वैज्ञानिक समाजवाद प्राप्तिको मार्ग : विप्लव, महासचिव, नेकपा

 

 

वैज्ञानिक समाजवादको आगमनप्रति मानव–दुनियाँ असीमित प्रकारले लालायित मात्र छैन, विश्वस्त पनि छ । दुनियाँ एक दिन मुक्त, समृद्ध र समानतापूर्ण युगमा प्रवेश गर्नेछ भन्नेमा धनको मातले उपभोगवादको नसामा डुबेका मूर्ख परजीवीबाहेक कुनै पनि सचेत र ज्ञानी मान्छे पूर्ण सहमत छ । परन्तु वैज्ञानिक समाजवाद–साम्यवादको प्राप्ति कसरी होला, त्यसमा पनि आजको विश्वमा कसरी हुन सक्छ भन्नेमा भने पुँजीवादीबाहेक कम्युनिस्टहरूकै बीचमा पनि विवाद र बहस छन् । झट्ट सुन्दा यो प्रश्नको जबाफ धेरै पहिले नागरिकहरूले पाइसकेको जस्तो अनुभूति हुन्छ । हुन पनि यो प्रश्नको जबाफ माक्र्स–लेनिन–माओ र हरेक क्रान्तिकारीले दिँदै आएका छन् । तथापि समकालीन समाजमा पनि यो बहस चलिरहेको छ । यसो हुनुको प्रमुख कारण त्यही नै हो, जुन कारण माक्र्सपूर्व र पछि सत्तालाई बुझ्ने विषयमा विभिन्न खालका आदर्शवादी, काल्पनिक, समन्वयवादी, सुधारवादी, संशोधनवादी, अराजकतावादी, पुच्छरवादी प्रवृत्तिहरू समाजवादी आन्दोलनमा पैदा भइराखेका हुन्छन् । आज पनि यी प्रवृत्तिहरू समाजमा छन् र बहस चलिरहेको छ । क्रान्तिकारीहरूले पनि यसको जबाफ दिँदै जानुपर्छ । सम्भवतः पुँजीवादले धर्तीबाट अन्तिम बिदा नलिएसम्म यो प्रक्रिया चलिरहनेछ ।

आज पुँजीवाद मानव–समाजका लागि बोझ बनेर बसेको छ । यसले मुट्ठीभर पुँजीवादी शासकवर्गका लागि अत्यधिक श्रमिक जनताको अमानवीय उत्पीडन र शोषण गरिरहेको छ । हामीले किसानहरूलाई आवश्यक आवश्यकताहरूको सुविधा दिलाउनुपरेको छ; मजदुरहरूलाई श्रमअनुसारको दाम र सुविधा उपलब्ध गराउनु छ; महिलाहरूलाई सम्पत्ति, सत्ता, शिक्षा र रोजगारीमा समान अवसर र अधिकार दिनु छ; युवा र विद्यार्थीलाई वैज्ञानिक शिक्षा, रोजगारी, स्वास्थ्य, उपलब्ध गराउनु छ; दक्षिण एसिया र नेपालको सन्दर्भमा दलितवर्गलाई मानवीय जीवनको प्रत्याभूति, राजनीतिक, शिक्षा, रोजगारी, विशेष अवसरहरू दिलाउनु छ; जनजाति र उत्पीडित जातिलाई राजनीतिक सत्ता, भाषा, शिक्षा, संस्कृति, रोजगारीको अधिकार उपलब्ध गराउनु छ; बुद्धिजीवी, वैज्ञानिकहरूलाई बौद्धिक रोजगारी, अवसर उपलब्ध गराउनु छ; उत्पीडित क्षेत्रहरूलाई राज्यसत्ता, स्वास्थ्य, शिक्षा, रोजगारीको अधिकार उपलब्ध गराउनु छ । समग्रमा भन्दा जनतालाई सम्पूर्ण रूपले अधिकारसम्पन्न र आत्मनिर्भर नागरिकको रूपमा उठाउनु छ । यसका लागि पुँजीवादी युगलाई धर्तीबाट बिदा गर्नु छ र विश्वलाई साम्यवादमा प्रवेश गराउनु छ ।

पुँजीवादलाई अन्त्य गरेर दुनियाँँलाई वैज्ञानिक समाजवाद–साम्यवादमा प्रवेश गराउने सन्दर्भमा कम्युनिस्ट आन्दोलनमा मुख्यतः दुई फरक विचार रहिआएका छन् । एउटा, माक्र्स–लेनिन–माओले प्रस्तुत गर्नुभएको वैज्ञानिक र क्रान्तिकारी–मार्ग र, दोस्रो, लासाल, बर्नस्टिन, काउत्स्की, मिलेराँ, सिदेमान, खु्रस्चोभ, ज्योति बसुलगायतले भन्ने गरेको सुधारवादी, संसद्वादी, संशोधनवादी–मार्ग । माक्र्स, लेनिन, माओ, फिडेल, हो ची, किमको मार्ग भनेको पुँजीवादलाई जनताको बलद्वारा हटाएर वैज्ञानिक समाजवादमा पुग्ने मार्ग हो भने लासाल, बर्नस्टिन, मिलेराँ, सिदेमान, खु्रस्चोभको मार्ग भनेको पुँजीवादसँग शान्तिपूर्ण प्रतिस्पर्धा, चुनाव, सम्झौता, लेनदेन र संसद्वादी बाटोबाट समाजवादमा पुग्न सकिन्छ कि भनेर प्रयोग गरिएको संशोधनवादी मार्ग हो । पुँजीवादी सत्तालाई बलपूर्वक मिल्काउनुपर्ने विचार राख्दै माक्र्सले कम्युनिस्ट घोषणापत्रमा उल्लेख गर्नुभयो, “सम्पूर्ण वर्तमान सामाजिक व्यवस्थालाई बलपूर्वक ध्वस्त पारेपछि मात्रै उनीहरूको उद्देश्य पूर्र्ति हुन सक्दछ”, (माक्र्स–एङ्गेल्स, सङ्कलित रचनाहरू, कम्युनिस्ट घोषणापत्र, पृ. ८५) । त्यसैगरी लेनिनले लेख्नुभयो, “सशस्त्र–क्रान्तिबेगर सर्वहाराराज्यद्वारा पुँजीवादी राज्यलाई विस्थापन गर्न सकिँदैन । सर्वहाराराज्यको उन्मूलन अर्थात् जुनसुकै राज्यको पनि उन्मूलनचाहिँ विलोपको मार्गबाट सिवाय अरू कुनै किसिमले पनि असम्भव छ’, (राज्य र क्रान्ति, लेनिन, वर्ग विभाजित समाज र राज्य, पृ. २३) । त्यस्तै, माओले भन्नुभयो, “मजदुर आन्दोलनको समग्र इतिहासले के बताउँछ भने सशस्त्र सङ्घर्षलाई सर्वहाराक्रान्तिको सार्वभौमिक नियम मान्नु वा नमान्नु, पुरानो राज्ययन्त्रलाई चकनाचुर पार्नुपर्ने आवश्यकता स्वीकार गर्नु वा नगर्नु तथा पुँजीवादी अधिनायकत्वको ठाउँमा सर्वहारा अधिनायकत्व स्थापित गर्नुपर्ने आवश्यकता मान्नु वा नमान्नु सधैँ माक्र्सवाद–लेनिनवाद तथा अवसरवादहरूका सबै रूपहरूका बीचको विभाजन–रेखा हो”, ( माओ, सङ्कलित रचना, भाग ५, चिनियाँ कम्युनिस्ट पार्टीको आठौँ केन्द्रीय समितिको दोस्रो पूर्ण अधिवेशनमा दिइएको भाषण, १५ नोभेम्बर १९५६, पृ. २७४) । यही सन्दर्भमा महान् बहसमा उल्लेख गरियो, “माक्र्सवाद, लेनिनवादले सधैँ सबै प्रकारका क्रान्तिमा आधारभूत प्रश्न राज्यसत्ताको हो भन्ने मान्दछ । सन् १९५७ को घोषणापत्र र सन् १९६० को वक्तव्य दुवैले स्पष्ट रूपले लेनिनवादको शिक्षा ‘शासकवर्गले कहिल्यै पनि स्वेच्छाले राज्यसत्ता छाड्दैन’ भन्ने हो र अनुभवले त्यो पुष्टि गरेको छ भन्ने बताउँछन् । धक्का नदिने हो भने सङ्कटकालमा पनि पुरानो सत्ताको पतन हुँदैन । यो वर्गसङ्घर्षको सार्वभौमिक नियम हो”, (महान् बहस, पृ. १२) । क्रान्तिका सन्दर्भमा माक्र्स–लेनिन–माओसम्मले विकास गर्नुभएको विचारअनुसार रुस, चीन, भियतनाम, क्युबा, कोरियालगायत धेरै देशमा क्रान्ति सफल भएका छन् र सर्वहारावर्गले वैज्ञानिक समाजवादी–सत्ता स्थापना गर्न सफल भएका छन् । क्रान्तिका सन्दर्भमा माक्र्स–लेनिन–माओका विचार सफल र सही सावित (पेरिस, अक्टोबर, चिनियाँ, भियतनाम, क्युबा आदि) भएको छ भने संशोधनवादीहरूले अघि सारेको शान्तिपूर्ण तरिकाले विश्वको एउटा पनि मुलुकमा वैज्ञानिक समाजवाद प्राप्त हुन सकेको छैन । उनीहरूको विचार असफल र गलत पुष्टि भएको छ ।

पुँजीवादबाट शान्तिपूर्ण सङ्घर्षबाट समाजवादमा प्रवेश गर्ने दृष्टिकोण पनि दुई खालका छन् । एउटा, माक्र्स–एङ्गेल्स–लेनिन र इमानदार क्रान्तिकारीहरूले देख्नुभएको शान्तिपूर्ण प्रवेशको सम्भावना र, अर्को संशोधनवादीहरूले निरपेक्ष (सधैँ र सबैतिर) रूपले अगाडि सारेको शान्तिपूर्ण सङ्क्रमणको सिद्धान्त । माक्र्सदेखि इमानदार कम्युनिस्टहरूले कुनै देशको विशिष्ट राजनीतिक स्थितिमा (पुँजीपतिवर्गको सङ्कट) पुँजीवाद शान्तिपूर्ण तरिकाले समाजवादमा परिवर्तन हुन सक्छ भन्ने धारणा राख्नुभएको थियो । माक्र्सले यो सम्भावना युरोप त्यसमा पनि ब्रिटेनजस्ता देशमा हुन सक्छ भन्ने तर्क गर्नुभएको थियो । तर, पुँजीवादले साम्राज्यवादमा फड्को मार्ने क्रमसँगै त्यो सम्भावना अन्त्य भएर गयो । यसलाई लेनिनले स्पष्ट पार्ने कार्य गर्नुभयो । पछि इन्डोनेसिया र चिलीका क्रान्तिकारीहरूले पनि जनताको सङ्गठित शक्तिको बलमा चुनावबाट पनि समाजवादमा पुग्न सकिन्छ कि भनेर कोसिस गरेका थिए तर अन्तर्राष्ट्रिय पुँजीवादी गिरोह विशेषतः अमेरिका र युरोपको उक्साहटमा सन् १९६५ मा इन्डोनेसियामा जनरल सुहार्तोको नेतृत्वमा लाखौँ नागरिक (१० लाख बराबरी) को नरसंहार गर्दै शान्तिपूर्ण प्रयत्नलाई समाप्त पारियो । सन् १९७३ मा चिलीमा चुनावमा समेत सफलता प्राप्त गरेको स्थितिमा जनरल पिनोचेको नेतृत्वमा राष्ट्रपति एलसाल्भाडोरसहित हजारौँ नागरिकहरूको कत्लेआम गरियो । आज भिनेजुयलामा अनेकौँ बहानामा हमला गर्ने खेल खेलिँदैछ । जहाँसम्म बर्नस्टिनवादी, मिलेराँवादी, सिदेमान, ज्योति बसुहरूको शान्तिपूर्ण परिवर्तनको तर्क छ, त्यो त माक्र्स–एङ्गेल्सहरूले देख्नुभएको र इन्डोनेसिया, चिलीका क्रान्तिकारीहरूले देखेको परिवर्तनको विशिष्ट सम्भावना हो, त्यो पनि होइन । यो पुँजीवादी, संसद्वादी र साम्राज्यवादी तत्वसँग मिलेर या उनीहरूकै राज्यव्यवस्थामा प्रवेश गरेर विलय हुने विचार हो । पुँजीवादी संसदीय व्यवस्थाभित्रै श्रमिकवर्गलाई गोलचक्करमा फसाउने, क्रान्तिकारी आन्दोलनलाई भुत्ते बनाउने र कम्युनिस्ट पार्टीको नाम भजाएर लिन सकिने फाइदा लिने पुच्छरवादी, सम्झौतावादी, संसद्वादी प्रवृत्ति हो । पुँजीपतिवर्गसँग मिलेर कम्युनिस्टको नाममा सत्ताको भोगविलास गर्ने प्रवृत्ति हो । यसले कहिल्यै पनि पुँजीवादलाई परिवर्तन र वैज्ञानिक समाजवादको निर्माण गर्न सम्भव छैन । यो प्रवृत्ति दोस्रो अन्तर्राष्ट्रियको पछिल्लो समयमा हाबी थियो भने पछि रुसमा खु्रस्चोभी संशोधनवादको आरम्भ भएपछि धेरैतिर फैलिन पुग्यो । आज पनि केही संशोधनवादी, सुधारवादी, संसद्वादी व्यक्ति र विश्लेषकहरूले पुरानै तर्क ‘शान्तिपूर्ण’ परिवर्तनका हल्लाहरू गरिरहेका छन् । यी तत्वले हाल थपेको तर्क छ कि विज्ञान र प्रविधिले अभूतपूर्व विकास गरेको कारण सशस्त्र शक्तिद्वारा पुँजीवादलाई परिवर्तन गर्न सकिँदैन; वर्तमान पुँजीवादी व्यवस्थाहरू लोकतान्त्रिकीकरण बन्दै गएकोले शान्तिपूर्ण प्रतिस्पर्धाद्वारा नै परिवर्तन गर्न सम्भव छ । वास्तविकता भने यो सत्यको उल्टो छ । पुँजीवाद विगतको भन्दा अरू हिंस्रक र दमनकारी बन्दै गएको छ । उसको तरिकाहरू हेर्दा आमूल परिवर्तनको कुरै छोडौँ, उसको इच्छा विपरीत सुधार पनि गर्न सकिने अवस्था देखिँदैन । अर्कोतिर पुँजीवादभित्र जति नै लोकतान्त्रिक र समृद्धिको राग अलापे पनि मानव–जीवन अरू कष्टकर र सङ्कटपूर्ण बन्दै गएको छ । पुँजीवादभित्रको अमानवीयताले विगतका सबै इतिहासहरू माथ गरेको छ ।

पुँजीवादलाई श्रमिकवर्गले बल प्रयोगबाट मिल्काउनुपर्छ भन्नेमा क्रान्तिकारीहरूमा सहमति छ तर क्रान्तिको तरिका कस्तो हुनुपर्छ, कुन प्रकारको कार्यदिशा प्रयोग गर्नुपर्ला भन्नेमा भने क्रान्तिकारीहरूका बीचमा पनि फरक–फरक धारणा र मत रहने गरेका छन् । त्यसमा मुख्यतः तीन तरिकाको बीचमा बहस रहेको छ । केही कम्युनिस्टहरूको तर्क आज विश्व मूल रूपले लेनिनले परिभाषित गर्नुभएको पुँजीवाद–साम्राज्यवाद नै भएकोले लेनिनले प्रयोग गर्नुभएको सशस्त्र विद्रोह तरिकाद्वारा नै क्रान्ति गर्नुपर्छ भन्ने छ, त्यसलाई सशस्त्र जनविद्रोहको कार्यदिशा भनिन्छ । अर्कोथरी कम्युनिस्टहरूको तर्क छ कि विश्वका पुँजीवादी–साम्राज्यवादीहरू धेरै बलिया भएका हुनाले नेपालजस्ता देशमा मात्र होइन, पुँजीवादी देशहरूमा पनि दीर्घकालीन जनयुद्धको तरिकाले मात्र क्रान्ति हुन सक्छ, त्यसैले क्रान्तिको कार्यदिशा जनयुद्धको हुनुपर्छ भन्ने छ । हाम्रो तर्क भने यी दुवैभन्दा फरक रहेको छ । आजको विश्व लेनिन र माओले क्रान्ति गर्दाको भन्दा फरक छ । यो न लेनिनले क्रान्ति गर्दाको अवस्थामा छ, न त माओले क्रान्ति गर्दाको अवस्थामा नै छ । यो ती दुवैभन्दा नयाँ स्थानमा पुगेको छ । खासगरी पुँजीवादको नयाँ विकास, सूचना–प्रविधिमा आएका क्रान्ति, यातायात र शिक्षाजस्ता क्षेत्रमा देखिएको विकास, आर्थिक क्षेत्रमा विकास भएका नयाँ विशेषता, श्रमिकवर्गको क्षेत्रमा आएको विकास, प्रविधिले उत्पादनका क्षेत्रमा ल्याएको परिवर्तनजस्ता कारणहरूले अर्थ–राजनीतिक सम्बन्धहरूलाई नयाँ स्थानमा पु¥याइदिएको छ । तसर्थ, क्रान्तिको कार्यदिशा लेनिन र माओले प्रयोग गर्नुभएका कार्यदिशालाई समृद्ध गर्दै नयाँ हुनु आवश्यक छ । हाम्रो अध्ययनअनुसार लेनिन, माओ र अरू क्रान्तिकारीहरूले अगाडि सारेका र प्रयोग गरेका बल प्रयोगका कार्यदिशा सार्वभौमिक विशेषता र विशिष्ट चरित्र भएका समयसापेक्ष विचार हुन् । तिनका सार्वभौमिक विशेषतालाई ग्रहण गर्दै आजको विशेषताअनुरूप नयाँ कार्यदिशा विकास गर्नुपर्छ । उदाहरणार्थ, हामी लेनिन र माओले निर्माण गर्नुभएका बल प्रयोगका विशेषतालाई हेरौँ र आजको परिस्थितिलाई हेरौँ । सन् १९०५ देखि सन् १९१७ सम्म रुसमा लेनिनले क्रान्तिगर्दा रुस युरोपको सापेक्षतामा कमजोर तर पुँजीवादको तीव्र विकास हुँदै गरेको एक साम्राज्यवादी मुलुक थियो । त्यहाँँ उद्योगहरूको विकासले गर्दा मजदुरवर्गको घनत्व पनि छिटो–छिटो बढिरहेको थियो । यद्यपि गाउँमा किसानको सङ्ख्या निकै धेरै थियो । राज्यले मालिकहरूलाई बेलगाम लुट्ने स्वतन्त्रता दिएको थियो । जार सरकार पहिलो विश्वयुद्धमा सहभागी हुनु, युद्धमा रुसले ठूलो क्षति भोग्नुपर्नाको कारणले राजनीतिक वातावरण सङ्कटपूर्ण र विस्फोटक थियो । रुसका मजदुर र किसानले बोल्सेभिक पार्टीको नेतृत्वमा राजनीतिक परिवर्तनका लागि विद्रोह गर्दै थिए भने जारको सेनाले पनि परिवर्तनप्रति सकारात्मक भाव राखिरहेको थियो । रुसको यस्तो परिस्थितिमा बोल्सेभिक पार्टी र लेनिनको नेतृत्वमा महान् अक्टोबर क्रान्ति सम्पन्न भएको थियो । क्रान्तिको केन्द्र सहर र मजदुरवर्ग थियो । रुसी विद्रोहलाई अध्ययन गर्दा त्यस विद्रोहका मुख्य विशेषताहरू निम्न रहेका थिए ः

(क) मजदुरवर्गको बाहुल्य
(ख) सशस्त्र शक्तिको तयारी
(ग) सहरकेन्द्रित सङ्घर्ष र हड्ताल
(घ) विद्रोहात्मक तरिकाको प्रयोग
(ङ) कम्युनिस्ट पार्टीको नेतृत्व

क्रान्तिका सन्दर्भमा माक्र्स–लेनिनले संश्लेषण गर्नु भएअनुसार पुँजीवाद आएको या आउँदै गरेको देशमा सहर र मजदुरमा भर परेर सशस्त्र विद्रोहद्वारा सत्ता परिवर्तन गर्ने जनविद्रोहको कार्यदिशा सही थियो । उत्पीडित र क्रान्तिकारी श्रमिकवर्गको घनत्व सहरमा हुनु, केन्द्रीय सत्ता र जनताको बीचको सङ्घर्ष पनि सहरमा केन्द्रित हुनु, केन्द्रीय सत्ताको सङ्कटका कारण केन्द्रीय सत्ता कमजोर हुनु, श्रमिकवर्गका कारण क्रान्तिकारी पार्टीको विकास सहरमै हुनु र क्रान्तिलाई सहरबाटै सङ्गठित गर्ने सम्भावना पैदा हुनुजस्ता कारणले पुँजीवादी देशमा सहरिया सशस्त्र विद्रोहद्वारा समाजवाद स्थापना गर्ने कार्यदिशा वैज्ञानिक र वस्तुवादी थियो र सफल पनि भयो । सन् १९१७ को महान् अक्टोबर क्रान्ति यसको महत्वपूर्ण उदाहरण हो । यो क्रान्तिले विश्वभरिका क्रान्तिकारी श्रमिकवर्गलाई वैज्ञानिक समाजवादी क्रान्तिका सन्दर्भमा युगान्तकारी शिक्षा प्रदान ग¥यो ।

सन् १९२४ देखि सन् १९४९ सम्म चीनमा चिनियाँ कम्युनिस्ट पार्टी र माओले क्रान्तिको नेतृत्व गर्नुभयो । चीनको अवस्था रुसभन्दा फरक खालको थियो । चीनमा पुँजीवाद आइसकेको थिएन र पूर्ण स्वाधीन पनि थिएन । चीन विशाल हुँदाहुँदै पनि अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा थियो । चीन कृषिप्रधान मुलुक हुनुका कारण ठूलो जनसङ्ख्या कृषकहरूको थियो भने देशभित्र सामन्तवादी अर्थ–सम्बन्ध र सामन्तवादी शोषण कायम थियो । त्यसैगरी, चीनमाथि जापान, ब्रिटेन, पोर्चुगलजस्ता साम्राज्यवादी देशहरूको प्रभुत्व थियो । सहर र मजदुरहरू पैदा भए पनि त्यसको सङ्ख्या निकै कम थियो । चीनको अर्थ–राजनीतिक अन्तर्विरोध दुई ठाउँमा केन्द्रित थियो । पहिलो, सामन्तवाद र किसानको बीचमा र, दोस्रो साम्राज्यवादीहरू र चिनियाँ नागरिकहरूको बीचमा । किसानहरूले सामन्ती उत्पीडनबाट मुक्ति चाहन्थे भने चिनियाँहरूले साम्राज्यवादी उत्पीडनबाट मुक्ति चाहन्थे । चीनको यस्तो विशेषतामा क्रान्ति सम्पन्न गर्नका लागि माओले सशस्त्र जनविद्रोहको भन्दा फरक र मौलिक कार्यदिशा आवश्यक रहेको विश्लेषण गर्दै दीर्घकालीन युद्ध (जनयुद्ध) को कार्यदिशा विकास गर्नुभयो । एउटा स्मरणीय विषय छ कि माओअगाडि चीनमा तीनजना मुख्य नेताहरूले रुसी कार्यदिशाको अनुसरणद्वारा क्रान्ति गर्न खोजेका थिए, जो सफल हुन सकेन । जब माओले चिनियाँ क्रान्तिको मौलिक कार्यदिशा दीर्घकालीन जनयुद्धको विकास गर्नुभयो, तब यसले क्रान्तिलाई सफलता प्रदान ग¥यो । यसको उद्देश्य चीनमा नयाँ जनवादी व्यवस्था हुँदै वैज्ञानिक समाजवाद स्थापना गर्ने थियो । माओले चीनको क्रान्तिमा विकास र प्रयोग गर्नुभएको कार्यदिशाका विशेषताहरू निम्न रहेका छन् ः

(क) किसान शक्तिको बाहुल्य
(ख) नियमित सेनाको निर्माण
(ग) दीर्घकालीन जनयुद्धको प्रयोग
(घ) गाउँकेन्द्रित सङ्घर्ष
(ङ) कम्युनिस्ट पार्टीको नेतृत्व
(च) संयुक्त मोर्चाको निर्माण
चीनमा क्रान्ति चलिरहँदा, चीनको क्रान्तिले समस्या भोगिरहँदा र चीनमा क्रान्ति कसरी सफल गर्ने भन्ने बहस चलिरहँदा एउटा प्रश्न सबैभन्दा अगाडि आउँथ्यो, कम्युनिस्टहरूले रुसको भन्दा नयाँ तरिकाले क्रान्ति गरेको अनुभव थिएन, रुसको तरिकाले क्रान्ति गर्दा चीनमा ठूलो क्षति व्यहोर्नुपरिरहेको थियो तर चीन उत्पीडनमा रहेकोले क्रान्तिको विकल्प पनि थिएन । त्यसबेला रुसी तरिकाले मात्र क्रान्ति गर्ने, त्यो तरिकाले हुँदैन भने क्रान्ति नै नगर्ने या क्रान्ति गर्ने तर आवश्यक पर्छ भने रुसीभन्दा नयाँ तरिकाले पनि क्रान्ति गर्नुपर्छ भन्ने बहस जोडले चल्यो । माओ दोस्रो निष्कर्षको पक्षमा हुनुहुन्थ्यो । उहाँले क्रान्तिकारी कार्यदिशाका सन्दर्भमा वाङ मिङ, लिली सान, चाङ क्वो थाओ, चु चु पाईजस्ता नेताहरूसँग ठूलो बहस गर्नुभयो । पहिलेको तरिकाले क्रान्ति गर्न खोज्दा चिनियाँ कम्युनिस्ट पार्टीले निकै ठूला क्षतिहरू भोगिसकेको थियो र त्यसबाट हुने स्थिति पनि थिएन । यस सन्दर्भमा माओले कठोरताका साथ सङ्घर्ष गर्नुभयो । माओको बुझाइ सही थियो । त्यसैले उहाँले चिनियाँ विशेषताको क्रान्तिको कार्यदिशा निर्माण गर्नेमा जोड दिनुभयो र सोही विचारअनुसार दीर्घकालीन युद्धको कार्यदिशा अगाडि सार्नुभयो । प्रयोगमा सफल हुँदै गएपछि अरूले पनि यसलाई स्वीकार्न बाध्य भए । यसले थप के सावित ग¥यो भने मालेमावाद र वैज्ञानिक समाजवादप्रति प्रतिबद्ध भएर देशको विशेषताअनुरूप क्रान्तिको कार्यदिशा विकास नगरी क्रान्ति सम्पन्न हुन सक्दैन ।
क्रमशः
स्रोत : वैज्ञानिक समाजवाद
२०७५ जेठ ४ गते शुक्रबार दिउँसो १ : १५ मा प्रकशित

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!