पुँजीवादको पुनःअसफलता र सङ्कट : विप्लव

सन् १९९० को ‘संशोधनवादी समाजवाद’ को असफलतापछि चिहानमा पुगेको पुँजीवादले मूर्दाघरबाट लर्खराउँदै उठेर जीवनको धमास छोड्ने जमर्को ग¥यो तर आफ्नो वैचारिक जीवनको औचित्य गुमाइसकेको पुँजीवाद छोटो समयपछि नै भौतिक अस्तित्वसमेत गुमाउनका लागि पुनः अन्तिम प्राणका लागि छट्पटाउने ठाउँमा पुगेको छ । समाजवादी सत्ता असफलतामा खुसियाली मनाएको २० वर्ष नपुग्दै पुँजीवाद सबैले देख्नेगरी सङ्कटग्रस्त बन्न पुगेको छ । पुँजीवादी व्यवस्था सङ्कटग्रस्त बनेको निष्कर्ष कम्युनिस्ट चिन्तक र राजनीतिज्ञको मात्र होइन्, जसले समाजवाद ढल्दा ‘इतिहासको अन्त्य’, ‘विचारधारात्मक युगको अन्त्य’ लेखेका थिए, तिनैले २० वर्षपछि ‘पुँजीवादको सङ्कट’ लेख्न पुगेका छन् । उनीहरू पुँजीवादलाई कसरी बचाउन सकिन्छ भनेर रात–दिन उपचारका लागि अध्ययनमा जुटेका छन् तर काम चल्ने देखिँदैन । राजनीतिक दुनियाँमा यो एउटा नवीन यथार्थ बनेको छ ।

समाजवादको असफलतामा रमाउने कुरा विचारधारात्मक रूपले खासै अर्थपूर्ण थिएन र छैन् । ‘समाजवाद’ ढालेपछि पुँजीवादले के दिन खोजेको हो ? त्यो प्रमुख विषय हो । ‘समााजवाद’ ढलेपछि के पुँजीवादले समाजवादले दिन नसकेको केही नयाँ मान्यताहरू दियो त ? के सामाजिक एवम् राजनीतिक क्षेत्रमा मानवजातिलाई नयाँ आदर्श दिन सक्यो त ? पुँजीवादले समाजवाद ढल्दा गरेको शान्ति, स्थिरता र प्रजातान्त्रिक स्वतन्त्रताको सुनिश्चितताको दावी पूरा भयो ? के युद्धविहीन विश्व निर्माण भयो त ? अहं, यस्तो केही पनि भएन । बरु पूर्व–सोभियत सङ्घमा वैज्ञानिक समाजवाद हुँदा कायम रहेको शक्ति सन्तुलन र स्थिरता संशोधनवाद हँदै पुँजीवादमा पतनपछि विश्वमा पुँजीवादी, साम्राज्यवादी, उत्तर–साम्राज्यवादी तत्वहरूको (अमेरिकी नेतृत्वमा) दादागिरी र हस्तक्षेप अतुलनीय प्रकारले बढ्यो । विश्वले झन् ठूला लुटपाट, अशान्ति र युद्धहरू भोग्नुपरिरहेको छ । उत्पीडित राष्ट्रहरूले बीसौँ शताब्दीमा प्राप्त गरेका स्वाधीनता र स्वतन्त्रता पनि विभिन्न तरिका (राजनीतिक, आर्थिक, सैन्य तरिका) ले पुरै गुमाइरहेका छन् । विश्वमा डरलाग्दा युद्धका चुनौतीहरू मडारिएका छन् । पुँजीवादले यसबीचमा केवल निजीत्व, अति–एकाधिकार, अतिक्रमण, लुछाचुँडी, भागवन्डा, भ्रष्टाचार, तस्करी, व्यभिचार, असमानता, भिडन्त, दमन, युद्ध, विध्वंस, विद्रोहभन्दा केही दिएन् । मान्छेहरूले समाजवादबाट पुँजीवादमा फर्किंदा देखेको प्रजातन्त्र, समृद्धि, शान्ति र स्वतन्त्रताको ‘रङ्गीन सपनाको’ प्रचार एक दशकपछि नै भताभुङ्ग भयो । आज सबैले बोध गरेका छन् कि पुँजीवादमा फर्किने कुरा कुनै स्वतन्त्रता, स्थिरता र शान्तिमा फर्किने विषय नभएर त्यो वस्तुतः गएगुज्रेको पुरानै लुटखसोट, शोषण–दमन, विकृति विसङ्गतिले भरिएको व्यवस्थामा फर्किने कुरा थियो, जुन जीवित मानव–समाजका लागि कदापि सुखमय हुन सक्दैनथ्यो । त्यसको परिणाम झन भयानक हुन अनिवार्य नै थियो । समाजवादबाट फर्किएको विश्वले आज त्यस्तै अनुभव गरिरहेको छ । पुँजीवादले कसरी झन् पछि झन् एक–एक गर्दै समाजका समग्र क्षेत्रमा अतिक्रमण गर्दै जान्छ भन्ने सन्दर्भमा कम्युनिस्ट घोषणपत्रमा माक्र्सले भन्नुभएको थियो, “आजसम्म सम्मान र श्रद्धाको दृष्टिले हेरिने गरिएका पेसाहरूलाई पुँजीपतिवर्गले फिक्का पारेको छ । यसले वैद्य, डाक्टर, वकिल, पुरेत, कवि, वैज्ञानिक सबैलाई आफ्नो ज्यालादारी मजदुरमा फेरेको छ”, (कम्युनिस्ट घोषणापत्र, पृ. २८) । आज पुँजीवाद माक्र्सले भन्नुभएको यही बाटोमा भद्दा प्रकारले कुदिरहेको छ । पुँजीवादको हमला र उत्पीडनमा मजदुरवर्ग मात्र होइन, माक्र्सले भन्नुभएजस्तै वैद्य, डाक्टर, वकिल, पुरेत, वैज्ञानिक, कवि सबै परेका छन् । पुँजीवादी क्रियाकलापले मानव समुदायलाई चारैतिरबाट भयानक सङ्कटमा धकेल्दै लगेको छ । यतिबेला पुँजीवादका वैचारिक, राजनीतिक, आर्थिक, सांस्कृतिक, विज्ञान तथा प्रविधि, पर्यावरणजस्ता क्षेत्रमा निम्न समस्या, असफलता र सङ्कट देखापरिरहेका छन् ः

१) वैचारिक असफलता र सङ्कट
२) राजनीतिक असफलता
३) आर्थिक असफलता र सङ्कट
४) सांस्कृतिक असफलता
५) सैनिक सङ्कट
६) प्राविधिक सङ्कट
७) पर्यावरणीय सङ्कट

१) वैचारिक असफलता र सङ्कट

समाजवाद ढलेपछि उन्मादी बनेको पुँजीवादले वैचारिक क्षेत्रमा दुनियाँलाई कुनै नयाँ चेत र दृष्टिकोण दिन सकेन । उल्टो पुँजीवादले सत्रौँ र अठारौँ शताब्दीको प्रगतिशील चरित्रलाई पनि गुमाउँदै, विज्ञानले अदभूत विकास गरिरहेको युगमा सामन्तवादभन्दा पनि पछि फर्किएर अध्यात्मवाद–आदर्शवादको सहारा लिन पुगेको छ । आफ्नो रक्षाका लागि ईश्वरवादको सरणमा लमपसार पर्न पुगेको छ । कुनै समयको क्रान्तिकारी पुँजीवादका केन्द्र, अमेरिका र युरोपले धर्मको प्रचार र प्रभाव विश्वभरि फैलाउन अरबौँ डलर छुट्याउँछन् र लगानी गर्छन् । उनीहरूले अशिक्षित र अचेत जनतालाई आर्थिक प्रलोभनमा पारेर धर्म परिवर्तन गराइरहेका छन् । बाइबलले छुएमा बिरामी सञ्चो हुन्छ भन्ने जस्तो काल्पनिक भ्रम फैलाएर कैयौँ ठाउँमा बिरामीको ज्यान गएको र त्यसबाट समाजमा झै–झगडा भएको देखिन्छ । त्यसैगरी मुस्लिमहरूले धर्मको नाममा अति–अन्धविश्वास पैदा गरेका छन् । ‘अल्लाह महान् छन् (अल्लाह हो अक्बर)’ भन्दै मुस्लिम युवाहरूलाई युद्धमा होमिरहेका छन् । धर्मको नाममा महिलालाई आज पनि कालो बुर्काभित्र कैद गरिरहेका छन् । दक्षिण एसियामा हिन्दुहरू आक्रामक ढङ्गले धर्म प्रचारमा जुटेका छन् । ‘हिन्दुत्वको सर्वोच्चता’ भन्दै हिन्दुबाहेक अरू धर्म मान्नेलाई हमला गरिरहेका छन् । गाई जस्तो अबोध जनावरको विषयलाई लिएर मान्छेहरू मारामार गरिरहेका छन् । उता बौद्ध धर्म मान्नेहरूले पनि पूर्वी–एसियामा धार्मिक प्रचारलाई तीव्र बनाएका छन् । यसले देखाउँछ, विश्व पुँजीवादले आफ्नो अस्तित्व रक्षाका लागि अनौठो प्रकारले अध्यात्मवाद, आदर्शवाद र ईश्वरवादको सहारा लिन पुगेको छ । उदाहरणार्थ, अमेरिकालाई आजको सबैभन्दा शक्तिशाली पुँजीवादी देश मानिन्छ । त्यसले अगाडि सार्ने विचार, धारणालाई सबैले पुँजीवादी विचारको रूपमा चासोका साथ हेर्छन् । अमेरिकामा सन् २०१७ को चुनावमा डोनाल्ड ट्रम्पले जितेपछि प्रतिक्रिया दिँदै, मत दिने जनताको उपहास गर्दै भने, “ईश्वरले गर्दा जिते ।” उनले राष्ट्रपतिको सपथ लिँदा दुईवटा बाइबल हातमा लिएर भने, “एउटा राज्यको बाइबल हो, अर्को सानोमा आमाले दिएको बाइबल हो”, “मैले भगवान्को इच्छाले जिते ।” सन् २०१७ को जुलाईमा भारतका प्रधानमन्त्री मोदीले महाभारतमा प्रयोग भएको भनिएको ‘ब्रह्मास्त्र’ लाई परमाणु हतियार भएको र त्यसको निर्माण गर्नेलाई रासायनिक वैज्ञानिक भने । उनको भनाइलाई वैज्ञानिकहरूले विज्ञानमाथिको अतिक्रमण भन्दै आपत्ति गरे र मोदीलाई गलत कुरा नगर्न सुझाव दिए । स्पष्ट हुन्छ कि यो पुँजीवादको वैचारिक सङ्कट हो ।

विज्ञानको विकास र शक्तिले विश्वमा हैकम चलाइरहेका र निजी वैभव भोगिरहेका पुँजीवादीहरूलाई अध्यात्मवाद सत्य होइन भन्ने राम्रोसँग थाहा छ । उनीहरूले विज्ञान र वैज्ञानिकहरूको जति महत्व बुझेका छन् र उपयोग गरिरहेका छन्; अन्य कसैले पनि गर्न सकेको छैन । त्यसको एउटै मात्र कारण विज्ञानमाथिको विश्वास नै हो तर यो सत्यलाई पुँजीवादीहरूले आफ्नो लुटेरा स्वार्थले गर्दा भन्न चाहँदैनन् । उनीहरूले राम्रोसँग बुझेका छन् कि यदि विज्ञानको विचारलाई जोड दिने हो भने पुँजीवादीहरूको स्वेच्छाचारी शोषण, लुट, उत्पीडन र उनीहरूको अमानवीय अधिनायकत्व टिक्नेछैन । उनीहरूको पुँजीवादी व्यवस्था समाप्त हुनेछ । विज्ञानको घोडा चढेर अध्यात्मवादी शासन गर्नु पुँजीवादको बाध्यता बनेको छ । विज्ञानको शक्ति र प्रयोगद्वारा शासन टिकाउनु अनि धर्म, आदर्शवाद र ईश्वरवादको प्रयोगद्वारा आफ्नो लुटको शासनबारे दुनियाँमा भ्रम पैदा गर्नु पुँजीवादको सचेत दुर्नियत रहेको छ । पुँजीवादले वैचारिक क्षेत्रमा यति धेरै अध्यात्मवाद–आदर्शवादको सहारा लिनु उसको वैचारिक कमजोरी, निकृष्टता, सङ्कट र असफलता हो ।

२) राजनीतिक असफलता

९० को दशकमा समाजवादी सत्ताहरू ढलेपछि विश्वमा पुँजीवाद हावी भएको मानियो । समाजवाद राजनीतिक रूपले काल्पनिक सावित र असफल भएको प्रचार गरियो । केही समय मान्छेहरूलाई भ्रममा पारियो र प¥यो तर विजयको ढोल पिट्दै हिँडेको पुँजीवादले राजनीतिक प्रणाली र व्यवस्थामा कुनै नयाँ मान्यता दिन सकेन । उल्टो, विजय उद्घोष गरेको पुँजीवादी राज्यव्यवस्था र शासनले विश्वमा पहिले नदेखिएको अतिक्रमणकारी, अन्धराष्ट्रवादी, अति–सैन्यकृत, विध्वंसकारी चरित्र प्रदर्शन गर्न पुग्यो । पुँजीवादले विश्वमा ल्याएको आर्थिक असन्तुलन, टाटपल्टाइ र विध्वंसकारी समस्यालाई स्वयम् पुँजीवादी विश्लेषकहरूले पनि पुँजीवादको असफलता र सङ्कटको रूपमा चित्रण गर्न बाध्य भएका छन् । पछिल्लो समयमा पुँजीवादी राजनीतिभित्र देखिएका विशेषता र सङ्कटलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ः

क) भूमण्डलीकृत अतिक्रमण
ख) अति–सैन्यकृत
ग) विध्वंसात्मक
घ) अति–अन्धराष्ट्रवाद

क) भूमण्डलीकृत अतिक्रमण :

पुँजीवाद साम्राज्यवाद हँदै उत्तर–साम्राज्यवादमा पुगेको छ । तथापि यसको मूल पुँजीवाद नै हो । यसको नयाँ चरित्र मूमण्डलीकृत अतिक्रमण बनेको छ । यो लेनिनले विश्लेषण गर्नुभएको शक्तिशाली देशले कमजोर देश र क्षेत्रमाथि हस्तक्षेप गर्ने, भूगोलको बाँडफाँड गर्ने र प्रभुत्व जमाउने साम्राज्यवादी चरित्रमा मात्र छैन, अपितु भूमण्डलीकृत हुन पुगेको छ । जुन चरित्रलाई पुँजीवादको पछिल्लो चरित्र मानिएको छ । अर्थात् यो आर्थिक, राजनीतिक, सैन्य, सांस्कृतिक दृष्टिले नयाँ ठाउँमा पुगेको छ । यसको नेतृत्व अमेरिका र युरोपले गरिरहेका छन् भने अन्य पुँजीवादी शक्ति राष्ट्रहरू पनि यही मार्गमा बढिरहेका छन् । अमेरिकी नेतृत्वको दावी विश्वको राजनीतिक प्रणाली उनीहरूले भनेको जस्तो प्रणालीमा जानुपर्छ; पुँजीवाद र संसदीय व्यवस्थाभन्दा अर्को सोच्न पाइँदैन; उनीहरूले सिफारिस गरेको र अनुमोदन गरेको प्रजातन्त्र मात्र वास्तविक प्रजातन्त्र हुन्छ, अन्य जसले भने पनि त्यो प्रमाणित हुँदैन (चाहे त्यो अमेरिकीहरूले भनेभन्दा असल राज्यव्यवस्था नै किन नहोस्) भन्ने व्यवहार गरिरहेका छन् । विश्वको अर्थतन्त्र उनीहरूको नीति र स्वार्थभन्दा बाहिरबाट जान पाइँदैन; उनीहरूले जसरी आर्थिक प्रणाली सञ्चालन गर्न चाहन्छन्, सबैले त्यसको अनुशरण गर्नुपर्छ; खासमा निजी लुटखसोट (स्वतन्त्रता) मा आधारित अर्थतन्त्र हुनुपर्छ । विश्व आर्थिक बजार डलर नियन्त्रित हुनुपर्छ र खासमा अमेरिकाले भनेअनुरूपको व्यापार नीति सबैले अख्तियार गर्नुपर्छ । विश्वको सुरक्षा प्रणाली उनीहरूको रेखदेखमा हुनुपर्छ; पुँजीवादी त्यसमा पनि अमेरिकाले तोकेको घेराभन्दा बाहिर गएर कनै पनि देशले स्वतन्त्र र आत्मनिर्भर सुरक्षा प्रणालीको विकास गर्नुहुँदैन; उनीहरूलाई चुनौती हुने र समस्या लाग्ने सुरक्षा प्रणाली अरूले विकास र प्रयोग गर्न पाइँदैन; चाहे उनीहरूको भन्दा वैज्ञानिक र जनवादी सुरक्षा प्रणाली नै किन नहोस्; उसलाई कुनै पनि घटनामा बेरोकटोक सैन्य कारबाही गर्ने छुट छ । पुँजीवादले संस्कृतिलाई पनि आफ्नो स्वार्थअनुरूपको चरित्रमा ढाल्दै लगेको छ । संस्कृतिको सामाजिक एवम् नैतिक विशेषतालाई तहस–नहस पार्दै नितान्त व्यक्तिवादी, स्वार्थी, उपभोगवादी, छाडा क्रियाकलापमा बदलिदिएको छ । नयाँ पुस्तालाई बौद्धिक रूपले भ्रष्ट र विसर्जन गर्दै लगेको छ । पुँजीवादका यस्ता विशेषताहरूले मानवजातिमाथिको विभेद, शोषण र उत्पीडनलाई भूमण्डलीकृत गरिदिएको छ । पुँजीवादले आफ्नो प्रभुत्व लाद्न यी सबै कार्य गरे तापनि वास्तवमा यसले पुँजीवादको सङ्कटलाई नै व्यक्त गर्छ ।

ख) अति–सैन्यकृत विश्व :

पुँजीवादले ल्याएको अर्को ठूलो समस्या भनेको अति सैन्यकृत प्रवृत्ति हो । पुँजीवादले सबैभन्दा दक्ष जनशक्ति, उत्तम प्रविधि र धेरै धनराशीको प्रयोग सैन्य–क्षमतालाई अति–सैन्यकृत गर्नमा लगाएको छ । विश्वशक्तिको मापन गर्ने आधार नै सैन्य–क्षमतालाई बनाइएको छ । तथ्याङ्कअनुसार सैन्य–क्षेत्रमा अमेरिका, चीन, रुस, ब्रिटेन, अरब, भारत, फ्रान्सले लगानी गरिरहेको आर्थिक विश्व अर्थतन्त्रको ठूलो हिस्सा पर्छ । हिसाबअनुसार अमेरिकाको सैन्य बजेट कैयौँ देशको कूल बजेटभन्दा धेरै गुणा ठूलो छ । त्यसैगरी चीन, रुस, ब्रिटेनका सैन्य बजेट पनि दिन–प्रतिदिन वृद्धि हुँदै गएका छन् । ठूलो आर्थिकको प्रयोग सैन्य–साधन, हातहतियार र प्रविधिको विकासमा भइरहेको छ । अरबौँ डलर सैन्य प्लेन, लडाकु जहाज, हेलिकप्टर, पनडुब्बी, टैंक, रकेट, मिसाएल, शक्तिशाली बमहरू, बन्दुक आदिमा खर्च भइरहेको छ । जुन खर्चको उद्देश्य सैन्य–प्रविधि र युद्धमा श्रेष्ठता हासिल गर्नुबाहेक अरू केही पनि छैन । युद्धकै लागि लाखौँलाख सैन्य शक्ति तयार गरिएको छ र विश्वभर छरिँदै लगिएको छ । अमेरिकाले मात्र घोषित रूपले ६३ देशमा र अघोषित रूपले धेरै देशहरूमा सैन्य–शक्ति तैनाथ गरेको छ । सैन्य–शक्तिकै आडमा अमेरिकी योजना एक विश्वव्यवस्थाको मार्गमा जान खोजेको प्रस्ट देख्न सकिन्छ । यसको प्रतिरोध गर्ने नाममा अन्य पुँजीवादी राष्ट्रहरू (रुस, टर्की, फ्रान्स, भारत) र चीनले पनि आफ्नो सैन्य–शक्तिलाई बाहिर विस्तार गर्नेमा खुलेर लागेका छन् । यसमा युरोप पछि–पछि घिस्रिने गरेको छ । पुँजीवादको यो पछिल्लो अति–सैन्यकृत प्रवृत्ति हो; जुन प्रवृत्ति पुँजीवादी राजनीतिक असफलता र सङ्कटकै अभिव्यक्ति हो ।

ग) विध्वंसात्मक युद्ध :

विश्वव्यापी रूपले सञ्चालन गरिएका विध्वंसात्मक युद्ध पुँजीवादी राजनीतिको असफलता र सङ्कट हो । पूर्व–सोभियत सङ्घको पतनपछि विश्वमा प्रजातन्त्रको विकल्प नभएको, विश्व एक धु्रवमा प्रवेश गरेको र युद्धको स्थिति नरहने प्रचार गरिएको थियो तर स्थिति त्यसो भएन, ठीक उल्टो देखाप¥यो । विश्वमा पुँजीवादी एक ध्रुवीय उन्माद देखाप¥यो । उसको इच्छा र स्वार्थ विपरीत कसैलाई केही गर्न नदिने रवैया बढ्यो । श्रमिक जनता र उत्पीडित राष्ट्रका जनविद्रोह, क्रान्ति र राष्ट्रिय स्वाधीनताका स्वरहरूमाथि अराजनीतिक आरोपहरू थोपर्ने र भीषण दमन गर्ने अवस्था देखाप¥यो । पुँजीवादी, साम्राज्यवादी, उत्तर–साम्राज्यवादीहरूको यो प्रवृत्तिले विश्वलाई शान्तितिर होइन, विगतभन्दा पनि चर्को बहुध्रुव र विध्वंसात्मक युद्धतर्फ धकेल्यो । त्यसैको परिणाम मध्यपूर्व, युरोप, एसिया, ल्याटिन अमेरिकामा विध्वंसकारी युद्धहरू छेडिएका छन् । दैनिक हजारौँ निर्दोष नागरिकको ज्यान गइरहेको छ । युद्ध भएका अफगानिस्तान, इराक, लिबिया, इजिप्ट, नाइजेरिया, यमन, सिरिया, टर्की, युक्रेन आदिमा गरेर २० लाखभन्दा बढीको ज्यान गइसकेको छ । खरबौँ डलर बराबरको क्षति भएको छ, कैयौँ सहरहरू समाप्त (एलप्पो) भएका छन् भने धेरै सहरहरू मानव बस्न नमिल्नेगरी विध्वंस भएका छन् । पुँजीवादी अस्तित्वका लागि विध्वंसात्मक युद्धको आड लिनु भनेको राजनीतिक रूपले यो पुँजीवादको चरम संकट हो ।

घ) अतिअन्धराष्ट्रवाद :

पुँजीवाद हावी भएको भनिए पनि विश्व पुनः अति–अन्धराष्ट्रवादतिर पर्किएको छ । अन्धराष्ट्रवाद, अति–अन्धराष्ट्रवाद पुँजीवादले आफ्नो संकट टार्नका लागि अपनाउने अतिवादी प्रवृत्ति हो । यसले आफ्नो गुट र राष्ट्र स्वार्थका लागि अन्य राष्ट्रहरूमाथि राजनीतिक, आर्थिक, सांस्कृतिक प्रभुत्व लाद्ने गर्छ । अति–अन्धराष्ट्रवादलाई अर्को अर्थमा अति–सर्वाेच्चताको फासिवादी सोच भन्न सकिन्छ । इतिहासमा जतिबेला सामन्तवादी र पुँजीवादी शक्तिहरूले आपूूmलाई असाध्यै संकटमा पाउँदथे, त्यसबेला अन्धराष्ट्रवादी नीति लिएको उदाहरण पाइन्छन् । कुनै समय थियो, फ्रान्सको सम्राट लुइसले आफूलाई नै राज्य घोषणा गर्दै देशभित्र र बाहिर युद्धआतंक मच्चाउने गर्दथ्यो, नेपोलियनले पनि विश्वले आफूलाई विश्व सम्राट स्वीकार्नुपर्ने दावी गर्दथ्यो, हिटलरले त नारा नै दियो, जर्मन श्रेष्ठता र आर्यजातीय शासन । अन्धराष्ट्रवादी नीति हावी हुनुको कारणले नै पहिलो र दोस्रो विश्व भड्किएको थियो । आज २१ औँ शदीमा पुग्दा ट्रम्पले नारा दिएका छन्, “सबैमा अमेरिका पहिलो”, “अमेरिकालाई फेरि महान् बनौँ” । ट्रम्पको सिधा सिधा घोषणा छ, हाम्रो प्रविधि, हाम्रो डलर, हाम्रो व्यापार, हाम्रो राजनीति, हाम्रो नेतृत्व सबैले स्वीकार गर्नुपर्छ । यदि यो कसैले मान्दैन भने त्यसलाई फुटाउँछु; नाकाबन्दी गर्छु; व्यापार बन्द गर्छु; आक्रमण गर्छु” आदि । ट्रम्पले तोकेरै भने, “चीनले हाम्रो व्यापार गरिदिँदैन भने एक चीन नीति मानिँदैन, ताइवान फुटाउँछु, नेटोलाई दिँदै आएको सहयोग बन्द गर्छु, कोरियाको व्यापार बन्द गर्छु, इरानलाई नाकाबन्दी गर्छु र उत्तर कोरियालाई सैन्य ढंगले (आक्रमणबाट) समाधान गर्छु ।” यही प्रवृत्ति ब्रिटिसमा पनि देखियो । ब्रिटिसको कन्जरभेटिभ पार्टीको नेतृत्वले नारा दियो, “युरोपबाट स्वतन्त्र ब्रिटेन” अंग्रेजीमा ‘ब्रिजेक्ट’ अर्थात् बाहिर आउनु । यसको अर्थ हो, आफ्नो फाइदा र मुनाफाका लागि युरोपअन्तर्गत नरहेर स्वतन्त्रतापूर्वक अन्तर्राष्ट्रिय आर्थिक सम्बन्धमा बस्छौँ । यही नारा रुसमा पुटिनले, ‘शक्तिशाली रुस’ भनेर लगाएका छन् भने चीनले पनि ‘इतिहास दोह¥याउने’ नारा अगाडि सारेको छ । यसको अर्थ हुन्छ, चीन कुनै समय विश्वको एक नम्बर थियो, फेरि त्यही पु¥याउनु । त्यसैगरी भारतले ‘मेकिङ इन्डिया, हिन्दु सर्वाेच्चता’ को नारा दिने गरेको छ । विश्वभर एक प्रकारले राष्ट्रवाद, अन्धराष्ट्रवाद र अति–अन्धराष्ट्रवाद विस्तार हुँदै गएको छ । यो एक कोणबाट शक्ति सम्पन्नताको अहंकार जस्तो देखिन्छ भने अर्को कोणबाट हेर्दा यो पुँजीवादी राजनीतिक शक्ति र सत्ताको संकट पनि हो ।
बाँकी अंश अर्को अंकमाः स्रोत  : रातो खबर साप्ताहिक
२०७४ चैत १६ गते अपरान्ह ६ : ३६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!