युवा सङ्गठन नेपाल कपिलवस्तुको अध्यक्षमा सागर

युवा सङ्गठन नेपाल कपिलवस्तुको अध्यक्षमा सागर

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल कपिलवस्तुको चौथो जिल्ला भेला गोरुसिङ्हेमा सम्पन्न भएको छ । शनिबार सम्पन्न भेलाले सागरको अध्यक्षतामा १९ सदस्यीय सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । ‘राष्ट्रियता, सार्वभौमसत्ता र वैज्ञानिक समाजवादको पक्षमा सङ्घर्ष गरौँ ! दलाल संसदीय व्यवस्थाको विरुद्धमा जनमत सङ्ग्रह गरौँ !’ भन्ने मुल नाराका साथ उक्त जिल्ला भेला सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज कृतिले दीप प्रज्वलन गरी चौथो जिल्ला भेलाको उद्घाटन गरेका थिए । उनले यो दलाल संसदीय व्यवस्थाले युवाहरूको भविष्य सुनिश्चित गर्न नसकेको बताए । उनले यो भ्रष्ट सत्ताले युवाहरूलाई रोजगार दिन नसकेकाले युवाहरू खाडी मुलुकको दास हुन बाध्य रहेको बताए । नेता कृतिले दलाल संसदीय व्यवस्थाका कारण युवाहरूले आफ्नो हकहित, अधिकार र रोजगारीको अवसर प्राप्त गर्न नसकेको बताए । जनमतसङ्ग्रहमार्फत वैज्ञानिक समाजवाद प्राप्त गर्नु नै सबैखाले समस्याको निर्विकल्प समाधान भएको उनले जिकिर गरे । कृतिले युवाहरूले दलाल पुँजीवाद, वैदेशिक हस्तक्षेप, साम्राज्यवादी हैकम–हस्तक्षेपका विरुद्ध निर्मम सङ्घर्ष गर्नुपर्ने धारणा राखे । एमसीसी कुनै पनि हालतमा पास हुन नदिन देशव्यापी रुपमा क्रान्तिकारी युवाहरू भीषण सङ्घर्षमा होमिनुपर्ने आवश्यकता रहेको उनको धारणा थियो ।

त्यसैगरी नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा स्कुलिङ विभाग प्रमुख ध्रुवले युवाहरूको क्षेत्रको आमूल परिवर्तन वैज्ञानिक समाजवादी राज्यसत्तामा मात्र सम्भव भएको बताए । उनले नेपालको दलाल संसदीय व्यवस्थाको कारण रोजगार, स्वास्थ, शिक्षा, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्र लगायत तमाम समस्याको समाधान दिन बृहत राजनीतिक समिक्षा भेलाको आयोजना गर्नुपर्ने धारणा राखे । उनले अहिलेको सरकार विघटन गरि सबैको साझा प्रगतिशील संयुक्त सरकार गठन गरेर जनमतसङ्ग्रहमार्फत दलाल पुँजीवादी संसदीय व्यवस्था कि जनताको वैज्ञानिक समाजवादी व्यवस्था भन्ने विषयमा जनमतद्वारा व्यवस्था चुन्ने अधिकार जनतालाई दिनुपर्ने एजेण्डा आफ्नो पार्टीले लिएको बताए ।

सङ्गठनका चौठो जिल्ला सम्मेलन आयोजक समितिका सदस्य तथा पूर्व केन्द्रीय उपाध्यक्ष सागरले संसदीय व्यवस्थाबाट युवाहरूको निकास सम्भव नरहेको भन्दै यसको निस्तेज पार्नुपर्ने बताए । उनले अबको नेपाल र नेपाली जनताको भविष्य युवाहरूको हातमा रहेको भन्दै इतिहासले महत्वपूर्ण जिम्मेवारी युवाहरूको काँधमा सुम्पिदिएको बताए ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा अर्घाखाँची–कपिलवस्तु जिल्ला इन्चार्ज जुझारु र युवा सङ्गठन नेपाल केन्द्रीय सदस्य तथा लुम्बिनी ब्युरो इन्चार्ज विश्लेषणले नवनिर्वाचित सदस्यहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । इन्चार्ज विश्लेषणले प्यानल पेश गरेका थिए ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी जिल्ला सेक्रेटरी कमल, युवा सङ्गठन नेपाल कपिलवस्तु जिल्ला पूर्व अध्यक्ष तथा साधारण साखा सदस्य हेमन्त लगायत सबै जनवर्गीय सङ्गठन/मोर्चाका प्रमुखहरूको उपस्तिथि रहेको बताइएको छ ।

कार्यक्रममा प्रतिबन्धको बेला गिरफ्तार परी जेल र हिरासतबाट मुक्त भएका सागर केसी र दिलिप चन्दलाई सम्मानसमेत गरिएको थियो । उक्त चौथो जिल्ला भेला युवा सङ्गठन नेपाल कपिलवस्तु जिल्ला अध्यक्ष बादलको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन सङ्गठनका जिल्ला उपाध्यक्ष सागर केसीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :