नेकपा दाङद्वारा देउखुरीमा राजनीतिक तथा वैचारिक प्रशिक्षण सम्पन्न

नेकपा दाङद्वारा देउखुरीमा राजनीतिक तथा वैचारिक प्रशिक्षण सम्पन्न

दाङः नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला अन्तर्गत लमही नगरपालिका, राप्ती गाउँपालिका र गढवा, राजपुर गाउँपालिकाको संयुक्त आयोजनामा लमहीमा राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य एवम् दाङ जिल्ला इन्चार्ज शितलले मन्तप्रशिक्षण दिदै संसदीय व्यवस्था पूर्ण रुपले असफल भइसकेकाले यो व्यवस्थाको विकल्पमा आफ्नो पार्टीले व्यवस्था चुन्ने अधिकार जनतालाई दिन जनमतसंग्रहको एजेन्डासहित जनताको बिचमा छलफल गर्न तयार रहेको बताए । उनले भने, `संसदीय सरकार विघटन गरौं, प्रगतिशिल सरकार निर्माण गरौं र जनमतसंग्रहमार्फत व्यवस्था चुन्ने अधिकार जनतालाई दिउँ, हामी सबैसँग छलफल गर्न तयार छौं ।`
नेता शितलले जनमतसंग्रह संसदीय व्यवस्था कि वैज्ञानिक समाजवादी राज्यव्यवस्था भन्ने विषयमा हुनुपर्ने बताए ।`

एक फरक प्रसंगमा नेता शितलले जेल, हिरासत, दमन र यातनाले क्रान्तिकारी विचारलाई निर्मुल पार्न नसक्ने बताए । उनले सिंगो राज्यले प्रतिबन्ध लगाएर सिध्याउन नसकेको बताउदै केही टोले अराजनीतिक तत्वहरुको चुरिफुरी हास्यास्पद भएको समेत बताए ।
नेता शितलले राज्यले अनावश्यक दिनदिनै हुँदै नभएको हतियारको प्रसंग उठाइरहे एकीकृत जनक्रान्ति कस्तो हुन्छ देखाइदिने समेत बताए । उनले भने,`युद्धको घोषणा नै गरेका छैनौं, बारम्बार हतियार सोधिरहनुहुन्छ, एकीकृत जनक्रान्ति कस्तो हुन्छ देखाइदिन्छौँ ।`

सरकारसँग भएको तीन बुँदे सहमतिप्रति आफुहरु इमान्दार रहेको र यो सम्झौता कुनै दिल्ली र साम्राज्यवादीहरुबाट निर्देशित नभई आफ्नै बल, बुद्धि र विवेकले गरेको नेता शितलको भनाइ थियो ।

प्रशिक्षण कार्यक्रममा मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टी विशेष कमिटी सदस्य विक्रमले वर्गसंघर्ष त्यागेर, क्रान्ति छोडेर संसदीय व्यवस्थामा पार्टी प्रवेश गरेको भनेर केही प्रतिक्रियावादीहरुले भ्रम छरेको बताए । उनले वर्गसंघर्ष त्यागेको होइन बरु वर्गवैरीका किल्लाहरु भत्काएर नेपालमा निकट भविष्यमा वैज्ञानिक समाजवाद स्थापना गरेरै छाड्ने अठोट लिएको बताए ।

प्रशिक्षण कार्यक्रममा मन्तव्य राख्दै नेकपा विशेष कमिटी सेक्रेटरी सुन्दरले जनता र राष्ट्रको मुक्तिका खातिर आवश्यक परे बलिदान गर्न आफुहरु तयार भएको उद्घोष गरे । उनले कोही पनि नेताकार्यकर्ता प्रतिक्रियावादीहरुले क्रान्तिका विरुद्ध फैलाएको भ्रममा नपर्न अपिल गरे ।

प्रशिक्षण कार्यक्रममा मन्तव्य राख्दै नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिपले यो संविधान र यो संसदीय सरकार विघटन गरी प्रगतिशील संयुक्त सरकार गठन गर्नुपर्ने बताए । उनले नेपालमा फेरि एकपटक जनमतसंग्रह मार्फत व्यवस्था चुन्ने अधिकार जनतालाई दिनुपर्ने धारणा राखे । उनले भने, `आफुलाई लोकतान्त्रिक पार्टी भन्नेहरुले किन हाम्रो पार्टीले जनमतसंग्रहको माग गर्दा अत्तालिएका छन ?`प्रश्न गरे ।

नेता प्रदिपले जनमतसंग्रह जनताको अधिकार भएको मागेर नदिए बिद्रोह गरेर भएपनि लिने बताए । अब नेपालमा व्यक्ति र पार्टी चुन्ने चुनाव होइन व्यवस्था चुन्ने चुनाव गर्नुपर्ने नेता प्रदिपको भनाइ थियो ।

प्रशिक्षण कार्यक्रममा लमही नगरपालिका, राप्ती गाउँपालिका, गढवा, राजपुर गाउँपालिकाका वडा इन्चार्ज र सेक्रेटरीहरुले आफ्नो रिपोर्ट प्रस्तुत गरेका थिए ।

सहिद परिवार समाज राप्ती इन्चार्ज धर्तीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलको प्रमुख आतिथ्य, नेकपा विशेष कमिटी सेक्रेटरी सुन्दर, विशेष कमिटी सदस्य विक्रम, नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिप, सहिद परिवार समाज राप्तीका इन्चार्ज धर्ती, नेकपा दाङ जिल्ला सल्लाहकार समिती सदस्यहरु साउनी चौधरी, मधुसूदन, भिम बहादुर बुढाथोकी, जनपत्रकार संगठन नेपाल दाङका अध्यक्ष हेमन्त, जसपाबाट बिद्रोह गरि नेकपामा प्रवेश गरेका पूर्व जिल्ला सचिव सिताराम यादवको आतिथ्य रहेको थियो ।
संयुक्त प्रशिक्षण कार्यक्रमको अध्यक्षता नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला सदस्य भिम प्रकाश पुनले गरेका थिए भने सहजीकरण लमही नगर इन्चार्ज जनकले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :