दलित मुक्ति एकीकृत जनक्रान्तिसँगै : पदम राई

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य एवम् जनसत्ताका उपप्रमुख पदम राई विकासले एकीकृत जनक्रान्ति पूरा हुनासाथ नेपालका दलित, श्रमिक तथा महिलाहरूको मुक्ति हुने बताउनुभएको छ ।  दलित मुक्ति मोर्चा नेपालले सोमबार राजधानीको संवाद डबलीमा आयोजना गरेको वर्तमान दलित मुक्ति आन्दोलन र आगामी कार्यदिशाविषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै नेकपाका नेता राईले भन्नुभयो, ‘प्रचण्डले क्रान्तिमा दलाली र गद्दारी गर्दा राष्ट्र, वर्ग र जनताले खेपेको पीडा हामीले भुलेका छैनौँ । हामी श्रमिक, दलित, महिला, सर्वहारा किसान र मध्यम वर्गसमेतको साथ लिएर एकीकृत जनक्रान्तिको माध्यमबाट वैज्ञानिक समाजवाद स्थापना गर्दैछौँ । क्रान्तिबाट अलग भएर होइन, क्रान्तिको नेतृत्व गरेर नै मुक्ति सम्भव छ ।’
वरिष्ठ अधिवक्ता एकराज भण्डारीले कानुनमा लेखेर मात्र दलित, महिला र श्रमिक वर्गको मुक्ति सम्भव नहुने धारणा व्यक्त गर्नुभयो । दलाल संसदीय व्यवस्था भएको विद्यमान समाजमा सामाजिक, सांस्कृतिक, आर्थिक विभेद र उत्पीडन कायमै रहेकाले यो व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादमा मात्र श्रमिक वर्गको मुक्ति हुने उहाँको भनाइ थियो ।

माओवादी केन्द्र (माके) बाट अलग भएर बसेका माकेका पूर्वनेता एवम् साहित्यकार आहुतिले दलित समुदायका बारेमा परम्परागत रूपमा माक्र्सवादीहरूले गर्दै आएको व्याख्या र विश्लेषण फेरिनुपर्ने र कम्युनिस्ट पार्टीका हरेक समितिहरूको नेतृत्वमा दलितहरूलाई स्थापित गर्नुपर्ने बताउनुभयो । महिला र जनजाति आन्दोलन एनजीओकरण भइसकेको तर दलित आन्दोलन त्यति धेरै भ्रष्टीकरण नभइसकेको दाबी गर्दै आहुतिले एक भूगोल दुई व्यवस्था कायम गर्दै ध्वंसभन्दा निर्माणलाई जोड दिनुपर्ने धारणा राख्नुभयो ।

नेकपाकी नेत्री धीरेन्द्रा उपाध्याय भृकुटीले एकीकृत जनक्रान्ति नै सबै श्रमिक र उत्पीडित वर्गको मुक्तिको एक मात्र शक्तिशाली वैचारिक हतियार भएको बताउनुभयो । दृष्टिकोण प्रस्ट नभएका नेताहरूले आन्दोलन सञ्चालन गर्दा विगतमा श्रमिक वर्गले धोका खानुपरेको तर अब भने त्यसो नहुने उहाँको विश्वास थियो ।

मोर्चाका अध्यक्षसमेत रहनुभएका नेकपाका केन्द्रीय सदस्य डम्बरबहादुर विक मामाले अवधारणापत्र प्रस्तुत गर्नुभएको कार्यक्रममा दलित आन्दोलनका क्षेत्रमा कार्यरत मोती नेपाली, डा. निर्मल विश्वकर्मा, डा. बुद्धि नेपाली, टीकाराम दियाली, राम नेपालीलगायतले टिप्पणी गर्दै सुझाव दिनुभएको थियो । कार्यक्रमको सञ्चालन मोर्चाका नेता हरि नेपालीले गर्नुभएको थियो ।

२०७५ वैशाख ३ गते अपरान्ह ७ : ०७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :