरीर लिएर पनि मैले सपना मर्न दिएको छैन । म नेपालको कम्युनिस्ट आन्दोलनमा त्याग, समर्पण र बलिदानबाट अझ पनि तृप्त भएको छैन जसरी कम्युनिस्ट आन्दोलनले आफ्नो दिशा र लक्ष्य पूरा गरेको छैन ।

आमा—बुबा दुवैले कहिल्यै पनि कम्युनिस्ट विचार लिनुभएन । तर म माओवादी भएकाले जनयुद्ध र अहिले पनि पुरानो सत्ता, संस्कृति र संस्कारले उहाँहरूलाई मेरा कारणले दुःख दिन कहिल्यै छाडेन । देशमा सङ्कटकाल लागेपछि दिनदिनैजसो आमा र बुबा दुवैलाई आतङ्ककारीका बाउ–आमा भनेर सताएका थिए । बुबा त टीकापुरको समाजमा प्रतिष्ठित नै हुनुहुन्थ्यो । त्यसैले अघोषित मानसिक यातना मात्र भोग्नुभयो । आमाहरू अलि फरक हुन्छन् । त्यसमा पनि यो समाजमा महिलाको हैसियतले गर्दा उहाँले प्रत्यक्ष मानसिक यातना भोग्नुभयो एक आतङ्ककारीकी आमाका रूपमा ।

२०६३ सालपछि त्यो आतङ्ककारीबाट उहाँहरू मुक्त हुनुभएको थियो । तर प्रचण्ड—बाबुराम—बादलहरूको गद्दारीपछि हामीले गर्नुपरेको आफ्नै नेताहरूका विरुद्धको विद्रोहले उहाँहरूमा मानसिक आतङ्क जन्मिएको थियो । वामदेवजस्तो शक्तिशाली नेतालाई चुनावमा हराएकी बुहारी र देशैभरिका शिक्षकहरूको अध्यक्ष बनेको बौद्धिक छोरो मन्त्री हुने, सत्ताको सुखसुविधा लिनेभन्दा पनि फेरि क्रान्ति र विद्रोह गर्ने भन्न थालेपछि कुनै छक्कापन्जा नजानेको सीधासादा मान्छेमा पर्ने मनोविज्ञान सजिलै पढ्न सकिन्थ्यो । बुबा बित्दा हामी २०७० सालको चुनाव बहिष्कारमा लागेका थियौँ । म चितवनको इन्चार्ज थिएँ । बुबाको किरिया भैरहँदा दर्जनौँपटक मेरो घरमा सीआईडीहरूको अघोषित पहरा हुने गर्दथ्यो । दुईजना दाइ र एक भाइ किरिया बसेका थिए । सरला र म त्यत्तिकै बसेका थियौँ । हामी दुवै तत्कालीन राज्यको दृष्टिमा आतङ्ककारी ठहरिएका थियौँ । तर त्यो समयमा हामीलाई रामबहादुर थापाले चुनाव बहिष्कारको कासन दिइरहेका थिए । उनले उस्तै परेमा एके ४७ पड्काउनू भनी निर्देशन दिएका थिए ।त जेठ ९ गतेदेखि आमाको उपचारमा म र सरला चितवनस्थित कलेज अफ मेडिकल साइन्सेसमा बस्यौँ तर रामबहादुर थापाका पुलिसहरूले निगरानी गर्न कहिल्यै छाडेनन् । कहिले गाडी लिएर आउँथे त कहिले सिभिल भएर ।

असार २१ गते जब आमाको दाहसंस्कार गर्न देवघाट लगियो त्यहाँ हामी तीन भाइ र हाम्रा छोरा अङ्कितले दागबत्ती दिँदै थियौँ उक्त स्थानमा तीनजना सीआईडी पुगेछन् । एकजना भाइले मेरो कानमा आएर पुलिसको एक टोली गाडीसहित माथि बाटोमा बसेको र सीआईडीहरू दाहसंस्कार स्थानमा नै पुगिसकेको जानकारी दिए । उक्त जानकारी पाउनेबितिक्कै म त्यहाँबाट लुक्दैछिप्दै बाहिरिएँ । आमाको पूर्ण दाहसंस्कारमा भाग लिन पाइनँ ।

हिजो तिनै रामबहादुर थापा जसलाई बादल भनेर चिनिन्थ्यो, उनको गर्जन भयानक हुन्थ्यो, साउनको बादलजस्तै । बादलको गर्जनमा हजारौँ भोल्टको चट्याङ पर्दथ्यो । ती गर्जन र चट्याङले वर्गदुस्मन हायलकायल हुन पुग्दथे, वर्गमित्रहरूको कलेजा ठण्डा हुन पुग्दथ्यो, मुक्तियुद्धका योद्धाहरूमा साहस थपिन्थ्यो । त्यसैले बादललाई उच्चकोटीको आतङ्ककारीमा दर्ज गरेको थियो त्यो समयको संसदीय बहुदलीय व्यवस्थाले । अहिले तिनै बादलहरू जसले बीचमा नै मुक्तियात्रा छाडेर उही पुरानो संसदीय बहुदलीय व्यवस्थाका पहरेदार हुन पुगेपछि त्यही बिन्दुबाट यात्रा प्रारम्भ गर्नेहरूलाई अघोषित आतङ्ककारी बनाई गिरफ्तारीको आदेश फर्माएका छन् । हिजो शेरबहादुर, खुमबहादुर, देवेन्द्रराज वा कमल थापाहरूले तिनीहरूलाई आतङ्ककारी घोषणा गर्दै पक्राउ आदेश, साइट टु सुट फर्माउँथे । आज रामबहादुर त्यही स्थान र पद समाल्न पुगेका छन् ।

त्यहाँ केही तलमाथि भएको भए तिमी म्यानुफ्याक्चरिङ कन्सेन्ट गरेका सञ्चारमाध्यमले आतङ्ककारीकी आमा भन्न भ्याउँथे होलान् । यसमा मलाई कुनै पश्चाताप वा गुनासो छैन । बरु आमा भैरहँदा, उहाँको उपचारमा लागिरहँदा मैले धेरै आमाहरूलाई सम्झिएँ जसले एउटा सिटामोलको चक्की समयमा खान नपाएर देह त्यागिरहेका छन् । केपी ओली, प्रचण्ड र रामबहादुरहरूले घोषणा गरेको समाजवादी राज्यको महँगो र अपराधपूर्ण उपचार सुविधाको सिकार भैराखेका छन् । थाहा छैन हाम्रा तीनवटा सन्तानले कसरी बुझे तर सरला र म जसले मुक्तियुद्धमा आफ्ना जीवनसाथी गुमायौँ, अत्यन्तै प्रिय मान्छेहरू गुमायौँ, जीवनको आधाभन्दा बढी समय सङ्घर्षमा बितायौँ, हिजोका नेता भनाउँदाहरूले आमाको दाहसंस्कार गर्न दिइरहेका छैनन्, नयाँ अभियानमा लामबद्ध हुन उक्साइरहेका छन् ।

आमा बिरामी हुँदा उपचार नगरी घरमा नै राख्नुपर्छ भन्ने मेरा दाइहरू आमालाई स्वर्ग पठाउन किरिया बसिराखेका छन् । हामी दुईजना जनताको मुक्तिका खातिर नयाँ तरिकाले सोचिराखेका छौँ ।
र अन्त्यमा आतकङ्कारीकी आमा वा सासूको उपचारमा अहोरात्र खट्ने कलेज अफ मेडिकल साइन्सेसका सबै डाक्टर, परिचारिका, सहयोगी, आमा अस्पतालमा रहुन्जेल सधैँ खाना लिएर आउने बहिनी इन्दिरा, समय मिलाएर आमाको सेवामा खट्ने ठूली भाउजू, हाम्रा छोराछोरीकी उमेरकी गङ्गालाई विशेष धन्यवाद दिन चाहन्छु ।

२०७५ असार २७ गते बिहान १० : १८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :