युवा र एकीकृत जनक्रान्ति

युवा र एकीकृत जनक्रान्ति

युवामा नयाँ जाँगर, नयाँपनको सम्भावना हुने भएको हुँदा युवा भन्नेबित्तिकै आँधीतुफानसँग जोडेको र तुलना गरेको पाइन्छ । त्यसैले आजको आवश्यकता र समयको माग भनेको हामी युवाले जोसलाई सकारात्मक चिन्तनमा परिवर्तन गरी सिर्जनात्मक खोज, अनुसन्धान र युवाहरू आफूले आफैँलाई क्रान्तिको योद्धाका रूपमा र श्रम र उत्पादनमुखी ऊर्जाका रूपमा रूपान्तरण गर्नुपर्छ । क्रान्तिकारी युवाले जे सोच्छ, त्यो क्रान्ति र आन्दोलनका लागि महत्वपूर्ण हुन्छ । भविष्यको सम्भावना बोकेको, केही गर्ने जोस, जाँगर अनि इच्छाशक्ति भएको शक्ति युवा भएकाले यो शक्तिलाई वर्तमानको साझेदार, भविष्यको क्रान्तिको योद्धा, खम्बाका आधारस्तम्भजस्ता उपनामले चिनिन्छ । क्रान्तिकारी विचार र एकीकृत जनक्रान्तिले दीक्षित बलिदानी भावनाले भरिपूर्ण र परिवर्तनकारी जोसले युक्त युवाशक्ति तयार गर्नु आजको आवश्यकता हो । एकीकृत जनक्रान्तिको उत्तराधिकारीका रूपमा अगाडि आएको युवा दस्तालाई कसरी विचारले स्पातिला, सुसंस्कृत र सङ्गठित गरेर पार्टी र क्रान्तिलाई नै गति दिने, यो प्रश्न अहिले मुख्य छ । एकीकृत जनक्रान्तिमा युवा पङ्क्तिलाई वैचारिक, सैद्धान्तिक, सङ्गठनात्मक रूपमा परिपक्व र पार्टीको मातहतमा गतिशील बनाइनुपर्छ ।

‘युवा’ यो शब्द सुन्नेबित्तिकै हाम्रो मनमस्तिष्कमा जोस, जाँगर र उमङ्ग भरिएको एउटा मानवचित्र नाच्न थाल्छ । यस्तो किन पनि हुन्छ भने आजसम्म मानव समाजमा जेजति आविष्कार, विकास, क्रान्ति र परिवर्तन भएका छन् ती सबै युवाको सक्रिय सहभागिता र सचेत पहलकदमीमा मात्र सम्भव भएका छन् । आजको एकीकृत जनक्रान्तिमा जल्दाबल्दा, मेहनती, क्षमतावान्, अनुशासित, क्रान्तिकारी युवा शक्तिको सही पहिचान गरी सङ्गठित गर्नुपर्छ । हामी प्रत्येक युवाहरूले यो धर्ती रहुन्जेल आफ्नो अमूल्य जीवनलाई अलमलमा नराखीकन एकीकृत जनक्रान्तिको सुन्दर यात्रामा हिँड्न सबैलाई आह्वान गर्नुपर्छ । एकीकृत जनक्रान्तिमा युवाशक्तिको मूल कडी भौतिक शक्ति पनि हो । निश्चय नै कुनै पनि कुराको सीमा हुन्छ तर अहिले हाम्रो समाजमा भ्रष्टाचार, बलात्कार, अनियमितता, घूसखोरी, दलाली, श्रमिक वर्गमा नाङ्गो रूपमा विभिन्न मान्छेले मान्छेमाथि विभेद र युवाको व्यापक दुरुपयोगले सीमा नाघिरहेको छ । यसप्रकारका समस्यालाई हामी सचेत युवाहरूले एकीकृत जनक्रान्तिमा लामबद्ध भएर निकास दिनुपर्छ । आज बिरुवाका रूपमा देखिएको चेतना नै भोलि तराईको फाँटदेखि पहाडका कुनाकन्दरा हुँदै हिमालको चुचुरोसम्म पुगेर मक्किसकेको पुरानो मान्यता र विचारमा टिकेको सामाजिक संरचना र दलाल पुँजीवादी व्यवस्थालाई नष्ट गरेर चाँडै नयाँ सामाजिक संरचना वैज्ञानिक समाजवाद स्थापना गर्नेछ जहाँ कसैले पनि जातपात, धनी–गरिब र धर्मका आधारमा विभेदको महसुस गर्न पाउने छैनन् । युवा शक्तिको जोस र जुझारुपनलाई माक्र्सवादी विचार, एकीकृत जनक्रान्तिको विचारले गति दियो भने युवापङ्क्तिले जनक्रान्तिमा गति दिन सक्छ । आजका युवाहरूले विगतको क्रान्तिकारी विरासतलाई जोगाउँदै एकीकृत जनक्रान्तिको संवाहक हुनै पर्नेछ ।

युवा उमेरले मात्र होइन, जोस, जाँगर र सिर्जनात्मक उत्साहहरूले जन्मन्छ । युवा समाज, उन्नति, क्रान्ति, परिवर्तनको नायक हो । उत्साहको परिचायक हो भने एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवाद निर्माणको प्रमुख र निर्णायक स्रोत र शक्ति पनि हो । हामी युवामा केही गर्ने हिक्मत, आकाङ्क्षा, इच्छाशक्ति, सपना मस्तिष्कमा हुनुपर्छ । देशमा भएको हरेक कठिनाइ र समस्यालाई परास्त गर्ने युवाहरूमा केही गर्ने सङ्कल्प, इच्छा, दृढता, साहस, चाहना, क्षमतासहित आँट पनि राख्नु आवश्यक छ । हामी युवाले कठिनाइदेखि भाग्ने होइन, सामना र हल गर्नेतिर अग्रसरता देखाउनु सक्नुपर्छ । युवाहरू न्यायका निम्ति श्रमजीवी वर्गका लागि सङ्घर्ष गर्न अगाडि बढ्नुपर्छ । हामी आफ्नै मेहनतमा बाँच्ने, आफ्नो श्रममा रमाएर अगाडि बढ्ने हिक्मत राख्नुपर्छ । युवाहरू जिज्ञासु र समाजका लागि केही नयाँसहित रूपान्तरणका लागि मेहनत गर्नुपर्छ । परिवर्तनका लागि युवाशक्ति एकजुट भएर अगाडि बढ्नुपर्छ । अहिले दलाल पुँजीवादी संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादका लागि हामी सबै तह र तप्काबाट गोलबद्ध भएर संयुक्त रूपमा एकीकृत जनक्रान्तिमा सहभागिता जनाउनुपर्छ । हामीले हाम्रै पालामा वैज्ञानिक समाजवादी राज्य व्यवस्थाका लागि एकीकृत जनक्रान्तिको कार्यदिशामा एकताबद्ध भएर निर्णायक सङ्घर्षको अग्रमोर्चामा भाग लिनुपर्दछ । युवामा जोखिम मोल्ने आँट हुनुपर्छ । हामी युवाले नेपाली समाज रूपान्तरणका लागि एकीकृत जनक्रान्तिको बाटोमा लामबद्ध भएर नेपाललाई सुन्दर र आफ्नै मेहनतमा, आफ्नै श्रममा देश निर्माण गर्ने सपना मनदेखि देख्न सक्नुपर्छ । हामी कसैको दलाली गर्नेतिर होइन, कसैको नोकर अथवा पाले र दास भएर बाँच्ने होइन, हामी आफ्नो माटोमा रमाउने अनि यो भ्रष्ट र लुटेरा व्यवस्थाका विरुद्ध आगो भएर नष्ट गर्नेतिर हामी युवा साथीहरू एकता र सहकार्य गर्ने सोचाइ हुनुपर्छ । यो लुटेरा व्यवस्थाले हामी युवाहरूको भविष्य ध्वस्त बनाइरहेको छ, सपनाहरू चकनाचुर बनाएको छ । हामी एक गाँस खान, एकसरो कपडा लगाउनकै निम्ति विदेशीको ट्वाइलेट सफा गर्न, दास बन्नुपर्ने, बेचिनुपर्ने, आफ्नो शरीर बेच्नुपर्ने, मालिकले जेजे भन्यो त्यही गर्नुपर्ने यस्तो निच जीवन जिउन बाध्य बनाउने अनि पैसाको भरमा हाम्रो जीवन उनीहरूले निर्धारण गरिदिने यस्ता मानवीयताविरोधी व्यवस्थाका विरुद्ध एकपटक हामी नेपाली युवा साथीहरू एकीकृत जनक्रान्तिमा सहभागी बन्दै दलाल, लुटेरा राज्यव्यवस्था फ्याँकेर टोकरीमा राखी वैज्ञानिक समाजवाद नेपाली धर्तीमा ल्याउनुपर्छ । यो आँट हामी युवाहरूले गर्नैपर्छ । यस किसिमका धेरै समस्या नेपालका युवाहरूको छ । समस्याको समाधानका लागि हामी युवा वर्गले कम्मर कसेर, आँट गरेर, पक्कै पनि यो व्यवस्था फ्याँक्न सम्भव छ । हामी युवामा निराशा कहिल्यै पनि आउन दिनु हुँदैन । हामी आशावादी हुनुपर्छ । केही गरौँ भन्ने सपना मनमा हुनुपर्छ । युवा भनेको सहनशीलता, अनुशासन, मर्यादापालक, अध्ययनशील, इमानदार, निष्ठावान्, सहयोगी र श्रममा भाग लिने हुनुपर्छ । हाम्रो आफ्नै मौलिक पक्षलाई संरक्षण गर्ने र जोगाउने हुनुपर्छ । हामीले राष्ट्रघाती सम्झौता, सन्धि, भ्रष्टाचार, राष्ट्र र जनताको अहित हुने कार्यलाई सधैँ भित्रैदेखि विरोध र जनसङ्घर्ष गर्नुपर्छ । हामीले हाम्रो मनमा विश्वमानवको मुक्तिका लागि भौतिक र बौद्धिक हतियार सधैँका लागि तयारी अवस्थामा राख्नुपर्छ । जो अहिले जनताको हितविपरीत कार्य भएको छ, त्यसका विरुद्ध हामी सबै मिलेर लड्न आवश्यक छ जसका लागि एकीकृत जनक्रान्तिमा सहभागिता अपरिहार्य भैसकेको छ । युवा वर्गमा स्वयम्सेवी भावनाको विकास गरी जनक्रान्तिमा भाग लिन अग्रसर हुनुपर्छ ।

हाम्रो देशमाथि भएको अतिक्रमणका विरुद्ध राष्ट्रिय स्वाधीनताका पक्षमा र विदेशीहरूको हेपाइबाट मुक्त हुनका लागि आजको सन्दर्भमा एकीकृत जनक्रान्तिको बाटो नै उत्तम बाटो हो युवाहरूका लागि । आजका युवाहरूले फेसन, फोटोग्राफी र केको प्रभावमा पर्ने भनेर सामाजिक मिडियाको पछि लाग्नेतिर होइन, अन्यायविरुद्ध लड्ने शक्ति निर्माण गर्नतिर लाग्नुपर्छ । देशको राजनीतिक, सामाजिक, आर्थिक र उत्पादन सम्बन्धको विकास गर्नेतिर ध्यान दिनुपर्छ । मानवजीवनको सबैभन्दा सिर्जनशील, गतिशील सिक्न चाहने र गर्नसक्ने युवा अवस्था हो । यो समयलाई हामीले सही रूपमा क्रान्तिको हितमा लगाउन सक्नुपर्छ । युवाहरू हालका घटनाहरू, नवीनतम प्रविधिमा अभ्यस्त छौँ । यो क्षमता एकीकृत जनक्रान्तिमा सदुपयोग गर्नुपर्छ ।

१) युवामा वैचारिक, राजनीतिक महत्व

कुनै पनि कुराको गति बढाउनका लागि सम्बन्धित विषयमा राम्रो ज्ञान भएर मात्र त्यस कुरालाई गति प्रदान गर्न सकिन्छ भनेझैँ एकीकृत जनक्रान्तिमा पनि युवाहरूमा मालेमावाद र एकीकृत जनक्रान्तिको कार्यदिशासम्बन्धी ज्ञानको राम्रो अध्ययन हुनु आवश्यक छ । एकीकृत जनक्रान्तिमा युवा पुस्ताले विकासका निम्ति पनि युवाहरू वैचारिक, राजनीतिक रूपमा परिपक्व ढङ्गले विकास गर्नु पर्दछ । नेपालमा एकीकृत जनक्रान्ति पूरा गर्नका लागि युवाहरू कठिन परिश्रम, कडा मेहनत गरे मात्र परम्परागत समाजको वैचारिक, राजनीतिक धरातल तोडेर नयाँ माक्र्सवादी र एकीकृत जनक्रान्तिको विचारद्वारा प्रशिक्षित युवा पुस्ताको खाँचो छ । त्यसका निम्ति युवाहरू स्वाध्ययनमा विशेष मेहनत गरेर आफ्नो वैचारिक अवस्था पनि उठाउन जरुरत हुन्छ । युवा पुस्तालाई आफ्नो वर्ग सर्वहारा वर्गीय शिक्षा दिने र सुदृढ गर्ने वैचारिक हतियार मालेमावाद र एकीकृत जनक्रान्तिको विचारद्घारा सुसज्जित गराउनु पर्दछ । विचारधारात्मक रूपमा परिपक्व युवा दस्ता, दुस्मनका विरुद्घ लडाइँमा सर्वहारा वर्ग र क्रान्तिकारी जनसमुदायलाई नेतृत्व गर्न सक्षम जुझारु युवाहरूलाई सङ्गठित गर्नुपर्छ । युवाहरूले सचेत ढङ्गले हाम्रो वैचारिक, राजनीतिक क्षमता अभिवृद्धि गरी विश्वदृष्टिकोण बदल्नु पर्दछ । हाम्रो मुटुलाई सधँै रातो राख्नुपर्छ । पार्टीप्रति समर्पित हुनुपर्छ । कठोर जीवन जिउनुपर्छ । वैज्ञानिक समाजवाद प्राप्तिको सङ्घर्षलाई कमजोर नबनाईकन लड्नुपर्छ ।

२) एकीकृत जनक्रान्तिमा पूर्णकालीन युवा

पूर्णकालीन युवाहरू निर्माण गर्ने प्रश्न आजको एकीकृत जनक्रान्तिको मुख्य र महत्वपूर्ण सवाल हो । क्रान्तिको जीवनसँग जोडिएको यो प्रश्नलाई हामी युवाहरूले पूर्णकालीन हुने कुरामा विशेष जोड दिनु आवश्यक छ । पूर्णकालीन युवाहरूले नै पार्टी र एकीकृत जनक्रान्तिमा गति प्रदान गर्न सक्छन् । युवाहरूलाई पूर्णकालीन बनाउने कुरा सीधै विचार र चेतनासँग जोडिएको अवधारणा हो । हामी युवाहरू आफैँ पूर्णकालीन हुने कुरा कार्यान्वयन गर्न र अघि बढ्न आवश्यक छ । आजको युवा वर्ग आफ्नो सम्पूर्ण जीवन एकीकृत जनक्रान्तिमा समर्पित गर्नसक्ने, श्रमिक जनताको सेवामा खट्न सक्ने र नयाँ सभ्यताका निम्ति जस्तासुकै चुनौती झेल्नसक्ने गरी तयार हुनुपर्छ । पूर्णकालीन युवाहरूलाई बोझ होइन, आजको ऊर्जाका रूपमा पार्टीमा विकास गर्नुपर्छ । युवा गलत सोचाइ, गलत प्रवृत्ति र समस्यासँग सङ्घर्ष गर्न सधैँ तयार हुनुपर्छ । पूर्णकालीन युवा भनेको पार्टीको भौतिक शक्ति र आधार हो । पूर्णकालीन युवा शक्तिबिना एकीकृत जनक्रान्तिको उद्देश्य सफल हुने सम्भावना रहँदैन । त्यसकारण नयाँ युवा पिँढीलाई एकीकृत जनक्रान्तिमा पूर्णकालीन बनाउन, गाउँगाउँमा गएर एकीकृत जनक्रान्तिको कार्यदिशा, वैचारिक र राजनीतिक प्रशिक्षण दिन आवश्यक छ । एकीकृत जनक्रान्तिमा धेरै युवालाई मालेमावादद्वारा प्रशिक्षित र एकीकृत जनक्रान्तिको विचारवाट सुसज्जित, क्रान्तिका लागि आफ्नो व्यक्तिगत जीवन त्याग्न तयार, युद्घमा दुस्मन पङ्क्तिको डटेर सामना गर्नसक्ने, परिवर्तन र क्रान्तिका लागि जस्तासुकै कठिनाइ र दुःखकष्ट पनि भोग्न तयार, श्रमिक जनताको बस्तीबस्तीमा जानसक्ने गरी तयार गर्नुपर्छ । पूर्णकालीन युवाको विकास गरेर ती युवाहरूको मेहनत, क्षमता, सङ्घर्ष, समर्पण, बलिदानको भावनाको विकास गराएमा एकीकृत जनक्रान्तिको गतिमा तीव्रता दिन सकिन्छ । त्यसैले एकीकृत जनक्रान्तिमा प्रतिबद्घ पूर्णकालीन युवाहरूको खाँचो छ ।
युवाहरूमा पूर्णकालीन हुने समस्या छ तर इतिहासले सुम्पेको यो गहन जिम्मेवारी पूरा गर्न केही सङ्कल्प बोकेका युवाले समस्याहरूलाई समाधान गर्दै एकीकृत जनक्रान्ति पूरा गरी वैज्ञानिक समाजवादमा पुग्ने अवसरका रूपमा सदुपयोग गर्न सक्नु पर्दछ । पूर्णकालीन युवालाई विचलन, स्वार्थीपन र व्यक्तिगत इक्छा पूर्ति गर्ने प्रकृतिबाट बचाउन सबैले मेहनत गर्नुपर्छ । हामी युवामा एउटा अठोटसहित अन्तिमसम्म एकीकृत जनक्रान्तिको आदर्श र मान्यताको रक्षा गर्नुपर्छ भन्ने सोचाइमा अडिग रहनुपर्छ ।

३) युवाहरूले एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद प्राप्तिका निम्ति सङ्घर्ष गर्नुपर्छ

मानव जातिको इतिहासमा सबैभन्दा गौरव गर्न लायक उद्देश्य र राज्यव्यवस्था भनेको वैज्ञानिक समाजवाद हो । युवाहरूले वैज्ञानिक समाजवादका निम्ति सङ्घर्ष गर्ने शपथ खानुपर्छ । एकीकृत जनक्रान्तिमा लामबद्घ नेपाल कम्युनिस्ट पार्टीका सदस्यहरूले बलिदानबाट नडराईकन एकीकृत जनक्रान्तिको विजयका निमित्त हरेक कठिनाइलाई पार गर्दै दृढप्रतिज्ञ बन्नु पर्दछ । वैज्ञानिक समाजवाद प्राप्तिका लागि युवाहरूले आफ्नो जीवन समर्पण गर्नुपर्छ । वैज्ञानिक समाजवादका निमित्त सङ्घर्ष गर्ने महान् एकीकृत जनक्रान्तिको आदर्श उसको मस्तिष्कमा गहिरो गरी गढेको हुनुपर्छ । नेपाल कम्युनिस्ट पार्टी तथा श्रमिक जनताको उद्देश्य पूरा गर्नका निम्ति यो तरिकाले मात्र एउटा युवा वैज्ञानिक समाजवादतर्फको लामो यात्रा गर्न, महान् क्रान्तिकारी लहरमा आफूलाई अग्रपङ्क्तिमा उभ्याउन, शरीर तथा जीवनलाई मृत्युपर्यन्त समर्पण गर्न सक्षम हुनेछ । एकीकृत जनक्रान्तिका क्रममा जतिसुकै कठिनाइको सामना गर्नु परे पनि यो एकीकृत जनक्रान्तिको आदर्शले सजिएका हामी युवा विजयप्रति पूर्ण विश्वस्त हुन र बहादुरीपूर्वक अगाडि बढ्न सक्छौँ । हामी युवाहरू एकीकृत जनक्रान्तिको कार्यदिशामा वैज्ञानिक समाजवाद प्राप्तिका लागि हाम्रो शरीर रहुन्जेल, भाँच्चिएको शरीर, टुक्रिएको हाड रहेसम्म जीवनभर सङ्घर्ष गर्न तयार हुनुपर्छ । वैज्ञानिक समाजवादका निमित्त सङ्घर्षमा हाम्रो जीवन समर्पण गर्न हामीले वैज्ञानिक समाजवादको महान् उद्देश्यलाई दिमागमा राखेर सचेत ढङ्गले हाम्रा सबै तत्कालीन कार्ययोजनाहरूलाई सम्पन्न गर्नुपर्छ । हरेक युवाले नथाकीकन एकीकृत जनक्रान्तिलाई पकड्नुपर्छ र उत्पादन बढाउनुपर्छ । दमनका विरुद्ध विद्रोह गर्न तयार हुनुपर्छ । एकीकृत जनक्रान्ति र सर्वहारावर्गीय क्रान्तिकारी उत्साह प्रदर्शन गर्नुपर्छ । दुःख, कष्ट र थकाइ सहनुपर्छ । जनश्रममा भाग लिनुपर्छ । युवाहरू एकीकृत जनक्रान्तिको विकासमा कहिले खिया नलाग्ने मेसिनको दाँत बन्नुपर्छ । हामी युवाहरूका सामु एकीकृत जनक्रान्तिका धेरै कार्यभार छन् । हाम्रो अगाडिको बाटो पनि लामो तर उज्ज्वल र सुन्दर छ ।
युवाहरू क्रान्तिका ऊर्जा हुन् जसको अदम्य आँट र हिम्मत समाज रूपान्तरण, क्रान्ति पूरा गर्नेमा नेतृत्वले सही रूपमा सदुपयोग गर्न सकेमा एकीकृत जनक्रान्तिको विजयको गतिमा तीव्रता प्राप्त गर्दछ । बगेर खेर गइरहेको नदीमा बाँध बाँधेर विद्युतीय ऊर्जा निकालेझैँ खेर गइरहेको युवाशक्तिलाई सुसङ्गठित गरी एकीकृत जनक्रान्तिको अभियानमा लामबद्ध गरी वैज्ञानिक समाजवाद प्राप्तिका लागि अग्रसर हुनुपर्छ । पार्टीले युवाहरूको मनोबल बढाउने खालको वातावरण तयार पार्नुपर्छ । एकीकृत जनक्रान्ति अगाडि बढाउन युवाहरूले विशेष पहल गर्नुपर्दछ । एकीकृत जनक्रान्तिमा युवाको निःस्वार्थ समर्पण, त्याग, सिर्जनात्मक विचार, श्रम र सीपको अहम भूमिका हुन्छ । आजका युवाहरू क्रान्तिप्रति जोखिम लिन, वर्गसङ्घर्षमा आइपर्ने चुनौतीहरूको सामना गर्न, श्रमिक वर्गका लक्ष्यहरू प्राप्त गर्न र एकीकृत जनक्रान्ति सफल बनाउन कडा मेहनत र सचेत रूपमा प्रत्यन गर्न तयार हुनपर्छ । एकीकृत जनक्रान्तिमा नेतृत्वदायी भूमिका पूरा गर्न युवाहरूले नै आँट गर्नुपर्छ ।

(लेखक नेकपा सिन्धुपाल्चोकका सेक्रेटरी हुन्)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :