शुल्क तिर्न नसक्ने विद्यार्थीको पढाइ रोकिए अप्रिय कदम चाल्ने क्रान्तिकारीको चेतावनी

शुल्क तिर्न नसक्ने विद्यार्थीको पढाइ रोकिए अप्रिय कदम चाल्ने क्रान्तिकारीको चेतावनी

काठमाडौँ : बौद्ध इन्टरनेसनल स्कुलले शुल्कका कारण विद्यार्थीलाई अनलाइन कक्षाबाट वञ्चित गरेको भन्दै अखिल क्रान्तिकारीले आपत्ति जनाएको छ । अखिल क्रान्तिकारीका काठमाडौँ जिल्ला अध्यक्ष गोविन्द बिष्टले विज्ञप्ति जारी गरी शुल्क नतिरेको भन्दै विद्यार्थीलाई अनलाइन कक्षाबाट वञ्चित गरिएको घटनाले सङ्गठनको ध्यानाकर्षण भएको बताएका छन् ।

विज्ञप्तिमा कोरोना महामारीका कारण शैक्षिक सत्रको सुरुदेखि नै शैक्षिक संस्था बन्द रहेको तर बौद्ध इन्टरनेसनल स्कुलले जबर्जस्ती वैशाखदेखिकै शुल्क असुल गर्नु आपत्तिजनक भएको भन्दै तत्काल रोक्न र विद्यार्थीलाई अनलाइन कक्षाबाट वञ्चित नगर्न आग्रह गरिएको छ । जोरपाटीस्थित बौद्ध इन्टरनेसनल स्कुलले अभिभावकसँग गुण्डागर्दीशैली देखाएको भन्दै बिष्टले खेद व्यक्त गरेका छन् । मानवीयतालाई समेत बिर्सेर उक्त स्कुलले बन्द रहेको अवस्थाको खाजा, खाना, खेलकुदलगायत विभिन्न विषयमा शुल्क असुल गरिरहेको भन्दै बिष्टले शुल्क उठाउने काम बन्द गर्न चेतावनीसमेत दिएका छन् ।

“न्यूनतम् मानवीयतालाई बिर्सेर शुल्क वृद्धि गर्ने, स्कुल नचलेको बेलाको खाना, खाजा, खेलकुदलगायत विभिन्न शीर्षकमा शुल्क असुल्ने क्रियाकलापले निजी विद्यालयको चरित्र उदांङ्गिएको छ । हाम्रो सङ्गठन समाजवादको ढ्वाङ पिट्ने वली नेतृत्वको सरकारलाई निजी शैक्षिक संस्थाहरुलाई राष्ट्रियकरण गरी संविधानप्रदत्त निःशुल्क शिक्षाको व्यवस्था गर्न जोडदार माग गर्दछ । राज्यले नै शैक्षिक शुल्कबारे स्पष्ट नीति नबनाएको यो विषम् परिस्थितिमा बौद्ध इन्टरनेसनललगायत निजी स्कुलहरुलाई शुल्क असुली बन्द गर्न चेतावनी दिन चाहन्छौँ”, विज्ञप्तिमा भनिएको छ ।

अखिल क्रान्तिकारीले अभिभावकका जायज मागे सम्बोधन गरी शुल्कका कारण पढ्नबाट वञ्चित विद्यार्थीलाई तुरुन्त अनलाइन कक्षा लिने वातावरण बनाउन उक्त स्कुललाई आग्रह गरेको छ । अन्यथा सङ्गठन अप्रिय कदम चाल्न बाध्य हुने पनि विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :