विसर्जनवाद र आत्मसमर्पणवादविरुद्ध सङ्घर्ष: विप्लव

हामीले क्रान्तिमा विजय हासिल गर्नका लागि यतिबेला क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा देखापरेका दुई गलत प्रवृत्तिविरुद्ध सङ्घर्ष गर्नुपर्ने भएको छ । ती प्रवृत्ति हुन्– विसर्जनवाद र आत्ससमर्पणवाद । विसर्जनवाद र आत्मसमर्पणवाद क्रान्तिकारी कम्युनिस्ट आन्दोलनका घातक र विषालु प्रवृत्ति हुन् । यी दुई प्रवृत्तिमाथि विजय हासिल नगरी क्रान्तिमा विजय हासिल गर्न सम्भव छैन । तसर्थ, सबै क्रान्तिकारीहरूले यी घातक प्रवृत्तिविरुद्धको सङ्घर्षमा विशेष जोड दिन आवश्यक छ ।

(क) के हो विसर्जनवाद र आत्मसमर्पणवाद ?
विसर्जनवाद र आत्मसमर्पणवाद एउटै सार बोकेका दुई रूप हुन् । तथापि दुईमा केही अन्तर रहने गर्दछन् । विसर्जनवादी समस्या कम्युनिस्ट आन्दोलनमा रुसको क्रान्तिकारी आन्दोलनबाट सुरु भएको हो । जब रुसको कम्युनिस्ट पार्टी (त्यतिबेलाको रुसी सामाजिक जनवादी मजदूर पार्टी) भित्र क्रान्ति सञ्चालन गर्ने सन्दर्भलाई लिएर अन्तर्सङ्घर्षमा प¥यो, पार्टी बोल्सेभिक र मेन्सेभिकमा विभाजित भयो, मेन्सेभिक (अल्पमत) भित्र विसर्जनवाद देखाप¥यो । यसले कम्युनिस्ट पार्टीको नामबाट क्रान्तिविरुद्ध भ्रम प्रचार गर्ने, क्रान्तिकारीहरूमाथि दोषारोपण गर्ने, माक्र्सवादी पार्टीको कार्यक्रम, कार्यनीति अस्वीकार गर्ने, आफ्नै सुधारवादी पार्टी गठन गर्ने, जारशाही प्रतिक्रियावादी व्यवस्थालाई समर्थन गर्ने कार्य गरिरह्यो । यसको नेतृत्व मेन्सेभिकभित्रको सानो हिस्साले गरेको थियो । पछि चिनियाँ क्रान्तिमा पनि यो धारा देखाप¥यो । चिनियाँ क्रान्ति चल्दै गर्दा चिनियाँ कम्युनिस्ट पार्टीभित्र क्रान्तिका सन्दर्भमा क्रान्तिकारी धारा र विसर्जनवादी धाराबीच सङ्घर्ष भयो । विसर्जनवादी धाराको नेतृत्व चाङको थाउले गर्‍यो । उसले चीनमा क्रान्ति सम्भव नभएको, च्याङ काई सेकसँग मिलेर जानुपर्ने तर्क गर्दै कम्युनिस्ट पार्टी परित्याग गर्न पुग्यो । अन्तमा च्याङ काई सेकको सुरक्षा सल्लाहकारमा छानिन पुग्यो । यसलाई माओको नेतृत्वमा परास्त गरियो । भारतमा के भेनुले यस्तो काम गरे । नेपालभित्र पञ्चायती व्यवस्था आएपछि केशरजङ्ग रायमाझीले विसर्जनवादको नेतृत्व गरे भने आज नेपालमा त्यस्तै खालको विसर्जनवाद देखापरेको छ । त्यसको नेतृत्व बाबुराम भट्टराईले गरेका छन् ।

जब हामी जनयुद्धबाट शान्ति प्रक्रियामा प्रवेश गर्‍यौँ, बाबुरामले सुरुमा वैज्ञानिक समाजवादी विचारमा विकासको प्रचार गरे । पार्टी पुरानै तरिकाले क्रान्तिमा जान नहुने नयाँ तरिका (वास्तवमा नयाँ नै थिएन) ले क्रान्ति गर्ने भन्दै हिँडे जब पार्टीमा क्रान्तिका सन्दर्भमा दुईलाइन सङ्घर्ष चल्न थल्यो, बाबुरामले संसदीय व्यवस्थाको पक्षमा तर्कहरू गर्न थाले । उनले लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, आर्थिक क्रान्ति, मित्र देशहरूसँगको सहकार्य भन्न थाले । जब माओवादीमा क्रान्तिकारी धारले विद्रोह गरी पार्टी पुनर्गठन गर्न पुग्यो, बाबुरामले पनि प्रचण्डसँग विद्रोह गर्दै नयाँ शक्ति नामको पार्टी गठन गर्न पुगे । नयाँ शक्तिले कम्युनिस्ट पार्टी मात्र त्यागेन कि वैज्ञानिक समाजवाद र माक्र्सवाद, लेनिनवाद, माओवादका विचार आदर्शलाई पनि परित्याग गर्न पुग्यो । बाबुरामले यतिबेला नयाँ जनवादी, वैज्ञानिक समाजवादी क्रान्तिको आवश्यकता नरहेको प्रचार गर्दै हिँडिरहेका छन् । उनले कम्युनिस्ट पार्टीभित्रै बसेर कम्युनिस्ट पार्टीलाई विसर्जन गर्ने रुसी नेता यल्त्सीनको मार्ग अनुशरण गरे । बाबुराम नेपाली कम्युनिस्ट आन्दोलनका विसर्जनवादी नेता सावित हुन पुगे ।

आत्मसमर्पणवाद पनि कम्युनिस्ट आन्दोलनको विघटनकारी प्रवृत्ति हो । कम्युनिस्ट पार्टीभित्रैबाट जनता, क्रान्ति, श्रमिकवर्ग भ्रम छर्ने, धोका दिने र प्रतिक्रियावादी संसदीय व्यवस्थासामु आत्मसमर्पण गर्ने काम यस प्रवृत्तिले गर्दै आएको छ । यो प्रवृत्ति पनि विश्व कम्युनिस्ट आन्दोलनमा युरोपीयन कम्युनिस्ट पार्टीहरूभित्रबाट देखापर्दै आएको छ । फ्रान्समा मिलेराँले आत्मसमर्पणवादको अगुवाई गरे, जर्मनमा सिदेमानले प्रतिक्रियावादी संसदीय व्यवस्थासामु आत्मसमर्पण गर्दै यो प्रवृत्तिको नेतृत्व गरे । रुसमा मेन्सेभिकहरूले यो प्रवृत्तिको प्रतिनिधित्व गरे भने चीनमा छन् तु स्युले र भारतमा ज्योति बसुहरूले यसको नेतृत्व गरे । नेपालमा एमालेले हुँदै हाल प्रचण्डले यसको नेतृत्व गरिरहेका छन् । यतिबेला प्रचण्डहरूको तर्क छ, क्रान्ति सम्भव छैन, नयाँ जनवादी क्रान्ति मूलरूपले पूरा भइसकेकोले तयारी गरेर मात्र वैज्ञानिक समाजवादी क्रान्तिमा जान सकिन्छ, हाल सरकारमै बसेर तयारीको काम गर्नुपर्दछ, संविधान कार्यान्वयनको विषय हालका लागि मुख्य हो आदि आदि । आत्मसमर्पणवादी प्रवृत्ति पनि अन्ततः विसर्जनवादमै पतन हुन पुग्नेमा दुविधा छैन । यति हो, विसर्जनवादले खुलेआम कम्युनिस्ट आन्दोलन नै परित्याग गर्दै प्रतिक्रियावादी व्यवस्थाको सेवा गर्न पुग्दछ भने आत्मसमर्पणवादले राजनीतिक कार्यहरू सम्पूर्णरूपले प्रतिक्रियावादी संसदीय व्यवस्थालाई सहयोग र संरक्षण गर्ने गरे पनि नामसम्म कम्युनिस्ट पार्टीकै प्रदर्शन गर्ने गर्दछ । बाहिर साइनबोर्ड कम्युनिस्ट पार्टीको राखेर काम सबै पुँजीवादी, संसदवादीके गर्दछ । उदाहरणका लागि बाबुरामले नाम पनि काम पनि कम्युनिस्ट पार्टी त्यागेर, कम्युनिस्ट विचार त्यागेर गरिरहेका छन् भने प्रचण्डले नामसम्म कम्युनिस्ट पार्टीको राखेका छन् तर सबै काम संसदवादीले गर्ने अझ कैयौँँ विषयमा त बाबुरामभन्दा पनि तल गिरेर कार्य गरिरहेका छन् ।

(ख) विसर्जनवादका विशेषताहरू
विसर्जनवाद क्रान्तिकारी आन्दोलनको हानिकारक र विघटनकारी प्रवृत्ति हो । यो प्रवृत्तिले प्रारम्भकालदेखि नै कम्युनिस्ट पार्टी, श्रमजीवी जनता, क्रान्तिलाई हानी गर्दै आएको छ । यसले कम्युनिस्ट आन्दोलनभित्रैबाट जनताका सत्रुहरूलाई सघाउने र जनतालाई क्षति गर्ने गरेको छ । विसर्जनवादले प्रदर्शन गरेका सोच क्रियाकलाप आदिलाई हेर्दा विसर्जनवादका निम्न विशेषताहरू रहेका छन्ः
(१) सर्वहारावर्गीय क्रान्तिको विरोध गर्नु
(२) कम्युनिस्ट पार्टीको विरोध गर्न पुग्नु
(३) वैज्ञानिक समाजवादका विचार, कार्यक्रमको विरोध गर्नु
(४) श्रमिकवर्गीय आन्दोलनप्रति भ्रम प्रचार गर्नु
(५) संसदीय व्यवस्थालाई सहयोग र समर्थन गर्नु
(६) संसदीय व्यवस्थामा मन्त्री, संसद् बन्दै सत्तालाई सहयोग गर्नु
(७) सरकारमा बसेर क्रान्तिलाई दमन गर्न‘
(८) साम्राज्यवादी शक्तिसामु आत्मसमर्पण गर्नु र दलाली गर्नु
(ग) आत्मसमर्पणवादका विशेषताहरू

आत्मसमर्पणवाद विश्व कम्युनिस्ट आन्दोलनको घातक र हानिकारक प्रवृत्ति हो । यसले विश्वका सबै क्रान्तिकारी पार्टीहरूलाई हैरानी र नोक्सानी गर्दै आएको छ । बाहिरको दुश्मनले भन्दा धेरै दुःख र सास्ती दिने गरेको छ । विश्वका सबै क्रान्ति र क्रान्तिकारी पार्टीहरूमा यो देखापर्ने गरेको छ भने क्रान्तिकै क्रममा यसको उपचार पनि हुँदै आएको पनि छ । रुस, चीन, अमेरिका, भारत सबैतिर यो समस्या आएको हो । यो समस्या नेपालमा पनि नयाँ होइन । पञ्चायतकालमा मनमोहन, तुलसीलाल, मालेहरूले यसको नेतृत्व गरेका थिए । आज आएर असाध्यै भद्दा प्रकारले माओवादी केन्द्रले गरिरहेको छ । हालसम्म देखापरेका आत्मसमर्पणवादलाई अध्ययन गर्दा यसका विशेषताहरू निम्नानुसार रहेका छन्ः
(१) माक्र्सवादी, लेनिनवादी, माओवादी विचारको परित्याग
(२) वैज्ञानिक समाजवादी क्रान्तिको परित्याग
(३) नाममा कम्युनिस्ट पार्टी (फलक) को प्रयोग
(४) संसदीय व्यवस्थासामु आत्मसमर्पण
(५) संसद्, सरकार र राज्यमा सहभागी बन्नु
(६) जनवादी तथा समाजवादी क्रान्तिको विरोध गर्नु
(७) विदेशी साम्राज्यवादी शक्तिसामु आत्मसमर्पण गर्नु
(८) क्रान्ति र क्रान्तिकारी पार्टीप्रति अनेक भ्रम प्रचार गर्नु
(९) क्रान्तिकारी शक्तिलाई दमन गर्न भित्रभित्रै षड्यन्त्रमा सहभागी बन्नु
(घ) विसर्जनवाद र आत्मसमर्पणवादविरुद्धको सङ्घर्ष

विश्वमा क्रान्तिको विजय र क्रान्तिकारी शक्तिको सफलता कम्युनिस्ट आन्दोलनमा देखापर्ने विसर्जनवाद र आत्मसमर्पणवादका विरुद्ध निर्मम सङ्घर्ष सञ्चालन गरेर र त्यसमाथि विजय हासिल गरेर मात्र हुने गरेको छ । जब कम्युनिस्ट पार्टी र कम्युनिस्ट क्रान्तिमा विसर्जनवाद र आत्मसमर्पणवाद देखापर्दछ, त्यसका विरुद्ध तिखो र सशक्त सङ्घर्ष सञ्चालन गर्नैपर्दछ । बाह्य वर्गसङ्घर्षमा विजय हासिल गर्नु छ भने पहिले क्रान्तिकारीहरूले पार्टीभित्रका हानिकारक प्रवृत्ति विसर्जनवाद र आत्मसमर्पणवादमाथि विजय हासिल गर्नैपर्दछ । पार्टी र क्रान्तिलाई विसर्जनवाद र आत्मसमर्पणवादको विषालु विचारबाट नबचाएसम्म वर्गसङ्घर्षमा सफलताको परिणाम आउला भन्ने आशै नगरे हुन्छ ।

रुसी समाजिक जनवादी मजदूर पार्टीभित्र प्रतिक्रान्तिको अप्ठ्यारो काल सन् १९१२ तिर विसर्जनवादीहरू देखापरेका थिए । उनीहरूले रुसमा क्रान्ति सम्भव नभएको प्रचार गर्दै प्रतिक्रियावादी जार सत्ताको सामु आत्मसमर्पण गर्न पुगेका थिए । लेनिन र बोल्सेभिक पार्टीको नेतृत्वमा रुसमा विसर्जनवादविरुद्ध निर्मम सङ्घर्ष सञ्चालन गरियो र उनीहरूको भ्रमबाट क्रान्तिकारी पार्टी र आन्दोलनलाई संरक्षण गर्ने काम भयो । अन्ततः विसर्जनवादीहरू क्रान्तिको प्रक्रियासँगै परास्त भएर गए र रुसमा क्रान्ति सफल भयो । चीनमा पनि प्रतिक्रान्तिकालमा सन् १९३६ तिर चिनियाँ कम्युनिस्ट पाटीभित्र विसर्जनवाद देखापर्‍यो । चीनमा क्रान्ति सम्भव नभएको भन्दै च्याङ काई सेकको सत्तासामु आत्मसमर्पण गर्न पुग्यो । माओ र चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा विसर्जनवादविरुद्ध सङ्घर्ष छेडियो । अन्ततः चीनमा विसर्जनवादीहरू पराजित भए र क्रान्ति सम्पन्न भयो । भारतमा पनि विभिन्न समयमा देखापरेका विसर्जनवाद खासगरी पछिल्लो पटक सन् १९९० तिर के भेनुको विसर्जनवाद देखापर्‍यो, त्यसविरुद्ध भाकपा (माओवादी) ले निर्मम सङ्घर्ष सञ्चालन गर्दै क्रान्ति अगाडि बढाइरहेको छ । जर्मनीमा देखापरेको सन् १९१८ को विसर्जनवाद (सिदेमान समूह) ले क्रान्तिकारी नेताहरू रोजा र लिखनेख्तको हत्या गर्नेमा सघाएको थियो । जर्मन क्रान्तिमा निकै ठूलो क्षति पुर्‍याएको थियो ।

नेपालमा सन् २००८ देखि प्रचण्ड, बाबुराममा आत्मसमर्पणवाद र विसर्जनवाद देखाप¥यो । उनीहरूले सुरुमा सिर्जनशील बन्नुपर्ने, मालेमाको विकास गर्नुपर्ने, नयाँ विचारको विकासबाट मात्र क्रान्ति गर्न सकिने प्रचार गरे तर जब सङ्घर्ष बढ्दै गयो, तब उनीहरूले खुलेआम विसर्जनवाद र आत्मसमर्पणवादको वकालत गर्न थाले । उनीहरूमा विसर्जनवाद र आत्मसमर्पणवाद देखिन थालेपछि हामीले पार्टीभित्र तिखो विचारधारात्मक, राजनीतिक र योजनागत सङ्घर्ष सञ्चालन गर्‍यौँ । उनीहरूले पार्टीलाई एकलौटी रूपले कब्जा गरी आत्मसमर्पणमा डुबाउन खोजेको चालवाजीलाई धेरै हदसम्म असफल गर्दै पार्टीको क्रान्तिकारी धारालाई बचाउन सफल भयौँ । पार्टीको क्रान्तिकारी धारालाई बचाउँदै पार्टीलाई पुनर्सङ्गठित गर्न सफल भयौँ । एकहदसम्म विसर्जनवाद र आत्मसमर्पणवादलाई परास्त गर्न सफल भयौँ । तथापि नेपालमा विसर्जनवाद र आत्मसमर्पणवादविरुद्धको सङ्घर्ष समाप्त भएको छैन । आज पनि जोडतोडले यो सङ्घर्ष चलिरहेको छ ।

(ङ) विसर्जनवाद र आत्मसमर्पणवादविरुद्ध थप सङ्घर्षको आवश्यकता
विसर्जनवाद र आत्मसमर्पणवादविरुद्धको सङ्घर्ष नेपालमा थप आवश्यक छ किनकि आज पनि नेपालमा बाबुराम र प्रचण्डहरूले क्रान्तिका विरुद्धमा अनेकौँ भ्रामक प्रचार गरिरहेका छन् । क्रान्ति पूरा भइसक्यो, अब आर्थिक क्रान्ति गर्नुपर्दछ, संसदीय व्यवस्थालाई सुदृढ गर्नुपर्दछ, संविधान कार्यान्वयन गर्नुपर्दछ, योभन्दा ठूलो क्रान्ति सम्भव छैन्, क्रान्तिको कुरा गर्नु भनेको परिस्थितिलाई नबुझ्ने उग्रवादी सोच हो आदि । उनीहरूले क्रान्तिका विरुद्ध मात्र होइन, क्रान्तिकारी शक्तिका विरुद्ध पनि अनेकौँ दुषित प्रचार गर्दै हिंडेका छन् । हाम्रो पार्टी ‘रअ’ ले चलाएको, कहिले भारतले चलाएको, कहिले राजासँग साँठगाठ गरेको, कहिले पश्चिमासँग जोडिएको, कहिले चीनसँग जोडिएको भन्ने हल्ला भित्रभित्रै र केही मात्रामा बाहिर पनि चलाउने गरेका छन् । उनीहरूले हाम्रो पार्टीले केही गर्न नसक्ने, क्रान्ति भन्ने मात्र हो गर्ने होइन, गर्ने भए किन नगरेको भन्छन् भने कहिले माओवादीसँग एक हजारभन्दा बढी आधुनिक हतियार रहेको, जतिबेला पनि सैन्य कारबाही गर्न सक्ने, ठूलो सैन्य कारबाही गर्न सक्नेजस्ता प्रचार गर्ने गरेका छन् । यी प्रचारलाई ठूला सञ्चार भन्नेहरूले समेत प्रोत्साहन गरिरहेका छन् । यी सबै प्रचारको उद्देश्य विसर्जनवाद र आत्मसमर्पणवादलाई प्रोत्साहन गर्नु रहेको छ ।

हामीले विसर्जनवाद र आत्मसमर्पणवादविरुद्ध प्रभावकारी सङ्घर्ष चलायौँ । एकहदसम्म विजय हासिल पनि गर्‍यौँ । हामीले क्रान्तिप्रति जनतालाई पुनः आशावादी बनाएका छौँ । युवा–पुस्तालाई क्रान्तिमा सहभागी बन्न उत्साहित गराएका छौँ । परन्तु सङ्घर्ष समाप्त भएको छैन । आत्मसमर्पणवाद र विसर्जनवादको दुर्गन्धित हावा अझै पनि चारैतिर चलिरहेको छ । आत्मसमर्पणवादी र विसर्जनवादीहरूले जनतालाई निरास गराउने, क्रान्तिप्रति अविश्वास पैदा गर्ने, सहिद, बेपत्ता योद्धा परिवार र घाइतेहरूलाई निराश गराउने, देशभक्त र प्रगतिशील शक्तिहरूलाई आतङ्कित पार्नेगरी प्रचार गरिरहेका छन् । हामीले यी हानिकारक र घातक प्रवृत्तिविरुद्धको सङ्घर्षलाई अलिकति पनि कमजोर पर्न दिनुहुँदैन । आजको बहसमा विसर्जनवादी र आत्मसमर्पणवादीहरूको भनाइ र प्रचारभन्दा क्रान्तिकारी विचार र सङ्घर्ष माथि परेको भए पनि पूरै हावी भइसकेको छैन । तसर्थ, क्रान्तिकारी नेता र कार्यकर्ताहरूले गलत प्रवृत्तिविरुद्धको सङ्घर्षलाई निरन्तर सञ्चालन गरिरहनुपर्दछ । जनताका बीचमा विसर्जनवाद र आत्मसमर्पणवादलाई नाङ्गेझार पार्नुपर्दछ ।

हामीले विसर्जनवाद र आत्मसमर्पणवादविरुद्ध सङ्घर्ष सञ्चालन गर्दा विचारधारात्मक पक्षमा विशेष जोड दिनुपर्दछ । जनता र कार्यकर्तालाई वैज्ञानिक समाजवादी विचारको वैज्ञानिकताबारे स्पष्ट गर्नुपर्दछ । वैज्ञानिक समाजवादले जनता र श्रमिक वर्गको मुक्ति, स्वतन्त्रता र समृद्धि ल्याउने विषयमा बोध गराउनुपर्दछ । वैज्ञानिक समाजवादले मात्र मानवजातिलाई शोषण, दमन, उत्पीडन, गरिबी र अशान्तिबाट मुक्त गर्दै सुन्दर र शान्त भविष्य दिन सक्नेमा विश्वास दिलाउनुपर्दछ । हामीले ती गलत प्रवृत्तिसँग सङ्घर्ष गर्दा आजको पुँजीवादी, दलाल पुँजीवादी, उत्तर–साम्राज्यवादी दुनियाँलाई बदल्न र जनतालाई वैज्ञानिक समाजवादको उच्च राज्यव्यवस्था दिन सक्ने पार्टी भनेको असल कम्युनिस्ट पार्टीले मात्र हो भन्ने स्थापित गर्नुपर्दछ । कम्युनिस्ट पार्टीले मात्र सबै खराबीविरुद्ध सङ्घर्ष गर्दै जनतालाई सुन्दर भविष्यतर्फ अग्रसर गराउन सक्छ भन्ने विश्वास दिनुपर्दछ । साथै, पार्टीलाई सबै खालका गलत विचार र प्रवृत्तिबाट मुक्त राख्नुपर्दछ । त्यसैगरी, जनताको माझमा काम गर्दा क्रान्ति सम्भव मात्र होइन, अनिवार्य छ र क्रान्तिलाई विजयसम्म पुर्‍याउन सकिन्छ भन्नेमा जोड दिनुपर्दछ । पार्टीले जनता र देशको पक्षमा अगाडि बढाउने योजना र सङ्घर्षहरूमा इमानदारितापूर्वक डट्नुपर्दछ । हामीले यी कामहरू नियमित रूपले जनताका बीचमा सञ्चालन ग¥यौँ भने विसर्जनवाद र आत्मसमर्पणवादी खराबीबाट क्रान्ति र पार्टीलाई जोगाउँदै लान सक्छौँ ।

सारांश
विसर्जनवाद र आत्मसमर्पणवाद विश्व कम्युनिस्ट आन्दोलनको घातक रोग हो । यसले विश्व कम्युनिस्ट आन्दोलनमा बेला–बेला निकै ठूला नोक्सानी र क्षति पु¥याउने गरेको छ । यसले कम्युनिस्ट पार्टीलाई मात्र होइन; जनता, श्रमिक वर्ग र क्रान्तिलाई नै निकै ठूलो हानी नोक्सानी गरेको छ । विसर्जनवाद र आत्मसमर्पणवादविरुद्ध विश्वका क्रान्तिकारी नेता र पार्टीहरूले कठोर तिखो सङ्घर्ष चलाउँदै आएका छन् । पार्टीभित्र भीषण सङ्घर्षहरू भए पनि प्रायः सङ्घर्षमा विसर्जनवादी र आत्मसमर्पणवादीलाई क्रान्तिकारीहरूले पछार्दै र परास्त गर्दै क्रान्तिलाई विजयी तुल्याएका छन् । रुसमा लेनिन र बोल्सेभिक पार्टीको नेतृत्वमा मेन्सेभिकभित्रबाट पैदा भएको विसर्जनवादविरुद्ध भीषण सङ्घर्ष गर्दै क्रान्तिलाई विजयी तुल्याएको इतिहास र माओले चीनमा चाङ को थाओविरुद्ध सङ्घर्ष गर्दै क्रान्ति सफल गरेको इतिहास यसका ज्वलन्त उदाहरण हुन् । विश्व कम्युनिस्ट आन्दोलनमा यी प्रवृत्तिविरुद्धको सङ्घर्ष आज पनि जारी छ ।

नेपालमा विसर्जनवाद र आत्मसमर्पणवाद बेला–बेला खतरनाक प्रकारले आउने गरेको छ । यो प्रवृत्तिले नेपाली क्रान्तिलाई बेला–बेला निकै ठूलो हैरानी र नोक्सानी गरेको सच्चाइ पनि प्रस्टै छ । २०१७ सालपछि देखिएको रायमाझीको विसर्जनवाद, पञ्चायतकालमै मनोमोहन, तुलसीलालहरूले लिएको आत्मसमर्पणवादी बाटो, साथै २०३९ सालपछि मालेले लिएको आत्मसमर्पणवादी बाटो यसका उदाहरण हुन् । यी विचलनहरूले नेपाली कम्युनिस्ट आन्दोलनलाई सामन्तवाद र दलाल पुँजीवादसामु आत्मसमर्पण गराएर नेपाली क्रान्तिलाई घाटा पु¥याएको स्पष्टै छ । पछिल्लो समयमा जनअपेक्षा विपरीत र हामीले कम अनुमान गरेको प्रचण्ड, बाबुरामको आत्मसमर्पणवाद र विसर्जनवाद निकै हानिकारक र डरलाग्दो रह्यो । यसले विजयको नजिक पुगेको नेपाली क्रान्तिलाई निःशस्त्र पार्दै, विसर्जित गर्दै निकै ठूलो क्षति पु¥यायो । यसले नेपाली क्रान्तिमा अपूरणीय क्षति गरेको सबैलाई अवगत छ तर नेपालमा पनि विसर्जनवाद र आत्मसमर्पणवादविरुद्ध निरन्तर सङ्घर्ष सञ्चालन हुँदै आएको छ । घरि–घरि हैरानी र नोक्सानी व्यहोर्नुपरे पनि ती प्रवृत्तिमाथि क्रान्तिकारी धार र शक्ति नै विजयी बन्दै आएको छ । आज पनि प्रचण्ड–बाबुरामको विसर्जनवाद र आत्मसमर्पणवादविरुद्ध भीषण सङ्घर्ष सञ्चालन गरिएको छ र एकहदसम्म विजय पनि हासिल गरिसकिएको छ, तथापि लडाइँ जारी नै छ ।

हामीले मालेमावादी विचारलाई दर्‍होसँग पकड्नुपर्दछ । हामीले वैज्ञानिक समाजवादको विचार आदर्शलाई दृढतापूर्वक पकड्नुपर्दछ । हामीले क्रान्तिकारी कम्युनिस्ट पार्टीको मान्यतालाई दर्‍होसँग आत्मसात गर्नुपर्दछ । साथै, हामीले नेपाली क्रान्तिको सफलता, निश्चितता, जनताको मुक्ति र देशको स्वाधीनताको सम्भावनालाई ढुक्कसँग समात्नुपर्दछ । हामीले क्रान्तिमा देखापर्ने सबै खराबी विशेषतः विसर्जनवाद र आत्मसमर्पणवादविरुद्ध कठोर र निर्मम सङ्घर्ष सञ्चालन गर्दै तिनमाथि विजय हासिल गर्ने आत्मविश्वास बोक्नुपर्दछ । क्रान्तिकारी पार्टी र क्रान्तिको विजयलाई कसैले पनि रोक्न सक्नेछैन । स्रोतः रातो खबर साप्ताहिक, अङ्क ३४, पूर्णाङ्क १२९

२०७४ माघ २४ गते दिउँसो ११ः५५ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!