ट्रेड युनियन महासङ्घद्वारा १३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना

श्रमिकका लागि विशेष राहतमुखी कार्यक्रम तत्काल लागू गर्न सरकारसँग माग

ट्रेड युनियन महासङ्घद्वारा १३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना

काठमाडौँ : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले १३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना प्रकट गरेको छ ।

महासङ्घका संयोजक विनोद थापाले शुक्रबार प्रेस वक्तव्य जारी गर्दै पुँजीपति वर्गको अमानवीय शोषण, अन्याय र अत्याचारका विरुद्ध मजदुर वर्गले आफ्नो अधिकारका निम्ति तत्कालीन राज्यसत्ताको दमनकारी नीतिको विरोध गर्दै आन्दोलनको जगमा न्याय, स्वतन्त्रता र मुक्तिका लागि बलिदान गरेको दिनको सम्झनास्वरूप विश्वभरिका श्रमिक वर्गले १३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइरहेको उल्लेख गरेका छन् ।

वक्तव्यमा थापाले संसारलाई नै स्तब्ध बनाइरहेको कोरोना भाइरसका कारण जनजीवन अस्तव्यस्त बनिरहेको अवस्थामा जटिल परिस्थिलाई ध्यान दिँदै श्रमिकका लागि विशेष राहतमुखी कार्यक्रम तत्काल लागू गर्न सरकारसँग माग गरेका छन् ।

उनले भनेका छन्, ‘दलाल पुँजीवादी राज्यव्यवस्थाको सङ्कट, राजनीतिक अस्थिरता र अन्योलका कारण अहिलेको संसदीय प्रणाली पूर्ण असफल हो भन्ने सबैमा स्पष्ट छ । यो व्यवस्थाको विकल्प श्रमिक जनताले खोजिरहेका छन् । श्रमजीवी वर्गले परिवर्तनका पक्षमा आफ्नो ज्यानको परबाह नगरी इतिहासदेखि अहिलेसम्म निर्वाह गरेको भूमिकाका विरुद्ध यहाँका मुठीभरका दलालहरुले मजदुरविरोधी ऐनकानुनद्वारा गरिखाने वर्गमाथि कुशासन लादिरहेका छन् । दुःखीगरिबको आँसु र पसिनाको व्यापार गरिरहेका छन् । मजदुर हितका लागि खोलिएका केही सङ्घसङ्गठन एनजीओमा बदलिए । उनीहरुको गतिविधि औपचारिकतामा मात्र सीमित छ ।’

प्रजातन्त्र लुटतन्त्रमा बदलिँदा देशले ठूलो मूल्य चुकाउनुपरेको उल्लेख गर्दै वक्तव्यमा महँगी, कालोबजारी, हत्या, हिंसा, बलात्कारजस्ता जघन्य अपराध बढिरहेको, गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको आधारभूत आवश्यकता पूरा हुन नसकिरहेको, बेरोजगारीको सङ्ख्या दिनानुदिन बढिरहेको र उद्योग–कलकारखानाहरु बन्द हुने अवस्थामा पुगेको अवस्थामा सिङ्गो राज्य नै दलाल पुँजीवादको लपेटामा फसेको चर्चा गरिएको छ ।

शासक–प्रशासकको असफलता र व्यवस्थाबाट लादिएको उत्पीडन अन्त्यको एक मात्र निकास क्रान्तिकारी मजदुर आन्दोलनलाई राजनीतिक आन्दोलनसँग जोड्दै पुँजीवादी सत्ताको अन्त्य गर्न वैज्ञानिक समाजवाद स्थापना गर्ने दिशामा एकजुट हुन पनि वक्तव्यमा आह्वान गरिएको छ । वक्तव्यमा आमशोषित–पीडित श्रमिक मजदुर वीरताले भरिपूर्ण १३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसमा क्रान्तिको नयाँ क्षितिज उघार्नेतर्फ अग्रसर हुने विश्वास व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :