जनगणतन्त्र कोरियाका कारण विश्वयुद्ध रोकियो : लोहनी

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् प्रकाशन ब्युरो इन्चार्ज गुणराज लोहनीले जनगणतन्त्र कोरिया (उत्तरकोरिया) का कारण विश्वयुद्ध रोकिएको बताउनुभएको छ । काठमाडौँमा सोमबार नेपाल–कोरिया लेखक/पत्रकार मञ्चले आयोजना गरेको ‘मार्सल किम जोङ उनले नयाँ वर्षमा दिएको सन्देश र उत्तरसाम्राज्यवादविरुद्ध संघर्ष’ विषयक गोष्ठीमा प्रमुख अतिथि लोहनीले गरिब भनेर हेपिएको राष्ट्र जनगणतन्त्र कोरियाले साम्राज्यवादलाई तहसनहस पारेकाले उसबाट पाठ सिक्नुपर्ने धारणा राख्नुभयो ।

जनगणतन्त्र कोरिया किम इल सुङदेखि किम जोङ उनसम्मका नेताले जनतन्त्र, राष्ट्रियता, समाजवादका पक्षमा र साम्राज्यवादका विरुद्ध निर्मम संघर्ष गरेर स्थापित बनेको बताउनुभयो । नेकपाले पनि निरन्तर साम्राज्यवादविरुद्ध संघर्ष गरिरहेको उहाँले बताउनुभयो । साम्राज्यवादको चरित्र माक्र्स, एंगेल्स, लेनिन, स्टालिन र माओको पालाभन्दा फेरिएर निगम पुँजीवादमा पतीत भएको उहाँले बताउनुभयो । कोरियाको निर्माण र कोरियाली समाजवाद रक्षाका लागि कोरियाका नेता किम इल सुङका साथै कमरेड माओको उत्तिकै योगदान रहेको उहाँको भनाइ थियो । माओले स्टालिनसँगको एक महिना लामो १६ बुँदे छलफल र वार्तामा कोरिया बचाउन प्लेन, हतियार, फाइटर, पाइलटसमेत माग गरेको सन्दर्भ उहाँले उठाउनुभयो ।

कोरियाले एउटै विचार, जुछे विचारमा जनतालाई बाँध्नुका साथै प्रतिरोध गर्ने क्षमतताको विकास गरेकाले ऊ टिकिरहेको र श्रेष्ठ बनिरहेको प्रमुख अतिथि लोहनीको भनाइ थियो । उहाँले भन्नुभयो, कोरियाले एक वर्षमा ६ वटा आईसीबीएनको सफल परीक्षण गर्नु सानो कुरा होइन ।

कोरियाले समाजवादी आन्दोलन, क्रान्तिको रक्षा र किास गरेको पनि उहाँले बताउनुभयो । ‘विश्वसाम्राज्यवादमा आएको संकटले विश्वयुद्ध निम्त्याउँछ तर कोरियाले विचार र परमाणु क्षेत्रमा गरेको विकासका कारण त्यो रोकिएको छ’, उहाँले भन्नुभयो । उहाँले पारमाणिक अस्त्र प्रयोग भएमा कोरिया मात्र होइन, अमेरिका पनि एकैसाथ ध्वस्त हुने पनि बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘आज साम्राज्यवाद देश कम र संस्थाहरु बढी भएका छन् । अमेरिकामा डोनाल्ड ट्रम्प, भारतमा मोदी शक्तिमा आउनुमा कर्पोरेटहरुको हात छ ।’

दलाल पुँजीवादका पक्षधरहरु र अरुहरुले पनि नेकपाले फरक धारमा सञ्चालन गरिरहेको संघर्षका बारेमा बहससम्म चलाउने हिम्मत नगरेको लोहनीको भनाइ थियो । २०६३ देखि २०७३ सम्म लेखिएका अधिकांश साहित्य, चलचित्रहरु र अहिले लेखिइरहेको साहित्य र बनिरहेका चलचित्र जनयुद्धविरुद्ध केन्द्रित रहेको भन्दै ती विषय नेकपाले जानकारीमा राखेको उहाँले बताउनुभयो ।

श्रमिक, सर्वहारावर्गको चरित्र आज बौद्धिक वर्गहरुसम्म विस्तार भएकाले एकीकृत जनक्रान्तिको नयाँ कार्यदिशा विकास भएको उहाँले बताउनुभयो । पुँजीमा एकाधिकार, दलाल पुँजीको विकासको रुप बदलिएर निगम पुँजीवादको विकास भएकाले क्रान्तिको स्वरुप पनि विकसित भएको उहाँको भनाइ थियो । कोरियासँग नसकेर अमेरिका रुस र चीनतिर फर्किएको र कोरियासँग वार्ता हुन तयार हुनुको कारण उसले विकास गरेको पारमाणविक शक्ति नै मुख्य कारण रहेको लोहनीले बताउनुभयो । भारतीय साम्राज्यवादको दलाली नगरेसम्म सत्तामा जान नसकिने अवस्था रहेको परिघटना ओलीलाई सत्तामा लैजान सुष्मा स्वराज नेपाल आएको सन्दर्भ उहाँले कोट्ट्याउनुभयो । नेकपाले निरन्तर दलाल पुँजीवादविरुद्ध संघर्ष गरिरहेको उहाँको भनाइ थियो । उहाँले आयोजक संस्थालाई नेपालको अर्थतन्त्र, साहित्य, संस्कृतिले पारेको प्रभावका बारेमा गहन अध्ययन गरेर पार्टीलाई सुझाव दिन पनि आग्रह गर्नुभयो ।

संस्थाकी सल्लाहकार साहित्यकार एवम् मानवअधिकारकर्मी सरला रेग्मी अनुले साम्राज्यवादविरुद्ध लड्न कार्यक्रमले प्रेरणा दिने बताउनुभयो । सल्लाहकार माणिक लामाले जनगणतन्त्र कोरियाले विचार र शक्तिको माध्यमबाट साम्राज्यवादका विरुद्ध लडिरहेको बताउनुभयो । संस्थाले अन्तरक्रिया र प्रकाशनको माध्यमबाट साम्राज्यवादविरोधी अभियानलाई सघाइरहेको भन्दै सराहना गर्नुभयो ।

संस्थाका सल्लाहकारसमेत रहेका अखिल क्रान्तिकारीका अध्यक्ष पूर्णबहादुर सिंहले जनगणतन्त्र कोरिया जिउँदो समाजवादी मुलुक रहेको र संसारकै क्रान्तिकारी युवाहरुले कोरियाको विकास र प्रगतिबाट सिक्नुपर्ने बताउनुभयो । कार्यक्रममा सल्लहकार डा. रामप्रसाद ज्ञवाली, हस्तबहादुर केसीलगायतले पनि कोरियाका बारेमा बोल्नुभएको थियो ।

संस्थाका अध्यक्ष अशोक सुवेदीले संस्थाको उद्देश्य र विगतमा संस्थाले गरेका काम चर्चा गर्दै जनगणतन्त्र कोरिया र नेपालका क्रान्तिकारीहरुका बीच सम्बन्धको सेतु कायम गर्न अन्तरक्रिया, छलफल प्रकाशन, यात्रालगायत काम गरिरहेको बताउनुभयो ।

संस्थाका सदस्यहरु रसुवाली कवि र मोहनलाल घिसिङले कविता वाचन गर्नुभएको कार्यक्रममा अक्टोबर क्रान्तिको सन्दर्भमा मञ्चको नेतृत्वमा रुसको यात्रा गरेको टोलीले निर्माण गरेको वृत्तचित्र लोकार्पण गर्नुभएको थियो । कार्यक्रममो सञ्चालन मञ्चका सचिव करनसिंह बडालले गर्नुभएको थियो ।

२०७४ माघ २२ गते बेलुका ८ : १० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :