माकेबाट विद्रोह गर्न नेता लोकेन्द्र बिष्टको आह्वान

अम्बिका चन्द / काठमाडौं : माओवादी केन्द्रमा स्थायी समितिको जिम्मेवारीबाट राजीनामा दिएर बसेका रुकुमेली नेता लोकेन्द्र बिष्टमगरले विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी नै सबैभन्दा बढी क्रियाशील र सम्भावना बोकेको पार्टी भएको बताएका छन् ।

आफू क्रान्तिकारी धु्रवीकरणका पक्षमा रहेको बताउँदै बिष्टले संसदीय धारको नेतृत्व एमालेले गरिरहेको र गैरसंसदीय एवम् क्रान्तिकारी धारको नेतृत्व नेकपाले गरिरहको भन्दै माओवादी केन्द्रभित्र क्रान्तिप्रति आस्था राख्नेहरूलाई बेलैमा आँखा खोल्न आग्रह पनि गरेका छन् ।

कुनै बेला माओवादी पार्टीभित्र प्रभावशाली मानिने नेता बिष्टले रातो खबर साप्ताहिकलाई अन्तरवार्ता दिँदै प्रचण्ड अब एमालेमा विलय भएको बताए । उनले भने, ‘प्रचण्ड अब एमालेमा विलय हुँदै हुनुहुन्छ ।

उहाँवरिपरि खासगरी चार घेरा छन् : पहिलो, परिवारको घेरा, दोस्रो पार्टीभित्रकै लोभीपापीहरूको घेरा, तेस्रो कमिसनखोर, तस्कर, शोषकसामन्तीको घेरा र चौथो देशीविदेशी प्रतिक्रियावादीको घेरा । त्यसैले प्रचण्ड इतिहासको कुनै क्षणमा आदर्श व्यक्ति हुनुहुन्थ्यो तर राजनीतिक आस्था र विचारका हिसाबले च्यूत भएपछि त्यो आदर्श उहाँले आफैँ भत्काउनुभयो ।’

आफ्नो पार्टीभित्र सैद्धान्तिक विषयलाई लिएर स्कुलिङ र प्रशिक्षणहरू कहिल्यै नभएको भन्दै बिष्टले माओवादी केन्द्र सङ्गठनात्मक रूपमा लथालिङ्ग भएको बताए ।

पार्टीभित्र आफ्नो कुराको सुनुवाइ कहिल्यै नभएको धारणा राख्दै बिष्टले भने, ‘लामो समय म पार्टी बनाउनका लागि लडेँ तर सकिनँ । पार्टीभित्र कि आत्मसमर्पण गर्नुपर्‍यो, कि त निस्कनु पर्‍यो । माओवादी केन्द्रभित्र हिजोका जिम्मालवालजस्ता कम्युनिस्ट छन् । यो पार्टीभित्र नयाँ सामन्त र नयाँ राजा किन चाहियो ?’

२०७४ माघ १७ गते साँझ ७ : २३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :