काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी गुल्मीले जिल्लाको धुर्कोटस्थित आफ्ना कार्यकर्ता तारा बस्नेत र विनोद पोखरेललगायत समर्थक, शुभचिन्तक एवम् स्थानीय जनताको घरमा प्रहरीले आतङ्क मच्चाएको भन्दै त्यसको प्रतिवाद गर्न जनतालाई अपिल गरेको छ ।
जिल्ला इन्चार्ज लक्ष्मणले आइतबार प्रेस वक्तव्य जारी गर्दै पार्टी सदस्य एवम् शुभचिन्तकहरुको घरमा अनुमति बिना पसेर प्रहरीले पार्टीका नेता कार्यकर्तामाथि दमन, धरपकड र गिफ्तार गर्ने, अनावश्यक खानतलासी गर्ने, परिवार, बृद्धबृद्धा र नाबालकहरुमाथि धम्की, दुव्र्यवहार, अपमान र सन्त्रास पैदा गरी मानसिक आतंक पैदा गरेको भन्दै उक्त कार्य तत्काल रोक्न चेतावनी दिएका छन् ।
वक्तव्यमा भनिएको छ, ‘गुल्मीको धुर्कोटस्थित पार्टीका कार्यकर्ता तारा बस्नेत, विनोद पोखरेल र स्थानीय समर्थक, शुभचिन्तक एवम् जनताको घरमा बिना अनुमति पसेर प्रहरीले अनावश्यक खानतलासी गर्ने, परिवार, बृद्धबृद्धा र नाबालकहरुमाथि धम्की, दुव्र्यवहार, अपमान र सन्त्रास पैदा गरी मानसिक आतङ्क पैदा गर्नेजस्ता अत्यन्तै घृणित, अमानवीय र जङ्गली व्यवहार गरेको छ । त्यस्तै जिल्लाको मदाने, पुर्कोटलगायत विभिन्न गाउँबस्तीहरूमा समेत राज्यले श्वेत आताङ्क मच्चाइरहेको छ ।’
इन्चार्ज लक्ष्मणले वक्तव्यमा भनेका छन्, ‘हामी केपी वली सरकारको यस प्रकारको दमन र फासिवादी हर्कतको कडा निन्दा एवम् भत्र्सना गर्दै जनताले वैचारिक निष्ठा राख्न पाउने न्युनतम राजनीतिक अधिकार र स्वतन्त्रतामाथि प्रतिबन्ध लगाउने सामाजिक दलाल फासिवादी सरकारलाई यस्ता निकृष्ट हर्कत रोक्न चेतावनी दिदै त्यसका विरुद्ध कडा प्रतिवाद गर्न सम्पूर्ण बुद्धिजीवी, मानवअधिकारकर्मी, देशभक्त, सरोकारवाला एवम् सम्पूर्ण गुल्मेली जनसमुदायमा अपिल गर्दछौं ।’