सामाजिक दलाल पुँजीवादको भण्डाफोर

नेपाल कम्युनिस्ट पार्टीद्वारा घोषित तीनमहिने जनजागरण अभियानका क्रममा प्रकाशित अपिललाई समयसान्दर्भिक ठानी प्रस्तुत गरेका छौँ – सम्पादक

जनजागरण अभियानको अपिल

आदरणीय जनसमुदाय !
देशको राजनीतिक परिस्थिति नयाँ सङ्कट, अस्थिरता र अन्तर्विरोधहरूबाट गुज्रिरहेको छ । जनताहरू राष्ट्रियता, जनअधिकार र जनजीविकाका अनेकौँ समस्याहरूबाट पिल्सिरहेका छन् । संसद्वादी पार्टीहरू सरकारको लुछाचुँडीमै व्यस्तछन् । हाम्रो पार्टी यी सबै समस्याहरूलाई वैज्ञानिक समाजवादी क्रान्तिद्वारा समाधान गर्न एकीकृत जनक्रान्तिको मार्गमा अगाडि बढिरहेको छ । यी सबै विषयहरूबारे आफ्ना धारणाहरू तपाईंहरूसामु “जनजागरण” अभियानमार्फत अपिल गर्न पाउँदा खुसी लागेको छ ।

तपाईंहरूलाई थाहा नै छ, प्रतिक्रियावादी संसदीय व्यवस्थालाई महान् जनयुद्धद्वारा मृत्युको मुखमा पु¥याइएको थियो । अफशोच ! विदेशी साम्राज्यवादी्, नेपाली दलाल पुँजीवादी र आत्मसमर्पणवादी प्रचण्ड—बाबुरामहरूको संयुक्त साँठगाँठमा विजयी जनयुद्धलाई विघटन गरियो र चिहानघाटमा पुग्नथालेको संसदीय व्यवस्थालाई कृत्रिम प्राण भरेर सत्तामा फर्काइएको छ । सयौँ वर्षदेखि नेपाली जनताको खुन—पसिना चुसेर जुकाजस्ता ढाडिएका नयाँ र पुराना धनकुवेर र दलालहरूले पालोपालो दुष्ट, दलाल पुँजीवादी सत्ताको मुखमा प्राण भर्ने जमर्को गर्दैछन् ।

यी संसद्वादी दलालहरूले हालै देशमा शान्ति, स्थिरता र समृद्धि ल्याउने भन्दै कथित चुनाव गराएको नाटक गरे, तपाईंहरूलाई पनि भोट हाल्न उक्साए । तर हामीले यी दलालहरूको चालबाजी र नाटक बुझेका थियौँ । त्यसैले हाम्रो पार्टीले जनतालाई आह्वान गर्दै भन्यो– यो “लोकतन्त्र” को चुनाव होइन, लुटतन्त्रमाथि सहीछाप गराउने षड्यन्त्र हो । जनताको भोटद्वारा जनताको सत्तालाई समाप्त गर्ने र क्रान्तिको घाँटी निमोठ्ने घातक ठगी धन्दा हो । यस चुनावलाई खारेज गरौँ । हाम्रो आह्वान र सङ्घर्षलाई जनताले साथ दिने देखेपछि र पार्टीको नेतृत्वमा सङ्घर्ष तेज बन्दै गएपछि त्यसबाट अत्तालिएका दलालहरूले हाम्रो पार्टीविरुद्ध निर्मम दमन गरे । देशभरिबाट सात सय उनान्चालीसभन्दा बढी नेता–कार्यकर्ताहरूलाई गिरफ्तार गरे । विभिन्न व्यवसायमा रहेर हाम्रो पार्टीलाई समर्थन गर्ने र हाम्रो विचारमा आस्था राख्ने शिक्षक, कर्मचारी, व्यापारी, विद्यार्थी, मजदुर, किसान, पत्रकार, मानवअधिकारवादीहरूलाई पनि बिनाजानकारी अपहरणको शैलीमा पकड्ने हर्कत भए । गिरफ्तार गरेपछि सङ्कटकालमा जस्तै कालोपट्टी बाँध्ने, यातना दिने, ठूलाठूला भूmट्टा मुद्दा लगाउने, ठूलो धरौटी माग्ने, जेल पठाउने कुकार्यहरू गरिए । तर पनि जनताको माया, साथसहयोग र हाम्रो पार्टीको कुशल नेतृत्वमा दलाल संसदीय चुनावको खारेज गरियो । खारेज सङ्घर्षद्वारा दलाल पुँजीवाद र चुनावलाई एक मात्र विकल्प भएको देखाएर लुटको राज कायम गर्न चाहने दलालहरूको षड्यन्त्र असफल भयो । साथै दलाल संसदीय व्यवस्था नेपाली जनताको व्यवस्था होइन । यसका विरुद्ध वैज्ञानिक समाजवादी सत्ताको विकल्प आजैदेखि कायम छ भन्ने सच्चाइ सबैले देख्न पाए ।

प्रबुद्ध जनसमुदाय !

कथित चुनावमा एमाले—माके मिलेर बहुमत ल्याएपछि अब नेपालमा शान्ति, स्थिरता, विकास र समृद्धि छाउने प्रचार गरिँदैछ । यो प्रचारमा एमाले त छँदैछ, त्योभन्दा पनि घटिया तरिकाले टुप्पी कसेर संसदीय व्यवस्थालाई साम्राज्यवादी बहुदल र जनताको दुस्मन घोषणा गर्दै जनयुद्धमा गएर आत्मसमर्पण गर्न पुगेको माके पार्टीका पण्डितहरू लागेका छन् । हामीले तपाईंहरूलाई सुरुबाटै बताउँदै आएका छौँ– नेपाली किसान, मजदुर, दलित, मधेसी, जनजाति जनताको वैरी विदेशीको इसारामा उनीहरूकै मन्त्रअनुसार उभ्याइएको दलाल पुँजीवादी व्यवस्था हो । यसलाई जरैबाट उखेलेर नफालेसम्म नेपाली श्रमिक जनता र देशभक्तहरूको मुक्ति हुनेछैन । त्यसैका लागि त नेपालमा १० बर्से महान् जनयुद्ध लडेका थियौँ र नौ हजार सपूत, सुपुत्रीहरूले आफ्नो अमूल्य जीवन बलिदान गरेका थिए । त्यो केवल राजा वा काङ्ग्रेसका विरुद्ध मात्र लडिएको थिएन, त्यो त मूल रूपले दलाल पुँजीवादी संसदीय व्यवस्थाका विरुद्ध लडिएको थियो । अनि आज फेरि उही धुन्धुकारी संसदीय व्यवस्थालाई नयाँ नाम “लोकतन्त्र” भिराएर फर्काइएको छ भने त्यसले कसरी जनताका लागि शान्ति, विकास र समृद्धि ल्याउँछ ! के केपी वली र प्रचण्ड यसका ‘सिरुवार’ बन्न पुगे भनेर हुन्छ ? जब कि मालिक हिजो पनि उही थियो, आज पनि उही छ भने यी नोकरचाकरहरूले के गर्न सक्छन् ? सबैले बुझ्नुपर्छ संसदीय व्यवस्थाले त विकास, शान्ति र समृद्धि होइन, जनताको जीवनमा विनाश, ध्वंस र विपत्ति मात्र ल्याउँछ, अब हुने पनि त्यही हो ।

प्रबुद्ध नागरिकहरू, तपार्इंहरू अहिलेकै चुनावको तरिका र परिणामलाई हेर्नुस् त के भयो ? के त्यहाँ जनताका छोराछोरी, किसान, मजदुर, दलित, महिलाहरूले चुनाव लड्न सके ? के सामान्य जनताले चुनाव जिते ? सबै इमानदारले भनिरहेका छन्– वडाको चुनावमा लाखौँ, गाउँ र नगरको चुनावमा करोड र केन्द्रको चुनावमा करोडौँ रूपैयाँ पानीजसरी खन्याइएको छ । पाखण्डी, ठग, ढाँट, फटाहा नेताहरूले चुनावी खर्च त कति देखाए भने जम्माजम्मी केही लाख ! ऊफ् ! प्रत्यक्ष चुनावखर्च देख्ने जनता र पैसाका भारी बोकेर बाँड्दै हिँड्ने आसेपासेलाई कस्तो महसुस भइरहेको होला ! अनि चुनावको परिणाम कस्तो आयो नि ! सायद त्यो पनि तपाईंहरूले बुझ्नुभएकै छ । धेरै ठाउँबाट पैसा, गुण्डागर्दी र शक्तिको बलमा भ्रष्टाचारी, ठग, तस्कर, ठेकेदार, गुन्डा, अपराधीहरू आए ! त्यसका नेताहरू पनि सबै कुनै न कुनै रूपले राष्ट्रघात र जनघातका अपराधमा मुछिएका दलालहरू आए । अनि यी नाइके, दलाल र भरौटेहरूले संसदीय व्यवस्थामा बसेर विकास, शान्ति र समृद्धि ल्याउलान् ? के यो पत्याउन सकिने कुरा हो ? अहँ, यो कहिल्यै सम्भव हुने कुरा होइन र हुनेछैन । यिनले त विदेशी मालिकको एक कल फोनमा चार फन्का मार्नेछन् र देश, जनताप्रति भयानक घात र गद्दारी मात्र गर्न पुग्नेछन् ।

काङ्ग्रेस इतिहासले रछ्यानमा मिल्काइदिएको पुरानो दलाल पुँजीवादी पार्टी हो । एमाले झापाबाट भाग्न थालेको आजसम्म पनि आत्मसुरक्षाको हीनभावनाले ग्रस्त संसद्वादी पार्टी हो । एउटा अर्को ह्याउ खसेको तत्वहरूबाट बनेको माके भन्ने पार्टी छ, आफ्ना वीरतापूर्ण एवम् गौरवपूर्ण इतिहास थेग्न नसकेर मालिकहरूको पाउमा “चारधाम” लगाउन पुगेको सबैभन्दा नालायक यही भएको छ । यिनै पार्टीहरूमध्ये अहिले एमाले—माकेले गठबन्धन बनाएर विकास निर्माणको मूल फुटाउने कुरा गरेका छन् । यो गठबन्धनले भनेअनुसार कतैबाट पनि मूल फुटाउने अवस्था देखिँदैन, बरु यसले जस्ता पात्र, प्रवृत्ति बोकेर हिँडेको छ । त्यसबाट भन्न सकिन्छ– यसले देश सुकाउने, लुटाउने र जनता सताउने कुकर्म मात्र गर्नेछ ।
नागरिकहरू, यो हामीले बढी भनेको पटक्कै होइन । चुनाव सकिन पाएको छैन यिनका भरौटेहरूले भ्रष्टाचार गर्न थालिसकेका छन् । करोडौँकरोड पचाएका उजुरीहरू पर्न थालिसकेका छन् । रोजगारी र आय नभएका जनतालाई अनेकौँ कर थोपरेर लुट्न थालिसकिएको छ । गुन्डाको बलमा ठेक्का कब्जा गर्ने र बाँडेर खाने कार्य भइसकेका छन् । यिनैले खटाएका प्रशासकहरूबाट अर्बौं र करोडौँको भ्रष्टाचार सुरु भइसकेको छ । सडकमा नागरिकहरू गोलीद्वारा मारिँदैछन्, यिनका नाइकेहरू आफैँ कम्युनिस्टको खोलमा अर्बौं कुम्ल्याएर बसेका घुस्याहाहरू छन् । के यसबाट पुस्टि हुँदैन र !

न्यायप्रेमी जनसमुदाय, हालैको तथ्याङ्कअनुसार हाम्रो देश यो वर्ष झनै गरिब भयो, जनताहरूको गरिबी बढ्यो । देशको व्यापारघाटा चुलिँदै गएको छ । मानव बेचबिखन विशेषतः महिला बेचबिखन पीडापूर्ण रूपले बढिरहेको छ । भ्रष्टाचारले देश बर्बाद हुँदै गएको छ । दलालीकरणको सीमा छैन । करछली र मुनाफा सोहोर्ने अनि पैसा विदेश लैजाने क्रम ह्वात्त बढेको छ । अदालतले समेत पुँजी पलायनमा सहयोग गरेको छ । सामाजिक असुरक्षा एकदमै बढेको छ । सामाजिक अपराधहरू चुलिँदै गएका छन् । शिक्षा, स्वास्थ्य, सूचनासञ्चार, मानवअधिकारजस्ता क्षेत्रहरू जनताको सरोकारबाट बाहिर पर्दै गएका छन् । राष्ट्रघाती सन्धिसम्झौताहरू कायमै छन् र अरू थपिँदैछन् । यी सबै कार्यमा संसद्वादी पार्टी र उनीहरूका नेताहरू नै सहभागी छन् । देशको यो अवस्थाले हामी सबैलाई निकै गम्भीर बनाइरहेको छ ।

आदरणीय जनसमुदाय, हामीलाई थाहा छ, देश र जनताका यी समस्याहरू संसद्वादी दलहरू र दलाल पुँजीवादी राज्य व्यवस्थाबाट समाधान हुन सम्भव नै छैन । यसका लागि वैज्ञानिक समाजवादी व्यवस्था अनिवार्य छ । वैज्ञानिक समाजवादी व्यवस्थाका लागि वैज्ञानिक समाजवादी क्रान्ति आवश्यक छ । हाम्रो पार्टी त्यही वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्नका लागि लडिरहेको छ । क्रान्तिको चर्चा गर्दा तपाईंहरूमा कैयौँ प्रश्नहरू पनि उठ्छन् तर अनेकौँ उकालीओरालीका बाबजुद क्रान्ति नै हाम्रो नयाँ भविष्य हो । क्रान्तिबाट उदास हुनु हुँदैन । क्रान्तिको विकल्पमा आफ्नै जीवन बर्बाद पार्ने दलाल पुँजीवादी व्यवस्थाको समर्पणमा हामी पुग्नु हुँदैन । हामी विश्वासका साथ भन्छौँ– हाम्रो पार्टी महान् क्रान्ति र वैज्ञानिक समाजवादको लक्ष्य, आदर्शप्रति प्रतिबद्ध छ । क्रान्ति सकिएको छैन र यसलाई पूरा गरी छाडिनेछ । जति नै कठिनाइ झेल्नु परे पनि क्रान्ति विजयी भइछाड्नेछ । तसर्थ आउनुहोस्, वैज्ञानिक समाजवादका लागि एकीकृत जनक्रान्तिवरिपरि गोलबन्द हौँ । जनजागरण अभियानलाई सफल गरौँ ।

केन्द्रीय समिति
नेपाल कम्युनिस्ट पार्टी 

स्रोत : रातो खबर साप्ताहिक, वर्ष ३ अंक ३, पूर्णाङ्क १२८

२०७४ माघ २२ गते दिउँसो १ : ४२ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :