डा. गोविन्द केसीको जीवनरक्षाका लागि सरकारलाई चौतर्फी दबाब

सीपी गजुरेल, माधव नेपाल, शेरबहादुर देउवा र बाबुराम भट्टराई पनि केसीका पक्षमा

डा. गोविन्द केसीको जीवनरक्षाका लागि सरकारलाई चौतर्फी दबाब

काठमाडौँ : शिक्षा सुधारलगायत माग राखी २४ दिनदेखि १९ औँ आमरण अनशन जारी राखेका वरिष्ठ चिकित्सक गोविन्द केसीको जीवनरक्षाका लागि सरकारलाई चौतर्फी दबाब बढेको छ । यसअघि केसीका मागका पक्षमा प्रदर्शन गर्दै आएको कपी वली सरकारलाई आफ्नै पार्टीका नेतादेखि संसद्का प्रतिपक्ष र सडकका प्रतिपक्षसम्मको दबाब झेल्न मुस्किल पर्दै गएको छ । डा. केसीका पक्षमा नेकपा (क्रान्तिकारी माओवादी) का नेता सीपी गजुरेल, सरकारी नेकपाका नेता माधव नेपालदेखि सदनको प्रतिपक्षी दल काङ्ग्रेस सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसम्मले आवाज उठाएका छन् ।

मोहन वैद्य ‘किरण’ नेतृत्वको देजमो नेपालका अध्यक्ष सीपी गजुरेलले शिक्षा सुधारको माग गर्दै आमरण अनशन बसेका डा. गोविन्द केसीको जीवनमा खेलबाड नगर्न सरकारलाई चेतावनी दिएका छन् । नेपालमा शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेका विकृति र विसङ्गतिको विरोध गर्दै सुधारका माग राखी २४ दिनदेखि १९ औँ अनशनरत वरिष्ठ चिकित्सक गोविन्द केसीको जीवनमा खेलबाड नगर्न गजुरेलले सरकारलाई चेतावनी दिएका हुन् ।

सरकारले डा. केसीसँग विगत अनशनको समयमा गरेका सम्झौता र सहमति कार्यान्वयन नगरी वार्तासमेत गर्न अटेर गर्दै आएको छ । देशभक्त जनतान्त्रिक मोर्चा नेपालका अध्यक्ष गजुरेलले वक्तव्यमार्फत केसीका माग अविलम्ब सम्बोधन गर्न सरकारलाई चेतावनी दिएका हुन् ।

यसैगरी सरकारी पार्टीका नेता माधव नेपालले सरकारले डा. गोविन्द केसीको ज्यान बचाउनुपर्ने बताएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले अनशनरत डा. केसीको जीवनरक्षामा सरकारले तत्काल ध्यान दिनुपर्ने बताएका हुन् । केसी त्रिवि शिक्षण अस्पतालमा २४ दिनदेखि आमरण अनशनमा छन् ।

नेता नेपालले मङ्गलबार भनेका छन्, ‘उहाँको जीवनरक्षा पहिलो प्राथमिकता हो । तसर्थ सरकारले तत्कालै अनशन अन्त्य गर्ने वातावरण बनाएर उहाँको ज्यान बचाउनुपर्छ ।’ नेपालले नेकपाले समाजवादी नीति लिएका कारण स्वास्थ्य क्षेत्रमा सामान्य जनताको पहुँच स्थापना गर्ने पक्षमा पार्टी उभिनुपर्ने पनि बताएका छन् । उनले विगतमा सरकारले डा. केसीसँग गरेको सम्झौता कार्यान्वयनमा पनि ध्यान दिनुपर्ने बताए ।

त्यसैगरी पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले डा. केसीसँग तुरुन्त वार्ता गर्न सरकारलाई आह्वान गरेका छन् । भट्टराईले आमरण अनशनरत डा. गोविन्द केसीसँग तत्काल वार्ता गर्न सरकारलाई आग्रह गरेका हुन् । केसीको स्वास्थ्य जोखिमपूर्ण अवस्थामा पुग्दा पनि सरकारले वार्ताको पहल नगरेको भट्टराईले बताए । डा. भट्टराईले ट्विटरमा मङ्गलबार लेखेका छन्, ‘२३ दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य जोखिमपूर्ण अवस्थामा पुग्दा पनि लोकतान्त्रिक देशको राज्यले वार्ताको पहलसम्म नगरी बस्न मिल्छ ? यो क्रिमिनल नेग्लिजेन्स हैन ? तुरुन्त वार्ता गर, समाधान खोज । डा. केसी बाँच्नुपर्छ ।’

इसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतले पनि डा. केसीसँग वार्ता गरी उनको जीवनरक्षा गर्न सरकारसँग माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :