काठमाडौँः नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ललितपुरको हरिसिद्धीमा उत्पादनसहितको कम्युन घर निर्माण कार्य थालनी गरेको छ ।
प्रत्येक जिल्लामा उत्पादन गर्ने र नेताकार्यकर्तालाई उत्पादनमा जोड्ने पार्टीको केन्द्रीय नीति र योजना अनुसार नेकपाले पार्टीका नेताकार्यकर्ताहरुको उत्पादनसहितको कम्युन घर निर्माण गर्न लागेको हो ।
हरिसिद्धी गुठीको नाममा रहेको ५ रोपनी जग्गा लिजमा लिएर कम्युन घर निर्माण गर्न लागिएको नेकपाले जनाएको छ । ‘एक कमिटी, एक उत्पादन’ को नारा अनुसार काठमाडौँ उपत्यकाका लागि यो घर निर्माण गर्न थालिएको निर्माण सम्बन्धी व्यवस्थापन कार्यको जिम्मेवारी पाएका भिमसेन घिमिरे ‘विपिन’ ले बताए ।
पार्टीभित्र समाजवादी संस्कार संस्कृति निर्माण गर्ने, उत्पादनमा पार्टीलाई आत्मनिर्भर बनाउने र जनतालाई सिकाउने उदेश्यले यो योजना थालिएको उनको भनाई छ । पार्टी महासचिव विप्लवका लागि काठमाडौँमा रहँदा बस्न र नेताकार्यकर्ताहरुको सम्पर्क स्थान हुने गरी निर्माण गर्न लागिएको घर निर्माण कार्य सम्पन्न भएपछि कृषि, पशुपालन जस्ता उत्पादन कार्य थालिने पनि उनले जानकारी गराए ।
निर्माण कार्यमा पार्टीकै नेताकार्यकर्ताहरुको श्रमदान रहेको, पार्टीका समर्थक शुभचिन्तकहरुको पनि भौतिक सरसहयोग रहेको छ भने केही पार्टीको लगानी समेत रहने कम्युन घर निर्माणको व्यवस्थापनमा लागेका विपिनले बताए । उपत्यका पार्टी अन्तर्गत ललितपुर, काठमाडौँ र भक्तपुर जिल्ला पार्टीको विशेष सहयोग रहेको पनि उनले बताए ।
एक-एक तला रहने गरी उक्त घरको दुई वटा ब्लगहरु रहने छन् । एउटा ब्लगको जग बसालेर डिपिसी भरिसकिएको छ भने अर्को ब्लगको जगमा गारो लाउने काम भइरहेको छ ।
एउटा घरमा महासचिवलगायतका नेताहरू काठमाडौँमा रहँदा बस्ने र अर्को घर नेताकार्यकर्ताहरु भेटघाट गर्ने हलसहितको रहनेछ ।
नेकपाको पार्टी केन्द्रीय कार्यालय कपिलवस्तुको शिवगढीमा निर्माण भइरहेको छ । पार्टीको दशौँ बैठकको केन्द्रीय निर्णयअनुसार सबै कमिटी उत्पादनमूलक काममा लाग्ने र आत्मनिर्भर बनाउने रहेको छ । त्यही योजनाअनुसार जिल्लामा यो योजना कार्यान्वयन भइरहेको बताइएकाे छ ।
दुई महिनामा घर निर्माण काम सकेर उत्पादनमा लाग्ने विपिनको भनाई छ । २० वर्षका लागि लिजमा लिएको गुठीको उक्त जग्गासँग जोडिएको अरु केही जग्गा भूमाफियाहरुले प्लटिङको नाममा हडपेकाले त्यो जग्गा समेतलाई निकालेर उत्पादन कार्य गरिने उनले बताए । उत्पादनमा सबै नेताकार्यकर्ता र जनवर्गीय संगठनहरूलाई आलोपालो जोडिनेछ ।
पार्टीभित्र नेताकार्यकर्ता सामूहिक उत्पादन गर्ने, सामुहिक जीवनशैली अपनाउने, सबै पार्टी कमिटी र जनवर्गीय संगठनलाई उत्पादनसँग जोडेर आत्मनिर्भर बनाउने र जनतालाई समाजवादी उत्पादनको नमुना देखाउने र सिकाउने योजनाअनुरुप यो अभियार्न थालिएको छ ।