सुर्खेती क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको संक्षिप्त इतिहास

पार्टी सुदृढीकरण कार्यक्रमअन्तर्गत पार्टी सदस्यता नवीकरण, वडा, गाउँ र नगर भेलामार्फत पार्टीलाई सुदृढ गर्ने अभियान सञ्चालन भयो र यसै समितिलाई १६१ सदस्यीय जिल्ला सम्मेलन आयोजक समितिमा बदल्दै २०७० साल चैत १५ र १६ गते तेस्रो जिल्ला सम्मेलन सम्पन्न भयो । सम्मेलनले चक्रपाणि शर्माको सेक्रेटरी भएको जिल्ला समिति निर्माण गर्यो । किरण दाइको नेतृत्वमा ने.क.पा. – माओवादीको निर्माण भएपछि अब क्रान्तिलाई घनीभूत रूपमा तयारी बढाउनुपर्छ भन्ने कुराको बहस प्रारम्भ भयो र बौद्धको राष्ट्रिय भेलाबाट सातौँ महाधिवेशनको निर्णय लिँदै ६/७ महिनाको छोटो समयमा नै काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा भव्य र उत्साहका साथ सातौँ महाधिवेशन सम्पन्न भयो तर महाधिवेशनले नयाँ कार्यदिशाको निर्णय लिन सकेन र उही पुरानै जनयुद्घको जगमा जनविद्रोह भन्ने कार्यदिशाको अकर्मण्यतामा फस्न पुग्यो । सङ्गठनको सवालमा पनि निर्णय लिन सकेन । फलस्वरूप कार्यकर्ताहरू निराश भएर घर फर्के र महाधिवेशनपछि उत्साह ह्वात्तै घटेर गयो । बौद्धको राष्ट्रिय भेला र सातौँ महाधिवेशनपछि एउटा उभारमा आएको वातावरण सेलाएर गयो । यो कुरा किरण दाइले बुझ्न सक्नुभएन । पार्टीभित्र पुनः दुई लाइन सङ्घर्षको सुरुआत यही बिन्दुबाट हुन पुग्यो । बादल, गुरुङ र पम्फाको उक्साहटमा किरण दाइले वर्गसङ्घर्षलाई अगाडि बढाउने भन्दा पनि अन्तरसङ्घर्षलाई प्रमुख बनाएर आएपछि अब किरण दाइबाट सम्भव छैन भन्ने कुरा छर्लङ्गै भैसकेपछि शिवगढी जङ्गलको भेलाले ठोस अवधारणाको विकास गर्यो । अन्ततः किरण दाइसँग पनि सम्बन्धविच्छेद गरी ने.क.पा. माओवादीको निर्माण गरेर अगाडि बढ्यौँ । २०७१ साल मङ्सिर ८ गते सम्बन्धविच्छेद गर्दै आठौँ राष्ट्रिय महाधिवेशनको तयारीतर्फ उन्मुख भयो । आठौँ राष्ट्रिय महाधिवेशनले एकीकृत जनक्रान्तिको कार्यदिशालाई अनुमोदन गर्दै युगान्तकारी संश्लेषणहरू गर्दै र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका बहसहरूलाई नयाँ शिराबाट उठान ग¥यो । यसले क्रान्तिमा पुनः नयाँ उत्साह सञ्चार गर्यो र पार्टी पुनर्गठन भएको ३ वर्षभन्दा बढी बितिसकेको सन्दर्भमा एकीकृत जनक्रान्तिको प्रयोगले दक्षिणपन्थी संशोधनवादी, नवसंशोधनवादी, संसद्वादीहरू र साम्राज्यवादीहरूको निद्रा समाप्त पारिदिएको छ र नेपालको जनक्रान्ति छलाङमय हुँदै अगाडि बढिरहेको छ । सुर्खेती कम्युनिस्ट आन्दोलनका दुई हस्ती क. लीलाधर गौतम र क. मदन भट्टको अतुलनीय योगदान रहेको छ । क. लीलाधर गौतम पूर्वको अर्डिनेसन समितिबाट सुर्खेत जिल्लामा पूर्णकालीन भएर सुर्खेतको कम्युनिस्ट आन्दोलनलाई विकास गर्न निरन्तर क्रियाशील हुनुभयो र माले, एमाले हुँदै ०४५/०४६ को जनआन्दोलनपछि विद्रोह गरेर क्रान्तिकारी आन्दोलनमा होमिनुभयो । विभिन्न तहका जिम्मेवारी समाल्दै हामीले प्रचण्डबाट सम्बन्धविच्छेद गरेपछि केही समय केन्द्रीय सल्लाहकारको भूमिकामा रहनुभयो । किरण दाइबाट अलग भैसकेपछि केन्द्रीय सल्लाहकारहरू भूमिकाविहीन हुने भएकाले सबै सल्लाहकारहरूलाई पार्टीले केन्द्रीय सदस्यमा पदोन्नति गरेको थियो । उमेरको कारणले गर्दा भौतिक हिसाबले क्रियाशील हुन सक्नुभएन, नत्र त बेलगाम दौडिराख्ने व्यक्तित्व हो उहाँ । विचारमा खरो उहाँको विशेषता हो माक्र्सवादको अध्ययनमा गहिरो दख्खल राख्नुहुन्छ र साहित्यिक सर्जक पनि हुनुहुन्छ । उहाँ अहिले पनि हामीसँगै हुनुहुन्छ र संसद्वाद, नवसंशोधनवाद र अवसरवादका विरुद्घ अविचलित हुनुहुन्छ । जीवनमा जेल, नेल र थुप्रै यातना र हिरासत व्यहोरेको सतिसाल हो उहाँ । उहाँबाट नयाँ पिँढीले सिक्नुपर्ने कुरा धेरै छन् । अर्का कम्युनिस्ट आन्दोलनका धरोहर हुनुहुन्थ्यो क. मदन भट्ट । पुरानो पुस्ताको कम्युनिस्ट नेता सरल र साधारण व्यक्तित्व हो उहाँको । उहाँमा लोभलालच भन्ने चीज कहिल्यै पलाएन र त जीवनको उत्तराद्र्ध र जनयुद्धले उचाइ लिइरहेको बेला २०५९ सालतिर जनयुद्धमा पूर्णकालीन बनेर हाम्फाल्नुभयो र क्रान्तिप्रतिको चाहना र जीजिविषा कति रहेछ भन्ने कुरा व्यवहारबाट युवा पुस्तालाई समेत चुनौती दिएर एउटा नयाँ मिसाइल खडा गर्नुभयो । उहाँ पनि अन्तिम समयसम्म हामीसँगै रहनुभयो । केही वर्षअगाडि क. मदन भट्ट हामीमाझ रहनुभएन । हामी उहाँको मार्गलाई अनुसरण गरिरहनेछौँ ।

सुर्खेत जिल्लामा जनयुद्धको प्रभाव र विस्तार प्रतिक्रियावादी सरकारले रोमियो अप्रेसन, किलो सेरा टु अप्रेसन, जङ्गल सर्च अप्रेसन, कम्बिङ अप्रेसनजस्ता मानव संहारकारी अभियानहरू चलायो जसले गर्दा नेपाली आमाबुबाका होनहार छोराछोरीहरूको आमहत्या गरियो । सुर्खेत जिल्लामा २०५५ सालसम्म आइपुग्दा प्रतिक्रियावादी हत्यारो सरकारले विविध अप्रेसनका नामबाट व्यापक दमन, धरपकड गिरफ्तारी र हत्याजस्ता जघन्य अपराधका घटनाहरू दिनहुँजसो भैरहे । वैधानिक मोर्चा, ज.व.स. र मोर्चाहरू खुल्ला रूपमा काम गर्न सक्ने अवस्था रहेन र भूमिगत भएर काम गर्नुपर्ने परिस्थिति सिर्जना हुन पुग्यो । पार्टीले सेना निर्माण र फर्मेसनलाई तीव्रता दिएर लगिरहेको थियो र कारबाहीहरू गुणात्मक बन्दै गैरहेका थिए । यसलाई वहाना बनाएर प्रतिक्रियावादी सरकारले राज्यआतङ्क सिर्जना गर्ने भ्रम फैलाउने र दमन गर्ने षड्यन्त्रलाई तीव्रता दियो । वैधानिक मञ्च बनाउने र खुल्ला गतिविधिमार्फत भण्डाफोर गर्र्ने कुरालाई पनि नछोड्ने, निरन्तरता दिने पार्टीको नीति लागू गर्न खोजियो र क. विष्णु पोख्रेलको नेतृत्वमा भेरी जनवादी मञ्च गठन भयो । यसप्रति पनि प्रतिक्रियादी सरकार निरङ्कुश र फासिस्ट बन्दै २०५५ साल बर्दियाको मंगरागडीमा जनताका लोकप्रिय नेता क. विष्णु पोख्रेलको हत्या गर्न पुग्यो । त्यसपछि पनि खुल्ला मोर्चाबाटै वैधानिक सङ्घर्षका कार्यक्रमहरू अगाडि बढाइए । २०५५ साललगत्तै फौजी कारबाहीहरू जिल्लामा तीव्र भएर गयो । २०५५ साल वैशाख महिनामा रामघाटस्थित कृषि तथा तथा साना किसान विकास आयोजनाको वित्तीय संस्थामाथि कारबाही भयो र किसानहरूलाई ऋणमुक्त गर्दै लालपुर्जाहरू जफत गरेर वितरण गरिए । लेखफार्साको ठाँटी भन्ने ठाउँमा गणेश न्यौपाने र क. डिला थापाको जल्लादहरूले वीभत्स हत्या गरे र जनस्तरबाटै एउटा आयोग बन्यो । त्यसले गैरन्यायिक हत्या गरेको ठहर गर्यो । त्यस कायरतापूर्ण हत्याको पार्टी र जनताले घोर निन्दा र भत्र्सना गर्यो । २०५५ सालमै रेडियो नेपालको क्षेत्रीय प्रसारण केन्द्रमा आक्रमण गरेर थ्री नट राइफल खोस्ने काममा पार्टीले सफलता हासिल गर्यो भने २०५६ सालमा गुमीमा रहेको नेपाल बैङ्क लिमिटेडको शाखा कार्यालयमाथि जनमुक्ति सेनाले सफलतापूर्वक फौजी कारबाही गर्यो र त्यहाँ भएका सम्पूर्ण सामानहरू कब्जामा लियो । यो एउटा साहसिक कारबाही थियो । जनयुद्धले एकपछि अर्को उचाइ पकड्दै गयो । २०५६ साल असार २८ गते अबलचिङ प्रहरी चौकीमाथि भीषण हमला भयो । पार्टीका ४ जना क. किरण, क. चेतन, क. निरन्तरलगायत कमरेडहरूले उच्च सहादत प्राप्त गरे । २०५६ सालको कात्तिकबाट कर्णाली जनहातेमालो अभियान सुरु भयो । त्यो अभियानले त्यो क्षेत्रको वर्गसङ्घर्षलाई नयाँ उचाइमा उठायो । जनयुद्ध नयाँ उचाइ हासिल गर्यो । सोही सालमा भएको प्रधानन्यायाधीशमाथिको कारबाहीले राष्ट्रिय रूपमा नै नयाँ तरङ्ग ल्याइदियो । सोत खोलाको एम्बुस पनि ऐतिहासिक रूपमा सफल रह्यो ।

२०५८ सालमा माघ २ गते झकबहादुर मल्लको नेतृत्वमा ऐतिहासिक जेलब्रेक भयो र ३० जना साथीहरू कारागारबाट मुक्त भएर पार्टीको सम्पर्कमा पुगे । ……………………….. निरंकुश ज्ञानेन्द्रले लगाएको संकटकाललाई पहिलोपटक ठूलो चुनौती खडा गर्यो । २०५८ मा एयरपोर्टमा भीषण आक्रमण र विस्फोट भयो र २०५९ सालमा सुर्खेतको पश्चिम मसिनामा सफल एम्बुस र २०६२ सालमा अर्को एउटा समौजीघाटमा तत्कालीन सेनामाथि ऐतिहासिक एम्बुस गरेर फौजी आक्रमणको श्रेष्ठतालाई शानदार रूपमा पुष्टि गर्यो । २०६२ सालको पुस २५ गते बजारको मुटुमा रहेको रा.वा. बैंक छापामारहरूले दिनदहाडै कब्जा गरे र भएका सम्पूर्ण नगद सुन चाँदीहरू लिएर सकुशल फिर्तीको घटनाले प्रतिक्रियावादी सरकारको सुरक्षा व्यवस्था नराम्रोसँग चरमराइसकेको थियो । त्यस्तै, पूर्व पंच तथा घुम्ने काण्डका मुख्य नाइके तुल्सीप्रसाद पौडेलको घरलाई सेवोटेज गर्यो । गणेश न्यौपाने र डिला थापाको सुराकीमाथि रामघाटमा सफायाको कार्वाही सम्पन्न गर्यो । सुर्खेत जिल्लमा सैन्य संरचनाको निर्माण २०५५ सालबाट सुरुआत भयो । क. एपोलोको नेतृत्वमा ७ सदस्यीय जिल्ला स्तरको पहिलो सैन्य संरचना बनाइयो । जसमा सदस्यहरू बालाराम सुनार, कूलबहादुर मल्ल, सीमा र रमालगायतका कमरेडहरू थिए । क. एपोलोलाई सल्यान जिल्लाको सल्ली बजारबाट गिरफ्तार गरेर कब्जामा लिई हत्या गरियो । सुर्खेत–दैलेख जिल्ला संयुक्त भएको बेला शक्ति केन्द्रीकरण योजनाअन्तर्गत क. शिवप्रसाद आचार्य (शिखर) र क. डिल्ली घर्ती (चेतन) को नेतृत्वमा २ वटा स्वाडहरू निर्माण भए । अवलचिङ्गको रेडमा दुवै जना कमान्डरको सहादतपछि क. मिलन र क. राजुको नेतृत्वमा सैन्य संरचनालाई निरन्तरता दियो । २०५८ सालको भाद्र महिनामा भद्रदेव गिरी (अर्जुन) को नेतृत्वमा ५४ नं प्लाटुन र ओमप्रकाश पौडेल (रमेश) को नेतृत्मा ५५ नं प्लाटुन निर्माण भयो । त्यसको २/३ महिनापछि सबै कम्पनीका फर्मेसनहरू सेकेण्डरी बटालियनमा रूपान्तरण भयो । २०५९ सालको वैशाखमा भेरी–कर्णालीमा अस्थायी बटालियनको संरचना बनाउने भयो र सबै प्लाटुन, कम्पनी र बटालियन फर्मेसनमा समाहित भएपछि सुर्खेत जिल्लामा ३ वटा प्लाटुनको संरचना खडा भयो । जसमा १ नं प्लाटुन कमिसार/कमान्डर जितेन्द्र र विनर, २ नं प्लाटुन कमिसार÷कमान्डर सुदिप र चंचल, ३ नं प्लाटुन कमिसार/कमान्डर सोपान र क्षितिजहरूलाई जिम्मेवारी दिइयो ।

२०५९ सालमा सुर्खेत जिल्लामा एउटा कम्पनीको फर्मेसनको संरचना बन्यो, जसको कमिसारमा बलबहादुर खडका र कमान्डर रामबहादुर रसाइलीलाई जिम्मेवारी दिइयो । २०६० सालपछि जिल्लामा सैन्य संरचना नराख्ने नीति बमोजिम क. प्रतीक कमसिार र क. जित कमान्डर भएको चौथो बटालियनले फौजी कार्वाहीहरूलाई निरन्तरता दियो । जिल्लामा फौजी मोर्चामा ओमप्रकाश पौडेल, देवबहादुर वली, झकबहादुर मल्ल, नरबहादुर विष्ट, कृष्ण जि.सि., ठम्मर विष्टहरूले ज.मु.से.को ब्रिगेड तहमा रहेर भूमिका निर्वाह गरे भने बटालियन स्तरमा पूर्णबहादुर वली, नवीन राना, डिल्ली सुवेदी, करसिं राना, पद्म थापा, लक्ष्मण वि.क.लगायतका व्यक्तिहरूले महत्वपूर्ण भूमिका खेलेका थिए । त्यस्तै गरेर ज.मु.से.बाट सहादत प्राप्त हुनेहरूमा पूर्णबहादुर वली, श्यामप्रसाद वली, ललित कार्की, भद्रदेव गिरीलगायतका सयौँ कमरेडले उच्च बलिदान दिए । सात दल र ने.क.पा.(माओवादी) को बीचमा १२ बुँदे समझदारी पछि ज.मु.से.लाई अस्थायी शिविर क्यान्टोनमेन्टमा लगेर राखियो र हतियारहरूलाई कन्टेनरमा लगेर थन्क्याइयो । यो साम्राज्यवादी ग्रायन्ड डिजाइनअन्तर्गत प्रचण्ड– बाबुराम मण्डलीले योजनावद्ध रूपमा जनयुद्धलाई विसर्जन गर्ने र विघटन गर्ने उद्देश्यमा अन्र्तनिहीत भएकोले खरीपाटी भेलादेखि नै दुईलाइन सङ्घर्षले उत्कर्षको रूप लिँदै गयो र अन्ततः प्रचण्ड– बाबुरामले विघटन गर्ने सम्झौता गरिसकेपछि प्रतिक्रान्तिका विरुद्ध विद्रोहको र क्रान्तिको झण्डा उठयो र सैन्यक्षेत्रमा पनि समायोजनमा (यथार्थमा समायोजन नभएर भर्ती नै थियो) जाने कि स्वेच्छिक अवकाश रोज्ने कुरामा अभिव्यक्त हुन आइपुग्यो । सुर्खेत जिल्लाको दशरथपुरस्थित कृषि केन्द्रमा पनि जनमुक्ति सेनाको छैठौँ डिभिजनको क्यान्टोनमेन्ट राखिएको थियो । सेना, सत्ता र संविधानसभाको विघटनपश्चात् २०६९ साल असारमा पार्टी विभाजित हुन पुग्यो । जनसत्ताको निर्माण र विस्तार २०५७ सालमा पार्टीको दोश्रो राष्ट्रिय सम्मेलन सम्पन्न भयो र पार्टीले “आधार इलाका र स्थानीय सत्ता सुढृड गरौँ, केन्द्रीय जनसरकार निर्माणको दिशामा अघि बढौँ” भन्ने नारा अगाडि सार्यो । जनसत्ताका भ्रुणहरू त पहिलेदेखि नै थिए, अब त्यसलाई व्यवस्थित समानान्तर सत्ताको अभ्यासलाई व्यवस्थित गर्दै आधारइलाकालाई सुढृढ गर्ने योजना अगाडि बढ्यो ।

देशव्यापी रूपमा जिल्ला–जिल्लामा जनसत्ता गठन गर्ने कामहरू तीव्र रूपमा भए । सुर्खेत जिल्लामा पनि २०५८ साल जेठ २५ गते रजेना गा.वि.स.लाई चित्रनगर गा.ज.स.को पहिलो गाउँ जनसरकार घोषणा भयो । त्यही महिनाको २७ गते पाम्कामा, २८ गते अवलचिङ्गमा, २९ गते मटेलामा, ३० गते रानीवास हुँदै जिल्लाव्यापी जनसत्ताहरू घोषणा गरिए । चिंगाड इलाका जनसरकार, सिम्ता इलाका जनसरकार, मगरात स्वायत्त जनसरकार, हिमाल नगरपालिका जनसरकार, पश्चिम इलाका जनसरकारका विभिन्न नामले जनसत्ताहरू घोषणा गरिए । सम्पूर्ण उद्योगी व्यवसायीलाई जनसत्तामा फर्म दर्ता गरेर कर तिर्न अनुरोध गरियो र बड्डीचौरमा गएर सबै व्यापारीले कर चुक्ता गरे, यो समानान्तर सत्ताको राम्रो अभ्यास थियो । २०६० साल जेठ २९ गते गुमी गा.वि.स.मा पहिलो जनसरकार घोषणा भयो, जसमा ऋषि गौतम प्रमुख र उपप्रमुखमा कृष्ण जि.सि. रहेको २७ सदस्यीय जनसरकारको घोषणा भयो भने २०६१ साल मंसिरमा दोश्रो जनसरकारको घोषणा भयो, जसमा प्रमुखमा कमल थापा र उपप्रमुखमा खड्ग घर्ती रहेको समिति घोषणा भयो । तेश्रो जिल्ला जनसरकार २०६२ साल पुस २९ गते रानीवास गा.वि.स.मा घोषणा भयो, जसको प्रमुखमा खड्ग घर्ती र उपप्रमुखमा भीमबहादुर मल्ल भएको समिति घोषणा भयो । सहरदेखि दूरदराजका गाउँसम्म जनसत्ता सुढृढ भयो र जनताका पिरमर्काहरू जनअदालतबाट न्याय–निसाफका कामहरू व्यवस्थित भए । गाउँमा रक्सी, जुवातास, चेलीबेटीमाथि हुने अन्याय अत्याचार, महिला, दलित तथा उत्पीडितमाथि हुने उत्पीडन, गुण्डा गर्दी र विकृति–विसंगतिमाथि पूर्ण नियन्त्रण गर्ने कामहरूले जनतामा नयाँ उत्साह संचार पैदा गर्यो र जाली फटाहा, सि.आई.डी. र सुराकीहरू गाउँ छोडेर सदरमुकाममा पुलिसको संरक्षणमा गएर बसे । पुराना संस्कार, संस्कृति र मूल्य–मान्यताहरूलाई विस्थापित गरेर नयाँ संस्कार, संस्कृति र मूल्य–मान्यता स्थापित गरिए । एन.जी.ओ.÷आई.एन.जी.ओ.हरू जसले जनतामा कनिका छरे जस्तो गरेर भ्रष्टाचार गर्ने परिपाटीको जनसत्ताले अन्त्य गरिदियो ।

देशको ८० प्रतिशत भू–भाग माओवादी पार्टीको नियन्त्रणमा आइसकेको थियो र जनताले आफ्नो भाग्यको फैसला आफैँ गर्न थालिसकेका थिए । विकास र निर्माण जनसत्ताले विकास र निर्माणका कामलाई तीव्रता दिएर लग्यो, जनताले आफैँ बाटो घाटो, पुलपुलेसा बनाउने कामहरू नियमितजस्तै भयो । यसैको उदाहरण खम्बागाडेदेखि पलैटे हुँदै बाबियाचौरसम्मको बाटो र रातानाङ्गलादेखि धरमपोखरासम्मको बाटो पार्टीको आह्वानमा हजाराैँ जनताले निर्माण गर्न जर्याकजुरुक उठे, इतिहासमा यो एउटा अनुपम उदाहरण थियो । जनताका दैनन्दिन समस्याहरूलाई हल गर्न जनसत्ताले पहलकदमी लिने गर्दथ्यो । इतिहासमा पहिलोपटक मालेमावादको आलोकमा सर्वहारावर्गीय चेतनाद्वारा लैस भएर जनताको चेतनाले आत्मनिर्भर अर्थतन्त्रको विकासलाई अभ्यास गरेको थियो । प्रचण्ड– बाबुराम मण्डलीले यी सबै उपलब्धिहरूलाई साम्राज्यवादीहरूसँग वर्गीय र राष्ट्रिय आत्मसमर्पण गरेर उनीहरूका एजेन्ट बन्दै प्रतिक्रान्ति गरे र एउटा घोर दक्षिणपन्थी संशोधनवादी पार्टीमा विलय गर्दे एमालेकरण गरेका छन् । क्रान्तिकारी आन्दोलनले उनीहरूलाई क्षम्य दिनेछैन । मुखमा संविधानसभा दिमागमा विद्रोह प्रचण्ड–बाबुराम मण्डलीले संविधानसभालाई भन्ने गर्यो, मुखमा संविधानसभाको नारा दिने तर यथार्थमा दिमागमा विद्रोहको नारा लिएर चुनावमा जान निर्देशन गर्यो । कार्यकर्ताहरू साँच्चै त्यही हो भनेर हाम्फाले । त्यो त उनीहरूको नौटंकी मात्र थियो, कांग्रेस र एमालेसँग आत्मसमर्पण गरेर पहिलो संविधानसभाको विघटनको परिघटनाले जनतालाई छर्लङ्गै भयो, जुन कुरा हामीले भन्दै आएका थियौँ । सुर्खेत जिल्ला पनि संविधानसभाको चुनावमा होमियो र वितरित टिकट पार्टीभित्रको क्रान्तिकारीहरूलाई पाखा लगाउने एउटा गुट कम्मर कसेर लाग्यो र केन्द्रबाट मंगल वि.क.लाई दिएको टिकट खोसेर लियो र फलस्वरूप सुर्खेतका तिनवटै क्षेत्रमा विजयको झण्डा गाड्न सकेन । एउटा क्षेत्र मात्र विजयी बन्न सक्यो । ३ नम्बर क्षेत्रमा नरबहादुर विष्ट विजयी बने, अन्य २ क्षेत्रमा पार्टी एकीकृत हुन नसकेको कारणले विजय हासिल गर्न सकेन । संविधानसभाको विघटनपश्चात् प्रचण्ड– बाबुराम मण्डलीले क्रान्तिलाई धोका दिएपछि पार्टी विभाजन भयो र क्रान्न्तिको झण्डा उठाउँदै पार्टीलाई पुनर्गठन गर्ने ऐतिहासिक कार्यभारसहित अगाडि बढ्यो । बलिदानको उच्च कीर्तिमान गणेश न्यौपाने र डिला थापाबाट सुरु भएको सहादत जनयुद्ध उत्कर्षमा आइपुग्दा सुर्खेती आमा–बुबाका होनहार छोराछोरीहरूले सुर्खेतको भूमिलाई सिंचित गरे । यस क्रममा चित्रबहादुर वली, कूलबहादुर मल्ल, भूमिसरा वली, भूषण जि.सि., वीरेन्द्र थापा, बलबहादुर बुढा, वकिल शाही, सुरेन्द्रसिंह ठकुरी, पूर्णप्रसाद शर्मा, बुद्धिप्रसाद चपाई, कर्णबहादुर राना, खडानन्द काफ्ले, तेजबहादुर दर्लामी, गंगा घर्ती, आनन्द विष्ट, पूर्णबहादुर वली, श्यामप्रसाद वली, भद्रदेव गिरी, कविराज गिरी, नवलसिं विष्ट, ललित कार्की, मेघराज राना, जुगराम चौधरी, धनबहादुर चौधरी, जनक चौधरी, रूपलाल चपाई, राजबहादुर बुढा, डिल्लीबहादुर घर्ती, देवीराम घर्ती, गोविन्द आचार्य, ढकवीर वि.क., विनोदलाल वि.क., धनबहादुर विष्ट, रामबहादुर पुन, लोकेन्द्र गिरीलगायत १७४ जना वीर–विरंगना कमरेडहरूले सहादत प्राप्त गरे भने शान्ता पोख्रेल, दीपा वली, गुमानसिं रानालगायत २१ जना कमरेडहरू अझै पनि बेपत्ता हुनुहुन्छ र कैयौँले घाइते र अपांगको जीवन बिताइरहेका छन्, यी सबै सहिद, बेपत्ता, घाइते र अपांगहरूको सपना साकार पार्न नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा एकीकृत जनक्रान्तिको कार्यदिशाबाट मात्र नेपालमा वैज्ञानिक समाजवाद स्थापना गरेर पूरा हुनेछ । स्रोत :  रातो खबर साप्ताहिक

२०७५ वैशाख ३ गते अपरान्ह ६  :  २५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :