संसद् विघटन : दलाल संसदीय पुँजीवादले राष्ट्रियता, जनतन्त्र र जनजीविकाविरुद्ध खेलेको जुवा : बुद्धिजीवी

काठमाडौँ : नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठनले प्रेस वक्तव्य जारी गर्दै केपी वलीकी रबरस्ट्याम्प बनेकी विद्या भण्डारीबाट संसद् विघटन गराएर चुनाव घोषणा गर्नु कुनै अनौठो र आकस्मिक घटना नभई दलाल संसदीय पुँजीवादले राष्ट्रियता, प्रजातन्त्र, सार्वभौमसत्ता, जनतन्त्र र जनजीविकाविरुद्ध खेलेको जुवा भएको दृष्टिकोण सार्वजनिक गरेको छ । सङ्गठनका महासचिव व्यापक नेपालीले जारी गरेको वक्तव्यमा कागजमा सार्वभौम र प्रजातान्त्रिक भनिए पनि व्यवहारमा निरीह, जननिर्वाचित रबरस्ट्याम्प बनाइएको सङ्घीय प्रतिनिधिसभाको विघटन दलाल संसदीय पुँजीवादी व्यवस्थाको गर्भमा सधैँ रहिरहने र विगत तीन दशकमा चारपटक प्रयोग गरिएको राजनीतिक कदमरूपी जुवा रहेको जनाइएको छ ।

वक्तव्यमा भनिएको छ, ‘कागजमा सार्वभौम र प्रजातान्त्रिक भनिएको तर व्यवहारमा निरीह जननिर्वाचित रबरस्ट्याम्प बनाइएको सङ्घीय प्रतिनिधिसभाको विघटन प्रधानमन्त्री केपी वलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको छ । यो अन्तरनिहित निरन्तरता अनौठो आकस्मिक घटना नभई दलाल संसदीय पुँजीवादी व्यवस्थाको गर्भमा सधैँ रहिरहने र विगत तीन दशकमा चारपटक प्रयोग गरिएको राजनीतिक कदमरूपी जुवा हो जसले राष्ट्रियता, प्रजातन्त्र, सार्वभौमसत्ता, जनतन्त्र र जनजीविकालाई थप ध्वस्त बनाइरहेको छ । यसबाट संसद्वादी व्यवस्थामा वास्तविक राजकीय शक्तिको प्रयोगकर्ता को हुन्छ भन्ने बेहोरालाई पुनः प्रमाणित गराएकाले राजनीतिकर्मी र जनतालाई समेत संसद्वादी भ्रमबाट मुक्त गराएको छ ।’

वक्तव्यमा अगाडि भनिएको छ, ‘विगत ७० वर्षमा विभिन्न सत्ताधारी दलभित्र देखिएको व्यक्तिगत/गुटगत प्रहसनले सत्तास्वार्थको वास्तविक अवस्थाको अभिलेखीकृत एक्स–रे गरेकाले गलत राजनीतिको अन्त्य गर्न सम्पूर्ण क्रान्तिकारी, देशभक्त शक्ति एकजुट भई लाग्नुपर्दछ । देश र जनहितको विपक्षमा रहेको यो सत्ता र संविधान ९९ प्रतिशत जनताका लागि प्रजातान्त्रिक र देशभक्तिपूर्ण त छैन नै आर्थिक–सामाजिक–लैङ्गिक न्याय/समानताविरोधीसमेत छ भन्ने बेहोरा बढ्दो गरिबी, असमानता, बेरोजगारी, दलीय लुछाचुँडी, बलात्कार र हत्याहिंसादेखि महाकाली सन्धि, नेकपामाथिको प्रतिबन्ध हुँदै संसद् विघटनसम्म आइपुग्दा प्रमाणित भएको छ । त्यसैले विद्यमान गहिरो सामाजिक–राजनीतिक विभाजनलाई रोक्न वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्नुपर्दछ ।’

वक्तव्यमा भनिएको छ, ‘जनयुद्धको बलमा गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी र सङ्घीयता प्राप्त भए पनि यी उपलब्धिको जैविक चरित्र नवउदारवादी संसदीय पद्धतिमा आधारित बनाई सामाजिक दलाल पुँजीवादीको कब्जामा राज्यसंयन्त्र परेकाले यसलाई पराजित गर्न राजनीतिक क्रान्ति सम्पन्न गर्नुपर्ने देखिन्छ । २१ औँ शताब्दीमा राष्ट्रको नेतृत्व सामन्त र दलाल पुँजीवादले होइन, श्रमजीवी किसान, मजदुर र देशभक्तले सच्चा कम्युनिस्ट पार्टीमार्फत गर्नुपर्दछ । हालको दक्षिणपन्थी, अवैज्ञानिक, जनविरोधी सत्तालाई विस्थापित गर्न शारीरिक र मानसिक श्रम गर्ने जनता र विश्वमित्रतापूर्ण न्यायका पक्षधर शक्ति एकजुट भई अगाडि बढ्नुपर्दछ । त्यसैले दलाल संसदीय पुँजीवादी व्यवस्था नै सबै चीज हो, There Is No Alternative (TINA) भन्ने भ्रममा नपरी श्रमजीवी जनताको वैज्ञानिक समाजवादी सत्ता स्थापनार्थ क्रान्ति पूरा गर्न राजनीतिकर्मी, विद्यार्थी, मजदुर, किसान, बुद्धिजीवी, लेखक, पत्रकार, सुरक्षाकर्मी र जनसमुदायलाई एकीकृत भई राजनीतिक महाविस्फोटका लागि अनुरोध गर्दछौँ ।’ विज्ञप्तिकाे पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :