एमाले र प्रचण्ड माकेको एकता

हाइड्रोजन र अक्सिजनको यौगिक होइन कि टाट पल्टिएको बैंक र हुन्डी व्यापारीसँगको मर्ज !

अन्डरलाइन नेकपा

गएको असोज १७ गते वाम गठबन्धनको नाममा चुनावी तालमेल गरेर चुनावपछि तुरुन्त एकता गर्ने कुरा १६ बुँदेमा समावेश गरेका थिए तर चुनावपछि सरकार गठनसँगै एकता गर्ने भने । चुनावपछि पनि उनीहरूको एकता सम्भव भएन । एमालेको नेतृत्वको सरकारमा गएका प्रचण्ड माकेका मन्त्री र केपी ओलीका बीचमा सहजपूर्ण सम्बन्ध रहन सकेन । सचिव सरुवाका अन्तर्विरोध सतहमा नै देखापरेको थियो । केपी ओली भारत भ्रमणमा गएका समयमा गृहमन्त्री रामबहादुर थापाको निवासमा माकेका मन्त्रीहरूको छुट्टै बैठक बसेको थियो । बैठकमा ओलीको कार्यशैलीलाई सशक्त विरोध भएको थियो तर उनीहरूको विमति प्रचण्डद्वारा डस्टबिनमा फ्याँकिन पुग्यो । असहमति, विमति र विरोधका बाबजुद केपी ओली फर्किएपछि वैशाख ९ गते लेनिन जयन्तीका दिन कुरा सार्वजनिक भएका थिए ।

उनीहरूले भनेझैँ वैशाख ९ गते एकता भएन । र, उनीहरूले एकताको सन्देश दिने भनी त्यस दिन संयुक्त कार्यक्रमको आयोजना गरेका थिए तर ब्यानर विवादका कारण ४ घन्टापछि मात्र कार्यक्रम भएको थियो । नरेन्द्र मोदीको नेपाल भ्रमण हुँदै गर्दा फेरि एकताको कुरा खुबै उठेको थियो । मोदीको भ्रमणका बेलामा उनीहरूबीचमा आन्तरिक र बाह्यरूपमा नै विवाद झनै चर्कियो । मोदीको भ्रमणका कुरालाई लिएर तत्कालीन माकेकी प्रवक्ता पम्फा भुसालले संसद्मा नै विरोध गरेकी थिइन् । यी घटनाक्रमहरूले उनीहरूका बीचमा एकता त के सरकारबाट नै माके बाहिर निस्कन्छ कि भन्ने लख काट्न थालिएको थियो तर पासा पल्टियो । उनीहरूका बीचमा एकता भयो र नाम पनि राखे अन्डरलाइन नेपाल कम्युनिस्ट पार्टी ।

वैशाख ३ गते राष्ट्रिय सभागृहमा एकता घोषणामा बोल्दै प्रचण्डले भनेका थिए– हाम्रो एकता हाइड्रोजन र अक्सिजन मिलेर यौगिक पानी बनेको जस्तै हो, अब पानीमा अक्सिजन र हाइड्रोजन भेट्न सकिँदैन । प्रचण्ड विज्ञानका विद्यार्थी हुन् र विगतका भौतिकवादी पनि । उनको यो उदाहरण भौतिकवादीे नै हो । उनको यो उदाहरण द्वन्द्वात्मक भौतिकवादी भएन । द्वन्द्वात्मक भौतिकवादले एकको दुईमा विभाजनको कुरा गर्दछ र तर प्रचण्डले दुईको एकमा समायोजनका कुरा गरेका छन् ।

प्रचण्डको भनाइलाई आधार मान्ने हो भने यो एकतामा एमालेको अक्सिजन र प्रचण्ड माकेको चरित्रसँग मिल्छ । यद्यपि यो प्रतीकात्मक मात्र हो ।

माकेको विगत

जेठ ३ गते देहवसान हुन पुगेको प्रचण्ड माकेको विगतका दुईवटा पाटाहरू रहेका छन् । पहिलो पाटोमा नेपाल कम्युनिस्ट पाटी (माओवादी) को नेतृत्व गरेका प्रचण्ड, किरण, बाबुराम र रामबहादुर थापा (बादल) ले गरेका थिए । त्यो माओवादीले नेपालको इतिहासमा युगान्तकारी परिवर्तन ल्याइदिएको थियो । २ सय ४० वर्ष पुरानो सामन्ती राजतन्त्रको अन्त त गरेको थियो, नेपालका सबै उत्पीडित वर्ग, जाति, महिला, दलितहरूलाई आफ्नो अधिकारको बोध गराउँदै सबै खाले शोषण, दमन र उत्पीडनका विरुद्ध लड्न सिकाएको थियो ।

उसले राज्यसत्ताबाहेक अरू सबै भ्रम हो भन्ने माक्र्सवादी मान्यतालाई दर्होसँग समातेर नयाँ जनवाद स्थापना गर्दै समाजवाद हुँदै साम्यवादसम्म पुग्ने लक्ष्य किटान गरेको थियो । वैज्ञानिक साम्यवादको सुन्दर र रोमाञ्चित सपनालाई विपनासम्म पुग्ने स्पष्ट बाटो कोरेको थियो । त्यसैले त दश वर्षकै दौरानमा नेपालजस्तो थोरै जनसंख्या भएको र आकारमा सानो देशमा पनि ८ हजार ५ सय ९४ जनाले जनयुद्धका लागि भनेर आफ्नो अमूल्य जीवन न्यौछावर गरेका थिए । हजार जना बेपत्ता हुन पुगे र हजारौँको संख्याका योद्धाहरूले अंग गुमाएका थिए । हजारौँको संख्यामा नै घरबारविहीन हुन पुगेका थिए । यत्रो त्याग, बलिदान र समर्पण हुँदा पनि जनयुद्धमा लामबद्ध नेता, कार्यकर्ता, जनतामा कहिल्यै निराशा, कुण्ठा, हीनताबोध पलाएन । बरु “बलिदान क्रान्तिको ऊर्जा हो” भन्दै सहिदमार्गका यात्रीहरूको अनन्त लामबद्धता थियो । त्यो अवधिमा भोक, निंद्रा र थकाइ कुन चराको नाम हो, थाहा थिएन ।

नेपालको कम्युनिस्ट आन्दोलनमा प्रचण्ड–बाबुराम–बादलहरूबाट मात्र धोका भएको होइन । हतियारबद्ध संघर्षहरू भीमदत्तको किसान विद्रोह र झापा विद्रोहमा पनि धोका भएको थियो । धोकाका प्रकृति भने फरक थिए ।

केही नेताहरूले क्रान्ति गर्ने भन्ने तर कुनै तयारी नगरेर धोका दिएका थिए । नेपाली क्रान्तिको स्पष्ट कार्यदिशा बनाउन नसकेर र अर्को क्रान्तिकारी भुल्काहरूलाई संरक्षण गर्ने, हुर्काउने र बढाउनेभन्दा पनि तुरुन्तै संशोधनवादी हुने, वैचारिक बहसको नाममा ‘उग्रवामपन्थी भडकाव’ मा भ्रष्टीकरण गर्न पुग्ने प्रवृत्ति देखियो ।

यसरी एकातिर धोकाधडी र अर्कोतिर शंकाको भुँमरीमा परेको नेपालको क्रान्तिकारी आन्दोलनले नयाँ कार्यदिशा र प्रतिबद्धताको माग गरेको थियो । त्यसैले जनयुद्ध सुरु गर्दा ७ बुँदे प्रतिबद्धता गरिएको थियो । यसको सुरुमा भनिएको थियो “जनयुद्धलाई जनताको स्थितिमा आंशिक सुधार गर्ने, प्रतिक्रियावादीलाई दबाब दिई सामान्य सम्झौतामा टुंग्याउने साधन बन्न कदापि दिइनेछैन ।”

क्रान्तिकारी कार्यदिशा निर्माण र प्रतिबद्धताका कारणले नेपाल आमाका असल सन्तानहरूले आफ्नो जीवन त्याग्नसम्म तयार भएका थिए । क्रान्तिकारी कार्यदिशा, उच्च त्याग, बलिदान र समर्पणले जनयुद्धले छोटै समयमा विकास गरेको थियो ।

यसको अर्को पाटो भनेको २०६३ सालपछिको त्यही माओवादी, २०६५ सालमा बन्न पुगेको एकीकृत माओवादी र २०७३ सालको माओवादी केन्द्र र त्यसको अवसान अवधि दस वर्षका मूल्य–मान्यता, उपलब्धिको र्हास र वैचारिक राजनीतिक स्खलन रह्यो । यही अवधिमा प्रचण्डको नायकत्व खलनायकीमा परिणत भएको थियो । यही अवधि हो विश्व हल्लाउने, नयाँ विश्व जन्म दिने जनयुद्धको अन्त, त्याग, बलिदान र समर्पणमाथि कुठाराघात, सहिदको रगतसँग होली, मुख्य नेतृत्वमा पद, पैसा, प्रतिष्ठा र परिवारवादको निकृष्टता र अन्तमा गएर माक्र्सवाद–लेनिनवाद–माओवादको परित्याग र नेपाली कम्युनिस्ट आन्दोलनको फोहरमैलाको मूल प्रवाहसँगको समागम ।

एमालेको विगत

एमालेको उद्गम विन्दु तत्कालीन पूर्वी कोशी प्रान्तीय कमिटी झापाको जिल्ला कमिटी हो । मोहनचन्द्र अधिकारीका अनुसार त्यही कमिटीबाट विद्रोह गरेर झापा विद्रोह गरिएको थियो । झापा विद्रोह गर्दैगर्दा राधाकृष्ण मैनालीले ‘झापा विद्रोहको लक्ष्य नौलो जनवादी क्रान्ति सम्पन्न गर्ने’ रहेको बताएका छन् । सीपी मैनालीका अनुसार “२०३१ सालको जेठमा सत्ताकब्जा गर्ने क्रान्तिकारी संघर्षलाई फैलाउँदै राष्ट्रिय क्रान्तिकारी पार्टी बनाउने अपील भएबमोजिम २०३२ साल जेठ २४ र २५ गते झापा, मोरङ, सिरहा, बारा, इलाम, काठमाडौँ, सिन्धुपाल्चोकमा क्रियाशील कमरेडहरूले अखिल नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी को–अर्डिनेसन केन्द्र (माक्र्सवादी–लेनिनवादी) अर्थात् कोके (माले) गठन गरेको थियो ।” त्यसैसँग जेल विद्रोहबाट छुटेकाहरूको “मुक्ति मोर्चा” दाङको “सन्देश समूह” पूर्वको “रातो झन्डा समूह”, गण्डकको “क्रान्तिकारी माले—दल” हरू मिलेर २०३५ साल पुस ११ पहिलो सम्मेलन गरेर नेकपा (माले) गठन भएको थियो र त्यसको महासचिवमा सीपी मैनाली चयन भएका थिए । यसरी झापा विद्रोहसँग नेकपा (माले) को नाम जाडिएको हो । यसरी माले बन्नुमा झापा विद्रोहको भावनात्मक पक्षको निकै महत्वपूर्ण योगदान रहेको छ तर माले बनेपछि उसले वर्गसंघर्ष शब्दको प्रयोग त गर्दै गएको थियो । तर, झापा विद्रोहको भावमा हुन सकिराखेको थिएन । सीपी मैनाली चारु मजुमदारको नक्सलवादी आन्दोलनबाट निकै प्रभावित भएको देखिन्छ । मोदनाथ प्रश्रितको एमालेको वेभ साइटमा राखिएको ‘मुक्ति मोर्चा‘ र ‘को—अर्डिनेसनको एकता’ नामक लेखमा त ‘वर्ग सत्रु खतमको बाटो होइन, संयुक्त जनसंघर्ष (सशस्त्र या शान्तिपूर्ण परिस्थितिअनुरूप) गर्दै अघि बढ्ने समझदारीको नजिक पुगियो’ लेखिएको छ । यसरी माले बन्दै गर्दा नै तर झापा विद्रोहको भाव र विचारबाट च्युत हुन थालेको देखिन्छ । त्यसैले त मोहनचन्द्र अधिकारीको त्यही साइडमा राखिएको अन्तर्वार्तामा झापा विद्रोहका सहिदहरू छबिलाल राजवंशी र रामप्रसाद प्रधानलाई अहिलेसम्म पनि सहिद घोषणा नगरिएकोप्रति दुःख व्यक्त गरिएको छ । झापा विद्रोहका क्रममा सहिद भएका रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, नारायण श्रेष्ठ र कृष्ण कुइँकेलहरूलाई जेल सार्ने बेलामा भाग्न थालेको भनी तत्कालीन पञ्चायती व्यवस्थाले हत्या गरेको थियो ।

झापा विद्रोह नियत र भावनामा असाध्यै क्रान्तिकारी थियो तर त्यसको वैचारिक र राजनीतिक पक्ष भने कमजोर थियो तर पनि झापा विद्रोह नेपाली नयाँ जनवादी क्रान्तिको कोशेढुङ्गा हो । तत्कालीन मालेको २०३७ साल असोजमा बसेको सातौँ केन्द्रीय समितिको बैठकले झापा विद्रोहका नीतिहरूलाई आधिकारिक रूपमा नै हटाएको थियो । मालेको चौथो महाधिवेशनबाट पारित राजनीतिक दस्तावेजको पेज ५९ मा लेखिएको छ, “विद्यमान प्रतिक्रियावादी अन्ततः सशस्त्र संघर्षबिना पल्टाउन सकिन्न तर त्यसका निम्ति विचारधारत्मक र संगठनात्मक तयारी पर्याप्त नभएकाले वर्तमान अवस्थामा जनआन्दोलन र जनसंगठन निर्माणको कामलाई प्राथमिकता दिएर अघि बढ्नुपर्छ भन्ने निष्कर्ष निकाल्यो” भनिएको छ । त्यसै बैठकले ‘वर्गसत्रु खत्तमको नीति’, ‘एक एरिया एक युनिट, एक स्क्वायड र एक एक्सन’ को कार्यपद्धतिलाई हटायो’ पनि भनिएको छ । साथै ‘सशस्त्र संघर्षलाई प्राथमिकता दिने हिसावले बनाउँदै ल्याइएका गोरिल्ला दल, क्रान्तिकारी कमिटी र रेडगार्ड स्क्वायडजस्ता संगठनात्मक रूपलाई हटाइयो ।’

त्यसै दिनबाट उसले वास्तवमा माक्र्सवादका मुख्य तत्वहरू वर्गसंघर्ष, बल प्रयोगको सिद्धान्त, सर्वहारावर्गीय अधिनायकत्वलाई परित्याग गरेको थियो । त्यो समयमा विश्वमा ख्रुश्चेबी र तेङको संशोधनवादीको जबर्जस्त हावा चलेको थियो । त्यसैको प्रभावमा परेर तत्कालीन मालेले क्रान्तिकारी कार्यदिशा बदलेर ख्रुश्चेबले लिएको ‘स’ हरू शान्तिपूर्ण सहअस्तित्व, शान्तिपूर्ण संक्रमण, सबै नागरिक जनतालाई पार्टी नीतिमा परिणत गरेका थिए । अहिलेसम्म आउँदा एमालेका अन्य नेताभन्दा तुलनात्मक रूपमा मदन भण्डारी देशभक्त देखिएका छन् तर पञ्चायती चुनावमा भाग लिने, २०४६ सालको आन्दोलनमा कांग्रेसको पुच्छर बन्न जाने आदिले गर्दा तत्कालीन माले र पछि बन्न पुगेको एमाले एउटा सामाजिक जनवादी पार्टीमा विचार, सिद्धान्त, सांगठनिक पद्दति र नीति तथा कार्यक्रम र संघर्षका योजनाबाट पुष्टि हुन पुग्छ । यसरी नेपालको राजनीतिक परिवर्तनमा नेतृत्वदायी भूमिका कहिल्यै रहेन ।

तर पनि, अहिले आएर संसदीय व्यवस्थाको ठूलो पार्टी बन्न पुगेको छ । संसदीय प्रणाली त्यसमा पनि दलाल संसदीय व्यवस्थामा जसले बढी साम्राज्यवाद र त्यसको आर्थिक हैकम चलाउने निगम पुँजीवादको दलाली गर्छ, उही नै सरकारमा पुग्ने गरेको छ ।

तत्कालीन माले २०३७ सालबाट क्रान्तिकारी विचारबाट च्युत मात्र भएन कि अमेरिकी हैकमवाद र सोभियत संघको हैकमवाद भन्दै साम्राज्यवादको पक्षपोषण गर्न पुगेको थियो । त्यसै समयदेखि नै उसले विभिन्न संगठन निर्माण गरेर सरकार बाहिरबाट गैरसरकारी संस्थाको लगानी भित्र्याएका थिए । यसरी उनीहरू विभिन्न डरल र पाउन्ड नेपाल भित्र्याउने हुन्डीमा परिणत भएका थिए । त्यही पैसा प्रयोग गरेर हिजोको स्क्वायड, रेड स्क्वायड, गोरिल्ला दललाई परिचालन गरेर विकासे संस्थामा परिणत गरेका थिए । उनीहरूको यी विकासे संस्थाहरू अहिले झन बढेर गएका छन् र उनीहरूको हुन्डी व्यापार फस्टाइरहेको छ ।

किन भयो एकता ?

एमाले–प्रचण्ड माकेबीचको एकता हुनुका दुईवटा पक्षहरू रहेका छन् । पहिलो यिनीहरू दुवैले क्रान्तिकारी धारलाई पूर्णरूपले परित्याग गरिसकेका थिए । केपी ओलीले गत मंसिर १८ गते अन्नपूर्ण पोस्टका लागि विजयकुमारलाई दिएको अन्तर्वार्तामा आफ्नो पार्टी कम्युनिस्ट नरहेको नाम मात्र कम्युनिस्ट रहेको अभिव्यक्ति दिएका थिए । प्रचण्डले कम्युनिस्ट नरहेको नभनेता पनि व्यावहारमा उनी पूर्ण बुर्जुवा बनिसकेका थिए ।

यिनी दुवै पार्टीले भौतिकवादी दर्शन परित्याग गरी आदर्शवादलाई अँगाल्दै आएका थिए । एमालेले मनमोहनको पालादेखि प्रत्येक पटक सरकारमा जाँदा बालुवाटार प्रवेश गर्दा कालो बोको काट्ने, एमालेको कोटाबाट राष्ट्रपति भएकी विद्या भण्डारी मन्दिरमन्दिर पूजा गर्दै हिंड्ने गरिरहेकी छिन् । अहिले आएर माकेबाट उपराष्ट्रपति बनेका नन्दबहादुर पुनले विद्या भण्डारीलाई पछ्याइरहेका छन् ।

यसैगरी प्रचण्डले भैंसी पूजा गर्नु, रामदेवलाई ढोग गर्नु, दसैँ–तिहारमा टीका लगाउनुले उनीहरू दुवैको दार्शनिक धरातल एउटै आदर्शवादी भइसकेको थियो ।

एमालेले २०३७ सालदेखि संशोधनवादको यात्रा सुरु गरेको थियो । माकेले फ्युजन, एक्काइसौँ शताब्दीमा जनवादको विकास, १२ बुँदे, जनताको संघीय गणतन्त्र हुँदै संशोधनवादको यात्रा सुरु गरेको थियो । यसरी २० वर्षअघि र पछिबाट यात्रा सुरु गरेकाहरूको उनीहरूको प्रस्थानमार्ग एउटै भएको थियो संशोधनवाद । फरक थियो त प्रस्थान समय र गति मात्र ।

जसरी एउटो देशमा लामो समयसम्म एउटाभन्दा बढी क्रान्तिकारी पार्टीहरू अलग अलग भएर बस्न सक्दैनन्, उनीहरूका बीचमा एकता अवश्यम्भावी हुन्छ । ठीक त्यसैगरी एउटा देशमा समतुल्य दक्षिणपन्थी दलहरू रहन सक्दैनन् । उनीहरूका बीचमा एकता वा विलय अनिवार्य शर्त नै बन्दछ । त्यसैले प्रचण्ड माके र केपी एमालेका बीचमा एकता भएको हो ।

उत्प्रेरक र त्यसको भूमिका

प्रचण्डले नेकपा अन्डरलाइनलाई अक्सिजन र हाइड्रोजन रासायनिक प्रतिक्रियाबाट बनेको पानी भनेका छन् । सबै अक्सिजन र हाइड्रोजनबाट पानी बन्दैन । त्यसका लागि निश्चित तापक्रम, उत्प्रेरक र विशेष बनावटको भाँडो पनि चाहिन्छ । यी तापक्रम, उत्प्रेरक र भाँडो एमाले र माकेको एकता लागि तयार भएको थियो । यसका लागि दक्षिणको विशेष भूमिका रहेको देखिन्छ । यसका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष भूमिका रहेको देखिन्छ । मोदीले केपीलाई चीन जान नदिएर भारत बोलाए, त्यहाँ मन्त्र फुके । केपीको झ्याँको झारे । मोदीलाई नेपालमा बलाउन केपीलाई दबाब दिए । मोदीलई अरूण ३ बुझाए । नेपालको राष्ट्रियता र सार्वभौमिकतामाथि खलल पुर्याएर ओलीको राष्ट्रवादी मुकुण्डो उतारिदिए । मोदीले भारतीय दलालमा एमालेका केपी ओलीलाई परिणत गरेपछि एकता गर्ने योजना लागू गराएका हुन् । यहाँ भनिरहनुपर्दैन, यो एकता कम्युनिस्टकोे त कुरै नगरौँ वामपन्थी पनि नरहेका यी दुई पार्टीको एकता हो ।

उनीहरूले आफ्नो पार्टीको मार्गनिर्देशक सिद्धान्त समाजवाद उन्मुख जनताको जनवाद उल्लेख गरेका छन् । यसको माक्र्सवादसँग कुनै साइनो नै छैन । त्यसैले उनीहरूबीचको एकताबाट बनेको नयाँ पार्टी कम्युनिस्ट नामको पेटेन्ट राइट वा ट्रेडमार्क मात्र हो । सारमा यो दक्षिणको आशीर्वादप्राप्त जनतामा भ्रम छर्न बनाइएको नयाँ खोलको दलाल पार्टी हो ।

२०७५ जेठ १० गते बुधबार अपरान्ह ४ : ०१  मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :