नेकपा दोलखाद्वारा ३ बुँदे सहमति कार्यान्वयनका लागि विरोध प्रदर्शन

नेकपा दोलखाद्वारा ३ बुँदे सहमति कार्यान्वयनका लागि विरोध प्रदर्शन

नेपाल कम्युनिस्ट पार्टी दोलखा जिल्लाले बुधबार ३ बुँदे सहमति कार्यान्वयन गर्न माग गर्दै सदरमुकाम चरिकोटमा विरोध प्रदर्शन सम्पन्न गरेको छ । विरोध प्रदर्शन बसपार्कबाट सुरु भएर सातदोबाटो बिच बजार हुँदै पशुपति डाडा परिक्रमा गरी सातदोबाटोमा पुगि कोण सभामा परिणत भएको थियो ।
कोणसभामा बोल्दै दोलखा जिल्ला सदस्य तथा अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य विशाल जिरेलले दलाल सरकारले राजबन्दीहरुलाई तत्काल रिहाइ नगरिएको खण्डमा आउने आधिबेहरी आन्दोलनको सामना यो दलाल राज्यले गर्नुपर्ने बताए । साथै उनले दुई प्रकारको शिक्षा प्रणालीको अन्त्य गरि समान शिक्षा लागू गर्नुपर्ने बताए ।
कोणसभामा बोल्दै जिल्ला समिति सदस्य तथा जनसत्ता प्रमुख ज्ञान बहादुर खड्का उजिरले दलाल संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादी व्यवस्था प्राप्ती नहुन्जेल लडिरहने उद्घोष गरे । अअिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य जित थामीले मजदुरहरुको हकहित प्राप्त नहुनजेलसम्म संगठनको तर्फबाट लडिरहने बताए । त्यसैगरी जिल्ला समिति सदस्य राजकुमार लामिछानेले सम्पूर्ण राजबन्दीहरुलाई यो सरकारले बिनासर्त रिहाई गर्नुपर्ने बताए ।
कोणसभामा बोल्दै जिल्ला समिति सदस्य सोम पाख्रिनले राजबन्दीहरुलाई रिहाई गर्नुपर्ने, जनमत संग्रहको घोषणा गर्नुपर्ने र एनसेलले अझै पनि कर तिर्न नमाने झन् ठूलो परिणाम भोग्नुपर्ने बताए । कोणसभामा अखिल नेपाल (क्रान्तिकारी) किसान महासंघका जिल्ला अध्यक्ष एवम् पार्टीका जिल्ला समिति सदस्य गोपाल उप्रेती, मेनुका उप्रेती र कर्ण बहादुर थामी लगायतको उपस्थिति रहेको थियो । कोणसभाको सञ्चालन जिल्ला समिति सदस्य भरत थामीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :