नेकपा चितवनको राजनैतिक तथा वैचारिक प्रशिक्षण सम्पन्न

नेकपा चितवनको राजनैतिक तथा वैचारिक प्रशिक्षण सम्पन्न

चितवन : नेपाल कम्युनिस्ट पार्टी चितवनको जिल्ला स्तरिय राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । चितवनको भरतपुरमा सोमबार सम्पन्न भएको नेकपा चितवनको राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि समेत रहेका नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा अन्तर्राष्ट्रिय विभाग प्रमुख धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले प्रशिक्षण दिएका थिए ।

नेता बास्तोलाले कार्यक्रममा प्रशिक्षणात्म मन्तव्य राख्दै संसदीय व्यवस्था बाहिर फिजाँइए जस्तो लोकतान्त्रिक नभएको बताएका छन् । उनले भने, “वास्तविक लोकतन्त्रमा देशको कार्यकारी प्रमुख संसदबाट मनोनित नभई जनताबाट प्रत्यक्ष चुनिने हुन्छ तर संसदीय व्यवस्थामा देशको कार्यकारी प्रमुख प्रत्यक्ष जननिर्वाचित नभई संसदबाट मनोनित हुने भएकाले संसदीय व्यवस्था अलोकतान्त्रिक व्यवस्था हो ।” उनले एकीकृत जनक्रान्तिमार्फत आउने वैज्ञानिक समाजवादी व्यवस्थाले मात्रै किसान, सर्वहारा, विद्यार्थी, शिक्षक, मजदुर, सुकुमबासी, युवाहरूको सम्पूर्ण समस्या हल गर्न सक्ने भएकाले वैज्ञानिक समाजवादी व्यवस्था नै वर्तमान राज्य व्यवस्था दलाल संसदीय व्यवस्थाको उच्चतम् विकल्प रहेको बताए ।

साथै बास्तोलाले अहिलेको दलाल संसदीय व्यवस्था दलालीकरण, माफियाकरण, शिक्षा र स्वास्थ्यमा भएको निजीकरण तथा व्यापारीकरण, महँगी तथा मूल्यबृद्धि, राजनैतिक अस्थिरता, भ्रष्टाचार, बेरोजगारी, युवा पलायन, देशको राष्ट्रिय स्वाधिनतामाथि ठाडो वैदेशिक हस्तक्षेपको कारण भएको आरोप लगाउँदै सबै समस्याको समाधान र राष्ट्रिय स्वाधिनताको रक्षाका लागि वैज्ञानिक समाजवादी व्यवस्था अपरिहार्य रहेको बताए ।

त्यसैगरी उनले आजसम्म जनताले चुनावमार्फत नेता र पार्टी चुनेको तर ति नेता र पार्टीले देशलाई निकास दिन नसकेको भन्दै अब लोकतन्त्रको उच्चतम् अभ्यास गर्दै आफूले चाहेको व्यवस्था जनताले नै जनमतसङ्ग्रह मार्फत चुन्न पाउनु पर्ने माग गर्दै सम्पूर्ण नेता तथा कार्यकर्तालाई जनमतसङ्ग्रहका लागि तयार हुन अपिल समेत गरे ।

नेकपा चितवनका सेक्रेटरी मिनप्रसाद सापकोटाले सञ्चालन गरेको उक्त प्रशिक्षण कार्यक्रममा नेकपा चितवनका इन्चार्ज तथा केन्द्रीय सदस्य सन्देश पाैडेल, केन्द्रीय सदस्य गुणराज लोहनी, चितवन जिल्ला विशेष समितिका सेक्रेटरी महेश चौधरी र विशेष समिति सदस्य उत्सव अतिथि रहेका थिए भने अखिल (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराईले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :