युद्ध–कला सङ्ग्रहालय उद्घाटन

 

विनोद सुवेदी/सिर्जनानगर (रामेछाप):  नेपाल कम्युनिस्ट पार्टीका सल्लाहकार समितिका सदस्य एवम् वरिष्ठ ललितकलाकर्मी लव प्रधान मित्रले जिल्लाको मन्थली नगरपालिका वडा नम्बर १ स्थित सानीमदौ सिर्जनानगरमा युद्ध– कला सङ्ग्रहालय उद्घाटन गर्नुभएको छ । महान् जनयुद्धका साथै नेपाली राजनीतिक–सांस्कृतिक आन्दोलनका ऐतिहासिक सामग्रीहरू सङ्कलन गर्ने उद्देश्यले कवि हितप्रसाद उपाध्याय–जूनमाया सुवेदी साहित्य प्रतिष्ठानले स्मृति भवन प्राङ्गणमा निर्माण गरेको युद्ध–कला सङ्ग्रहालय उद्घाटन गर्दै प्रमुख अतिथि प्रधानले जनताले देश र जनताको मुक्तिका लागि देखाएको त्याग, शौर्य, वीरता, बलिदानका सत्य र जीवन्त इतिहासलाई जोगाएर राख्न युद्ध–कला सङ्ग्रहालयले ठूलो सहयोग पु¥याउने बताउनुभयो ।

प्रधानले भन्नुभयो, ‘एकीकृत जनक्रान्ति सम्पन्न गर्नका लागि यो सिर्जनात्मक कदमले ठूलो सहयोग पु¥याउनेछ ।’ पार्टीले यसप्रकारको सिर्जनात्मक कार्यको उचित मूल्याङ्कन र प्रसार गर्ने उहाँले बताउनु्भयो । सङ्ग्रहालयमा जनयुद्धमा प्रयोग भएका क्यामेरा, कम्ब्याट, साहित्यका साथै विभिन्न जनकलाकार हरूद्वारा सिर्जित ५० भन्दा बढी चित्रकला सङ्ग्रह गरिएको छ । समाजमा पहिले प्रयोग भएर हाल लोप हुन लागेका घरेलु उपयोगका सामानहरू पनि सङ्ग्रहालयमा राखिएको छ । प्रमुख अतिथि प्रधानले ७२ वर्षअघि कवि हितप्रसाद उपाध्यायले रचना गर्नुभएको चन्द्रवदन काव्यको पाण्डुलिपिको मेटल इचिङमा सारिएको प्रतिलिपि पनि अनावरण गर्नुभयो ।

त्यसैगरी उहाँले कविको ३६औँ तथा कविपत्नी जूनमाया सुवेदीको पाँचौँ स्मृति दिवसका अवसरमा आयोजित प्रतियोगितात्मक कविगोष्ठीका विजयी स्रष्टाहरूलाई नगद पुरस्कार र सम्मानपत्र प्रदान गर्नुभयो । उहाँले यस वर्षकी असल बुहारी सानु सुवेदी र श्रमिक पृथबहादुर कार्की–मैयाँ कार्कीदम्पतीलाई जनही नगद पाँचपाँच हजार, सम्मानपत्र र दोसल्ला प्रदान गर्नुभयो । प्रतिष्ठानका अध्यक्ष अशोक सुवेदीको नेतृत्वको यात्रामा नेकपाका युवा नेता पूर्णबहादुर सिंह, समालोचक डा. भगवानचन्द्र ज्ञवाली, अखिल नेपाल उपयोगी कलाकर्मी संघका अध्यक्ष केशाङ लामा, अखिल नेपाल जनकलाकार संघका अध्यक्ष ढुण्डीराज अधिकारी, नेकपाका नेता एवम् ललितकलाकर्मी रत्न महर्जन, नेकपाका युवा नेता एवम् स्रष्टा रसुवाली कवि, कलाकार मोहन घिसिङ, चिराग सांस्कृतिक परिवारका कलाकार सुरेखा सब्बु, सीता परियार, कविता परियार, जर्बुट्टा कलाका कलाकार विश्वम्भर लामिछाने, स्रष्टाहरू श्यामबहादुर भावुक, जगन्नाथ आचार्य, उषा राना सिंह, शालिकराम शर्मा, श्रीराम पौडेल खत्री, राजेन्द्रप्रसाद ढुङ्गाना, नारायण निरासी, यदुनाथ वसन्तपुरे, बैरागी जेठा, आकृति सिंह, अजिता सिंह, कुशलविक्रम सिंहलगायत सहभागी थिए । प्रतिष्ठानले स्रष्टाहरूलाई पुष्पलाल– गङ्गालाल जन्मस्थल भँगेरी, जर्बुट्टा कला सङ्ग्रहालय आसुमतीटार र सिन्धुलीगढीको पनि यात्रा गराएको थियो । प्रतिष्ठानले ११ वर्षदेखि सिर्जनात्मक कार्यक्रमहरु गर्दै आएको छ ।
स्रोत:  रातो खबर साप्ताहिक
२०७५ वैशाख ३ गते अपरान्ह ६ : ४५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :