नेकपासहित ६ दल र २ माेर्चाद्वारा देशभर एमसीसी विरुद्ध मसाल जुलुससहित प्रदर्शन

नेकपासहित ६ दल र २ माेर्चाद्वारा देशभर एमसीसी विरुद्ध मसाल जुलुससहित प्रदर्शन

नेपाल कम्युनिस्ट पार्टीसहित ६ दलीय कम्युनिस्ट पार्टी र २ मोर्चाहरुले देशभर बुधबार साँझ एमसीसी विरुद्ध मसाल जुलुस गरेको छ । यही क्रममा दाङका विभिन्न ठाउँमा राष्ट्रघाती एमसीसी सम्झौता विरुद्ध दाङमा भव्य मसाल जुलुस प्रदर्शन गरिएको छ ।

दाङका विभिन्न १० पालिका अन्तर्गतका मुख्य शहरहरु घोराही, तुलसीपुर, लमही, भालुबाङ, हापुरे, गढवा, राजपुरमा मसाल जुलुससहित प्रदर्शन गरिएको हो । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहित दाङमा कृयासिल कम्युनिस्ट पार्टीहरु नेकपा (मशाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले) र दुई मोर्चाहरु राष्ट्रिय जनमोर्चा र देशभक्त जनगणतान्त्रिक मोर्चाको संयुक्त आयोजनामा मसाल जुलुस प्रदर्शन गरिएको हो । 

दाङको तुलसीपुर उपमहानगरपालिकामा आयोजित मसाल जुलुस प्रदर्शन पछिको कोणसभालाई सम्बोधन गर्दै नेकपा (मसाल) दाङका प्रवक्ता भरत भण्डारीले राष्ट्रघाती एमसीसी सम्झौता हिन्द प्रशान्त रणनीतिको अभिन्न अंग भएकाले कुनै पनि हालतमा सदनबाट एमसीसी पास हुन नदिने बताए । उनले एमसीसीका विरुद्ध आम नेपाली जनताहरु विरुद्धमा हुँदा पनि जबर्जस्त एमसीसी लाद्न खोजे बिद्रोह हुने चेतावनी समेत दिए । नेता भण्डारीले अमेरिकी साम्राज्यवादले बहादुर गोर्खालीका सन्तानहरु झुक्लान् भन्ने सोच्नु ठूलो मुर्खता हुने चेतावनी समेत दिए ।

यस्तै कोणसभालाई सम्बोधन गर्दै अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ केन्द्रिय सदस्य संजय वलीले एमसीसीमा हस्ताक्षर गर्ने सांसदहरुका हात काटिने गम्भीर चेतावनी दिए । उनले भने, `राष्ट्रघाती एमसीसी पास गर्ने दुस्साहस गरे भने हात काट्छौँ, हात मात्रै होइन आइपरेको अवस्था टाउको समेत काट्न बाध्य हुनेछौं ।´
नेता संजयले पटकपटक राष्ट्रघाती सन्धी सम्झौता गरेर नेपाली कांग्रेसले कालो इतिहास बनाएको भन्दै फेरि पनि एमसीसी सम्झौता जबर्जस्त नेपाली जनताको टाउको थोपर्न खोजे मुक्ति युद्ध लड्ने समेत बताए । उनले नेपाली भूमि प्रयोग गरेर चीनलाई आक्रमण गर्ने, नेपालमा रहेका बहुमुल्य प्राकृतिक स्रोत, साधन, खनिज पदार्थहरु दोहन गर्ने र दक्षिण एसियामा बढ्दो कम्युनिस्ट प्रभावलाई रोक्ने अमेरिकी डिजाइन कुनै पनि हालतमा नेपाली जनताले सफल हुन नदिने उद्घोष गरे । 

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चा दाङका अध्यक्ष इश्वरी प्रसाद गैरेले दलाल संसदवादीहरुले एमसीसी पास गर्न अनेक हर्कत गरेको बताए । उनले अमेरिकी साम्राज्यवादका बफादार नेपाली दलालहरुलाई सदाको लागि नेपाली मैदानबाट बिदा गर्नुपर्ने धारणा समेत राखे ।

कोणसभाको सञ्चालन नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला सदस्य राजकुमार क्षेत्रीले गरेका थिए ।

यसैगरी नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुले चन्द्रौटामा एमसीसी सम्झौता विरुद्ध देशव्यापी रुपमा मशाल जुलुस प्रदर्शन गरेको छ । नेकपाको सङ्घर्षको कार्यक्रम अन्तर्गत दोस्रो दिन अमेरिकी परियोजना एमसीसी सम्झौताविरुद्ध मशाल जुलुस प्रदर्शन गरेको हो ।

नेकपाका जिल्ला इन्चार्ज जुझारुको नेतृत्वमा भएको कार्यक्रममा जिल्लाका सेक्रेटरी विश्वाससहित नेता कार्यकर्ता तथा स्थानीय जनताको सहभागिता रहेको थियो ।
सशस्त्र चोकबाट नाराबाजीसहित सुरु भएको मशाल जुलुस चन्द्रौटा चोकमा पुगेर कोणसभा भएको थियो । कोणसभामा नेकपाका जिल्ला इन्चार्ज जुझारुले एमसीसी परियोजना नेपालको हितमा नभएको भन्दै यसले राष्ट्रिय सार्वभौमिकता र स्वतन्त्रतामाथि हस्तक्षेप गरेको बताए । उनले यो सम्झौता षड्यन्त्रपूर्वक संसदबाट पास गरेर कार्यान्वयन गर्न खोजिएको भन्दै देशभक्त नेपालीहरूले निरन्तर खबरदारी गर्न आवश्यक रहेको बताए । उनले भने, “एमसीसी सम्झौताविरुद्ध सम्पूर्ण नेपालीहरू पार्टीगत स्वार्थ भन्दा माथि उठेर देश जोगाउन उठ्नुपर्छ ।” उनले कुनै पनि हालतमा सम्झौता खारेजीका विरुद्ध सम्झौताहिन सङ्घर्ष गर्ने बताए ।   

नेकपाका जिल्ला इन्चार्ज जुझारुको नेतृत्वमा भएको कार्यक्रममा  युवा संगठन नेपाल केन्द्रिय सदस्य बादल, विजयनगर सेक्रेटरी सहित नेता कार्यकर्ता तथा स्थानीय जनताको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन नेकपा जिल्ला सदस्य तथा शिवराज नगर सेक्रेटरी पाबेलले गरेका थिए ।

यस्तै राष्ट्रघाती एमसीसी सम्झौता विरुद्ध नेकपासहित संयुक्त मोर्चाले सिन्धुपाल्चोकको सदरमुकाम चौतारा मसाल जुलुस सम्पन्न गरेको छ । जुलुस चौतारा बजार परिक्रमा गरि सम्पन्न भएको थियो । मसाल जुलुसमा राष्ट्रघाती एमसीसी खारेज गर, राष्ट्रिय स्वाधीनताको रक्षा गर, एमसीसी चाहिदैन देश बेच्न पाइदैन जस्ता नारा लगाइएको थियो । जुलुस नारा लगाई मसालजुलुस कोणसभामा परिणत भएको थियो ।

यस्तै उपत्यकाको, साँखु, दक्षिणकाली, कलंकी, बुढानिलकण्ठ र बालाजुमा पनि मसाल जुलुस गरिएको छ खबर प्राप्त भएको छ ।

त्यसैगरी एमसीसी विरुद्ध रोल्पाको लिबाङमा बुधबार साँझ सयुक्त राँके जुलुस प्रदर्शन भएको छ । जुलुस प्रदर्शनमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र चित्र बहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा नेपाल सहभागी भएका थिए ।

यस्तै राष्ट्रघाती एमसिसी सम्झौता विरुद्धको संयुक्त संघर्ष समितिद्वारा मकवानपुरमा मसाल जुलुस गरेको छ । बागमती प्रदेशको राजधानी हेटौंडामा गरिएको मसाल जुलुस चौकीटोलबाट सुरु भइ बुद्धचोक हुँदै सीमा चोकसम्म पुगेको हो । 

मसाल जुलुससहितको र्यालीमा विभिन्न पार्टी तथा मोर्चाका नेता कार्यकर्ताका साथै देशभक्त एवम राष्ट्रप्रेमी जनताको उपस्थिति रहेको छ। र्याली पश्चात सीमा चोकमा भएको कोणसभा कार्यक्रमको सञ्चालन सहितको अन्त्य नेकपा मकवानपुरका सचिवालय सदस्य तथा हेटौँडा उपमहानगरपालिका सेक्रेटरी सुर्य अर्यालले गरेका हुन् । कोणसभामा बोल्दै अर्यालले भने, राष्ट्रघाती एमसीसी सम्झौता पारित गर्न लागि परेका दलालहरुको कुनैपनि किसिमको दमनले एमसीसी विरुद्धको आन्दोलन रोकिँदैन ।

उनले राष्ट्र र राष्ट्रियता रहेसम्म मात्र आम नेपालीको पहिचान र अस्तित्व रहने भएकाले राष्ट्रिय स्वाधिनता जोगाउनका लागि सडक आन्दोलनमा एक भई सहभागी हुन पत्रकार, पुलिस प्रशासन, बुद्धिजीवी लगायत सम्पूर्ण देशभक्त तथा राष्ट्रप्रेमी नेपाली जनतालाई आग्रह गरेका छन् । त्यस्तै बिहीबार हुने जिल्ला प्रशासन घेराउ कार्यक्रममा सहभागी हुन पनि सबैमा आग्रह गरेका छन्त्यस्तै हेटौँडा १९, बस्तीपुरमा पनि मसाल जुलुस सहितको कोणसभा कार्यक्रम भएको छ । कार्यक्रममा राष्ट्रिय जनसरोकार मञ्च नेपाल मकवानपुरका संयोजक सागर कडेंलले सम्बोधन गरेका थिए। त्यस्तै स्वतन्त्र युवा समुह बस्तीपुर टोलका अध्यक्ष सन्दिप पाठक, राजकुमार भेटवाल लगायतले एमसीसी विरुद्ध आफ्ना भनाई राखेका थिए ।

यस्तै रुपन्देहीको बुटवलमा राष्ट्रघाती एमसीसी सम्झौता विरूद्व बुधबार साँझ मसाल जुलुस सम्पन्न भएको छ । ६ राजनीतिक दलहरु र २ मोर्चाको आयोजनामा राष्ट्रिय स्वाधीनताको रक्षा गरौं, राष्ट्रघाती एमसीसी खारेज गरौं भन्दै बुटवलको पुरानो बसपार्कदेखि पुष्पलाल पार्कसम्म मसाल जुलुस गरेका छन् ।
पुष्पलाल पार्कमा पुगेर कोणसभालाई सम्बोधन गर्दै नेकपा बुटवल उपमहानगरपालिका सेक्रेटरी विरेन्द्र विकले विकास परियोजनाको बहानामा अमेरिकी सहयोगको रुपमा आउने भनिएको राष्ट्रघाती एमसीसी सम्झौता कुनै पनि हालतमा खारेज गरिनुपर्ने बताए । एमसीसी सम्झौता यदि संसदबाट अनुमोदन भयो भने नेपाल नरहने बताउदै नेता विकले एमसीसी परियोजना कुनै सहयोग र अनुदान नभई नेपालको स्रोत साधनमाथि कब्जा जमाउन अमेरिकी साम्राजयवादले गरेको लगानी भएको बताए ।
संसदमा टेवुल भएको राष्ट्रघाती सम्झौता विरुद्धको को उभिन्छ भन्ने कुरा फागुन १२ गते थाहा हुने बताउदै यदि संसदमा नेपाली जनताका देशभक्त प्रतिनीधि छन् कि अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादका दलालहरु छन् भन्ने कुरा सारा नेपालीले थाहा पाउने सेक्रेटरी विकले बताए । हामी विदेशी सहयोग र अनुदानको विरोधी नभई देशको स्वाधिनता र सार्वभौमिकतामा आँच नआउने गरी विना शर्त प्राप्त हुने बैदेशिक सहयोग स्वागत हुने तर नेपाल र नेपाली कानुन भन्दा माथी अमेरिकी परियोजना हुन्छ भने त्यसको निरन्तर विरोध र प्रतिकार हुने नेता विकले बताए ।
मसाल जुलुसमा नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), वैज्ञानिक कम्युनिस्ट पार्टी नेपाल, नेकपा (माओवादी केन्द्र समाजवादी), राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेकपा समर्थित नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
राष्ट्रघाती एमसीसी विरुद्ध नेकपा लगायत ६ दलको संयुक्त आयोजनामा उदयपुरको सदरमुकाम गाईघाटमा र कटारी नगरपालिकामा बुधबार साँझ सयुक्त राँके जुलुस प्रदर्शन भएको छ । जुलुस प्रदर्शनमा नेकपाका नेताकार्यकर्ता लगाएत संयुक्त आन्दोलन मोर्चाका नेताकार्यकर्ताहरुको सहभागी भएका थिए ।

जुलुस प्रदर्शनलाई प्रहरीहरुले रोक्नु खोजे पनि प्रहरीलाई प्रतिरोध गर्दै प्रदर्शनकारीहरुले एमसीसी विरुद्ध नारा जुलुस गरेका थिए । नाराजुलुस लगतै कोणसभा गर्दै नेकपाका त्रियुगा नगरपालिका इन्चार्ज मीन प्रसाद पोख्रेलले राष्ट्रघाती एमसीसीको विरुद्ध सबै देशभक्त, बुद्धिजीवी, शिक्षक, व्यापारी मजदुर सबैलाई आन्दोलनमा सहयोग गरि एमसीसीको विरुद्ध आन्दोलनमा एक्यबद्धता जनाउन अपिल गरेका थिए ।

यसैबीच नवलपुरको सदरमुकाम कावासोतीमा ६ दलीय मोर्चाले आयोजना गरेको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा सहित ६ दलिय मोर्चाले आयोजना गरेको मसाल जुलुस कार्यक्रममा प्रहरीले दमन गरेको हो । जिल्लाको थकालीचोकमा मोर्चाका कार्यकर्ताले मसाल बाल्ने तयारी गर्दैगर्दा ठुलो संख्यामा तैनाथ गरिएका प्रहरीले नबालिएको टायर खोसेर लगेको थियो । प्रहरी हस्तक्षेप पछिको कोणसभामा बोल्दै नेकपा क्रान्तिकारी माओवादीका पोलिटब्यूरो सदस्य अनुकुलले यदि राष्ट्रघाती एमसीसी सम्झौता पास भयो भने आज मसाल खोस्न आउनेहरु पनि भोली मसाल बोक्न बाध्य हुने जिकिर गरे । यसैबिच प्रहरीले मसाल जुलुसमा दमन गरेपछि मोर्चाका कार्यकर्ताले प्रहरीलाई भुलभुलैयामा पार्दै थकालीचोकदेखि २०० मिटर पश्चिमतिर महेन्द्र राजमार्गमा मसाल जुलुस कार्यक्रम सम्पन्न गरेको छ । जुलुसमा सहभागीहरुले राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर , विदेशी दलालहरु होशियार, राष्ट्रिय स्वाधीनताको रक्षा गरौं लगायतका नाराहरू लगाएका थिए ।
यसैबीच अमेरिकी सहायता परियोजना एमसीसी सम्झौताको विरोध गर्दै अछामका विभिन्न प्रमुख ठाउँहरूमा नेकपाले मसाल जुलुससहित प्रर्दशनगरेको छ ।
बुधबार साँझ पार्टीको पूर्वघोषित कार्यक्रम अनुसार एमसीसी सम्झौता विरुद्ध नाराबाजी गर्दै मसाल जुलुससहित प्रर्दशन गरेको हो ।

अछामको सदरमुकाम मंगलसेन लागायतका ढकारी बजार र धमालीमा प्रदर्शन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टीले एमसीसी सम्झौता विरुद्ध विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गर्दै निरन्तर संघर्ष गरिएको छ ।

संयुक्त संघर्ष समिति सुर्खेतको आयोजनामा बुधबार वीरेन्द्रनगरमा मसाल जुलुस तथा कोणसभा भएको छ ।

साँझ छ बजे एमसिसी खारेज गर, एमसिसी चाहिदैन, देश बेच्न पाइदैन लगायतका नारा लगाउदै मंगलगढीबाट सुरू गरिएको मसाल जुलुस् सुर्खेतबजार परिक्रमा गरी वीरेन्द्रचोकमा पुगेर कोण सभामा परिणत भयो ।
नेपाल कम्युनिष्ट पार्टीका सुर्खेत जिल्ला सेक्रेटरी ध्रूब, राष्ट्रिय जनमोर्चाका रत्न विक्रम प्यासी लगायतले कोण सभालाई सम्बोधन गर्दै एमसीसी अनुदान नभएर अमेरिकन लगानी भएको, नेपालका साधन स्रोत कब्जा गर्ने, नेपाललाई उपनिवेश बनाउदै चीनमाथि घेराबन्दी गर्ने लगायतका राष्ट्रघाती प्रावधानका कारण एमसीसी खारेज गर्नु पर्ने धारण राखे । उक्त कोणसभामा उद्योगी,व्यापारी, शिक्षक विद्यार्थी, लगायत सर्वसाधारणको पनि सहभागिता रहेको थियो ।

उता डडेलधुराको जोगबुढामा अखिल (क्रान्तिकारी) को आयोजनामा एमसीसी सम्झौताको विरुद्धमा मसाल जुलुश सम्पन्न भएको छ । अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य तथा डडेलधुरा बझाङ जिल्ला इन्चार्ज शंकर खाती र नेपाल कम्युनिस्ट पार्टीका परशुराम नगरपालिका सेक्रेटरी सन्तोष, पार्टी जिल्ला कमिटी सदस्य जोगि धामीको उपस्तिथि रहेको थियो ।

यसैगरी नेपाल कम्यूनिष्ट पार्टी जिल्ला समिति धनुषा र महोत्तरीको आयोजनामा मसाल जुलुश सम्पन्न भएको छ ।
यसैगरी नुवाकोट,  सल्यान, बैतडी, ओखलढुंगा लगायत देशभर एमसीसी सम्झौताको विरुद्धमा मसाल जुलुससहित प्रदर्शन भएको खबर प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :