महासचिव विप्लवको राजनीतिक भेटघाट तीव्र, आज बाबुराम भट्टराई र हिसिला यमिसँग छलफल

महासचिव विप्लवको राजनीतिक भेटघाट तीव्र, आज बाबुराम भट्टराई र हिसिला यमिसँग छलफल

काठमाडौँ : नेकपाका महासचिव विप्लवले मुलुकको राजनीतिक सङ्कटको निकासका साथै पार्टी र केपी ओली सरकारबीच भएको तीनबुँदे सहमति कार्यान्वयनका विषयमा राजनीतिक भेटघाट तीव्र बनाएका छन् । बिहीबार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका नेता माधव नेपालसँग भेटवार्ता गरी छलफल गरेका महासचिव विप्लवले शुक्रबार जनता समाजवादी पार्टी (जसपा) सङ्घीय परिषद्का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र भट्टराईपत्नी पूर्वमन्त्री एवम् जसपानेत्री हिसिला यमिसँग मुलुकको राजनीतिक सङ्कटको निकासका विषयमा छलफल गरेको नेकपा केन्द्रीय कार्यालयले जनाएको छ । स्मरणीय छ, केपी ओली सरकारले नेकपामाथि प्रतिबन्ध लगाएको समयमा डा. भट्टराईले उक्त कदमको विरोध गरेका थिए ।

महासचिव विप्लवले मङ्गलबार रातो खबरसँगको कुराकानीमा मुलुकलाई सङ्कटबाट निकास दिने सन्दर्भमा संसद्‌वादी राजनीतिक पार्टीसँगको छलफललाई अघि बढाइने बताएका थिए । महासचिव विप्लवसँगै नेकपा केन्द्रीय समितिका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ पनि राजनीतिक भेटघाट र छलफलमा छन् ।

नेकपाले विद्यमान दलाल संसद्‌वादी पुँजीवादी दलदलबाट मुलुकलाई निकास दिन प्रगतिशील संयुक्त सरकार, दलाल पुँजीवाद ठीक कि वैज्ञानिक समाजवाद ठीक भन्ने विषयमा जनमतसङ्ग्रह र वैज्ञानिक समाजवाद स्थापनाको विषयलाई जोडतोडसँग उठाइरहेको छ । यो विषयले विभिन्न राजनीतिक पार्टी र बौद्धिक वर्गको ध्यानाकर्षण पनि गराइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :