देशैभरि जनजागरण अभियान सुरु / सामाजिक दलाल पुँजीवादको भण्डाफोर गरिने / राष्ट्रघाती, भ्रष्टाचारी र कालोबजारीलाई कारबाही गरिने

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले यही माघ १५ गतेदेखि तीनमहिने जनजागरण अभियान सञ्चालन गरेको छ । गएको सङ्घ र प्रदेश सभाको चुनावपछि स्वघोषित वाम गठबन्धनले स्पष्ट बहुमत प्राप्त गरेर सरकार बनेमा नेपालमा समाजवाद लागू हुन्छ भन्ने भ्रम फैलाइरहेको सन्दर्भमा उसले राजनीतिक भण्डाफोर अभियान सञ्चालन गरेको जनाएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लाई नेकपाले राजनीतिक/वैचारिक रूपमा कम्युनिस्ट मात्र नभएर सामान्य वामपन्थी पनि नरहेको निष्कर्ष निकालेको छ । उसले एमाले–माके गठबन्धनलाई सामाजिक दलाल पुँजीवादीको संज्ञा दिएको छ । ३ महिने जागरणको लक्ष्य र उद्देश्य स्पष्ट पार्दै नेकपाद्वारा प्रकाशित अपिलमा भनिएको छ, ‘कथित चुनावमा एमाले—माके मिलेर बहुमत ल्याएपछि अब नेपालमा शान्ति, स्थिरता, विकास र समृद्धि छाउने प्रचार गरिँदैछ । यो प्रचारमा एमाले त छँदैछ, त्योभन्दा पनि घटिया तरिकाले टुप्पी कसेर संसदीय व्यवस्थालाई साम्राज्यवादी बहुदल र जनताको दुस्मन घोषणा गर्दै जनयुद्धमा गएर आत्मसमर्पण गर्न पुगेको माके पार्टीका पण्डितहरू लागेका छन् । हामीले तपाईंहरूलाई सुरुबाटै बताउँदै आएका छौँ– नेपाली किसान, मजदुर, दलित, मधेसी, जनजाति जनताको वैरी विदेशीको इसारामा उनीहरूकै मन्त्रअनुसार उभ्याइएको दलाल पुँजीवादी व्यवस्था हो । यसलाई जरैबाट उखेलेर नफालेसम्म नेपाली श्रमिक जनता र देशभक्तहरूको मुक्ति हुनेछैन ।’

अपिलमा अहिलेका मुख्य तीनवटा राजनीतिक पार्टीको विश्लेषण गर्दै भनिएको छ, ‘काङ्ग्रेस इतिहासले रछ्यानमा मिल्काइदिएको पुरानो दलाल पुँजीवादी पार्टी हो । एमाले झापाबाट भाग्न थालेको आजसम्म पनि आत्मसुरक्षाको हीनभावनाले ग्रस्त संसद्वादी पार्टी हो । एउटा अर्को ह्याउ खसेको तत्वहरूबाट बनेको माके भन्ने पार्टी छ, आफ्ना वीरतापूर्ण एवम् गौरवपूर्ण इतिहास थेग्न नसकेर मालिकहरूको पाउमा “चारधाम” लगाउन पुगेको सबैभन्दा नालायक यही भएको छ । यिनै पार्टीहरूमध्ये अहिले एमाले—माकेले गठबन्धन बनाएर विकास निर्माणको मूल फुटाउने कुरा गरेका छन् । यो गठबन्धनले भनेअनुसार कतैबाट पनि मूल फुटाउने अवस्था देखिँदैन, बरु यसले जस्ता पात्र र प्रवृत्ति बोकेर हिँडेको छ त्यसबाट भन्न सकिन्छ– यसले देश सुकाउने, लुटाउने र जनता सताउने कुकर्म मात्र गर्नेछ ।’

विभिन्न जिल्लामा दर्जनौँ सभाहरू आयोजना गरी अभियान उद्घाटन गरिएको हो । यसैबीच नेकपा मध्यकेन्द्रीय कमान्डअन्तर्गत उपत्यका ब्युरोको आयोजनामा काठमाडौँमा सभा सम्पन्न भएको छ । जुलुसपछि आयोजित सभालाई नेकपाका केन्द्रीय सदस्यहरू आजाद केसी, मकर गुरुङ, महिलानेत्री धीरेन्द्रा उपाध्याय, विद्यार्थी नेता दीपेन्द्र चलाउनेलगायतले सम्बोधन गरेका छन् । उनीहरूले राष्ट्रियता र जनजीविकाका सवालहरूमा सरकार गैरजिम्मेवार भएको बताउँदै उपत्यकाको धुलोधुवाँ नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
यस्तै अभियानको उद्घाटन गर्न चितवनमा पनि सभाको आयोजना गरिएको छ । सभालाई केन्द्रीय सदस्य आधार, चितवन इन्चार्ज लालबहादुर बीसीलगायतले सम्बोधन गरेका थिए ।

नेकपा पूर्वी केन्द्रीय कमान्डअन्तर्गत धनुषाको धनुषाधाममा सोमबार जनसभा गरी एकीकृत जनजागरण अभियान उद्घाटन गरिएको छ । स्थानीयको व्यापक सहभागितामा सम्पन्न उक्त सभालाई नेकपाका केन्द्रीय सदस्य देवनारायण शाह, जिल्ला इन्चार्ज राजु कार्की, अमर, महेन्द्र मण्डललगायतले सम्बोधन गरेका छन् । यस्तै मोरङको रानी र बेलबारीका छ स्थानमा भित्तेलेखन गरिएको छ । केराबारीमा मशालजुलुशसहित कोणसभा गरिएको छ । सभालाई जिल्ला जनपरिषद् प्रमुख दीपक राईले सम्बोधन गरेका छन् । यस्तै सुनसरीको इटहरी चोकमा मशालजुलुस सहित सभा र बसपार्क क्षेत्रमा भित्तेलेखन गरिएको छ । सभालाई नेकपाका जिल्लास्तरीय नेताहरू सन्तोष बिष्ट, सागर र वीरताले सम्बोधन गरेका छन् । यस्तै सङ्खुवासभाको सदरमुकाम चैनपुरस्थित त्रिचोकमा मशालजुलुस निकालिएको छ । जुलुुसपछि सम्पन्न कोणसभालाई जिल्ला जनसरकार प्रमुख छिरिङले सम्बोधन गरेका छन् । त्यहाँ शान्तिपूर्ण रूपमा चलिरहेको सभामा प्रहरीले हस्तक्षेप गरी लाठीचार्ज समेत गरेको बताइएको छ । मेचीको झापामा पनि सभा सम्पन्न गरिएको छ । सभालाई नेकपाका केन्द्रीय सदस्य निर्मलले सम्बोधन गरेका छन् । यस्तै महोत्तरीको बेलगढी, सप्तरीको सिरुवारी र सिराहामा पनि मशालजुलुुुस निकाल्नुका साथै सभाहरू सम्पन्न भएको नेकपा पूर्वी कमान्ड कार्यालयले जनाएको छ ।

यस्तै पश्चिम कमान्डअन्तर्गत तनहुँ र बागलुङमा पनि छुट्टाछुट्टै सभा सम्पन्न भएका छन् । उता, पाल्पा, बुटवल र कपिलवस्तुमा सम्पन्न भएका सभाहरूमा नेकपाका केन्द्र र जिल्ला तहका नेताहरूले सम्बोधन गरेका छन् । पाल्पामा भएको सभालाई नेकपाका केन्द्रीय सदस्य विजय बुढा, पाल्पा इन्चार्ज पार्वती विकलगायतले सम्बोधन गरेका छन् । सभाका वक्ताहरूले जनजागरण अभियान राष्ट्रघातका विरुद्ध जनतामा जागरण पैदा गर्ने अभियान भएको बताएका छन् । दाङमा राप्ती ब्युरोको प्रशिक्षणमै अभियान उद्घाटन गरिएको छ ।

यस्तै सुदूरपश्चिम कमान्डअन्तर्गतका विभिन्न जिल्लामा पनि सभा र कोणसभाहरू सम्पन्न गर्दै अभियान उद्घाटन गरिएको छ । तीन महिनासम्म मेचीदेखि महाकालीसम्म चल्ने उक्त अभियानमा नेकपाले राष्ट्रघातविरुद्ध जनतालाई सचेत गराउने, आफ्नो आन्तरिक पार्टी पङ्क्तिलाई सुदृढ र विस्तार गर्ने बताएको छ । स्रोत : रातो खबर साप्ताहिक, वर्ष ३ अंक ३३ , पूर्णाङ्क १२८

२०७४ माघ १८ गते बिहान ११ : ०९ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :