मुख्यमन्त्री शेरधन राईको घरमा जनअदालतको पुर्जी

 

 

काठमाडौँ : केन्द्रीय जनअदालत रोल्पाले एक नं. प्रदेशका मुख्यमन्त्री शेरधन राईको नाममा उनको भोजपुर जिल्ला थिदिंखा गा.वि.स. हाल आमचोक गाउँपालिका वडा नं. ३,पसल भञ्ज्याङमा रहेको निवास र नविास नजिकै रहेको शिक्षा ज्योती माध्यमिक विद्यालय पसल भन्ज्याङ र साविक गा.वि.स.को कार्यालय तथा हालको वार्ड कार्यालयमासमेत पुर्जी टाँस गरेको खबर प्राप्त भएको छ । रातोखबरलाई प्राप्त समाचारअनुसार शुक्रबार अर्थात चैत १६ गते अपरान्ह ४ : ३० मा राईको निवासमा उनको बाबु जागिरमान राईको उपस्थितिमा केन्द्रीय जनअदालतबाट जारी गरिएको उक्त पुर्जी टाँसिएको छ ।

पुर्जी टास गरेपछि बाबुको फोटो ।

केन्द्रीय अदालतको तर्फबाट प्रकाशद्वारा हस्ताक्षर गरिएको चिठीमा भनिएको छ–“जागिरमान राईको छोरा भोजपुर जिल्ला थिदिंखा गा.वि.स. हाल आमचोक गाउँपालिका वडा नं. ३ बस्ने तपाई शेरधन राईको विरुद्धमा केन्द्रीय जनअदालत रोल्पामा ‘२०७४ फागुन ६ गते विराटनगरमा हुन लागेको राष्ट्रिय युवा जन–स्वयमंसेवकको सार्वजनिक कार्यक्रममा मोरङ विराटनगरतर्फ जाँदै गर्दा नेपाल कम्युनिस्ट पार्टीका नेताहरु हेमन्त प्रकाश ओली ‘सुदर्शन’ एवं पदम राई र पार्टी सम्बद्ध थुप्रै युवाहरुलाई विराटनगरमा गिरफ्तार गरी झुट्ठा मुद्दा लगाएको र २०७४ चैत ५ गते नेकपाका कोशी ब्युरोका इन्चार्ज किरणराईलगायत थुप्रै नेताहरुलाई बिनाकारण गिरफ्तार गरी गैर कानुनी रुपमा धनकुटामा थुनामा राखेको’ भन्ने मुद्दा परेको हुँदा सो सम्बन्धममा आवश्यक अनुसन्धान भइरहेको र तपाईसमेतलाई बुझ्नु पर्ने भएकोले यो सुचना प्राप्त गरेको वा सार्वजनिक स्थानमा टाँस भएको मितिले १५ दिनभित्र केन्द्रीय जनअदालत रोल्पामा उपस्थित हुनका लागि सुचित गरिन्छ । तोकिएको समयमा उपस्थित नभएमा केन्द्रीय जनपरिषद नेपालको नीति नियम अनसुसार हुने कुराको जानकारी समेत गराइन्छ ।”  उक्त विषयलाई लिएर शनिबारका दिन प्रदेश नम्बर एक अन्तर्गत भोजपुर जिल्लामा सुरक्षा परिषदको बैठक बसिरहेको समाचार प्राप्त भएकोे छ ।
 २०७४ चैत १७ गते बिहान ११ : ३७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :