पुँजीवादको पुन : असफलता र सङ्कट

गताङ्कबाट क्रमश
३. पुँजीवादको आर्थिक असफलता र सङ्कट

पुँजीवाद विश्वमा हाबी भएपछि आर्थिक समृद्धि आउने प्रचार गरिएको थियो । समाजवादी अर्थतन्त्र असफल भएकोले पुँजीवादी अर्थतन्त्रको विकल्प छैन भनिएको थियो तर विश्वले आर्थिक क्षेत्रमा पनि कुनै नयाँ मान्यता, प्रणाली र उन्नति पाउन सकेन । पुँजीवादले बीसौँ शदीको भन्दा पनि अति—केन्द्रीकरण, अति–एकाधिकार, असीमित असमानता र शोषण पैदा गरेको छ । यसले पुँजीवादका प्रगतिशील विशेषताहरूलाई अरू नष्ट गर्न पुगेको छ र नागरिकहरूमा शोषणका नयाँ रूपहरू थोपर्न पुगेको छ । यसलाई पुँजीपतिवर्गले निम्त्याएको आर्थिक सङ्कट भन्न सकिन्छ । पुँजीवादी आर्थिक विशेषताहरूलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ः
(क) अति केन्द्रीकरण
(ख) अति एकाधिकार
(ग) निगम पुँजीको नियन्त्रण
(घ) भूमण्डलीकृत अतिशोषण

(क) अति–केन्द्रीकरण

यो शताब्दीमा पुँजीवाद अति–केन्द्रीकृत भएको छ । अति केन्द्रीकरण पुँजीवादले आफ्नो सङ्कट टार्नका लागि प्रयोग गरेको विधि हो । यो चरित्र लेनिन, माओको समयभन्दा भिन्न छ । पछिल्लो तथ्याङ्कअनुसार विश्वका ८५ जना पुँजीपतिहरूको हातमा विश्व जनसङ्ख्याको आधा जनताको सम्पत्ति बराबर छ । अर्थात् विश्वका तीन अर्ब मान्छेको हातमा जति सम्पत्ति छ, त्यति सम्पत्ति जम्मा ८५ जना पुँजीपतिको हातमा छ । अर्को तथ्याङ्कअनुसार विश्वका १ प्रतिशतका हातमा बाँकी ९९ को भन्दा बढी सम्पत्ति रहेको स्थिति छ । अमेरिका र युरोपमा नारा नै लाग्यो ‘१ का विरुद्ध ९९ ।’ आज बिल गेट्स, कार्लोस र अब्बानी ग्रुप, अलिबाबा आदि मानिससँग जति पैसा छ, त्यो अति–एकाधिकार र केन्द्रीकरणको नमूना हो । जो पैसा त्यो स्केलमा एउटै व्यक्तिको हातमा केन्द्रित हुन कुनै आवश्यक नै छैन । त्यसैगरी विश्व बैंक, विश्व मुद्राकोष र निगम पुँजीको एकाधिकार पनि विश्व मानवका लागि बोझ बनिरहेको छ । पुँजीको यस्तो विशेषताले गर्दा नै विश्वको आर्थिक विषमता निकै बढ्न पुगेको छ । विश्वमा एकातिर सम्पत्तिको हिसाब नअटाउने वर्ग र अर्कोतिर सामान्य गास, वास, औषधि उपचार नपाएर मर्ने अवस्था छ । पुँजीको यही चरित्रले गर्दा नै युद्धको अवस्था बन्दै गएको छ । यो पुँजीवादले ल्याएको आर्थिक सङ्कट हो । यो पुँजीवादको आफ्नै सङ्कट पनि हो ।

(ख) अति एकाधिकार

पुँजीवादको आर्थिक चरित्र अति–एकाधिकारमा पुगेको छ । विश्वमा केही देशका केही कम्पनी र पुँजीपतिहरूको हातमा विश्व अर्थतन्त्रको ठूलो भागमा एकलौटी नियन्त्रण छ । आर्थिक उत्पादन, वितरण र मुनाफामा सीमित सङ्ख्याको नियन्त्रण असीमति छ । उद्योग, कृषि, बजार, शिक्षा स्वास्थ्य, प्रविधि सबैमा ठूला पुँजीपतिवर्गको नियन्त्रण छ । अमेरिकाको पुँजी जति छ, विश्वका धेरै देशहरूको संयुक्त पुँजीभन्दा पनि कैयौँगुणा बढी छ । अमेरिका, चीन, जापान, ब्रिटेन, जर्मन, फ्रान्सजस्ता देशहरूको पुँजीको मात्र विश्व सबै देशहरूको जोड्दा पनि पुग्दैन । पुँजीको एकाधिकारको प्रभाव सामाजिक जीवनमा गलत प्रकारले परिरहेको छ । एकाधिकारले उद्योग, कृषि, शिक्षा, स्वास्थ्य, व्यापार, बैकिङ सबैतिर नियन्त्रण गरिरहेको छ । केही मुट्ठीभर पुँजीपतिको हातमा अथाह पुँजी केन्द्रित हुन पुगेको छ । विश्व अर्थतन्त्र अति नै असन्तुलित बनेको छ । गरिब र अल्पविकसित देशहरूको जनजीवन निकै कष्टकर बन्न पुगेको छ । एकाधिकारी पुँजीपतिवर्गको स्वार्थकै कारण विश्व विभाजित र धु्रवीकृत हुँदै गएको छ । बजार र स्रोत नियन्त्रणका लागि भयानक युद्धहरू चलिरहेका छन् भने झन् ठूला युद्धको सम्भावना मडारिने गरेको छ । मध्यपूर्वका युद्ध, युक्तेनको सङ्घर्षदेखि पूर्वको कोरिया प्रायःदीपको तनाव यसैको उदाहरण हुन् । यो पुँजीवादको अफलता नै हो ।

(ग) निगम पुँजीको विकास

पुँजीवादले आफ्नो सङ्कटलाई टार्न निगम पुँजीको विकास ग¥यो । पुँजीपतिवर्गले एकल र संयुक्त प्रकारले निगम पुँजीको निर्माण र परिचालन गरेपछि सबै क्षेत्रमा यो पुँजीको दबदबा बढेको छ । यसले बजारका समग्र क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिँदै गएको छ । यसले आर्थिक क्षेत्रमा मात्र नभएर राजनीतिक नेतृत्वसमेत निर्माण गर्ने गरेको छ । बाहिर पुँजीवादको नेतृत्व राजनीतिक प्रतिनिधिहरूले गरेको देखिए पनि भित्री रूपमा सम्पूर्ण योजना र परिचालन नै निगम पुँजीपतिवर्गले गरिरहेको छ । यो वर्गले नै देशका नियम कानुन कस्तो बनाउने, आर्थिक एवम् राजनीतिक नीतिहरू कस्ता निर्माण गर्ने भन्ने फैसला गरिरहेको छ । यही वर्गको इसारा र योजनामा विश्वमा युद्धहरू सञ्चालन भइरहेका छन् । अमेरिका, भारत, रुस, ब्रिटेनजस्ता देशहरूमा अति–अन्धराष्ट्रवाद बढ्नु र चारैतिर युद्धको खतरा मडारिनुमा यही वर्गको हात रहेको छ । यसलाई पनि पुँजीवादको आर्थिक सङ्कटकै रूपमा हेर्नुपर्छ ।

(घ) भूमण्डलीकृत अति शोषण

पुँजीवादले पछिल्लो समयमा ल्याएको ठूलो समस्या श्रमको भूमण्डलीकृत अति शोषण रहेको छ । यो समस्या विशेषतः अविकसित र गरिब देशहरूका श्रमिकवर्गमाथि थोपरिएको छ । कम विकसित या अन्य देशहरूमा विशाल आधुनिक उद्योगहरू खाडा गर्ने र ती उद्योगहरूमा तेस्रो मुलुकका श्रमिकहरूलाई आयात गर्ने र उनीहरूमाथि अमानवीय एवम् बर्बर प्रकारले शोषण गर्ने कार्य अनियन्त्रित प्रकारले भइरहेको छ । ती उद्योगहरूमा पुँजीपतिवर्गले भनेअनुसार कानुन निर्माण गरेर लागू गर्ने काम हुने गरेको छ । कदाचित राज्यको कानुनभित्र उद्योग चलाए पनि मजदुरको हितमा कुनै पनि ऐन–कानुनको पालना नगर्ने अवस्था रहेको छ । अधिकतम समय काममा जोत्ने, कम पारिश्रमिक दिने या लामो समयसम्म सित्तैमा काम लगाउने, आधारभूत सुविधाहरू पनि नदिने, विरोध र सङ्घर्षको कुनै अधिकार नदिने, श्रमिकहरूले अधिकारको पक्षमा कुनै सङ्घर्ष सञ्चालन गरेमा गुण्डा र प्रशासन प्रयोग गरेर हमला गर्ने, कामबाट निष्काशन गर्ने, कुटपिट र हत्यासम्म गर्ने कार्य भइरहेको छ । यो समस्या विगतमा पुँजीवादी देशहरूमा बढी रहने भए पनि यतिबेला विश्वभर फैलिएको छ । विशेषतः यतिबेला एसियाका भारत, नेपाल, बङ्गलादेश, मलेसिया, कोरिया, कतार, युएई, साउदी अर्बजस्ता देशहरूमा जर्जर रूपमा कायम रहेको छ । यसलाई आजको पुँजीवादले विश्वव्यापी रूपमा लादेको भूमण्डलीकृत अतिशोषण भन्न सकिन्छ ।

४. सांस्कृतिक सङ्कट

पुँजीवाद हाबी हुँदै गर्दा सांस्कृतिक क्षेत्रमा पनि जनवादी एवम् प्रगतिशील सांस्कृतिक मूल्यहरू विकास हुन सकेनन् । बरु सामाजिक एवम् मानवीय मूल्य मान्यता ध्वस्त हँुदै गएका छन् । संस्कृतिमा उपभोगवाद, उपयोगितावाद, विकृति र भ्रष्टीकरण व्यापक रूपले बढ्दै गएको छ । सामाजिक एवम् मानवीय संवेदना र सद्भावहरू नै तहस–नहस बन्दै गएका छन् । पुँजीको अतिक्रमणमा संस्कृति यसरी परेको छ कि सबै कुरा स्वार्थ र फाइदा केन्द्रित बनेका छन्; जसबाट पुँजीवादी सौन्दर्यशास्त्रीहरूसमेत हैरान भएका छन् ।
पुँजीवादले ल्याएको पछिल्लो सांस्कृतिक विकृतिले एकातिर विज्ञानको सट्टा युवापिंढीको दिमागमा धर्म, अज्ञानता र रहस्यको विषय कोचिदिएको छ भने अर्कोतिर मानवीय मूल्य मान्यतालाई तहस–नहस पार्नेगरी छाडा, फोहोरी, लागूऔषधजस्ता विकृतिहरू थोपरिदिएको छ । त्यसले गर्दा नयाँ पुस्ता सांस्कृतिक रूपले निकै असभ्य र भ्रष्ट बन्ने चुनौती बढेको छ । पुँजीवादले सचेततापूर्वक युवा पिंढीलाई विचार–राजनीतिबाट विमुख गर्न अनेकौँ विकृतियुक्त क्रियाकलाप फैलाउने गरेको छ । उसले नयाँ संस्कृति दिने नाममा अप्राकृतिक, छाडा प्रदर्शनी र प्रतियोगिताहरू चलाउने गरेको छ । विभिन्न ठाउँमा नाङ्गै बस्ने, नाङ्गै यात्रा गर्ने, चुम्बन प्रतियोगिता, यौन प्रतियोगिता, खुल्ला यौन चलचित्र, नाइट क्लब र डिस्को प्रतियोगिता, रेडलाइट इलाका निर्माण, अनेकाँै नामका लागू पदार्थको उत्पादन, ओसार–पसार र सेवन, मानव बेचबिखन तस्करी, खुलेआम बेश्यावृत्ति (पुरुष, महिला दुवैको) यसका भद्दा उदाहरण हुन् । अप्राकृतिक विकृतिहरू यतिसम्म मच्चाइएको छ कि पुरुषले पुरुषलाई र महिलाले महिलालाई विवाह गर्ने मान्यता दिने प्रचार गरिरहेका छन् । यी सबै पुँजीवादको सांस्कृतिक विकृति हुन् । यसलाई पुँजीवादको सांस्कृतिक सङ्कटको रूपमा पनि बुझ्न सकिन्छ ।

५. पर्यावरणीय सङ्कट

पुँजीवाद हाबी भएपछि प्रकृतिलाई पनि शोषण गरिरहेको छ । एङ्गेल्स र लेनिनले पहिले नै पुँजीवादले माटोलाई पनि लुट्न नछोडेको चर्चा गर्दै भन्नुभएको थियो, “पुँजीवादी कृषिको सम्पूर्ण प्रगति श्रमिकलाई मात्र होइन, माटोलाई समेत लुट्ने कलाको प्रगति हो … ”, (माक्र्सवदी, लेनिनवादी दर्शनशास्त्र, पृ. १०६) । पुँजीवादी सत्ता र पुँजीपतिवर्गको फाइदाको लागि प्राकृतिक सम्पदाको मनपरी उत्खनन्, दोहन, उत्पादित वस्तुको जथाभावी प्रयोग र विशालु ग्यास उत्सर्जन आदि कारणले पृथ्वी र ब्रह्माण्डका प्राकृतिक विशेषताहरूमा डरलाग्दो प्रदूषण भइरहेको छ । पुँजीवादी देशहरूले गरिरहेको हरित ग्यास उत्सर्जनले वायुमण्डल खतरामा परेको छ । ओजनतह खिइएर प्वाल पर्ने स्थिति आउँदैछ, जसले गर्दा सूर्यको विषाक्त किरण सिधा पृथ्वीमा पुगेर मानवजीवनलाई भयानक असर पार्ने अवस्था छ । प्रदूषणले वायुमण्डलको तापमान बढ्न गई हिमखण्ड पग्लिने र समुद्र सतह बढेर कैयौँ देशका भू–भाग डुब्ने खतरा बढेको छ । प्रदूषणकै कारण अम्लवर्षा हुने, समुद्रको पानी विषाक्त हुने समस्याहरू देखापरेका छन् । त्यसैगरी, कैयौँ वन्यजन्तु एवम् पछीहरूको ¥हास र लोप हुने अवस्था बन्दैछ । मानवस्वास्थ्यमा हानी गर्ने विभिन्नखालका रोगहरूको उत्पत्ति र विस्तार भइरहेका छन् । तथ्याङ्कअनुसार विकसित राष्ट्रहरूले मात्र ८० प्रतिशतभन्दा बढी पर्यावरणीय प्रदूषण फैलाउने गरेका छन् तर त्यसको सिधा मार सारा मानवसमाज र प्रकृतिलाई परिरहेको छ । केही समय पहिले भौतिक वैज्ञानिकहरूले यही रफ्तारमा प्रदूषण हुँदै गएमा पृथ्वीको आयु ह्वात्तै घट्ने र १ हजार वर्षपछि मानव बस्न नमिल्ने हुने चेतावनी दिएका थिए । केही समय पहिले त हकिन्सले युवा वैज्ञानिकहरूलाई १ सय वर्षभित्र अर्को मानव बस्न मिल्ने ग्रह खोज्न आग्रह गरेका थिए । पुँजीवादको पछिल्लो विशेषताले ल्याएको यो पर्यावरणीय सङ्कट हो । यसलाई पुँजीवादी राजनीतिको सङ्कट मान्नुपर्छ ।

६. विज्ञान र प्रविधिमाथिको एकाधिकार

२०१७ मईमा विश्वका वैज्ञानिकहरूले ‘विज्ञानलाई बचाऔँ’ भन्ने नारा लगाए । उनीहरूको तर्क थियो कि विज्ञानलाई जथाभावी प्रयोग गर्नाले विज्ञानकै भविष्यमा समस्या पैदा भयो । यो एकदमै सही कुरा हो । यतिबेला पुँजीवादले विज्ञानलाई समेत मानवसमाजको सेवा र समृद्धिको भूमिकाबाट पैसा कमाउने र जनतालाई शोषण गर्ने साधनमा बदलिदिएको छ । मानवजातिले हजारौँ वर्षको अनुभव र अनुसन्धानबाट प्राप्त गरेको ज्ञानको उच्च संश्लेषणलाई मानवजातिलाई नै लुट्ने माध्यम बनाइरहेको छ । अर्को अर्थमा भन्दा पुँजीवादले विज्ञानलाई जबर्जस्त निजीकरण गरेर शोषण गरिरहेको छ । विज्ञानमाथि पुँजीलाई हाबी गराएर विज्ञानको सामाजिक विशेषतालाई नष्ट गरिदिएको छ । पुँजीको चपेटामा पर्नुका कारण विज्ञानका आविष्कारक वैज्ञानिकहरू नै त्यसको सिकार भइरहेका छन् । उदाहरणार्थ, वैज्ञानिकहरूले औषधिको अनुसन्धान गर्छन् तर औषधि विज्ञानलाई पुँजीपतिले यसरी नियन्त्रण गरिदिन्छ कि जनताको कुरै छौडौँ स्वयम् वैज्ञानिकहरू नै त्यसको शोषणमा पर्छन् । एउटा वैज्ञानिकले भौतिक विज्ञानको आविस्कार मानवसमाज समृद्धिका लागि भनेर गर्छ तर त्यो आविस्कारबाट मानवसमाजको कुरै छोडौँ, स्वयम् वैज्ञानिक नै असुरक्षित हुन पुग्छ । यस्ता कैयौँ उदाहरणहरू दिन सकिन्छ, जसले पुँजीवादको शोषणमा विज्ञान पर्न गएको पुष्टि गर्न सकिन्छ । विज्ञानमाथि गरेको यो नियन्त्रण र शोषण पुँजीवादको सङ्कटकै अभिव्यक्ति हो ।

त्यसैगरी, पुँजीवादले वैज्ञानिक प्रविधिमाथि पनि एकाधिकार कायम गर्न पुगेको छ । प्रविधि वैज्ञानिकहरूको अनुसन्धान हो र प्रविधिको काम जनताको जीवनलाई सहयोग पु¥याउने, उत्पादन–कार्यलाई मद्दत गर्ने, समाजिक क्षेत्रमा सहयोग गर्ने र मानवसुखका लागि प्राकृतिक प्रतिकूलताहरूलाई अनुकूलतामा ल्याउनु हो तर प्रविधिमाथि पुँजीपतिवर्गले एकाधिकार कायम गरेको कारण प्रविधि र मानवबीचमा विभेद र उत्पीडन गर्ने वस्तु बन्दै गएको छ । उत्पादनका यन्त्रहरू, यातायातका साधनहरू, उपभोगका वस्तुहरू, अत्याधुनिक सूचना सञ्चार प्रविधि (कम्प्युटर, मोवाइल, टीभी, रेडिया) सबै वैज्ञानिक प्रविधिहरू आम नागरिकका लागि नभएर केही व्यापारी र पुँजीपतिवर्गले मात्र उपभोग गर्न सक्ने वस्तु बन्न पुगेका छन् । प्रविधिलाई अधिकतम मुनाफा सोहर्ने साधन मात्र बनाएकोले मान्छे प्रविधि शोषित हुने स्थिति बनेको छ । पुँजीपति मालिकहरू भने एउटै प्रविधिबाट अर्बौँ रुपियाँ कुम्ल्याउँदासम्म पनि सन्तुष्ट हँुदैनन् । यसलाई पनि पुँजीवादी व्यवस्थाको सङ्कटमा बुझ्न सकिन्छ ।

७. जातिवाद र धर्मवाद

जातिवाद र धर्मवादको चरम प्रयोग आजको पुँजीवादको विशषता बनेको छ । कुनै समय सामन्तवादले आफ्नो रक्षाको लागि धर्मको आड लिने गर्दथ्यो । सामन्ती राज्य र शासकका विरुद्ध विद्रोह गर्नु भनेको प्रभु र भगवान्को इच्छा विपरीत जानु हो भन्दै पुँजीवादीहरूले उठाएका न्यायपूर्ण आन्दोलनमाथि त्रूmर दमन गर्दथ्यो । सामन्ती शासनको यो चाललाई परास्त गर्न विद्रोहपछि पुँजीवादले धर्मलाई राज्यबाट अलग गरेको थियो (फ्रान्सको क्रान्तिमा यो गरिएको थियो) । यो पुँजीवादको प्रगतिशील र क्रान्तिकारी कदम थियो । ठीक त्यसैगरी, जातिवादलाई पनि पुँजीवादले परित्याग गरेको थियो । विडम्बना ! आज पुँजीवादले सयौँ वर्षअगाडि आइपुग्दा सामन्तवादलाई समेत पछि पार्दै धर्मवाद र जातिवादको आड लिन र तिनको संरक्षण गर्न पुगेको छ । धर्मवाद र जातिवादको उल्टो प्रवाह बगाएर वैज्ञानिक चेतनाको जागरणबाट आफूलाई सुरक्षित गर्ने एउटा कमजोर आड तयार गरिरहेको छ । यसको रमाइलो उदाहरण, पुँजीवादी देशका शासकहरूले आफ्नो सफलता र विजयलाई भगवान्को इच्छा भनेर दिइरहेका प्रतिक्रियालाई लिन सकिन्छ । आफ्नो राजनीतिक सफलताको लागि भगवान, प्रभु, अल्लाहको सहारा लिने गरेको कुरा प्रस्ट देख्न पाइन्छ । उनीहरूले भन्ने गरेका छन्– भगवान्, प्रभु, अल्लाहको इच्छा छ, मैले जितोस् भन्ने थियो र जितेँ । भोट जनताले दिन्छन्, शासकहरू जस भगवान्, प्रभु र अल्लाहलाई दिन्छन् । युरोपमा क्रिस्चियन, मध्यपूर्वमा इस्लाम, दक्षिण एसियामा हिन्दु धर्मबारे दिइएका अति अन्ध–धर्मवाद यसका उदाहरण हुन् ।

पुँजीवादले जातिवादलाई पनि उत्कर्षमा प्रयोग गरिरहेको छ । व्यावहारिक जीवनमा पुँजीवाद आफँै अन्तर्राष्ट्रिय मात्र होइन, पूरै भूमण्डलीकृत भएर हिँडेको छ । फाइदाका लागि कुनै जाति र राष्ट्रको मतलव छैन तर अरू विश्वलाई जानाजान जातिवादको साँघुरो घेरामा धकेलिदिएको छ । विभिन्न गैर–सरकारी संस्थाहरूलाई प्रयोग गरेर जाति, भाषा, क्षेत्रको रक्षा र विकासको रङ्ग दिएर मिलेर बसेका समुदायलाई विभाजित गरिरहेको छ । यो कार्य विशेषतः वर्गदृष्टिकोण, वर्गसङ्घर्ष र वर्गसत्ताको चेतना हाबी भएका देश र क्षेत्रमा सञ्चालन गरिरहेको छ । यसको उद्देश्य सबैभन्दा उत्कृष्ट वर्गदृष्टिकोण र सङ्घर्षलाई कमजोर बनाउने र कुनै एक जातिलाई उचालेर जनतालाई फुटाउने अनि सम्भव भएसम्म आफ्नो दास बनाउने रहेको छ । जाति र धर्मको नसा भनेको माक्र्सले भन्नु भएजस्तै ‘अफिम’ नै हो । यसको कुनै सीमा छैन् । जति तान्यो, त्यति नै सानो र विषाक्त बन्दै जान्छ । जनतालाई यसको नसामा डुबाउन पाउँदा पुँजीवादलाई लुटको शासन लाद्न सजिलो हुने भएर यसो गरिरहेको छ । जाति–जाति र धर्म–धर्मको बीचमा विभाजन ल्याउन उत्तर–साम्राज्यवादले विभिन्न तरिकाले उनीहरूलाई उचाल्ने, अतिवादी बाटोमा हिँडाउने, युद्धका लागि भड्काउने र हतियारसम्म बेच्ने गरिरहेको छ । धर्मवाद र जातिवाद सही र वैज्ञानिक भएर होइन, पुँजीवादी लुटको स्वर्गलाई बचाउन यसको प्रयोग गरिरहेको छ । यो पुँजीवादको सङ्कटकै अभिव्यक्ति हो ।

२०७४ चैत २२ गते बिहान ११ : १० मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :