अन्तत: सलमान खानको कार्यक्रम स्थगित / यस्तो छ कारण

काठमाडौं : सलमान खानको उपस्थितिमा हुने भनिएको दब्याङ्ग टुर कार्यक्रम स्थगित भएको छ । कार्यक्रम तोकिएको दिनमा नहुने बारे आयोजक संस्था ओडिसले बताएको छ । फागुन २६ गते काठमाडौंको टुँडिखेलमा हुने भनिएको सलमान खानको दब्याङ्ग द टुर नेपाल स्थगित हुनुको कारण बारे औपचारिक जानकारी दिन प्रेस विज्ञप्ति जारी गर्ने बताइएको छ ।

नेपाली सेनाले सैनिक मञ्चमा नेपालका राजनीतिक दलहरुलाई कुनै खुला कार्यक्रम गर्न नदिएको तर त्यस्तो संबेदनशील ठाउँमा भारतीय कलाकारहरुलाई नचाउने कुरा कुनै पनि स्वाभिमानी नेपालीलाई पाच्य नहुने र त्यसले नेपाली राष्ट्रियतामा खलल पुर्याएको भन्दै नेकपानिकट जनसांस्कृतिक महासंघका महासचिव खेम थपलियाले विज्ञप्ति जारी गर्दै कार्यक्रम नगर्न आयोजकलाई चेतावनी दिएका थिए ।

कार्यक्रम हुने निश्चित भएको भन्दै सलमानका भाइ तथा आयोजक समेत रहेका सोहेल खानले काठमाडौंमा पत्रकार सम्मेलन समेत आयोजना गरेका थिए । केही दिनअघि नेपाल कम्युनिस्ट पार्टीले कार्यक्रम हुन नदिने चेतावनी दिएको थियो ।

तर ओडिसीमा सम्पर्क गर्दा कार्यक्रम रद्द नहुने बताइएको थियो । तर हाल सलमानले उक्त चेतावनीलाई कारण देखाएर संदेश लेख्नु नै कार्यक्रम स्थगित हुनुको मुख्य कारण रहेको बताइएको छ ।

आयोजकका अनुसार कार्यक्रमको मुख्य उदेश्य विनाशकारी भुकम्प र नाकाबन्दी पछि नेपालको पर्यटन क्षेत्रमा परेको नकारात्मक प्रचारलाई कम गर्नु थियो । कार्यक्रममा सलमानसँगै नायिका सोनाक्षी सिंहा, कृति सेनन, कोरियोग्राफर तथा चर्चित अभिनेता प्रभु देवा, डेजी शाह, मिट ब्रदर, मनिष पावलको प्रस्तुति रहने बताइएको थियो ।


२०७४ फागुन १८ गते दिउँसो २ : १८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :