सुर्खेती क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको संक्षिप्त इतिहास

नेपालको कम्युनिस्ट आन्दोलन २००६ साल तदनुसार १९४९ अप्रिल २२ तारिखमा स्थापनासँगै देशका विभिन्न भागमा प्रभाव र विस्तार हुन सुरु गरेको त सबैलाई जगजाहेर नै छ । नेपाली कम्युनिस्ट आन्दोलन विभिन्न टुटफुट, विभाजन र उतारचढावका बीचवाट गुज्रँदै अगाडि बढ्यो । नेपाल कम्युनिस्ट पार्टीको तेश्रो महाधिवेशनबाट कम्युनिस्ट आन्दोलन विभाजन हुन सुरु भयो । दोश्रो महाधिवेशनसम्म पार्टी एकीकृत नै थियो तर रुसमा कमरेड स्टालिनको मृत्युपश्चात जब खुश्चेबले सर्वहारावर्गको पार्टीलाई हत्याएर र प्रतिक्रान्ति गर्यो, त्यसपछि संसारभर कम्युनिस्ट पार्टीहरू दुई धारमा विभाजन भए । एउटा लेनिन र स्टालिनले लिएको बोल्सेभिक क्रान्तिकारी धारा र अर्को खुश्चेबको संसोधनवादी धारा । २० औँ पार्टी कांग्रेसको महाधिवेशनमा खुश्चेबले शान्तिपूर्ण संक्रमणको सिद्घान्तलाई अँगालेपछि माओले रुसी पार्टीलाई असहमति जनाएर चिट्ठी लेख्नुभयो, त्यो महान् बहसको नामले चर्चित छ । त्यसपछि चिनियाँ क्रान्तिकारी धारा र रुसी संशोधनवादी धाराको बीचमा कम्युनिस्ट आन्दोलन धु्रवीकृत भयो । नेपालमा तत्कालीन संशोधनवादी धाराको नेतृत्व तुलसीलाल अमात्यले गरे भने क्रान्तिकारी धाराको नेतृत्व पुष्पलाल र मोहनविक्रमहरूले गरे र तेश्रो महाधिवेशनपछि नेपालको कम्युनिस्ट आन्दोलन विश्रृंखलित भयो र कैयौँ टुक्राटुक्रामा औपचारिक रूपमा विभाजित बन्न पुग्यो । २०२८ सालमा पूर्वमा कोशी प्रान्तीय समिति, को–अर्डिनेसन केन्द्र गठन गरेर झापामा वर्ग सत्रु सफाया अभियानको लाइन लिएर सामन्त र जमिनदारहरूको सफाया अभियान सुरु गरियो । केही क्रान्तिकारी युवाहरूको युवा जोश र स्पिरिट त ठीकै थियो तर क्रान्तिकारी र वैज्ञानिक कार्यदिशाबिना निम्न पुँजीवादी चरित्र र आदर्शबाट प्रेरित भएर आम जनतालाई विचार, राजनीति र संगठित रूपले तयार नगरीकन गरिएको विद्रोह निरंकुश पञ्चायती व्यवस्थाको दमनको अगाडि टिक्न सक्ने कुरै थिएन र टिकेन पनि । अर्कोतिर जेलबाट मोहनविक्रम र निर्मल लामालगायतका नेताहरू रिहाइ भएपछि केन्द्रीय न्युक्लिस बनाएर चौथो महाधिवेशनको तयारीमा लागे । देशव्यापी दौडाहा गरे र २०३१ सालमा चौथो महाधिवेशन सम्पन्न भयो । यसले देशव्यापी रूपमा संगठित रूप लिएर गयो । सुर्खेत जिल्लामा पनि कम्युनिस्ट पार्टीको स्थापना कहिले र कुन मितिमा भयो भन्ने कुरा विवादित नै छ । करिब २०३६/३७ सालको जनआन्दोलनपश्चात २०३८/३९ सालमा सुर्खेतमा चौथो महाधिवेशनका तत्कालीन ब्युरो सदस्य प्युठानी नेता क. राममणिको विशेष उपस्थितिमा मोती मिधुनको नेतृत्वमा कृष्ण धमला, केदार कँडेल, चुडामणि शर्मा, डिल्ली उपाध्यायलगायतको जिल्ला संगठन समिति वन्यो । तत्कालीन समयमा प्युठान निवासी जनव्यवसायिक माध्यमिक स्कुल वीरेन्द्रनगरमा अध्यापन गर्ने शिक्षक सिद्घिमानको पनि त्यस जिल्लामा पार्टी विस्तार गर्ने महत्वपूर्ण भूमिका थियो । त्यसपछि हरिभक्त कँडेल, सहिद क. विष्णु पोख्रेल, चितवन निवासी क. विलासजीहरूको उपस्थिति निरन्तर रूपमा रहयो । सिएमए क्याम्पस सुर्खेतमा अध्यापन गर्ने हेटाैँडा निवासी कुमार थापाको पनि पार्टी प्रभाव र विस्तार गर्नमा महत्वपूर्ण योगदान रह्यो । पोष्टबहादुर बोगटी (दिवाकर) ले त्यो क्षेत्रको वर्गसंघर्षको उठान गर्न निरन्तर नेतृत्व गरे ।

२०३१ सालमा एउटा चर्चित पोस्टर काण्ड घट्यो र पट्टुसिंह नेपाली, केदार कँडेललगायत धेरैको गिरफ्तारी, जेल हिरासत र भागदौडको शृंखला नै चल्यो । २०३५/३६ सालको जनआन्दोलनको सेरोफेरोमा अर्को चर्चित काण्ड भयो सुर्खेतको पूर्वी वेल्टका जनताहरू आफ्ना मागहरू लिएर शान्तिपूर्ण ढंगले वीरेन्द्रनगर आउँदै गर्दा दशरथपुर कृषि फार्ममा पुगेपछि दशरथपुर निवासी तत्कालीन जिल्ला विकास समितिका सभापति पञ्च तुलसीप्रसाद शर्माको आदेशमा गोली चलाइयो र ६ जनाको हत्या भयो जब कि त्यो बेला जनमत संग्रहको घोषणा भइसकेको थियो जनमत संग्रहको घोषणापश्चात गोली चलाइएको पहिलो जिल्ला सुर्खेत मात्रै थियो । २०३५/३६ को जनआन्दोलनपश्चात जिल्लामा पार्टी विस्तार गर्न निकै प्रतिस्पर्धा चल्यो । २०३५/३६ को आन्दोलनपश्चात केन्द्रीय विद्यार्थी आन्दोलनमा क. धर्मेन्द्र बास्तोला पनि होमिनु भयो । २०३९/४० सालतिर विद्यार्थी सम्मेलन र प्रशिक्षण गर्ने क्रम तीव्र गतिमै भएको छ । त्यसै सिलसिलामा तत्कालीन विद्यार्थी नेताहरू निमकान्त पाण्डे, पम्फा भूसाल, बलराम बास्कोटा, लेखराज भट्ट, हरि अधिकारी, चक्रपाणी लम्साल र विष्णु खनाललगायतका विद्यार्थी नेताहरूले जिल्ला दौडाहा लगाएका थिए । पार्टीभित्र त्यतिबेला पण्डित्नी प्रकरणको कारण दुईलाइन संघर्षको सुरुआत हुन्छ र २०४१ सालको महाधिवेशनमा जाँदा दुईवटा दस्तावेज प्रस्तुत हुन्छन्, एउटा मोहनविक्रम सिंहले मध्यपन्थी कमजोरीबारे र अर्को मध्यपन्थी कमजोरी कि गल्तीको ढाकछोप भन्ने किरणद्वारा प्रस्तुत दस्तावेज । पाँचौँ महाधिवेशनको लागि देशैभरी जिल्ला सम्मेलनहरू भए र महाधिवेशन भारतको अयोध्यामा भएको थियो । त्यतिबेला सुर्खेतबाट कृष्ण धमला, मोती मिधन र चूडामणि शर्माको प्रतिनिधित्व थियो । १३/१४ दिन चलेको त्यो महाधिवेशनमा अन्ततः किरणद्वारा प्रस्तुत दस्तावेज पारित भयो र मोहनविक्रम महाधिवेशन हलबाटै गलहत्याइए र पार्टी भित्रभित्र विभाजनतर्फ उन्मुख भइसकेको थियो र एक वर्ष नपुग्दै २०४२ सालमा औपचारिक रूपमा मोटो मशाल र पातलो मसालको रूपमा पार्टी विभाजित भयो । मोहनविक्रम सिंहले १ वर्ष नपुग्दै औपचारिक रूपमा पार्टी विभाजन भएको घोषणा गरे र उनलाई कार्वाही गर्दै २०४२ सालमा विस्तारित बैठकको आयोजना गरेर मोहनविक्रम सिंहमा व्यक्तिवादी अराजकतावादी प्रवृत्ति भएको संश्लेषण गर्यो । सुर्खेत जिल्लाबाट उक्त विस्तारित बैठकमा केदार कँडेलले प्रतिनिधित्व गरेका थिए, सुरुमा उनी संस्थापन पक्षतिर भएको नाटक गरे तर उनको सम्बन्ध र प्रवृत्ति चूडामणि शर्मासँग नजिक भएकाले उनी उतै लाग्छन् भन्ने आँकलन गरेका थियौँ नभन्दै त्यो सत्य प्रमाणित पनि भयो ।

त्यसपछि सुर्खेत जिल्लामा पनि फुट र विभाजन भयो र समितिको बहुमत अल्पमततिर गयो भने सिर्फ कृष्ण धमला मात्रै एकजना बहुमत पक्षमा रहे । कृष्ण धमलाको सेक्रेटरीमा केही समय एकल नेतृत्व बनाएर पार्टी कामलाई अगाडि बढायो । २०४५/४६ को जनअन्दोलनपश्चात देशमा अलि बढी खुकुलो परिस्थिति पैदा भयो र दलहरूका चलखेलहरू तीव्र भएर गए । आ–आफ्ना पार्टीका कार्यक्रमहरू गर्न त्यो बेला विविध दलहरूका बीचमा प्रतिस्पर्धा र होडबाजी नै चल्यो । २०४६ सालपछि विकेश श्रेष्ठको विशेष उपस्थितिमा क. मंगल विकको घरमा सेक्रेटरी कृष्ण धमलाको नेतृत्वमा क. मंगल विक र भद्र गुरुङ्गसहितको ३ सदस्यीय जिल्ला संगठन समिति बन्यो । जनआन्दोलनलाई राजा,कांग्रेस र वाम मोर्चाको साँठगाँठमा चैत २४ गते सम्झौता गरेर बीचमा तुहाइयो । संयुक्त राष्ट्रिय जनआन्दोलन जसमा ५ घटकहरू थिए, त्यसले सो सम्झौताको विरोध गर्यो, आफ्नो संघर्षलाई जारी राख्यो र देशैभरी संयुक्त राष्ट्रिय जनआन्दोलनको नामबाट सम्झौताको भण्डाफोर गर्दै आम सभाहरू सम्पन्न हुन थाले । सुर्खेतमा पनि सं.रा.ज. आन्दोलनको आमसभा राखिएको थियो, सुर्खेतमा अस्तित्वमा रहेका दुईवटा घटकहरू मशाल/मसालको संयुक्त कार्यक्रम बन्यो, सिनियर नेताको रूपमा सिपी गजुरेल आएको हुनाले उनी नै अन्तिम वक्ता बन्ने कुरा तय भयो, त्यो कुरानै मसालहरूलाई पचेको थिएन । प्रमुख वक्ताले बोल्दा बोल्दै गर्दा मसालका जिल्ला नेताहरूले होहल्ला गर्न खोजे तर असफल भए त्यो कार्यक्रममा खुसीराम पाख्रीनको सांस्कृतिक टिम गएको थियो, पाख्रीनको एउटा देशभक्ति गीतले सबैलाई मन्त्रमुग्ध बनाएको थियो । कांग्रस र एमालेहरूले संवैधानिक राजतन्त्र र बहुदलीय व्यवस्थाको वकालत गर्दे संसारको उत्कृष्ट संविधानको प्रचार गर्न थाले । भर्खर पञ्चायती व्यवस्था ढलेर सबै चीजको हल यही व्यवस्थाले नै गर्छ भनेर संसद्वादीहरूले जनतामा भ्रम फैलाउने षड्यन्त्र बढेर गयो त्यो भ्रमलाई चिर्न र क्रान्तिको लक्ष्य र उद्देश्यमा अगाडि बढ्नका लागि क्रान्तिकारीहरूको कमजोर शक्तिबाट मात्र सम्भव थिएन । त्यसकारण मालेमावाद मान्ने, नयाँ जनवादी क्रान्तिको न्यूनतम कार्यदिशामा सहमत हुने र महान् सर्वहारा सांस्कृतिक क्रान्तिलाई प्रस्थान विन्दु बनाउनुपर्ने कुरालाई आधार वनाएर पार्टी एकताको प्रक्रियालाई अगाडि वढाउने मान्यताका साथ ४ वटा पार्टीहरू ने.क.पा. (मशाल), ने.क.पा.(चौम), सर्वहारावादी श्रमिक संगठन र ने.क.पा. (मसाल) विद्रोही पक्ष र रूपचन्द्र बिष्टको पार्टी बाट विद्रोह गरेको एउटा सानो हिस्सासहित गरेर २०४७ सालमा पार्टी एकता संयोजन समिति बन्यो । पार्टी एकता संयोजन समिति सुर्खेत जिल्लामा क्रियाशील भएर गयो । पश्चिम क्षेत्रीय कमान्डको जिम्मा पोस्टबहादुर बोगटी (दिवाकर) लाई त्यो क्षेत्रको जिम्मा दिएपछि फेरि कामहरू व्यवस्थित ढंगले अगाडि बढे र सुर्खेत जिल्लाको समिति पुनर्गठन गर्दै पुनः कृष्ण धमलाको सेक्रेटरीमा मंगल विक, भद्र गुरुङ्ग, लोकप्रसाद पन्त, चित्रबहादुर चौधरीसमेतको जिल्ला संगठन समिति बन्यो र विविध कार्यक्रमलाई अगाडि बढाउँदै लग्यो । जिल्लामा भएका साथीहरू आ–आफ्नो पेशा व्यवसायमा भएकाले पार्टी कामको चापले गर्दा धान्ने स्थिति बनिरहेको थिएन । त्यसैले काठमाण्डौमा विद्यार्थी संगठनलगायतको जिम्मेवारीमा रहनुभएका क. धर्मेन्द्र बास्तोलालाई पार्टी केन्द्रसँग सल्लाह गर्दै सुर्खेत जिल्लामा स्थानान्तरण गर्ने काम भयो र पार्टीका कामहरू गतिमा जान थाले । ने.क.पा. (एकता केन्द्र) को राट्रिय एकता महाधिवेशनका लागि जिल्ला–जिल्लामा सम्मेलन गर्ने तय भएअनुरूप सुर्खेत जिल्लामा पनि पहिलो जिल्ला सम्मेलनको तयारीका कामहरू सुरु भयो । २०४८ सालमा क. किरणको प्रमुख आतिथ्यतामा र विशेष उपस्थितिमा हरिभक्त कँडेल थिए । जम्मा २० जनाको प्रतिनिधित्व भएको त्यो सम्मेलनले क. धर्मेन्द्र बास्तालोको सेक्रेटरीमा ५ सदस्यीय जिल्ला समिति चयन गर्यो । उक्त सम्मेलन तत्कालीन वीननपा १ नं स्थित तीनकुने आम्डाली खोला नजिकै एकजना किसानको घरमा सम्पन्न भएको थियो । सदस्यहरूमा कृष्ण धमला, मंगल विक, लोकप्रसाद पन्त र भद्र गुरुङ्गहरू चयन भए । सम्मेलनले बहुमतको दस्तावेजको लाइन गाउँबाट सहर घेर्ने दीर्घकालीन जनयुद्घको लाइनलाई समर्थन गर्यो र महाधिवेशनको प्रतिनिधिमा क. धर्मेन्द्र बास्तोला, कृष्ण धमला, मंगल विक र लोकप्रसाद पन्त चयन भए र महाधिवेशन प्रतिनिधिमा धर्मेन्द्र बास्तोला, कृष्ण धमला, मंगल विक र लोकप्रसाद पन्त गरी ४ जनालाई प्रतिनिधित्व गर्ने निर्णय गर्यो । संयुक्त जनमोर्चा नेपालको जिल्लाको अध्यक्षमा क. धर्मेन्द्र बास्तोला र सचिवमा लोकप्रसाद पन्तलाई चयन गर्ने निर्णय गर्यो र सं.ज.मो.का वैधानिक कार्यक्रमहरू निरन्तरतामा अगाडि बढे । राष्ट्रियता, जनतन्त्र र मागहरू लिएर सडक संघर्षका कार्यक्रमहरू सशक्त किसिमले संचालन भए । जिल्लामा एउटा अवलचिङ्ग सांस्कृतिक परिवार पनि गठन भयो र त्यो जनयुद्घको पहलसम्म निरन्तर क्रियाशील भयो । राष्ट्रिय एकता महाधिवेशन सम्पन्न भयो त्यसले सहरबाट गाउँ घेर्ने दीर्घकालीन जनयुद्घको लाइन बहुमतद्वारा पारित गर्यो । २०५० सालतिर जिल्लामा सुर्खेत पोष्ट साप्ताहिक पत्रिका प्रधान सम्पादक क. धर्मेन्द्र बास्तोलाको नामबाट पत्रिका संचालनमा आयो । त्यसले पनि क्रान्तिकारी विचारलाई र प्रारम्भिक वर्गसंघर्षका कार्यक्रमहरूलाई स्थापित गर्न ठूलै भूमिका खेल्यो । २०५०÷२०५१ र जनयुद्घ सुरु हुनुभन्दा अघिसम्म शिक्षा क्याम्पस, बहुमुखी क्याम्पसहरूमा विद्यार्थीसँग अन्तरक्रिया, छलफल, बहस र संगठन निर्माणका अभियानहरू तीव्र रूपले चलेका थिए । कलेजका विद्यार्थीहरूका पिकनिक कार्यक्रमहरू पनि गरिए र छोटै समयमा स्व.वि.युमा हाम्रो विद्यार्थी संगठनले प्रतिस्पर्धा पनि गर्यो ।

२०५१ सालतिर अवलचिङ्ग सांस्कृतिक परिवारले जिल्लाव्यापी रूपमा सांस्कृतिक र भण्डाफोर अभियान चलायो, विशेष गरेर पूर्वी भेरी बेल्टमा । त्यो सांस्कृतिक टिममा हिमाल, दान सिंङ्ग, शंकर नेपालीलगायतको भाइबहिनीहरूको सशक्त टोली थियो, जसलाई नेपालगंजका डान्स कलाकारले सुर्खेत भ्यालीभित्र तीनकुनेको एउटा किसानको घरमा राती राती महिनौँ लगाएर तालिम दिएका थिए । पूर्वी भेरी बेल्टमा भरत प्रसार्इं र चित्रबहादुर वली धेरै सक्रिय थिए । एउटा रोचक सांस्कृतिक अभियानको घटना पूर्वी भेरी बेल्टको धेरै ठाउँको कार्यक्रमहरू सकेर रामघाटको चित्रबहादुर वलीको घर नजिकैको स्कुलमा सांस्कृतिक कार्यक्रम राखिएको थियो । कार्यक्रमको मध्यभागतिर एमालेका कार्यकर्ताहरूले जाँडरक्सी खाएर आक्रमण गरे र माइकलगायत वाद्यवादनका सामानहरू तोडफोड गरे र चित्रबहादुर वलीलाई लड्न आइज भनेर खुल्ला हाँक दिइरहेका थिए जब कि चित्रजी उनीहरूकै बीचमा उभिरहनुभएको थियो तर उहाँलाइ केही गर्न सकिरहेका थिएनन्, अरू सबै भागाभाग गरे र मैले एम्पिलीफायर र ब्याट्री हुलहालको बीचवाट जोगाएको थिए । ब्याट्रीको एसिड मेरो नयाँ पैन्टमा पोखिएर काम नलाग्ने भएको थियो । त्यो घटनालाई लिएर सं.ज.मो.ले अदालतमा मुद्दा दायर गर्यो र करिब एक डेढ वर्षपछि सं.ज.मो.को पक्षमा फैसला गरेको थियो । २०५१ र २०५२ को वर्षेभरी सं.ज.मो.को तर्फबाट आन्दोलनका कार्यक्रमहरू घोषणा भयो र जिल्लामा ती सबै कार्यक्रमलाई सम्पन्न गरिए र सांस्कृतिक कार्यक्रमअन्तर्गत केन्द्रीय सामना परिवार र स्थानीय सांस्कृतिक टिमको संयुक्त रूपबाट टिकट सो कार्यक्रम भव्यरूपमा सफल भएका छन् । एकाध कार्यक्रममा मणि थापा पनि सहभागी भएका थिए । कलाकार कन्हैया सिंह परियार र अञ्जना गुरुङ्गहरूले समग्र भेरी–कर्णाली क्षेत्रको र सुर्खेतको सांस्कृतिक अभियान र टिकट सो कार्यक्रम र त्यहाँको आन्दोलन र वर्गसंघर्षलाई नयाँ उचाइमा उठाउन अग्रणी भूमिका खेलेका थिए । महान् जनयुद्घको पहलकदमीको सन्दर्भमा रोल्पा, रुकुम, जाजरकोट, सिन्धुलीलगायतका अग्रभागका जिल्लाहरूमा सामन्त र जाली फटाहाका विरुद्घ वर्गसंघर्ष सुरु भइसकेको थियो र लडाकु टिमहरूले सेनाको भ्रुणको रूपमा विकास गरिरहेका थिए र त्यसका तालिम प्रशिक्षणहरू देशैभरी संचालन र व्यवस्थापन भइरहेका थिए ।

सुर्खेत जिल्लामा पनि एक हप्ते तालिम रामघाटस्थित चित्रकै घर नजिकैको बारीमा केन्द्रीय लडाकु टिमको बर्दियाको चौधरी साथीले गराउनुभयो र क्याम्पिङ्ग बाहिरै बारीमै गरेका थियौँ, जे होस्, कुनै वाधा–व्यवधान उक्त कार्यक्रम सम्पन्न भएको थियो । पार्टीभित्र दुईलाइन संघर्ष तीव्र भइरहेको थियो र अब पार्टी विभाजनतर्फ उन्मुख भइरहेको थियो । सुर्खेत जिल्लामा दुईलाइन संघर्षको प्रभाव थिएन । २०५१ को तेश्रो विस्तारित बैठकपछि सेक्रेटरी क. धर्मेन्द्र बास्तोला अन्तर्राष्ट्रिय विभागको जिम्मेवारीमा जाने निर्णय भएपछि पुनः कृष्ण धमला सेक्रेटरीमा रहनेगरी पार्टी पुनर्गठन भयो । जनयुद्घमा जाने या नजाने दुईलाइन संघर्षले उत्कर्ष रूप लिएपछि निर्मल लामाहरू पार्टीबाट अलग भए र २०५१ म चितवनमा राष्ट्रिय सम्मेलन सम्मेलन सम्पन्न भएपश्चात सुर्खेत जिल्लामा क. पूर्णा सुवेदीको सेक्रेटरीमा पार्टी पुनर्गठन भयो । यसै साल जिल्लाको बैठक र प्रशिक्षण हात्तीखाल भन्ने ठाउँमा भयो । उक्त बैठक र प्रशिक्षण कार्यक्रममा केन्द्रको तर्फबाट क. दण्डपाणि शर्माको प्रमुख उपस्थिति थियो । स.ज.मो. पनि पुनर्गठन भयो र अध्यक्षमा विष्णु खनाल भए । २०५२ साल फागुन १ गते महान् जनयुद्घको शंखघोष भयो र तत्कालीन सरकारले भीषण किलो सेरा टु अप्रेसनले भीषण दमन गर्यो र लगत्तै जिल्लामा पार्टीको पुनर्गठन भएर २०५२ सालमा सहिद क. विष्णु पोख्रेल सेक्रेटरी हुनुभयो र सं.ज.मो. पनि पुनर्गठित भएर क. पूर्णा सुवेदीलाई अध्यक्ष बनाउने निर्णय ग¥यो । २०५४ सालको माघ महिनामा सुर्खेत–दैलेख–जाजरकोट जिल्लालाई मिलाएर एउटै जिल्ला बनाएपछि संयुक्त जिल्लाको सेक्रेटरी भक्तबहादुर शाह (उद्घव) भए भने इन्चार्जमा शक्तिबहादुर बस्नेत (सुरेश सिंह) भए । २०५४ साल चैत २७ गते लेखफार्साको लेकमा गणेश न्यौपाने र डिला थापाको हत्या भयो र सुर्खेत जिल्लाको प्रथम सहिद क. गणेश न्यौपाने हुनुभयो ।

२०५५ सालको भदौमा पुनर्गठन भएर सुर्खेत–दैलेखको संयुक्त जिल्ला बनेपछि इन्चार्ज शक्ति बस्नेत र सेक्रेटरी मायाप्रसाद शर्मा (आयाम) भए भने अन्य सदस्यहरूमा कृष्ण धमला, प्रकाश सुवेदी, ऋषिराज गौतम, पूर्णा सुवेदी, चित्र वली, डम्बर रावत, उदय चलाउने, सत्य पहाडी, गुमान सिं राना, सत्यदेव शर्मा, पूर्णप्रसाद शर्मा र सोही मंसिर महिनामा झकबहादुर मल्ल, वीरबहादुर खड्का र नरबहादुर बिष्टलगायत थप भए । २०५५ सालमा ने.क.पा.(मसाल) का सचिव ऋषि गौतमको नेतृत्वमा विद्रोह गरेर ने.क.पा. (माओवादी) मा समाहित हुन आइपुगे ।

दोश्रो राष्ट्रिय सम्मेलनपछिको जिल्लाको संगठनात्मक स्थिति

पार्टीको ऐतिहासिक दोश्रो राष्ट्रिय सम्मेलनपछि पश्चिम क्षेत्रीय ब्युरोअन्तर्गत भेक क्षेत्रीय उपब्युरोको निर्णयअनुसार २०५७ चैतमा सुर्खेत र दैलेख जिल्लालाई अलग अलग जिल्ला समिति बनाउने निर्णयअनुसार जिल्लामा इन्चार्ज क. सरला रेग्मी (अनु) र सेक्रेटरीमा ऋषि गौतम (राहुल) भएको ११ सदस्यीय जिल्ला समिति बन्यो । यो समितिले जिल्लामा पार्टीको विकास र सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेल्यो र पुनः २०५९ कार्तिकमा पार्टी पुनर्गठन भएर ऋषि गौतम (राहुल) इन्चार्ज र सेक्रेटरी रामदीप आचार्यको नेतृत्वमा १७ सदस्यीय जिल्ला समिति निर्माण भयो । २०६० सालको असारमा इन्चार्ज ऋषि गौतम (राहुल) र सेक्रेटरी झकबहादुर मल्ल (सुदीप) को नेतृत्वमा ३५ सदस्यीय जिल्ला समिति पुनर्गठन भयो र सेक्रेटरी झकबहादुर मल्ल (सुदीप) जनमुक्ति सेनामा स्थानान्तरण भएपछि सोही सालको माघमा इन्चार्ज ऋषि गौतम (राहुल) र सेक्रेटरीमा विन्दमान बिष्ट (रविकिरण) को नेतृत्वमा ५१ सदस्यीय जिल्ला समिति पुनर्गठन भयो । २०६२ सालमा चुनबाङमा पार्टीको विस्तारित बैठक भयो र पार्टीको सुदृढीकरण अभियान भन्दै विवादास्पद कार्यनीति लोकतान्त्रिक गणतन्त्रको कार्यनीतिक लाइन पास गरियो । त्यसपछि २०६२ मंसिरमा इन्चार्ज नारायण दाहाल (सरल) र सेक्रेटरी ऋषि गौतम (राहुल) को नेतृत्वमा १९ सदस्यीय जिल्ला समिति पुनर्गठन भयो । चुनबाङको लोकतान्त्रिक गणतन्त्रको कार्यनीतिअनुसार संसद्वादी दलहरूसँग संयुक्त मोर्चा गर्ने नीति पार्टीले लियो भने संसद्वादी दलहरूको आन्दोलनले गति लिइरहेको थिएन । आ–आफ्नो ठाउँबाट ज्ञानेन्द्रको निरंकुशताका विरुद्घ संघर्ष गर्ने समझदारीअनुसार पछि मात्र २०६२÷६३ को जनआन्दोलनले उत्कर्षको रूप लिँदै गयो र संसद्वादी दलहरूसँग भारतमा विवादास्पद १२ बुँदे समझदारी भएपछि जनयुद्घको जगमा १९ दिने आन्दोलनले २४० बर्से राजतन्त्र गल्र्यामगुर्लुम ढल्यो ।

२०६२÷६३ को जनआन्दोलनपश्चात २०६३ मंसिरमा इन्चार्ज कृष्ण धमला (गम्भीर) र सेक्रेटरी भीमबहादुर मल्ल (सुवास) को नेतृत्वमा ६१ सदस्यीय जिल्ला समिति पुनर्गठन भयो । २०६३ सालको साउनको महिनामा बालाजुमा पाँचौँ विस्तारित बैठक भयो र दुईलाइन संघर्षको बीउ यहाँबाटै सुरु भएको थियो । प्रचण्डको विरुद्घ पहिलो पटक कार्यशैलीको बारेमा क. विप्लवले आवाज उठाउनुभयो र प्रचण्डले यो विस्तारित बैठकमा प्रस्तुत गरिएको दस्तावेज सुरक्षाको कारण भन्दै तल्ला समितिमा जान रोकेका थिए । २०६४ सालको भदौ महिनामा इन्चार्ज कृष्ण धमला (गम्भीर) र सीता नेपाली (रक्षा) को नेतृत्वमा ७५ सदस्यीय जिल्ला समिति पुनर्गठन भयो । २०६४ सालको पुसमा संविधानसभा निर्वाचनको प्रयोजनका लागि संयोजक ऋषि गौतम (राहुल) र सेक्रेटरीमा कृष्ण जि.सि. (जितेन्द्र) को नेतृत्वमा १७५ सदस्यीय जिल्ला समिति पुनर्गठन भयो र सुर्खेतमा संविधानसभाको चुनावको पक्षमा व्यापक लहर सृजना भयो तर केन्द्रबाट बितरण गरिएको टिकटमा केही पात्र र प्रवृत्तिहरूले षड्यन्त्र गरे र त्यसको असर जनता तहसम्म पर्यो र अपेक्षित सफलता हासिल हुन सकेन । यसै संविधानसभाको चुनावको पूर्व–सन्ध्यामा ने.क.पा.(एमाले) बाट देवेन्द्र बिसी, चक्रपाणि शर्मा, माधव ढकाललगायतको नेतृत्वमा विद्रोह गरेर ने.क.पा. (माओवादी) मा समाहित हुन आइपुगे । २०६५ सालमा ने.क.पा. (माओवादी) र तत्कालीन एकता केन्द्र मसालसँग पार्टी एकता भएपछि इन्चार्ज÷सेक्रेटरी कृष्ण धमला (गम्भीर) को नेतृत्वमा पार्टी पुनर्गठन भयो । त्यतिबेला एउटा रोचक घटना घट्यो । नेतृत्वले इन्चार्जमा कृष्ण धमलालाई प्रस्ताव ग¥यो भने सेक्रेटरीमा ७÷८ जनालाई पालैपालो प्रस्ताव गरियो तर सेक्रेटरी कोही पनि हुन मानेन र अन्तमा इन्चार्ज÷सेक्रेटरी दुवै पदमा कृष्ण धमलालाई नियुक्ति गरिएको थियो यो सुर्खेत जिल्लाको इतिहासमा एउटा नयाँ आयाम थियो । २०६६ साल माघ २६ गतेका दिन ऋषि गौतम (राहुल) को रहस्यमय ढंगले कांक्रेविहार यातायात समितिको बसले किचेर उहाँको हत्या भयो । २०६६ सालको जेठ महिनामा इन्चार्ज कृष्ण धमला, सहइन्चार्ज कृष्ण जिसी, सीता नेपाली, बालाराम सुनार सेक्रेटरी भीमबहादुर मल्ल र सह–सेक्रेटरी जितबहादुर राना रहेको २११ सदस्यीय जिल्ला समिति पुनर्गठन भयो । राष्ट्रपति रामवरण यादवले नागरिक सर्वोच्चताका विरुद्घ असंवैधानिक कदम चालेपछि माधव नेपालको सरकारको विरुद्घ सडक आन्दोलनको सुरुआत भयो, यसको उत्कर्षमा २०६७ साल वैशाख १८ देखि २४ सम्म ६ दिने आम हडतालमा सदरमुकाम वीरेन्द्रनगरमा १० औं हजार जनसमुदायको दैनिक प्रदर्शनको नेतृत्व गर्यो ।

पार्टीले अब विद्रोहको नेतृत्व लिनुपर्ने कुरामा पार्टीभित्र संघर्ष चलिरहेको अवस्थामा विद्रोहको रिहर्सलको रूपमा यो सडक संघर्षलाई अगाडि बढाइएको थियो, प्रचण्डले आँखामा छारो हाल्नको लागि नौटंकीस्वरूप यो सडक संघर्षको मञ्चन गरेका थिए र यथार्थमा केन्द्रीय सत्ता कब्जा गर्ने कि नगर्ने भन्ने विषयमा पार्टीभित्र दुईलाइन संघर्ष तीव्र बनिरहेकै अवस्थामा २०६५ सालको मंसिरमा राष्ट्रिय भेलाको आयोजना भयो र त्यो भेला दुईलाइन संघर्षको उत्कर्षमा पुग्यो र भेलामा प्रचण्ड र किरणबाट छुट्टा–छुट्टै दुईवटा दस्तावेज प्रस्तुत भए । प्रचण्ड लोकतान्त्रिक गणतन्त्र अर्थात् संसदीय व्यवस्थाभन्दा बाहिर नजाने उनको लाइन थियो तर किरणको लाइन विद्रोहमार्फत जनवादी क्रान्ति पूरा गर्नुपर्ने तर्कले बहसले तीव्र रूप लियो । अन्ततः प्रचण्ड पछाडि हटे र सम्झौता गर्न पुगे र सम्झौताको दस्तावेज निर्माण भयो ।

नयाँ जनवादी क्रान्तिलाई पूर्णता दिनको लागि अब पुरानो कार्यनीति पूरा भइसकेको सन्दर्भमा अब नयाँ कार्यनीतिको विकास गर्नुपर्छ भन्ने कुरामा पार्टी दुईलाइन संघर्षले तीव्र रूप लियो र २०६७ साल मंसिर महिनामा गोर्खाको पालुङटारमा छैठाैँ विस्तारित बैठकको आयोजना भयो । पालुङटारमा ३ वटा दस्तावेजहरू प्रस्तुत भए प्रचण्ड,किरण र बाबुराम भट्टराईबाट । १ हप्तासम्म बहस भयो र कुनै पनि दस्तावेजहरू पारित हुन सकेनन् । हेडक्वार्टरबाट प्रस्तुत भएको दस्तावेज पारित नभएको सायद विश्वकै कम्युनिस्ट आन्दोलनमा यो नै पहिलो घटना थियो । त्यतिबेलासम्म जनमुिक्त सेना नेपाल विघटन भइसकेको थिएन र क्रान्तिकारीहरूको मुख्य दायित्व ज.मु.से. लाई कसरी बचाउने भन्ने एउटै उद्देश्य रह्यो र त्यसअनुसार किरणले पेश गरेको जनयुद्घको जगमा जनविद्रोको लाइनलाई अगाडि सारिएको थियो र पालुङटारको विस्तारित बैठकपछि जिल्लामा सिङ्गो पार्टी विभक्त हुन पुग्यो, एउटा प्रचण्डको दक्षिणपन्थी लाइन र अर्को किरणको लाइन । किरणको लाइनमा तत्कालीन पिविएम क. धर्मेन्द्र बास्तोला, जिल्ला इन्चार्ज कृष्ण धमला, मंगल वि.क.लगायतको ठूलो टिम क्रान्तिकारी लाइनमा उभियो भने प्रचण्डको दक्षिणपन्थी लाइनमा कृष्ण जिसी, भीमबहादुर मल्ल, सीता नेपालीलगायतको टिम खडा भयो । विस्तारित बैठकको म्यान्डेटअनुसार केन्द्रीय समितिको बैठकले जनयुद्घको जगमा जनविद्रोहको लाइन पास ग¥यो ।

तर छिट्टै प्रचण्ड–बाबुरामको लाइन संविधानसभामार्फत् संविधान निर्माणको लाइनमा उभिए र जनयुद्घको जगमा जनविद्रोहको लाइन यथार्थमा उनको नौटंकी मात्र थियो भन्ने कुरा छर्लङ्गै हुन धेरै समय लागेन । र, अब पार्टीभित्र दुईलाइनले चर्को रूप लिँदै गयो र प्रचण्डलाई रूपान्तरण गर्ने सम्भावना क्षीण हुँदै गएपछि पार्टीमा अब नयाँ ढंगले सोच्नुपर्छ भन्ने कुरामा बहस तीव्र बनेर गयो र पार्टीभित्र पार्टीको समानान्तर समितिको अवधारणालाई अगाडि बढाइयो । २०६८ साल फागुन महिनामा पार्टीको सुर्खेत जिल्लास्तरीय भेला मैनतडा गाविसमा प्रमुख अतिथि क. विप्लव र अन्य कमरेडहरू हरिभक्त कँडेल, पारसमणि र रणवीरको उपस्थितिमा भेला सम्पन्न भयो । सो भेलाले इन्चार्जमा क. गम्भीर, सह–इन्चार्जमा क. हिमाल र सेक्रेटरीमा ठम्मर बिष्ट (संगीन) रहेको क्रान्तिकारी विचार समूहको समानान्तर जिल्ला समिति घोषणा भयो । तत्कालीन बाबुराम भट्टराईको सरकारले मधेसवादी दलहरूसँग ४ बुँदे राष्ट्रघाती सम्झौता, जनमुक्ति सेनाको विघटन, बिप्पा सम्झौता, सुपुर्दगी सन्धि, सुकुमबासी वस्तीमा डोजर लगाउने र ऐतिहासिक पहिलो संविधानसभालाई विघटन गर्ने वर्गीय आत्मसमर्पणवादी कदमका कारण र प्रचण्डको राष्ट्रिय आत्मसमर्पणवादी विचलनले गर्दा २०६९ साल असार २–४ सम्म काठमाण्डौको बौद्घमा राष्ट्रिय भेलाबाट पार्टी विभाजन भएर ने.क.पा.–माओवादीको पुनर्गठन भयो ।

ने.क.पा.–माओवादीको पुनर्गठनपश्चात २०६९ साल साउनमा जिल्ला पुनर्गठन भएर इन्चार्जमा क. मंगल वि.क., सह–इन्चार्ज बालाराम सुनार, सेक्रेटरीमा ठम्मर बिष्ट, सह–सेक्रेटरीमा प्रशान्त आरसी र खड्क बास्पाने रहेको २३१ सदस्यीय रहेको जिल्ला संगठन समिति निर्माण भयो भने २०६९ असोजमा क. धनबहादुर वि.क., सह–इन्चार्जमा थप भए । जिल्ला संगठन समितिले २००० भन्दा बढी पार्टी सदस्यता नवीकरण गरेर ज.व.स.÷मोर्चाका जिल्ला भेला र सम्मेलनमार्फत संगठन निर्माणका कामहरू तीव्र रूपमा भएर गए । सातौँ राष्ट्रिय महाधिवेशनका लागि २०६९ साल कार्तिक ८ र ९ गते जिल्ला अधिवेशन सम्पन्न भयो । २०६९ साल मंसिर १० र ११ गते सुर्खेतमै राज्य अधिवेशन सम्पन्न भयो भने प्रमुख अतिथिमा देव गुरुङ्गको उपस्थिति रहेको थियो । राज्य अधिवेशनले प्रतिनिधि र पर्यवेक्षकको चयन ग¥यो । महाधिवेशन प्रतिनिधि १० र पर्यवेक्षक २१ जनाको छनौट पनि भयो र २०६९ माघमा इन्चार्ज मंगल वि.क.लाई केन्द्रीय जवसमा पठाउने निर्णयअनुसार उहाँको ठाउँमा क. बालाराम सुनारलाई इन्चार्जको जिम्मा दिने निर्णय भयो ।

ठम्मर बिष्ट (संगीन) मा विचलन आएर माकेमा प्रवेश गरेपछि २०६९ साल चैत १३ गते प्रशान्त आरसीलाई सेक्रेटरीमा चयन गर्यो भने २०७० साल वैशाखमा जेबी सुनारलाई सह–इन्चार्जमा थप गर्ने निर्णय गर्यो । संसद्वादी दलहरूले प्रधानन्यायाधिस खिलराज रेग्मीको नेतृत्वमा विशेषतः प्रचण्डको योजनामा दोश्रो संविधानसभाको घोषणा गरियो र संसद्वादीहरूले भन्ने गरेको शक्ति पृथकीकरणको सिद्घान्तको कुरालाई राम्रैसँग धज्जी उडाए र हामीले दोश्रो संविधानसभाको चुनाव जनतालाई अधिकारविहीन बनाउने देसी–विदेशी र साम्रज्यवादी षड्यन्त्रका विरुद्घ बहिष्कार गर्ने नीतिलाई अगाडि सार्यो र १० दिने यातायात हडतालको घोषणा पनि भयो । २०७० साल साउन महिनामा इन्चार्ज चक्रपाणि शर्मा, सह–इन्चार्ज धनबहादुर वि.क., जे.वि.सुनार, खगेन्द्र राना, दान सिं सुनार र सेक्रेटरीमा प्रशान्त आर.सी., सह–सेक्रेटरी ईश्वरभक्त सुनार, माधव ढकाल र खडक वि.क. रहेको २३१ सदस्यीय जिल्ला समिति पुनर्गठन भयो । कथित दोश्रो संविधानसभाको भण्डाफोर र सडक संघर्षको कार्यक्रमहरू निर्दलीय सरकारका विरुद्घ कार्यक्रमहरू केन्द्रित भयो । बहिष्कार आन्दोलन सशक्त बन्दै जाँदा त्यसबाट आतंकित भएर सह–इन्चार्ज दान सिं सुनार र सह–सेक्रेटरी खडक वि.क. पार्टीबाट पलायन भएर गए ।

पार्टी सुदृढीकरण कार्यक्रमअन्तर्गत पार्टी सदस्यता नवीकरण, वडा, गाउँ र नगर भेलामार्फत पार्टीलाइ सुदृढ गर्ने अभियान संचालन भयो र यसै समितिलाई १६१ सदस्यीय जिल्ला सम्मेलन आयोजक समितिमा बदल्दै २०७० साल चैत १५ र १६ गते तेश्रो जिल्ला सम्मेलन सम्पन्न भयो । सम्मेलनले चक्रपाणि शर्माको सेक्रेटरी भएको जिल्ला समिति निर्माण गर्यो ।

स्रोत : रातो खबर साप्ताहिक
२०७४ फागुन १८ गते बिहान १० :  ३१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :