प्रचण्डहरु विसर्जन र पतन हुने देखेपछि नै हामीले पार्टी पुनर्गठनकाे प्रक्रिया शुरु गरेका हाैं : विप्लव, महासचिव, नेकपा

 

 

अम्बिका चन्द / काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एमाले र माओवादी केन्द्रबीचको एकतामा प्रचण्ड माओवादी सम्पूर्ण रूपले विसर्जन भएको बताएका छन् । प्रचण्ड र उनको पार्टी एक दिन आत्मसमर्पणवादमा पतन हुने निश्चित देखेपछि नै आफूहरूले विद्रोह गरेर क्रान्तिकारी नयाँ पार्टीको पुनर्गठनको पहल गरेको दावी गरेका छन् ।

महासचिव विप्लवले गद्दारी र विसर्जनले क्रान्ति जन्माउने शक्ति पैदा गर्ने निश्चित भएको भन्दै क्रान्तिबाट भागेका तथा कम्युनिस्ट आदर्शबाट च्युत भएकाहरू अब पुँजीवादमा पतन भइसकेको विश्लेषण गरेका छन् । उनले आम जनतामा कम्युनिस्ट पार्टीबीचको एकता भनेर भ्रम छरिए पनि यो एकता कम्युनिस्ट आदर्शबाट च्युत भएका अवसरवादी र संशोधनवादीहरूको गठजोड भएको भन्दै माके एमालेको एकतालाई टाट पल्टिएको बैंक र हुन्डी व्यापारीबीचको मेलमिलापको संज्ञा दिएका छन् । दुई अध्यक्ष राख्ने माके एमालेको सहमतिलाई इंगित गर्दै विप्लवले दुनियाँमा कहीँ नभएको सिन्डिकेटधारी जात्राले कम्युनिस्ट आन्दोलनलाई अँध्यारोतिर धकेल्ने बताएका छन् ।

विप्लवले कम्युनिस्ट आदर्श र मूल्य–मान्यताबाट च्युत भएर प्रतिक्रियावादमा पतन भएको दुश्मनसँग विलय भएपछि अब प्रचण्ड माओवादीसँग माओवाद शब्द को ‘म’ पनि नरहेको स्पष्ट पारेका छन् । उनले संसद्वादीहरू क्रान्तिको वाधक र पुँजीवादी व्यवस्थाको पालेको रूपमा खडा भएको बताएका छन् ।

यही वैशाख ३ गते स्वर्गीय एमाले नेता मदन भण्डारीको स्मृति दिवसको अवसर पारेर पार्टी एकताको घोषणा गरेका केपी ओली र पुष्पकमल दाहाललाई लक्षित गर्दै भोलिपल्ट अर्थात् वैशाख ४ गते एक प्रेस विज्ञप्ति जारी गरेका विप्लवले आफ्नो पार्टीमाथि फासिवादी दमन गरेर युद्धको ऐलान गरेको भन्दै यसको जवाफ क्रान्तिबाट दिने चेतावनीसमेत दिएका छन् । आफ्नो विज्ञप्तिमा आक्रामक शब्द र भाषा प्रयोग गरेका विप्लवको विज्ञप्तिको एक अंश प्रस्तुत छ –

‘केपी र प्रचण्डले जतिसुकै शान्ति, स्थिरता र समृद्धिको हावा चलाए पनि त्यो संशोधनवादी सामाजिक दलाल पुँजीवादीहरूको स्यालहुइँया मात्र हो । उनीहरू दलाल पुँजीवादमा पुगेका सामाजिक दलाल, दलाल पुँजीवादी व्यवस्था आफैँमा शोषण, दमन र उत्पीडनको अर्काे नाम हो र त्यो आफँैमा असाध्यै अस्थिरता र विपत्तिको कारण हो । त्यसैले यो व्यवस्थामा केपी र पिकेको भगवान्ले पनि शान्ति र स्थिरता दिन सक्नेछैन । दिन–प्रतिदिन राष्ट्रघात, जनघात, भ्रष्टाचार, कमिसन र तस्करीमा डुब्न पुगेको छ । केपी–पिकेले पहिले नै नेकपामाथि फासिवादी दमन गरेर युद्धको ऐलान गरिसकेका छन् भने भविष्यमा यो प्रक्रिया अझ तीव्र भएर जानेवाला छ । यसको जवाफ क्रान्तिबाट मात्र दिन सकिन्छ र दिन अनिवार्य छ । अनि केपी–पिकेको शान्ति कताबाट हुन सक्दछ ? बाहिर चारैतिर छरिएको संघर्ष उनीहरूतिर केन्द्रित भएर जानेवाला छ । उनीहरूले सोच्लान्, बलियो सरकार भएपछि क्रान्तिकारी उग्रवादीहरूलाई दमन गर्न सजिलो हुन्छ । यो उनीहरूको भ्रम र कल्पना मात्र हो । एकलौटी शासन सत्ता हुँदा त पुँजीवादले नियन्त्रण गर्न सम्भव भएन । अणु बम भएका शक्तिले त क्रान्तिकारीलाई रोक्न सकेनन् । साम्राज्यवादी सेनाले त क्रान्तिकारी शक्तिलाई परास्त गर्न सकेन भने यी संसद्वादी, संशोधनवादी, आत्मसमर्पणवादीहरूले सरकार परिवर्तन भयो भन्दैमा क्रान्ति रोकिने र नयाँ युगको सुरु हुन्छ भन्ने कल्पना नगरे हुन्छ । क्रान्ति, बलिदानबाट भागेर प्रतिक्रियावादी सत्तामा गएर क्रान्तिको दमन गर्ने कुरा क्रान्ति गर्नेभन्दा पनि जटिल कुरा हो । वास्तविकता यिनै हुन् र आगामी दिनहरू भीषण एवम् उथलपुथलकारी हुने छनक देखिएको छ । एमाले र माकेबीच एकता गरेर बलियो हुने र शासनमा बसेर मोज गर्ने कल्पना गरेका होलान् तर उल्टो हुँदैछ । इमानदार क्रान्तिकारीहरूले उनीहरूलाई नजिकबाट बुझ्ने अवसर प्राप्त गरे । एमालेलाई मात्र होइन, माकेलाई पनि कम्युनिस्ट आन्दोलनबाट पतन गरेर पुँजीवादीहरूको सेवक भएको यथार्थ नाङ्गो आँखाले देख्न पाए । यसले स्वाभाविक रूपबाट सबैतिर रहेका इमानदार र क्रान्तिकारी कमरेडहरूलाई एकताबद्ध गर्न र ध्रुवीकृत गर्ने प्रक्रिया निर्णायक मोडतिर पुग्दैछ । आत्मसमर्पणवाद, अवसरवाद, संशोधनवादलाई स्पष्ट रूपमा आफैँले देखेर बुझ्न पाउनु भनेको क्रान्तिकारीहरूलाई नयाँ क्रान्तिका वरिपरि गोलबन्द र ध्रुवीकरण गर्ने अवसर पनि हो । बलिदानले ऊर्जा पैदा गर्छ भनेजस्तै गद्दारी र विसर्जनले पनि जनक्रान्ति जन्माउने शक्ति पैदा गर्दछ । एमाले र माकेको एकताले क्रान्तिकारीमा नयाँ शक्ति र अवसर पैदा गरेको छ । सम्पूर्ण क्रान्तिकारी कम्युनिस्टहरू, इमानदार कमरेडहरू ढिला नगरी ध्रुवीकृत हुने बेला आएको छ । देशलाई दलाल पुँजीवादीहरूको हातमा रहन दिने हो भने र सामाजिक दलाल पुँजीवादीहरूको नियन्त्रणमा जान दिने हो भने यसले भयानक राष्ट्रघात झन् बढ्नेवाला छ । जनता भयङ्कर अभाव, उत्पीडन र दमनमा पर्ने देखिन्छ । तसर्थ, सबैतिर रहेका क्रान्तिकारीहरू माक्र्सवाद–लेनिनवाद–माओवाद र एकीकृत क्रान्तिको मार्गमा गोलबन्द हुन जुटौँ । सच्चा क्रान्तिकारीहरूको एकता त्यहीँ प्राप्त हुन्छ । देश र जनताको वास्तविक शान्ति, समृद्धि पनि वैज्ञानिक समाजवादमा मात्र सम्भव छ ।’
स्रोत : रातो खबर साप्ताहिक
२०७५ जेठ १० गते बुधबार बेलुका ९ : १५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :