नेकपा नेता सुदर्शनलाई आज साढे २ बजे नारायणगोपालचोकमा भव्य स्वागत गरिँदै

पार्टी नेता-कार्यकर्तालाई स्वागत कार्यक्रममा सहभागी हुन आह्वान

नेकपा नेता सुदर्शनलाई आज साढे २ बजे नारायणगोपालचोकमा भव्य स्वागत गरिँदै

काठमाडौँ : करिब २८ महिनादेखि गैरन्यायिक रूपमा जेलमा बन्दी बनाएर सर्वोच्च अदालतको आदेशमा हिजो मात्र रिहा भएका नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ लाई पार्टीले आज भव्य स्वागत गर्ने भएको छ ।

नेकपा केन्द्रीय कार्यालय स्रोतका अनुसार आज अपराह्न साढे २ बजे नेकपाले काठमाडौँ चक्रपथस्थित नारायणगोपाल चोकमा नेता सुदर्शनको भव्य स्वागत गर्ने तयारी गरेको छ । नेकपाले उपत्यकामा रहेका पार्टी, जवस, मोर्चाका नेता-कार्यकर्तालाई उक्त कार्यक्रममा सहभागी हुन पनि आह्वान गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य सुदर्शन सर्वोच्च अदालतको आदेशमा हिजो मात्र रिहा भएका हुन् । न्यायाधीश प्रकाशकुमार ढुङ्गाना र मनोजकुमार शर्माको इजलासले नेता सुदर्शनलाई साधारण तारेखमा छाड्न आदेश दिएको थियो ।

नख्खु कारागारमा बन्दी जीवन बिताइरहेकै अवस्थामा ‘हर्ट अट्याक’ भएपछि उनलाई केही दिनअघि बाँसबारीस्थित सहिद गङ्गालाल हृदयकेन्द्रमा भर्ना गरी मुटुको अपरेसन गरिएको थियो ।

स्मरणीय छ, सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच गत फागुन २१ गते तीनबुँदे सहमति भए पनि ६ महिना लाग्दासमेत सरकारले उक्त सहमति पालना गरेको छैन । सहमति गर्ने केपी ओली सरकारको पतन भएर सर्वोच्चको आदेशमा शेरबहादुर देउवा नेतृत्वमा पाँचदलीय गठबन्धन सरकार बनेपछि नेकपाका नेताहरू विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटवार्ता गरिरहेका छन् । नेकपाका महासचिव विप्लव र सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका नेता माधव नेपाल, जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराई र हिसिला यमिलगायतलाई भेटेर समसामयिक राजनीतिक विषय र केपी ओली सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयनको विषयमा छलफल गरिसकेका छन् ।

ओली सरकारले नेकपामाथि आफैँले लगाएको प्रतिबन्ध हटाए पनि पार्टी नेता-कार्यकर्तामाथि लगाइएका झूट्टा मुद्दा खारेज गर्ने र जेलमा रहेका पार्टी नेता-कार्यकर्ता रिहा गर्ने काम गरेको छैन । सरकारले सहमति पालना नगरेपछि केही नेता धरौटी रकम बुझाएर र केही नेता अदालतको आदेशबाट रिहा भएका छन् भने एक सयभन्दा बढी नेता-कार्यकर्ता अझै कारागारमै छन् । सरकार सहमतिबाट पछि हटेपछि बन्दीका आफन्तहरूले कानुनी प्रक्रिया अघि बढाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :