सर्वोच्च अदालतद्वारा गृहमन्त्रालयका नाममा कारण देखाउ आदेश जारी

 

 

काठमाडौं : सर्वोच्च अदालतले रिहाइको आदेश गरे लगत्तै अदालत परिसरबाटै पक्राउ गरिएका नेकपा सम्बद्ध अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय अध्यक्ष अमर झाक्रीलाई पक्राउ गरे पछि सर्वोच्च अदालतले गृहमन्त्रालयका नाममा कारण देखाउ आदेश जारी गरेको छ । झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि बन्दीको तर्फबाट भीम प्रसाद शर्माले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ताद्वय कपिलचन्द्र पोख्रेल र दुर्लभकुमार पुनमगरले बन्दी प्रत्यक्षीकरणको रिटमा बहस गर्नुभएको थियो । जेठ ९ गते अर्थात बुधबार उक्त रिट उपर सुनुवाई गर्दै कामु प्रधान न्यायाधीश दीपकराज जोशीको एकल इजलासले लिखित जवाफ सहित बन्दीलाई ४८ घण्टाभित्र उपस्थित गराउनु भनी गृहमन्त्रालयको नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउनुभन्दा केही दिन अघि प्रहरीले काठमाडौंबाट मजदुर संगठनका अध्यक्ष झाँक्रीसहित अन्य नेताहरुलाई पक्राउ गरेको थियो । जेठ ७ गते सोमबार सर्वोच्च अदालतको आदेश पछि प्रहरी हिरासतमा रहेकाहरु रिहा भएपनि अमर झाक्रीलाई भने प्रहरीले पुन पक्राउ गरेर थुनामा राखेको छ । उता नेकपाले भने बिनाकारण आस्थाकै आधारमा आफ्नो पार्टीका नेताकार्यकर्ता तथा आफु संबद्ध व्यक्तिहरुलाई पक्राउ गरेको भन्दै बिनाशर्त रिहाइको माग गरेको छ ।


२०७५ जेठ ९ गते बुधबार बेलुका १० : २८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :