एमसीसी खारेजीको माग गर्दै चार कम्युनिस्ट पार्टीले भोलि देशब्यापी प्रदर्शन गर्ने

एमसीसी खारेजीको माग गर्दै चार कम्युनिस्ट पार्टीले भोलि देशब्यापी प्रदर्शन गर्ने

काठमाडौँ :  क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालसहित चार कम्युनिस्ट पार्टीद्वारा भोलि राष्ट्रघाती एमसीसीविरूद्ध देशब्यापी रूपमा संयुक्त विरोध प्रदर्शन गर्ने भएका छन् ।

सोमबार क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष  किरण, नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषी कट्टेल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव आहुतीले संयुक्त प्रेस विज्ञप्ति निकाली राष्ट्रघाती एमसीसी खारेज गर्न जोडदार माग गरेका हुन्। साथै उक्त पार्टीले राष्ट्रघाती एमसीसी खारेजीको माग गर्दै भदाै १३ गते देशब्यापी संयुक्त विरोध प्रदर्शन र काठमाडाैँ उपत्यकामा माइतिघर मण्डलाबाट दिउँसो ३ बजे संयुक्त विरोध प्रदर्शन गर्ने घोषणा गरेका छन्।

चार कम्युनिस्ट पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘साम्राज्यवादी संयुक्त राज्य अमेरिकाकाे एमसीसी परियोजना नेपालमा लागू गर्ने दृष्टता गरेदेखि नेपाली जनताले खारेजीको मागसहित ठुलाठुला सङ्घर्ष गर्दै आएकाे छ । अहिले फेरी एमसीसी परियोजनाका प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबीच आगामी ५ वर्षभित्र कार्यान्वयन गरीसक्ने सहमतिमा भदाै १३ गते हस्ताक्षर गर्ने षड्यन्त्रप्रति हामी चार क्रान्तिकारी कम्युनिस्ट पार्टीको गम्भीर ध्यान आकर्षण भएको छ । यस कार्यकाे हामी घोर निन्दा एवम् भत्सना गर्दछाैँ । आन्दोलनको क्रममा गिरफ्तार क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सदस्य कमरेड टोगप्रसाद उपाध्याय लगायत अन्य नेता कार्यकर्ताको सिघ्र रिहाइको माग गर्दछाैँ ।’

चार पार्टीद्वारा जारी विज्ञप्तिमा अगाडि भनिएको छ, ‘भदाै १३ गते सहमतिमा गरिने हस्ताक्षरविरूद्ध नेपालका क्रान्तिकारी कम्युनिस्ट पार्टी, वामपन्थी, लोकतन्त्रवादी, देशभक्त शक्ति र आम नेपाली जनता फेरी आन्दोलनमा उत्रिएका छन् । आन्दोलनकारी शक्ति र नेपाली जनताको माग एमसीसी परियोजना खारेजी गर्नेछ । हामी चार पार्टी ५ वर्षभित्र एमसीसी परियोजना लागू गरीसक्ने सहमतिमा ल्याप्चे ठोक्ने होइन की, नेपाल सरकारसँग खारेजीको जोडदार माग गर्दछाैँ ।’

जारी विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘यसर्थ हस्तक्षेपकारी एमसीसी परियोजना जनसङ्घर्षको बलमा खारेजी गर्न आम देशभक्त नेपाली जनतालाई सडकमा उत्रिन अपिल गर्दै निम्नअनुसार जनसङ्घर्षको कार्यक्रम घोषणा गरेका छाैँ । भदाै १३ गते देशव्यापी संयुक्त विरोध प्रदर्शन र काठमाडाैँ उपत्यकामा माइतिघर मण्डलाबाट दिउँसो ३ बजे संयुक्त विरोध प्रदर्शन गर्ने ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :