ब्याज र किस्ता असुल्न ताकेता गर्ने बैङ्कहरूलाई कारबाही गर्ने जनसत्ताको चेतावनी

ब्याज र किस्ता असुल्न ताकेता गर्ने बैङ्कहरूलाई कारबाही गर्ने जनसत्ताको चेतावनी

काठमाडौँ : विद्रोही नेकपाको वैकल्पिक सत्ता ताम्सालिङ स्वायत्त प्रदेश, ताम्सालिङ प्रादेशिक जनपरिषद्ले प्रेस विज्ञप्ति जारी गर्दै मुलुकको विषम र जटिल परिस्थितिको ख्याल नै नगरी नेपाल राष्ट्र बैङ्कको मौद्रिक नीतिनियमलाईसमेत चुनौती दिई बैङ्क तथा वित्तीय सङ्घ (सहकारी) ले चर्को ब्याज असुल्ने, किस्ता उठाउने र लिलाम बिक्रीको सूचना प्रकाशित गर्ने गरेको भन्दै त्यस्तो गरेमा कारबाही गर्ने चेतावनी दिएको छ । ताम्सालिङ जनसत्ता प्रमुख माणिक लामाले विज्ञप्ति जारी गरी विभिन्न सेवाशुल्क र जरिबानाका नाउँमा बैङ्क तथा वित्तीय संस्थाले रकम असुल्ने, बिचौलिया, दलाल खडा गरी मौका छोपी निमुखा, गरिब, सोझासीधा जनताको सम्पत्ति खाने, हडप्ने र जनतालाई कङ्गाल बनाउने षड्यन्त्र गरेकाले यस खालको हर्कत रोक्न चेतावनी दिएका हुन् ।

ताम्सालिङ स्वायत्त प्रदेश, ताम्सालिङ प्रादेशिक जनपरिषद्का प्रमुख लामाले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘विश्वव्यापी फैलिएको कोरोना महामारी (कोभिड–१९) द्वारा उत्पन्न कहालीलाग्दो जीवनमरणको बहुआयामिक दुखान्तकारी समस्या परेको यस सङ्गीन घडीमा केही समयदेखि बैङ्क तथा वित्तीय सङ्घसंस्था (सहकारी) हरूले विज्ञापन प्रकाशित गरी जबर्जस्ती ब्याज असुल्ने, किस्ता उठाउने र घरजग्गा लिलाम गर्ने सम्बन्धमा हाम्रो गौरवशाली एवम् लोकप्रिय ताम्सालिङ स्वायत्त प्रदेश जनपरिषद्को गम्भीर ध्यानाकर्षण भएको छ ।’

उनले अगाडि भनेका छन्, ‘यतिखेर नेपाली जनता कोरोना महामारी र भोक–रोगले मृत्युशैयामा पुगेका छन् भने अर्कोतिर हजारौँ सङ्ख्यामा आत्महत्या गरिरहेका छन् । सत्तासीन पार्टीका शीर्ष नेताहरू भने एकआपसमा निजी स्वार्थसिद्धिका लागि महत्वपूर्ण समय खेर फालिरहेका छन् । मुलुक गम्भीर आर्थिक सङ्कटमा फसिरहेको छ । मुलुकमा जताततै असन्तुष्टि, काण्ड नै काण्ड, भ्रष्टाचार, बलात्कार, शोषण, दमन, अन्याय, अत्याचार, चरम महँगी, बाढीपहिरोबाट मृत्यु एवम् कानुनी शासनको धज्जी उडाउँदै विश्वव्यापी मानवअधिकारको समेत घोर उल्लङ्घन गरिरहेको छ ।’

लामाले विज्ञप्तिमा भनेका छन्, ‘यस्तो विषम र जटिल परिस्थितिको ख्याल नै नगरी नेपाल राष्ट्र बैङ्कको मौद्रिक नीतिनियमलाई समेत चुनौती दिई बैङ्क तथा वित्तीय सङ्घ (सहकारी) समेतले चर्को ब्याज असुल्ने, किस्ता उठाउने र लिलाम बिक्रीको सूचना प्रकाशित गर्ने, विभिन्न सेवा शुल्क र जरिबानाको नाउँमा रकम असुल्ने, बिचौलिया, दलाल खडा गरी मौका छोपी निमुखा, गरिब, सोझासीधा जनताको सम्पत्ति खाने, हडप्ने र जनतालाई कङ्गाल बनाउने षड्यन्त्र गरिआएकाले तत्काल यस खालको हर्कत रोक्न हामी अपिल गर्दछौँ ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘कोरोना महामारीको सहज परिस्थिति तयार नभएसम्म कुनै किसिमको लिलाम बिक्री गर्ने, किस्ता उठाउने, चर्को ब्याज असूल्ने, सेवासुविधा र जरिबानाका नाममा रकम उठाउने काम तुरुन्त बन्द गरिदिनुहुन यसै विज्ञप्तिमार्फत अनुरोध गर्दछौँ । हाम्रो अनुरोधलाई अटेर गरी जबर्जस्ती गरेमा बाध्य भई बैङ्क तथा वित्तीय सङ्घसंस्था (सहकारी) हरूलाई कडा कारबाही गरिने बेहोरा यसै प्रेस विज्ञप्तिमार्फत जानकारी गराइन्छ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :