राजनीतिमा विचारधारात्मक बिम्ब निर्माणको प्रश्न : समीर यात्री

‘काङ्ग्रेसअचम्मकै जात रहेछ, त्यसलाई सङ्गठन गरिरहनु नपर्ने, सधैँभरि क्रियाशील भइरहनु पनि नपर्ने, अघिपछि सिद्धिएको जस्तो देखिने तर ऐनमौकामा उस्तैगरी जागिहाल्ने । हामी कम्युनिस्टहरू भने जिन्दगीभर पार्टी बनाउन मेहनत गर्छौं, नियमित बैठक गर्छौं, प्रशिक्षणहरू चलाइन्छ तैपनि पार्टीको अस्तित्व धान्न गाह्रो भइरहन्छ ।’
बडो गजबको प्रश्न हो यो । हेर्दा सामान्य र महत्वहीनजस्तो लाग्ने यो प्रश्नले निकै गम्भीर मर्म र महत्व बोकेको छ । कुनै समय केही नामधारी वामदलका मित्रहरूसँगको बसाइमा ख्यालख्यालमै उठान भएको यो घतलाग्दो सन्दर्भमा केही रमाइलो कुराकानी भएको थियो । त्यस अवसरमा हाम्रो छलफलको विषय अरू नै भएकाले त्यता प्रवेश ग¥यौँ ।मलाई भने त्यही विषयले निरन्तर पछ्याइरह्यो ।

राजनीतिक आन्दोलनका हरेक ऐतिहासिक मोडहरूले समाज र सामाजिक मनोविज्ञानमा गहिरो छाप पार्छन् । त्यस्ता युगान्तकारी परिघटनाहरूले राजनीतिक व्यवस्थाको निरन्तरतामा क्रमभङ्ग मात्र गर्दैनन्, सामाजिक जीवनका सबै पहलुहरूमा समेत बहुआयामिक प्रभाव छाड्ने सामथ्र्य राख्छन् । कुशल राजनीतिज्ञले त्यस्ता प्रभावहरूलाई कुशल ढङ्गले सकारात्मक दिशामा व्यवस्थापन गर्दै उपलब्धिहरूलाई पुँजीकृत गर्छन् । त्यसले राजनीतिक आन्दोलनप्रतिको सामाजिक अपनत्व मात्र विकास गर्दैन, सामाजिक जीवनका सबै क्षेत्रमा पुनर्संरचनाका लागि विचारधारात्मक उत्प्रेरणासमेत प्रदान गर्दछ ।

यही उत्प्रेरणाले राजनीतिक आन्दोलन र त्यसको नेतृत्वप्रति अटल आस्था, दृढ विश्वास र सम्मानभाव निरन्तर जगाइरहन्छ । त्यस्तो आस्था, विश्वास र सम्मानभाव अर्को पुस्तामा सर्दा त्यो इतिहासको गौरवमय विरासतका रूपमा परिणत हुन्छ । त्यसैमा गर्वानुभूति गर्नु नयाँ पुस्ताको संस्कार बन्न पुग्छ । यही नै राजनीतिको विचारधारात्मक बिम्ब हो । त्यसैले राजनीतिक आन्दोलनको भविष्य सुनिश्चित गर्ने कुरा विचारधारात्मक बिम्ब निर्माणसँग अभिन्न रूपले जोडिएको हुन्छ ।

हाम्रो राजनीतिक आन्दोलन र यसको नेतृत्वले विभिन्न कालखण्डमा निर्वाह गरेको भूमिकालाई यो मान्यताको कसीमा राखेर हेर्न जरुरी छ । निरङ्कुश शासन व्यवस्थाविरुद्धको हाम्रो राजनीतिक आन्दोलनको इतिहासमा परिवर्तनको प्रवाहलाई गति प्रदान गर्ने प्रतिनिधि परिघटनाका रूपमा २००७ सालकोसङ्घर्ष, २०२८ सालको झापा विद्र्रोह, २०३६ र ०४६ को आन्दोलन, २०५२ देखि २०६२ सम्मको महान् जनयुद्ध र २०६२÷०६३ को जनआन्दोलनलाई लिन सकिन्छ । यसबाहेक विभिन्न कालखण्डमा भएका किसान विद्रोहहरूको महत्वपूर्ण भूमिका पनि स्मरणीय छ ।

यी सबै राजनीतिक परिघटनाहरूको आआफ्नै महत्व छ । इतिहास निर्माणमा यी परिघटनाहरूको भूमिकाको सन्दर्भ एक गम्भीर अध्ययन–मूल्याङ्कनको विषय हो तर विचारधारात्मक बिम्ब निर्माणका सन्दर्भमा २००७ सालयताका सबै राजनीतिक परिघटनाहरू असफल देखिएका छन् भन्ने कुरा बुझ्न थप अध्ययनको आवश्यकता छैन ।
एक सय चार वर्षसम्म चलेको जहानियाँ राणाशासनविरुद्ध काङ्ग्रेसको नेतृत्वमा भएको सशस्त्र सङ्घर्षलाई नेपालको राजनीतिक इतिहासमा २००७ सालको सङ्घर्षका रूपमा चिनिन्छ । यद्यपि त्यो सङ्घर्ष त्रिपक्षीय दिल्ली सम्झौताका रूपमा भारतीय हितानुकूल टुङ्ग्याइएको थियोरनेपाली समाजको परिवर्तनको आवश्यकताविरुद्ध राणा, राजा र काङ्ग्रेसबीच सत्ताको भागबन्डा मिलानमा सीमित गरियो ।

त्यसैले त्यो सङ्घर्षले अर्धऔपनिवेशिक र अर्धसामन्ती अवस्थाबाट नेपाली समाजलाई पुँजीवादी चरणमा उठाउने कार्यभार पूरा गर्न सकेन । त्यति हुँदाहुँदै पनि नेपाली समाजको राजनीतिक चेतनाको तत्कालीन सीमा र काङ्ग्रेस नेतृत्वमा रहेको गान्धी, नेहरू, पटेललाई आदर्श ठान्ने मनोवृत्तिको कमजोर धरातलमा जुन स्तरमा सशस्त्र सङ्घर्षको उठान भयो त्यसलाई एक ऐतिहासिक परिघटनाका रूपमा स्वीकार गर्नुपर्छ ।

त्यसले सशस्त्र सङ्घर्षप्रतिको सकारात्मक धारणा स्थापित ग¥यो । त्यस सङ्घर्षमार्फत प्राप्त उपलब्धिहरूलाई एउटा सीमासम्म संस्थागत गर्दै सशस्त्र सङ्घर्षमा होमिएका सेनानीहरूको ससम्मान पुनस्र्थापनामा ध्यान दिने काम भयो । सङ्घर्षमा होमिएका योद्धाहरू प्रजातन्त्रका सेनानीका रूपमा सम्मान पाउँदै बाँकी जीवन त्यही त्यागमा गर्व गरेर बिताउन सक्ने अवस्थामा पुगे । काङ्ग्रेसको नेतृत्वपङ्क्ति बीपी कोइराला, गणेशमान सिंहदेखि कृष्णप्रसाद भट्टराईसम्मकोजीवन त्यागपूर्ण रह्यो । उनीहरूको त्यागपूर्ण जीवनशैलीको प्रभावले पार्टीपङ्क्ति र समाजमा इमानदार कार्यकर्ता र शुभचिन्तकहरूबीच गहिरो छाप छोड्यो । त्यो छाप नयाँ पुस्तामासर्दा एउटा गौरवमय आदर्श बिम्बका रूपमा परिणत भयो । यसरी हेर्दा नेपाली काङ्ग्रेसएकहदसम्म राजनीतिमा विचारधारात्मक बिम्ब निर्माण गर्न सफल रहेको देखिन्छ । आज काङ्ग्रेसमा बीपी, गणेशमान र भट्टराईहरूको कुनै आदर्श बाँकी छैन । तर ऊ त्यही आदर्शको ब्याजले राजनीतिक अस्तित्व धान्ने प्रयत्न गर्दैछ ।

२०२८ सालको झापा विद्रोह लक्ष्य प्राप्तिको दृष्टिले असफल रहे पनि हाम्रो राजनीतिक आन्दोलनको इतिहासमा यसले सङ्घर्षको नयाँ आयाम थपेको छ । दुई दशकदेखि कोठेगफ र कागजको पानामा कैद हुँदै आएको नयाँ जनवादी क्रान्तिको मार्गचित्रलाई कार्यान्वयन गर्ने प्रयत्नस्वरूप वर्गसङ्घर्षको ऐतिहासिक अभ्यास झापा विद्रोहमार्फत भएको तथ्य आफँैमा एउटा जिउँदो इतिहास बनिसकेको छ । सबै क्रान्तिकारीहरूका लागि यो एउटा ऊर्जा र प्रेरणाको स्रोत हो । झापा विद्रोहको त्याग, तपस्या र बलिदानको विरासतलाई क्रान्तिकारीहरूले पछ्याउँदै आएका छन् । यो विद्रोह प्रतिक्रियावादी राज्यसत्ता र दक्षिणपन्थी अवसरवाद दुवैका विरुद्ध परिलक्षित थियो ।

प्रतिक्रियावादी राज्यसत्ताको भीषण दमन र कम्युनिस्ट आन्दोलनभित्रकै दक्षिणपन्थी अवसरवादको राजनीतिक आक्रमणको अगाडि यो विद्रोह टिक्न सकेन । त्यसको पछाडि विद्रोहको नेतृत्व तहमा रहेका केही सीमा र समस्याहरूले अवश्य काम गरेका थिए, यो अलग्गै मूल्याङ्कनको पाटो हो । योद्धाहरूको बलिदानको जगमा विद्रोहलाई नयाँ उचाइ प्रदान गर्न सक्नुपथ्र्यो, विद्रोहको राजनीतिक औचित्य पुष्टि गर्दै त्यसको वरिपरि व्यापक जनसमुदायलाई गोलबन्द गर्न सक्नुपथ्र्यो रदमनको प्रतिरोध गर्दै पूर्वको दावानललाई पश्चिमसम्म फैलाउन सक्नुपथ्र्यो, त्यसो हुन सकेन ।

अन्ततः विद्रोहको विसर्जनसँगै पार्टी विघटन हुन पुग्यो । विद्रोहको नेतृत्व गरेका नेताहरू नै वैचारिक विचलनको सिकार हुँदै गए । कुनै बेला चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष कमरेड माओ हाम्रा पनि अध्यक्ष हुन् भन्दै झापा विद्रोहमा खुकुरी उज्याउने विद्रोही नेताहरू त्यसको आधा दशकमै महान् सर्वहारा सांस्कृतिक क्रान्तिलाई गलत ठहर गर्दै आफ्नो मार्गदर्शक सिद्धान्तबाट माओ त्से तुङ विचारधारा हटाउन पुगे रआफ्नै ऐतिहासिक कदम झापा विद्रोहप्रति नै पश्चात्ताप गर्दै घोर दक्षिणपन्थी बाटो समात्न पुगे ।

यसरी माले, एमाले हुँदै सिंहदरबार छिरेपछि नेताहरू नवधनाढ्यमा परिणत हुँदै अन्ततः सामाजिक दलाल पुँजीवादी गिरोहमा पतन हुन पुगे । फाटेका चप्पल घिसार्नेहरू पजेरो–प्राडो संस्कारका संवाहक बन्न पुगे । गाउँका झुपडीबाट राजधानीका आलिसान महलमा पुगे । यसका निमित्त गर्नु–नगर्नु सबै गरे । साम्राज्यवादी मालिकहरूसामु दयाको भिक मागे र उनीहरूद्वारा दयादानस्वरूप प्रदान गरिएका एनजीओ/आईएनजीओहरूमा आफ्ना श्रीमतीहरू भर्ती गरे ।पार्टी कार्यकर्ताहरूलाई एनजीओ/आईएनजीओका कारिन्दामा बदले । इमानदार र निष्ठावान् कार्यकर्ताहरू बिचल्लीमा पर्दै गए । यसले झापा विद्रोहका सहयोद्धालाई पार्टी मुख्यालयमा झुन्डिएर आत्महत्या गर्नुपर्ने लज्जाजनक अवस्थामा पु¥यायो ।

विद्रोहमा रगत बगाउने परिवारजनले पार्टी र नेतृत्वलाई धिक्कार्ने अवस्था आयो । इतिहासको गौरवमय आन्दोलनको स्वामित्व लिन त्यसको नेतृत्व तयार हुन नसक्नुको परिणाम त्यस विद्रोहको गौरवमय विरासत त ओझेलमा प¥यो नै, सशस्त्र सङ्घर्ष वा क्रान्तिको मान्यताप्रति नै अविश्वास पैदा गरिदियो । यसलाई पुनर्जीवित गरेर अगाडि बढाउन दुई दशकभन्दा बढी समय खर्चिनुप¥यो । आज झापा विद्रोहको गौरवमय विरासत इतिहासका टुटेका कडीहरूलाई जोड्ने सन्दर्भबाहेक अरू अर्थमा प्रभाव छाड्ने हैसियतमा छैन । यो स्थितिमा झापा विद्रोहमा योगदान पु¥याउने क्रान्तिकारीहरूले त्यसको गौरवमय विरासतप्रति गर्वानुभूति गर्नेगरी विचारधारात्मक बिम्ब प्राप्त गर्ने ठाउँ रहेन ।

२०३६ र २०४६ सालका आन्दोलनहरू नेपाली काङ्ग्रेस र वामदलहरूको संयुक्त आन्दोलन भए पनि राजनीतिक नारा र नेतृत्वको हिसाबले त्यसको स्वामित्व नेपाली काङ्ग्रेसले एकल रूपमै ग्रहण ग¥यो । पूर्ण उथलपुथल ल्याउने हैसियत भने माओवादी जनयुद्धले राख्यो । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा २०५२ सालदेखि दस वर्षसम्म चलेको जनयुद्ध आफ्नो विकासको प्रक्रियामा समानान्तर सत्ता संरचना सञ्चालन गर्दै रणनीतिक प्रत्याक्रमणको चरणसम्म अगाडि बढ्यो । त्यसले इतिहासमै सबैभन्दा ठूलो राजनीतिक जागरण मात्र ल्याएन, सम्पूर्ण उत्पीडित वर्ग, लिङ्ग, क्षेत्र र समुदायलाई मुक्तियुद्धमा गोलबन्द गर्दै सचेत, सङ्गठित र फौजीकृत गर्ने कामसमेत ग¥यो । इतिहासमै अभूतपूर्व त्याग, तपस्या र बलिदानका कीर्तिमानहरू कायम गर्ने होडबाजी पनि यसैबीचमा चल्यो ।

जनयुद्धका एजेन्डासहित नेकपा (माओवादी) २०६२÷६३ को ऐतिहासिक जनआन्दोलनमा प्रवेश गर्दा जनयुद्धप्रतिको जनताको आशा, भरोसा र विश्वास जनआन्दोलनमा प्रकट हुनपुग्यो । त्यसलगत्तै त्यो अभिमत पहिलो संविधानसभा निर्वाचनमा समेत अभिव्यक्त भयो । त्यसयता संविधानसभाको गलत अभ्यास र पटकपटकको सत्तारोहणले पार्टी नेतृत्वलाई अर्कै ठाउँमा पु¥यायो । पार्टी र क्रान्तिको कार्यभारलाई बेवारिसे अवस्थामा छाडेर पार्टी नेतृत्व संसदीय उठापटकीको भुलभुलैयामा रम्न थाल्यो । पार्टी गतिहीन र अस्तव्यस्त बन्न पुग्यो ।

नेतृत्वमा आएको यो विचलनले आन्दोलनलाई अन्योलग्रस्त र दिशाविहीन बनाउनु स्वाभाविकै थियो । यही दिशाविहीन स्थितिमा नेता–कार्यकर्ताहरूलाई राजधानी र सदरमुकामको आरामदायी जीवनशैलीले आकर्षित गर्दै गयो । विशाल ग्रामीण भूभाग र जनाधारबाट अलग–थलग पार्दै लग्यो । यसरी राजधानी, सहर र सदरमुकामहरूमा पार्टीको मुख्य शक्तिकेन्द्रित हुने कुरालाई पार्टीनेतृत्वले जनविद्रोहको आवश्यकताका रूपमा परिभाषित ग¥यो तर वास्तविकता अर्कै थियो । वैचारिक रूपले विचलित, पतीत र भ्रष्ट भइसकेको नेतृत्वले आफ्नो आचरणअनुकूल राजनीतिक यात्रा तय गर्नु स्वाभाविक थियो । तर क्रान्तिको नेतृत्व गरेर आएको पार्टीलाई एकैचोटि आफ्नो भ्रष्ट आचरणअनुकूल हिँडाउन सम्भव थिएन ।

त्यसका निमित्त पार्टीपङ्क्तिमा रहेको क्रान्तिको प्रज्वलन निभाइदिन अनिवार्य थियो । पार्टीपङ्क्तिलाई भ्रष्टीकरण गरी लोभीपापी झुण्डका रूपमा बदल्दै दलाल संसद्वादी आहालप्रतिको सम्मोहनले लट्ठ्याउन आवश्यक थियो । भित्रभित्रै सडिसकेका प्रचण्ड–बाबुरामहरूले जनविद्रोहको आवरणमा सिङ्गो पार्टीपङ्क्तिलाई भ्रष्टीकरण गर्ने नियोजित षड्यन्त्र गरेका थिए भन्ने कुरा परिणामले पुष्टि गरिसकेको छ ।

आफूले भन्ने गरेको जनविद्रोहको तयारीका योजना र कार्यक्रम बनाउनेतिर होइन, उनीहरूको सम्पूर्ण ध्याउन्न सरकारमा पुग्ने दाउमा केन्द्रित भइरह्यो । जनविद्रोहको हौवा पार्टीभित्रको क्रान्तिकारी मनोविज्ञानलाई उपयोग गरेर सत्तालिप्सा पूरा गर्ने पाखण्डबाहेक अरू केही हुन सकेन । लोभीपापीहरू नेतृत्वको वरिपरि चक्कर काट्दै रातारात मालामाल हुन थाले । नेताको चाकरी गर्ने वा उनीहरूको नाता पर्नेबाहेकको राजनीतिक भविष्य सुरक्षित हुन छाड्यो । त्यागी, तपस्वी, निष्ठावान र इमानदार बन्नु आफ्नै लागि अभिशाप हुने अवस्था पैदा भयो । यस्तो अभिशाप निष्ठावान् र इमानदार नेता–कार्यकर्ताहरूले भोग्दै आएको तथ्यबाट कोही अनभिज्ञ छैन ।

जनयुद्धका घाइतेहरूको अवस्था अत्यन्तै दर्दनाक छ । शरीरको अङ्ग गुमाएर क्रान्तिमा योगदान पु¥याउने योद्धाहरू, उपचार गर्न नसकी शरीरमा गोलीका छर्रा बोकेर कष्टपूर्वक बाँचिरहेका क्रान्तिकारीहरू, क्रान्तिमै जीवनसाथी गुमाएका लाल–विधवा र विदुरहरू, काख रित्तिएका बा–आमाहरू र सहिदका टुहुरा नानीहरू सबैसबैको अथाह पीडा उसरी नै दुःखिरहेको छ आज पनि ।

यही पृष्ठभूमिमा अन्तर्विरोध चर्कियो र पार्टी विभाजित भयो । एकीकृत पार्टी नेतृत्वले क्रान्तिको बाटो भुलेको र क्रान्तिलाई विसर्जन गरेको कुरा सत्य हो तर यसो भनेर मात्रै इतिहासले सुम्पिएको जिम्मेवारी पूरा हुन सक्तैन । भ्रष्ट र विचलित भइसकेको नेतृत्वमण्डलीसँग सम्बन्धविच्छेद गरी क्रान्तिको बाटोमा अघि बढ्न खोजिरहेका हामी इमानदार कम्युनिस्टहरूले आजसम्मको क्रान्तिको स्वामित्व लिँदै र प्रतिक्रान्तिबाट पाठ सिक्दै क्रान्तिप्रक्रियालाई विजयको बिन्दुसम्म पु¥याउने हैसियतमा आफूलाई उठाउन सक्छौँ कि सक्तैनौँ ? आज यसको जबाफ दिनुपर्ने ठाउँमा हामी उभिएका छौँ, यो पनि सत्य हो ।

दसबर्से जनयुद्धले नेपाली समाजमा पैदा गरेको तरङ्ग र उद्वेलनलाई आकार प्रदान गर्ने कुरा, त्यसले स्थापित गरेको बलिदानको संस्कृतिलाई पार्टी–जीवनको अभिन्न अङ्गका रूपमा विकसित गर्ने कुरा र जनयुद्धका समग्र उपलब्धिलाई संस्थागत गर्ने कुराको जगमा नै अबको क्रान्तिप्रक्रियाको दिशा निर्धारित हुने हो । प्रतिक्रियावादीहरू जनयुद्धलाई इतिहासको त्रासदीपूर्ण परिघटनाका रूपमा चित्रित गर्न प्रयत्नरत छन् । यसको उद्देश्य जनयुद्धको विचारधारात्मक बिम्ब निर्माणको आधारभूमि ध्वंस गर्नु हो, ताकि युगान्तकारी जनयुद्धको गौरवमय विरासतमा गर्वानुभूति गर्ने अवस्थाको अन्त्य होस् । त्यसैले क्रान्तिकारीहरूले हरसमय, हरघडी आफ्ना हरकदमको दूरगामी प्रभाव र महत्वलाई ठीक ढङ्गले ठम्याउन जरुरी छ । जनयुद्धको सर्वोच्च कमान्डरसहितको एउटा हिस्साले आफ्नै इतिहासको वीरतापूर्ण गाथालाई खरानी बनाइरहेको बेला देशीविदेशी प्रतिक्रान्तिकारी तत्वहरू अरू हौसिने र हौस्याउने उपक्रम बढ्दो छ । यो स्थितिमा सबै क्रान्तिकारीहरू गम्भीर भएर क्रान्तिको विचारधारात्मक बिम्ब निर्माणमा ध्यान केन्द्रित गर्न जरुरी छ ।

आफ्नो राजनीतिक इतिहासमाकाङ्ग्रेस कमसेकम आफ्नो वर्गप्रति इमानदार रह्यो । तर हामी कम्युनिस्टहरू आफ्नो वर्गीय चिन्तन, दृष्टिकोण र अडानबाट विचलित हुने र आफ्नो वर्गप्रति गद्दारी गर्दै प्रतिक्रियावादी सत्ताको सेवा गर्न पुग्ने दुर्भाग्यपूर्ण नियति भोग्न अभिषप्त छौँ । यो नियति बदल्नु आजका सच्चा कम्युनिस्टहरूको पहिलो दायित्व हो । यो दायित्व पूरा गर्न सकियो भने सजिलैसँग क्रान्तिको विचारधारात्मक बिम्ब निर्माण हुनेछ । स्रोत: रातो खबर साप्ताहिक, वर्ष ३ अंक ३३, पूर्णाङ्क १२८

२१०७४ माघ २० गते दिउँसो ४ : ०५ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :