युवा सङ्गठन कैलालीका संयोजकमाथि जुवाडे समूहद्वारा निर्घात आक्रमण

आक्रमणकारीलाई सख्त कारबाही नगरिए बदला लिने चेतावनी

युवा सङ्गठन कैलालीका संयोजकमाथि जुवाडे समूहद्वारा निर्घात आक्रमण

कैलाली : युवा सङ्गठन कैलालीका संयोजक पुष्प भट्टमाथि यही जेठ ३ गते जुवाडेहरूको समूहले साङ्घातिक आक्रमण गरेको छ । युवा सङ्गठन सेम कार्यालयले उक्त आक्रमणप्रति खेद प्रकट गर्दै आक्रमणकारीलाई कारबाही गर्न माग गरेको छ ।

सङ्गठनको कार्यालयले आफ्ना घृणित कार्य सच्याई सङ्गठनको सम्पर्कमा आएर माफी माग्न र उचित क्षतिपूर्ति बेहोर्न आग्रह गर्दै अन्यथा यस्तो कुकार्य स्वीकार्य नहुने चेतावनी पनि दिएको छ ।

युवा सङ्गठनका सेती–महाकाली कार्यालय सचिव मनमोहन जोशी ‘दीपेश’ द्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘देश अहिले गम्भीर सङ्कटमा छ । चारैतिर कोरोना महामारीको त्रास छ । यसै समयमा मिति २०७८/०२/०३ गते कैलाली जिल्ला संयोजक क. पुष्प भट्टमाथि जनसेवामा लागेका र सङ्गठनको काममा खटिरहेका बेला लम्कीचुहा नगरपालिका वडा नं १ बस्ने लक्ष्मण बुढाथोकीको नेतृत्वका १२ जना जुवाडेले धारिलो हतियार प्रयोग गरी ज्यान मार्ने उद्देश्यका साथ साङ्घातिक आक्रमण गरेको घृणित कार्यप्रति हाम्रो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘समाजमा हुने अन्याय, अत्याचार, लागूपदार्थ कारोबार, जुवातासलगायत विकृतिका विरुद्ध हाम्रो सङ्गठन निरन्तर सङ्घर्षरत रहेको कुरा सर्वविदितै छ । जनसेवामा खटिरहेका बेला पुष्प भट्टमाथि आक्रमण गर्ने लक्ष्मण बुढाथोकीको टिमलाई आफ्नो घृणित कार्य छोडेर सङ्गठनको सम्पर्कमा आई माफी माग्न र उचित क्षतिपूर्ति बेहोर्न आह्वान गर्दछौँ । अन्यथा देश परिवर्तनको जिम्मा लिएको हाम्रो गौरवशाली सङ्गठनमाथि जुवाडेको आक्रमण कुनै पनि हालतमा सह्य हुनेछैन ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘हाम्रो सङ्गठन उचित समयमा उचित बदला लिने चेतावनी दिन चाहन्छ । घटनामा संलग्न दोषीहरूलाई कानुनको कठघरामा उभ्याउन सम्पूर्ण न्यायप्रेमी, देशभक्त, युवा समूह, पुलिस प्रशासनलगायत सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :